सन्तोष श्रेष्ठ: लेखक, गायक तथा विश्वकीर्तिमानी सङ्गीतकार, एक कान निमोठ्याइले झण्डै गुमेको प्रतिभा !

सन्तोष श्रेष्ठ: लेखक, गायक तथा विश्वकीर्तिमानी सङ्गीतकार, एक कान निमोठ्याइले झण्डै गुमेको प्रतिभा !

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  कात्तिक १२, २०७९

उहाँको बुवा सामान्य जागिरे हो । आर्थिक अवस्था पनि त्यति राम्रो होइन । तर, आर्थिक अवस्था उति राम्रो नभएको एउटा सामान्य जागिरे बाबु भए पनि छोराछोरीलाई पढाउनु पर्छ भन्ने मान्यताले  छोराछोरीलाई पढाउने कुरामा भने कुनै कसर बाँकी राख्नु  भएन । 

उहाँको जन्म २०३७ सालमा दाङको हाल घोराही उपमहानगरपालिका वडा नम्बर १२ तथा तत्कालीन हापुर गाविस वडा नम्बर ८ मा भएको हो । उहाँका तीन  दाजुभाइ तथा एक बहिनी हुनुहुन्छ । 

बाल्यकाल प्राय सबैको उस्तै उस्तै हुन्छ । यस अर्थमा उहाँको पनि खासै फरक रहेन । स्कूल जाँदा मध्यान्तरमा पौडी खेल्न गएपछि माछा मारेर, पौडी खेल्दा मध्यान्तरपछिको एउटा कक्षा जाँदा मात्र स्कूल आइपुग्नु हुन्थ्यो । अनि त्यस वापतको सजाय छँदैछ । 

विद्यार्थी जीवनमा पनि घरमा पानी ल्याउन डोको बोकेर जाने, खेतिपातीमा सघाउने अर्थात् माटोसँग एक प्रकारले जोडिने काम गर्नुभयो । जसका कारण अहिले उहाँका धेरै सृजनामा पनि माटोको रंग आउँछ । त्यो परिवेश र त्यो माटोसँग जोडिन नपाएको भए अहिले आफ्नो सृजनामा मौलिक पन नआउने उहाँको ठहर छ । 

०००

उहाँले कखरा चिन्ने काम घरमै गर्नुभयो । कखरा चिन्ने मात्र नभएर अरु सबै बुवाले सिकाउनु भएको कारणले उहाँलाई एक कक्षामा भर्ना नगरी एकै पटक दुई कक्षामा भर्ना गर्ने सोच रहेछ बुवाको । तर, पछि भने बरु एक कक्षामा भर्ना गरेपछि कक्षा फड्काएर तीन कक्षामा हाल्ने सोच बन्यो । 

घरमा कखरा चिन्दा भने उहाँले सिलोटमा ब्याट्रीको कालो धुलो अर्थात् कार्बनले कालो बनाएर सदरमुकामबाट सेतो चकले लेख्नुहुँदो रहेछ । बाँसको कलमले कालो मसीमा चोपेर लेख्ने चलन थियो हाम्रा पालामा भनेर बुवाले भनेका कारण यो कस्तो पद्धति हो भनेर उहाँले पनि कोसिस गर्नुभयो । बाँसको कलम स्कूल लिएर जाँदा घरमा मसी छुटेका कारण पनि उहाँले सजाय भोग्नु भएको छ । 

सामान्यतया अरु स्कूलको भने नाम अगाडि हुनेगर्छ । तर, उहाँ पढेको स्कुल नै माध्यमिक विद्यालय रतनपुर, हापुर थियो । स्कूल घरबाट १५ मिनेटको दूरीमा थियो । उहाँले पढ्दा स्कूल निमावि थियो । तर, उहाँको पढाइ सँगै कक्षाहरु पनि थपिँदै गयो र मावि भयो । अहिले पनि स्कूलको नाम माध्यमिक विद्यालय रतनपुर, हापुर नै छ । स्कूल नजिकै वन भएका कारण फर्निचरको समस्या थिएन । तर, पनि बस्नका लागि बेन्चको मात्रै व्यवस्था थियो । डेस्क थिएन । र, घुँडामा नै किताब, कापी राखेर लेख्नुपर्थ्यो । लेख्नका लागि डेस्क हुन्छ भन्ने उहाँले थाहा पाएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिनका लागि अरु स्कूलमा जाँदा थाहा पाउनु भएको हो । उहाँहरु घुँडामा राखेर लेख्ने बानी भएका कारण डेस्कमा राखेर लेख्दा लेखनको गतिमा पनि असर पर्न गयो । 

वन फँडानी गरेर बनाएको स्कूल हुनाले कतिपयले वन फाँडी स्कूल पनि भन्थे । डाँडोलाई नै पनि वन फाँडी डाँडो भन्थे । निर्माणाधीन अवस्थामा नै रहेकोले पनि स्कूल त्यति सम्पन्न थिएन । 

उहाँ एक कक्षामा पढ्दा एक कक्षा र दुई कक्षा एउटै हलमा थियो । एक कक्षामा पढाएको दुई कक्षामा अनि त्यसैगरी दुई कक्षामा पढाएको एक कक्षामा सुनिन्थ्यो । दुईतिर भित्तामा दुई वटा कालो पाटी थियो । एउटा कक्षामा सोधेको उत्तर अर्को कक्षाका विद्यार्थीले दिने गर्थे । यसै कारण पनि कतिका कान रातो हुनेगरी तानिए । यसमा एउटै बेग्लै कथा छ । यो कथामा उहाँको पनि एउटा कथा मिसिन आइपुगेको छ । जुन कुरा आलेख पढ्दै जाँदा थाहा लाग्छ । 

त्यस बेला एउटा कक्षामा करिब २५/३० जना विद्यार्थी हुन्थे । हुनत त्यहाँ बस्ने मान्छे त्यति सम्पन्न नभए पनि केटाकेटीलाई पढाउनु पर्छ भन्ने एउटा चेतना विकसित भइसकेको थियो । जसका कारण छात्राहरुको सहभागिता पनि राम्रै थियो । २५/३० जनामा झण्डै एक तिहाइ अर्थात् दश जना थिए । त्यो भनेको त्यस बेलाको परिस्थितिमा एकदमै राम्रो सहभागिता हो ।

केटा र केटी छुट्टा छुट्टै बस्ने चलन थियो । मिसिएर बस्ने अहिलेको जमाना सम्झियो भने त्यस बेला उल्कै हुन्थ्यो । बस्ने त के कुरा कोही केटीसँग झुक्किएर बोलियो भने स्कूल भरी हंगामा हुन्थ्यो । यसै प्रचलनले उहाँलाई कलेजमा पढ्दा केटीहरूसँग सँगै बसेर पढ्न कताकता अप्ठेरो भए झैं हुन्थ्यो ।  

शुक्रबार आउँदा चार घण्टीको कक्षामा दुई घण्टी लागेपछि आफूले लगेको गोबर र खोलाबाट पानी बोकेर ल्याएर कक्षा कोठा लिप्ने काम हुन्थ्यो । र एक हप्ताका लागि लिपपोत र सफाइको काम सकिन्थ्यो । 

पढ्नु/पढाउनु पर्छ भन्ने एउटा मान्यताले काम गरेका कारण घरबाट बिहान खेती किसानी गरेर दिउँसो पढ्ने र साँझ पनि घरमा सहयोग गर्ने किसिमको वातावरण थियो । स्कूल केवल पन्ध्र मिनेटको पैदल दूरीमा भएका कारण पनि घरमा खाएर डेरा नगरी पढ्न सकिने अवस्था भनेको त्यस बेलाका लागि निकै राम्रो हो । यसले न्यून आय भएकाले पनि पढ्न सक्ने वातावरण बन्यो । अझ यसमा पहिले पहिले पाँच/छ कक्षामा मासिक शुल्क ५०/६० रुपैयाँ तिर्नु पर्दा निम्न आर्थिक अवस्था भएकालाई गाह्रो भए पनि पछि निःशुल्क भयो पढाइ । प्राथमिक तहमा किताब पनि निःशुल्क नै पाउन थालियो । यसले झनै सहज भयो न्यून आय भएकालाई पनि पढ्न । 

उहाँको माध्यमिक तह छोड्ने अघिल्लो वर्षदेखि स्कूलमा पोशाकको पनि व्यवस्था गरियो । यसले गर्दा विद्यार्थीमा एकरुपता आयो । हुनेले दिनका दिन लुगा फेर्दा नहुनेलाई हुने एक किसिमको लघुता भाषबाट पनि उन्मुक्ति मिल्यो । 

स्कूलको वातावरण एकदमै सृजनशील थियो । प्रत्येक शुक्रबार विविध अतिरिक्त क्रियाकलाप जस्तै, कविता, निबन्ध, गीत, हाजिरी जवाफ, वक्तृत्वकला हुने गर्थ्यो । कक्षा सुरु हुनु अगाडि राष्ट्र गान अनि कक्षा गत गीत गाएर पढाइ सुरु गर्दा त्यसले विद्यार्थीलाई एकदमै सृजनशील बनाउने गर्थ्यो । तर, अहिले भने यस्ता प्रचलन कम भएका छन् । यसले घोकन्ते विद्यार्थी उत्पादन हुने र लोकसेवा घोकेर पास गरे पनि काममा सृजनशीलता नहुने उहाँको बुझाइ छ । जसले गर्दा आफ्नो विवेक प्रयोग गरेर काम गर्न सक्ने प्रतिभा गुम्ने त्रास सधैँ रहन्छ । यस्ता कार्यक्रमहरु नहुने हुँदा सामूहिक गान, सामूहिक प्रस्तुति, सामूहिक उपस्थिति अहिले भने नहुने हुँदा एक प्रकारको क्षमता विकास हुनु पर्नेमा नभएको उहाँको सोच छ । बोल्नका लागि मञ्च, जिल्ला तथा राष्ट्रव्यापी प्रतियोगिताले दिने उर्जा, सफलता र जुझारु पन अहिले यस्ता कार्यक्रमहरु नहुँदा देखिँदैनन् । 

उहाँ आफूलाई मध्यम खालको विद्यार्थी भन्न रुचाउनुहुन्छ । सुरुमा भने उहाँ एकैपटक दुई कक्षामा भर्ना हुने गरिको तेज विद्यार्थी भए पनि घरायसी विभिन्न काममा सहयोग गर्नुपर्ने कारणले बाल मानसिकतामा त्यसले असर गरेको उहाँको ठम्याइ छ । यसमा एउटा अर्को कुरा थपिएपछि आफ्नो सृजनशीलता र प्रतिभा प्रस्तुत गर्नै नसकिने गरी खुम्चिएको उहाँको तीतो अनुभव छ । 

भएछ के भने सरले दुई कक्षाका विद्यार्थीलाई राजाको नाम सोध्नुभयो । उहाँ एक कक्षामा उत्साहका साथ पढ्न गएको विद्यार्थी एउटै हलमा दुई वटा कक्षा सञ्चालन भएका कारण उहाँले श्री ५ वीरेन्द्र विक्रम शाहदेव भनेर उत्तर दिनुभयो । सरले दुई कक्षाका विद्यार्थीलाई सोधेको तँ एक कक्षाको विद्यार्थी जान्ने भएर किन भनिस् भनेर कान निमोठ्नु भयो । त्यतिखेर अलि अलि कान र मन दुख्यो । मन मात्र दुखेन उहाँको बाल मनोविज्ञानमा उत्तर भन्न नहुने रहेछ भन्ने गडेर बस्यो । उहाँमा अहिले के महसुस गर्नुहुन्छ भने आफूले जानेका कुराहरु त्यस दिनबाट भन्ने हिम्मत उहाँमा रहेन ।

 स्कूलमा यति धेरै विविध क्रियाकलाप हुँदा र उहाँ आफू यति सृजनशील मान्छे हुँदा पनि दश कक्षासम्म पढ्दा यसरी अतिरिक्त क्रियाकलापमा भाग लिने र पढाइका अन्य कुरामा पनि उहाँ अघि सरेर उत्तर भन्ने कहिल्यै हिम्मत ल्याएन त्यो एउटा कान निमोठ्याइले । उहाँ एक प्रकारले भन्नुपर्दा दश कक्षासम्म पढ्दा गुम्सिएर बस्न बाध्य हुनुभयो । आईए पढ्न दाङ गएपछि मात्र अतिरिक्त क्रियाकलापमा भाग लिने र अघि बढाउने प्रयास गर्नु भएको हो । 

उहाँले आफूलाई औपचारिक रुपमा प्रस्तुत गरेको भनेको आईए दोस्रो वर्षमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा भएको लोकगीत प्रतियोगितामा भाग लिनु भएको हो । त्यस बेला ७३ जनाले भाग लिएकोमा उहाँ प्रथम हुनु भएको थियो । त्यसले उहाँको चर्चा परिचर्चा भयो । अब उहाँलाई आफ्नो स्वरमा गीत रेकर्ड गरायो भने कस्तो सुनिन्छ होला भनेर उहाँ २०५६ सालमा गीत रेकर्ड गर्नुपर्छ भनेर काठमाडौँ आउनु भयो । र औपचारिक रुपमा आफ्नो सांगीतिक यात्राको सुरुवात गर्नुभयो । 

उहाँले २०५४ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याजमा ३१ जना थिए । त्यसमा १३ जना पास भए । उहाँ तिनै १३ मा पर्नुभयो । उहाँ द्वितीय श्रेणीमा उत्तीर्ण हुनुभयो । अग्लो अग्लो डेस्क बेञ्च तथा महासागर विद्यार्थीका बीच दिएको एसएलसी के हुने भन्ने कुनै अनुमान थिएन । नतिजा त्यस बेला गोरखापत्रमा हेर्नुपर्थ्यो । तर, गोरखापत्र सजिलै उपलब्ध नहुने हुँदा साथीले सेकेण्ड डिभिजनमा पास हुनुभयो भन्ने खबर गरे । 

सेकेण्ड डिभिजन भनेको उहाँलाई के लाग्यो भने स्कूलमा एक जना फस्र्ट, एक जना सेकेण्ड र अर्को थर्ड हुने हो । त्यस्तो पढ्नलाई मेधावी नभएको मान्छे कसरी सेकेण्ड भएँ भन्ने उहाँलाई लागि रह्यो । तर, पछि मात्रै उहाँलाई थाहा भयो कि सेकेण्ड डिभिजन अन्तर्गत त हजारौँ हुने र त्यसमा आफू पनि परेको भन्ने थाहा भयो । उहाँलाई भने सेकेण्ड डिभिजन भनेको स्कूलको सेकेण्ड भन्ने मात्र याद भयो । 

०००

एसएलसीपछि उहाँ पढ्नका लागि दाङ महेन्द्र बहुमुखी क्याम्पस जानु भयो । त्यस बेला एसएलसी पास भएर क्याम्पस जानु भनेको ठूलो युद्ध जिते सरह हुन्थ्यो । उहाँलाई पनि भयो । संस्कृति, भूगोल र नेपाली विषय उहाँको रोजाइमा परे । नेपाली रोज्नमा भने भाषा राम्रो हुने उहाँको आशा थियो । स्कूल पढ्दा पनि उहाँको नेपाली राम्रो थियो । उहाँ नेपाली पढाउने गुरुकै घरमा बसेर पनि नेपाली पढ्नुहुन्थ्यो । नेपाली गुरुले दैनिक पाठ दिएर कहाँ के गल्ती भयो भन्ने औँल्याइ दिने हुनाले पनि उहाँको नेपाली राम्रो हुन गयो । 

आईए पढि सकेपछि भने अब आफूलाई फराकिलो दायरमा लैजानुपर्छ भनेर उहाँ काठमाडौँ आउनु भयो । लोक संगीत अनि ग्रामिण परिवेश मन, मस्तिष्कमा भए पनि आधुनिक गीत सङ्गीमा केही गर्नुपर्छ भन्ने उहाँलाई भित्रैदेखि लागिरहन्थ्यो । उहाँलाई आधुनिक गीत अनि त्यसका शब्दहरूले अलि बढी प्रभाव पार्थ्यो । उहाँ आधुनिक गीत अलि गम्भीर भएर सुन्नुहुन्थ्यो । यसकारण गीत रेकर्ड गर्न भनेर उहाँ २०५६ सालमा पहिलो पटक काठमाण्डौ आउनु भयो । त्यस बेला पनि अरु हरुले उहाँलाई काठमाडौँमै बसौँ भन्ने कुरा नगरेका पनि होइनन् । तर, विभिन्न कारणले उहाँ फर्केर दाङ जानुभयो । 

काठमाडौँमा उहाँको बसाइ बागबजार थियो । बागबजारमा सङ्गीत सिक्दै रत्नराज्य क्याम्पसमा पढ्न नजिक हुने भएपछि उहाँले रत्न राज्यलाई रोज्नुभयो । यसै क्रममा उहाँले आफूलाई काठमाडौँमा टिकाइ राख्न विभिन्न होटलहरुमा गाउने काम पनि गर्नुभयो । आधुनिक गीत मात्र नभएर उहाँ दोहोरी गायनमा पनि पोख्त हुनुहुन्छ । अनि काठमाडौँमा टिक्न यसले मद्दत नगर्ने कुरै थिएन । उहाँ विभिन्न दोहोरी साँझमा पनि गाउन थाल्नुभयो । 

गीतकार लोकराज अधिकारीले ‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र’ भन्ने एउटा गीत सङ्गीत गर्नका लागि साढे तीन वर्ष अगाडि नै दिनु भएको थियो । त्यो गीत त्यसै बसेको थियो । त्यसले उहाँलाई त्यति छोएको पनि थिएन । अधिकारीले दिएको गीतमा अन्तिम तिर बादल जस्तै फाट्नु रैछ, आखिर डाँडा काट्नु रैछ भन्ने शब्द थियो । अनि जब उहाँ पहिलो पटक विदेश जाने क्रममा प्लेन बादलमाथि बाट उडिरहँदा उहाँले गीतका शब्द झैँ हुबहु दृष्य देख्नुभयो उहाँलाई पनि जिज्ञासा भयो गीतकारले दृष्य देखेर शब्द लेख्नु भएको त होइन । उहाँलाई त्यो शब्द राम्रो लागेर प्लेनमा नै त्यो दुई लाइन गुन गुनाउनु भएको पनि थियो । 

नेपाली र संस्कृति दुवै एकै पटक पढ्न नमिल्ने भयो । एउटा बिहान अनि अर्को राति । त्यसकारण उहाँ त्रिचन्द्रमा भर्ना हुनुभयो । उहाँले सङ्गीतका लागि साधना कला केन्द्रमा पनि भर्ना हुनुभयो । तर, राति ठमेलका होटलमा दैनिक गाउनु पर्ने हुनाले गाह्रो त छँदै थियो । यसमा उहाँ आफैँले एउटा तनाव थप गर्नुभयो । एउटा आधुनिक एल्बम सङ्गीत गरेर तयार गरेर । चार वर्षसम्म करिब ४६/४७ वटा सङ्गीत कम्पनीमा जाँदा पनि कसैले एल्बम रेकर्ड गराउन मानेनन् । 

यसै बीचमा उहाँ ब्याचलर तेस्रो वर्षमा पढ्दा पढ्दै बहराइन पनि जानुभयो गाउने कामको सिलसिलामा । तीन महिनाका लागि भनेर जसले उहाँलाई लैजानु भएको थियो उहाँ प्रतिभा देखेर उतै बस्न अनुरोध गर्नुभयो । तर, उहाँ आफू यसरी काम गर्न भन्दा पनि नेपालमा गएर आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि नगइ नहुने बताएपछि करिब सात महिना बसेर फर्कनु भयो । 

अब उहाँसँग केही रकम पनि थियो काम गरेर जम्मा गरेको । त्यही पैसाले उहाँलाई एल्बम निकाल्न पनि मद्दत गर्यो । 

०००

उहाँले औपचारिक रुपमा मञ्चको गायन भनेको दाङमा कलेज पढ्दा लोक गीत प्रतियोगितामा हो । त्यसमा उहाँ प्रथम पनि हुनुभयो । त्यसको शब्द र लय पनि उहाँको आफ्नै थियो । तर, रेकर्डिङका हिसाबले भने रिमा स्टुडियो बबरमहलमा २०५६ सालमा भयो । जसलाई अहिले प्रिज्मा स्टुडियो भनिन्छ । त्यसको छ वर्षपछि उहाँले २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गर्नुभयो ।  

उहाँ आफूभित्र रहेको यो प्रतिभा यदि सरले एक कक्षामा कान समातेर नहप्काएको भए अझ चाँडो उजागर हुन्थ्यो भन्ने ठान्नुहुन्छ । यदि त्यसै बेलामा प्रतिभा प्रस्फुटन हुन पाएको भए त्यसले औपचारिक गायन यात्रा सुरु गर्दा विशाल रुप लिएर झ्याङ्गिन्थ्यो भन्ने उहाँलाई लाग्छ । 

उहाँ सङ्गीत क्षेत्रमा तानिनु मा दुई वटा कारण देख्नुहुन्छ । एउटा आफू बाँचेको प्रकृति । नदी, वन, जङ्गल अनि त्यहाँ एकाबिहानै चराको चिरबिर । त्यसले अवश्य मस्तिष्कमा अर्को छाप छोड्छ । पाखा, छाँगो, झरना यी सबै चिज उहाँको सङ्गीतमा लाग्नुका एउटा कारण भए । अर्को भनेको त्यहाँको सांस्कृतिक प्रभाव ।

दाङमा नेवारी संस्कृति छँदैछ । अर्को जीवन्त थारु संस्कृति छ । थारु समुदायले विभिन्न चाडपर्वमा आफूलाई त्यत्तिकै विविध ढंगले प्रस्तुत गर्ने गर्छन् । त्यसले मस्तिष्कमा पारेको प्रभाव । प्रकृति र स्थानीय संस्कृतिले तानेर अन्त भाग्न नसकेर यतातिर जीवन देखेका कारण पनि सङ्गीतमा आउनुको कारण हो भन्ने उहाँको ठम्याइ छ । सङ्गीत रेडियोमा सुनेर प्रभाव परेको होइन उहाँमा किनकि उहाँको घरमा रेडियो थिएन । गाउँमा धेरै पर कसैले अलि ठूलो स्वरमा बजाएको यदाकदा सुनेर प्रभाव पारेको कुरा भन्ने उहाँलाई लाग्दैन । 

के  कुराले र कसरी निर्धारण गर्यो त्यो थाहा नभए पनि गाउन सक्छु, स्वर राम्रो छ भन्ने कुरा कहीँ कसैले नभने पनि उहाँलाई यस्तो भने एक, दुई कक्षामा पढ्दादेखि नै त्यस्तो लाग्थ्यो । यो के कुराले र कसरी लाग्यो उहाँलाई थाहा नभए पनि सत्य सावित भयो । र, यो कुरा प्रमाणित हुन केही समय लाग्यो । 

दाङमा पनि उहाँलाई प्रथम हुन्छु भन्ने लागेको त होइन । नतिजा के हुन्छ हेरौँ न त भनेर कुरिरहँदा सान्त्वना, तृतीय, द्वितीय सबै घर गइसकेका रहेछन् अनि अन्तमा प्रथम नाम घोषणा गर्दा उहाँको नाम घोषणा भयो । उहाँलाई प्रथम हुन्छु भन्ने लागेर नतिजा कुरेर बसेको चाहिँ होइन ।

यसले उहाँमा ठूलो ऊर्जा थप्यो । राप्ती क्षेत्रका ५/७ जिल्लाका सबै मान्छे आएर पढ्ने ठाउँमा पनि प्रथम भइयो भने अब आफूलाई अगाडि बढाउनुपर्छ भनेर उहाँले २०५६ सालमा आएर आफ्नो आधुनिक गीत रेकर्डिङको कामलाई अगाडि बढाउने काम गर्नुभयो । 

यसरी काठमाडौँमा आएर तयार पारेको एल्बम रेकर्डिङ गर्न चार वर्षसम्म सबै कहाँ धाउँदा धाउँदा ४७ औँ कम्पनी सगरमाथाले विश्वास गरेर एल्बम निकाल्यो ‘चिनारी’ । तर, यो ‘चिनारी’ले उहाँको चिनारी खासै दिन सकेन । 

त्यस बेला भनेको आधुनिक गीत भनेको रामकृष्ण ढकालको पर्यायवाची समय थियो । दामु मर्सीफुल गीतकार र उहाँको संगीतमा त्यस बेला खाजा खाने पैसा जोगाएर संगीत गरेका छौँ भनेर धेरै अनुरोध गरेपछि ढकाल शब्द मन परेका कारण थोरै पैसामा नै त्यो गीत गाइ दिनुभयो । गीत थियो, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’ । 

त्यस बेला दाङमा स्वर्गद्वारी एफएम भर्खर भर्खर स्थापना भएको थियो । उहाँहरुले पनि गीत बजाउन दिनुभयो । त्यस बेला आइए पढ्दै गरेको उहाँको सङ्गीत रहेको गीत बिए, एमए पढ्दै गरेका अग्रजहरूले अनुरोध गरेर सुन्न थालेपछि ए राम्रै गीत गरिएछ भन्ने एक प्रकारको आत्म गौरव पनि भयो उहाँलाई । 

यो एल्बमपछि सगरमाथा स्टुडियो हालको सगरमाथा डिजिटलका प्रबन्ध निर्देशक हिरा केसीले एउटा एल्बम गर्नुपर्छ भनेर सधैँ घचघच्याइ रहनु भयो । र, यसै बीचमा उहाँहरुले ‘साधना’ भन्ने एल्बम तयार गर्नुभयो । 

गीतकार लोकराज अधिकारीले ‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र’ भन्ने एउटा गीत सङ्गीत गर्नका लागि साढे तीन वर्ष अगाडि नै दिनु भएको थियो । त्यो गीत त्यसै बसेको थियो । त्यसले उहाँलाई त्यति छोएको पनि थिएन । अधिकारीले दिएको गीतमा अन्तिम तिर बादल जस्तै फाट्नु रैछ, आखिर डाँडा काट्नु रैछ भन्ने शब्द थियो । अनि जब उहाँ पहिलो पटक विदेश जाने क्रममा प्लेन बादलमाथि बाट उडिरहँदा उहाँले गीतका शब्द झैँ हुबहु दृष्य देख्नुभयो उहाँलाई पनि जिज्ञासा भयो गीतकारले दृष्य देखेर शब्द लेख्नु भएको त होइन । उहाँलाई त्यो शब्द राम्रो लागेर प्लेनमा नै त्यो दुई लाइन गुन गुनाउनु भएको पनि थियो । 

सम्भवतः उहाँको विदेश यात्रा नभएको भए यो गीत पनि आउने थिएन । र, यसको गायक तथा गायिका त्यस बेला उदाउँदै गर्नु भएकी अन्जु पन्त, गायक शिशिर योगी र स्वयम् उहाँले पनि यो लोकप्रियता र साङ्गीतिक करियर पनि यति फराकिलो बनेर यहाँसम्म आइपुग्ने थिएन भन्ने लाग्छ उहाँलाई । त्यस बेला भर्खर सुरु भएको सिआरबीटीमा पनि यो अहिलेसम्म सबैभन्दा धेरै डाउनलोड भएर रेकर्ड कायम गरेको गीत हो । 

उक्त साधना एल्बममा निकै राम्रा गीतहरु थिए । नरेन्द्र प्यासीले गाउनु भएको 'तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ' भन्ने गीत, जगदीश समालले गाउनु भएको किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै भन्ने गीतहरु निकै चर्चित भए । उहाँलाई यसले रोयल्टी पनि राम्रै दियो । 

उहाँले सङ्गीत गर्नु भएका चर्चित गीतमा तिमीले पराई ठानेपछि पराई हुन के भयो र, आउँछु भनि निष्ठुरीले भर किन पार्नु, तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ, किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै, तिमीले हाँसो लुटी लाग्यौ रुँदै रुँदै बाँचेकी छु, तिमीलाई सन्चो छैन भन्ने खवर पाएँ मैले, परेलीको वर्षातले छातीभित्र पहिरो गयो, तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु आदि छन् ।

उहाँका अहिलेसम्म ४२ वटा एकल सङ्गीतवद्ध एल्बमहरु सार्वजनिक भइसकेका छन् । यो आलेख तयार गर्दै गर्दा उहाँको ४३ औँ एल्बम मधुमास दाङमा सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ । 

उहाँले ५० देशका ५० भाषाका गीतमा सङ्गीत गरेर गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गर्नु भएको छ । 

उहाँ सङ्गीतमा मात्र नभएर लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । २०६२ सालमा उहाँले ‘आँसु’ गजल संग्रह पनि प्रकाशनमा ल्याउनु भएको छ । उहाँ विदेशमा रहँदा कतिपय साथीहरु समुद्र किनारमा घुम्न जान्थे, कति खान पीनमा रमाउँथे । तर, उहाँ भने मान्छेहरुसँग कुरा गरेर तिनका वास्तविक कथालाई काल्पनिकतामा ढालेर लघुकथा लेख्न तिर लाग्नुभयो । त्यस बेला लेखिएका १६ वटा कथा संग्रह गरेर २०६८ सालमा उहाँले ‘अधुरो सपना’ भन्ने लघुकथा संग्रह पनि प्रकाशन गर्नुभयो । त्यस्तै उहाँले ‘फरैना’ नामक उपन्यास पनि प्रकाशन गर्नु भएको छ । यो समेत गरेर साहित्यका उहाँका तीनवटा कृति भएका छन् । 

ऐतिहासिक गजल एल्बम 'शुभेच्छा'मा एकल संगीत

कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले बहरबद्ध गजलहरूको एल्बम 'शुभेच्छा' बजारमा ल्याएका छन् ।

नेपाली गजलमा शास्त्रीयताको खोजी र परिष्कारकै क्रममा अनाममण्डलीका संस्थापक महासचिव तथा पूर्वअध्यक्षसमेत रहेका घनेन्द्र ओझाले १७ वर्षअघि शास्त्रीय छन्द/बहरमा मात्र लेखिएको पहिलो गजलसंग्रह 'बल्झेर याद तिम्रो'मा संकलित ५ वटा बहरबद्ध गजललाई यस एल्बममा संगृहीत गरिएको सन्तोष बताउँछन् ।

बहरबद्ध गजलको पहिलो एल्बम

'शुभेच्छा' नेपाली गजल गायनका क्षेत्रमा एउटा ऐतिहासिक एल्बमका रूपमा आएको छ । यो बहरबद्ध गजलहरूको पहिलो एल्बम बन्न सफल भएको छ ।

उसो त घनेन्द्र ओझाले बहरबद्ध गजलहरूको पहिलो संग्रह 'बल्झेर याद तिम्रो, २०६२' पनि प्रकाशन गरिसकेका छन् भने पहिलो बहरबद्ध संयुक्त गजलकृति 'बहरमाला, २०६३' र दोस्रो 'गजलमाला, २०६६'को सम्पादनसमेत गरिसकेका छन् ।

यस एल्बममा समावेश गजलहरू सोही गजलकृति 'बल्झेर याद तिम्रो'बाट लिइएको सङ्गीतकार श्रेष्ठले बताए । उनले नेपाली गजल लेखनको सवा सय वर्षको इतिहासमा गजलको खास मान्यता अर्थात् बहरमा लेखिएका गजलहरूको एल्बम बजारमा नदेखिएकाले आफूले यो काम गर्न रुचि देखाएको बताए ।
'नेपाली गजल लेखनमा अन्योल र विवादमा रहिरहेको पाएँ । यसबीच गजल गायनमा पनि दुविधाहरू देखिए । एउटा प्रयोगकै रूपमा भए पनि यो काम गरौँ भन्ने लागेर अघि बढियो', श्रेष्ठले भने ।

शुभेच्छाभित्रका गजलहरूमा 'परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ' सन्तोष श्रेष्ठ र निशा देशारले, ''थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ' ज्ञानु राणाले, 'उठाऊ लाजको घुम्टो, बढाऊ हात मायाको' आनन्द कार्कीले, 'झर्दै छ अश्रुधारा, सम्हाल भन्छु प्यारी' शिव परियारले र 'फेरि साथ मेरै माग्दै नआउनू' अस्मिता अधिकारीले गाएका छन् ।

एल्बमका गजलहरू पूरै बहरमा लेखिएमा छन् । परिष्कृत बहरमा लेखिएका गजलहरूमा लयको पूर्ण पालना गरिएको छ । बहर स्वयंमा परिष्कृत लयसमेत भएकाले बहरबद्ध गजलहरूमा सङ्गीत गर्न निकै सहज हुने सङ्गीतकार श्रेष्ठको अनुभव । 'तर, शास्त्रीय सङ्गीत निकट हुन्छ गजल । यस कारण गजलको शास्त्रीय गायनको पक्षलाई पनि ध्यान दिँदै बहरका नियमलाई भङ्ग नगरी सङ्गीत संयोजन गर्नु सामान्य काम पनि होइनरहेछ', श्रेष्ठले अनुभव सुनाए ।

यसभित्रका 'परे म मर्छु...' बहरे हजज मुसम्मन मक्बुज (छन्द: पञ्चचामर)मा, 'थिएँ शान्त व्यर्थै...' बहरे मुतकारिब मुसम्मन सालिम (छन्द: भुजङ्गप्रयात्)मा, 'उठाऊ लाजको घुम्टो...' बहरे हजज मुसम्मन सालिम (छन्द: विधाता)मा, 'झर्दै छ अश्रुधारा...' बहरे मुजारे (छन्द: दिक्पाल)मा र 'फेरि साथ मेरै...' बहरे हजज अस्तरमा रचना गरिएका छन् ।

पुस्ताको स्वर 'शुभेच्छा'मा

'शुभेच्छा' एल्बममा नेपाली गायन क्षेत्रका ४ पुस्तालाई समेटिएको सङ्गीतकार श्रेष्ठको भनाइ छ । उनका अनुसार अघिल्लो पुस्ताबाट गायिका ज्ञानु राणा, त्यसपछि आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, सन्तोष श्रेष्ठ र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीले एल्बममा स्वर दिएका छन् ।

समावेशी आवाज

'शुभेच्छा' एल्बमलाई समावेशी बनाइएको पाइन्छ । पुस्ता (उमेर)का आधारमा मात्र नभएर लैंगिक हिसाबले पनि एल्बम समावेशी बनेको छ । यस एल्बममा ६ जनाले स्वर दिएका छन् । ६ जनामा महिला र पुरुषको आधा/आधा सङ्ख्या छ ।

‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची’ भन्ने राष्ट्रकवि माधव घिमिरेको गीत, शताब्दी पुरुष सत्यमोहन जोशीको ‘माया रानीलाई’, कालीप्रसाद रिजाललगायतका हस्तीहरूको गीतमा पनि उहाँले सङ्गीत गर्नु भएको छ । शीर्ष साहित्यिक व्यक्तित्वहरूसँगको उठबसले पनि सङ्गीतसँगै साहित्यमा पनि उहाँ तानिँदै जानुभयो । 

फरैना उपन्यास उहाँले सानैदेखि दाङमा देखेको कथा हो । तर, त्यसलाई पूर्णता दिने समय भने उहाँसँग थिएन । संयोग के पर्यो भने पहिलो लकडाउन हुनुभन्दा दुई दिन अगाडि उहाँ दाङमा आउनु भएको थियो । दुई दिनपछि लकडाउना घोषणा भयो । उहाँसँग त्यस बेला बजाउनलाई वाद्ययन्त्र पनि भएन । पढ्नलाई पुस्तक पनि भएन । लकडाउनको समयमा मान्छेलाई भेट्ने भन्ने त हुने कुरै भएन । त्यसकारण यो समयलाई लेखेर सदुपयोग गर्नुपर्छ भनेर उहाँले मोबाइलमा युनिकोडमा झण्डै २६ हजार शब्द टाइप गर्नुभयो । पछि यसलाई सम्पादन गर्दै झण्डै अरु ९ हजार ५ सय शब्द थपिएर दुई सय २८ पेजको किताब तयार भएको छ । 

०००

उहाँले झण्डै दर्जन चलचित्रमा पनि सङ्गीत गरिसक्नु भएको छ । त्यस्तै उहाँका गीत र गजल गरी आधा दर्जन एकल प्रस्तुति रहेको छ भने ८ सय आधुनिक तथा फिल्मी गीतहरुमा सङ्गीत गरिसक्नु भएको छ । साथै सयौं लोक दोहोरी गीतहरुको गायन र सङ्कलन पनि गर्नु भएको छ । 

उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दाङको संस्थापक उपाध्यक्ष, नेपाल साङ्गीतिक सङ्घ,काठमाडौको सचिव, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको सदस्य, विश्व कलाकार महासंघ, नेपालको सदस्य लगायत अनगिन्ती संस्थामा संलग्न हुनुहुन्छ । 

सम्मान तथा पुरस्कारका हकमा पनि उहाँका अनगिन्ती पुरस्कार रहेका छन् । खुल्ला लोकगीत प्रतियोगितामा प्रथम, (२०५६), सर्वोत्कृष्ट राष्ट्रिय दोहोरी गायक पुरस्कार (२०६२), राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा द्वितीय (२०६२), राष्ट्रिय दोहोरी गीत प्रतियोगिता प्रथम (२०६३), राष्ट्रिय सम्मान–२०६३ काठमाडौ, (बालअधिकारको क्षेत्रमा वर्षको सर्वोत्कृष्ट गायक), राष्ट्रिय दोहोरी गीत प्रतियोगिता– २०६४ रेडियो नेपाल (प्रथम), राष्ट्रिय युवा प्रतिभा पुरस्कार– २०६६, नारायण गोपाल युवा संगीत पुरस्कार (२०७३), जेसीज उत्कृष्ट युवा पुरस्कार (२०७४), रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता – २०७४ (सर्वोत्कृष्ट सङ्गीतकार), नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७) लगायत रहेका छन् । 

त्यस्तै वातावरण संरक्षण विषयमा एउटा गीत तीन सय ६५ जनाले गाएको गीतको एक गायकको रूपमा गिनिज वर्ल्ड रेकर्डस् ( २०१८बाट प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने गिनिज वर्ल्ड रेकर्डस्बाटै अन्तर्राष्ट्रिय १२ भाषामा १२ स्केलको प्रयोग गरी विश्व कीर्तिमानी सङ्गीतकारको (२०२०) प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।