लोकसंवाद संवाददाता | समाचार | कात्तिक १०, २०७९
काठमाडौँ । समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्द सूचीमा नाम समावेश भएका ६४५७ उम्मेदवारहरूमध्ये निर्वाचन कानून र निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ सहित उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी उम्मेदवारको नाम सम्बन्धित दलले पेश गरेको बन्द सूचीबाट हटाउने निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालो सुचीमा रहेका एक जनाको नाम पनि हटाइएको छ ।
प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गते भित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेश गरेको बन्द सूचीबाट हटाउने निर्णय भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस्तै बन्द सूचीमा समावेश रहेका मध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधि सभा तर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभा तर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्द सूचीबाट हटाउने निर्णय भएको छ ।