जंगलभित्र बाँसकटेरीमा त्रासको बास: कुकुरका कारण रातभर 'लघुशंका' र 'दीर्घशंका'ले चाप्ने डर !

फर्कलान् र ती दिनहरु

जंगलभित्र बाँसकटेरीमा त्रासको बास: कुकुरका कारण रातभर 'लघुशंका' र 'दीर्घशंका'ले चाप्ने डर !

लोकसंवाद संवाददाता  |  साहित्य  |  कात्तिक १२, २०७९

हामी भर्खर भर्खर सुरु भएको जाडोमा नरम नरम ओछ्यानमा सुत्न र हल्का सिरक, माल भोग केरा र दाना दार घिउ अनि दसैंको बेलामा मेजमान खान भनेर बाँसकटेरीमा  फुपूको घरमा हिँडेको अनि कता बाटोसमेत बिराएर अनजान ठाउँमा पुगेको कुराले अहिले पनि मिठो कल्पनामा पुर्‍याउँछ । जब त्यो समयको सम्झना आउँछ, म आफ्नो १५ बर्से उमेर पुग्छु । अलिकति चिउरा त हात्तीको मुखमा जिरा भएकै थियो । भोक अब पो लाग्न थालेको थियो ।

 शिबु काका, रवीन्द्र काका र मैले जति फकाए पनि तामाङ परिवारले चिउरा त दिएनन् तर भर्खर भाँचेका मकै भने भुटेर उनीहरुले खान थाले र हामीलाई पनि एक घान मकै भुटेर दिए । हाम्रालागि त्यो अमृतजस्तै मिठो भयो किनभने त्यही अलिकति चिउराले के पो पुगेको थियो र ? न भोक लागे अनुसारको खाजा खान पाएका थियौँ, न पानी नै मज्जाले पिउन पाएका थियौँ तर सिमसिम पानीमा भने भिजेका थियौँ र चिसो चिसो हुँदै जाडो नै हुन थालेको थियो ।

राती कता बास बस्ने भनेर परेको चिन्ता त मेटिएको थियो तर हामीसँग भएको पातलो धोतीले के थेग्थ्यो र ! महाभारतको काखमा सिमसिम पानी परेको बेला अनि रात छिप्पिँदै जान थालेको बेलामा झमझम पानी परेको थियो । मकै खाएर पानी पिएको थियो अनि पिसाबले चाप्ने नै भयो । आवश्यक ओड्ने थिएन, चिसो लागेकै थियो, पानी पर्दै थियो, पानी पनि खाइए कै थियो । बाहिर कुकुरहरू थिए बाटैमा । टोक्ने पो हुन् कि ? त्यो ठाउँको भूगोलका बारेका हामीलाई कुनै जानकारी थिएन । कान्ला मुनि जाने हो हुन त, कान्लो नै कता हो र कुकुरले के गर्ने हो ? थाहा थिएन ।

घरको मालिकले तामाङ भाषामा केही भने आफ्नी जहानलाई र उनकी जहानले हामीलाई भनिन्- बाजेहरू अगेनाको छेउमा सुत्नुस् न त, हामी पनि त्यही छेउमा सुत्छौँ । यसो हेर्‍यौं घरमात्र उनीहरुको थियो तर उनीहरुको अवस्था पनि हाम्रो भन्दा धेरै फरक थिएन । साँच्चै भनौँ भने त्यो घरमा कति जना थिए भन्ने पनि हामीले थाहा पाएनौँ । कोही ढिकीमा थिए, कोही सुतेका थिए, कोही बस्तुभाउको गोठतिर सुतेको जस्तो लाग्यो ।

सायद ! संयुक्त परिवार थियो क्यारे ! घरको मुलीले मात्र नेपाली बोलेका थिए र हामीलाई माया गरेका जस्तो लागेको थियो । अनि शिबु काकाले सोधिहाल्नु भयो-बाँसकटेरी त्यहीँ पारिको डाँडामा होइन र दाइ ? उनले खासै जबाफ दिएनन् र पनि हामी अनुमान गर्न सक्थ्यौँ  हामीले बास बसेको ठाउँबाट पूर्व पट्टीको डाँडा नेर पर्थ्यो पक्कै । फेरि सोध्नुभयो काकाले- सापकोटा बाजेहरूको घर यता कता पर्छ त दाइ ? उनले बिस्तारै भने- मलाई थाहा भएन त बाजे । अनि बाजेहरूको घर कहाँ हो नि ? बल्ल हाम्रो परिचय खोजिएको थियो र हामीले पनि आफ्नो घर त्यही महाभारत पारिको गाउँ ग्वाल्टार हो भन्यौँ । उनले पनि आफू एकपटक ग्वाल्टार काम गर्न पुगेको बताए । सुत्ने त कुरा अलिकति मिल्यो  अगेनाको छेउमा सुतिने भयो दाउरा बालेर । उज्यालोको लागि कतैबाट जोहो गरेर ल्याएको दियालो आटमा बलिरहेको रहेछ भित्र त । केके खाए उनीहरुले त हामीलाई खासै थाहा भएन तर त्यही मकै भुटेर खाएको जस्तो लाग्यो जुन मकै हामी तीनजनालाई एक घान भुटेर दिएका थिए । 

डर अब अर्कै लाग्न थाल्यो, राती 'लघुशंका' लागि या 'दीर्घशंका' मा जानु परेको बेलामा कुकुरसँग कसरी बच्ने ? कुकुर ठुला थिए काला रहेछन् अजङ्गका दुइवटा या तीनवटा । अघि त्यो घरमा आइपुग्दा कसरी ती कुुकुरहरुबाट बचियो भन्ने लाग्दै थियो । मलाई कुकुरसँग साह्रै डर लाग्ने, अझै पनि डर लाग्छ किन हो थाहा छैन । बरु मलाई सर्पसँग खासै डर लाग्दैन । मेरा कति साथीहरु छन्, सर्प हिँडेको बाटो पनि कति दिनसम्म हिँड्न डर मान्ने । मलाई कुकुरसँग डर लाग्ने अनि मैले ती कुकुरहरुसँग बच्नका लागि घर पट्टLसँग बिस्तारै भनेँ- साँच्चै दाइ, यी कुकुरहरु कत्तिको टोक्छन् नि ?

हामीले कुरा गर्न खोज्दा पनि चिउरा बोकेर हिँडे ढिकी छोडेर । हाम्रो काम अब जुका टिप्ने थियो । नभन्दै तीनजनाको जुका टिप्यौँ । सलबल सलबल गर्ने जुका देख्दा पहिले त डर लाग्थ्यो, टपक्क टिपेर फाल्थ्यौँ । त्यहाँ त सयौँ जुका टिप्दा पनि घिन लागेन किनभने जुका टिप्नु नै थियो शरीरको सबै भागबाट । धन्न हाम्रा  संवेदनशील अंग आँखा, कानभित्र, नाकभित्र र शरीरका मध्यभागमा लुगाभित्र पसेका रहेनछन् । खुट्टा, हात, ढाड, निधारमा थिए जुकाहरू । टिप्यौँ र त्यही ढिकीको ओखलभित्र हालेर कुट्यौँ । घरपट्टीको बेवास्ताको रिस, जुकाले टोकेकोले रगताम्मे भएको झोक !

अनि मालिकले हाँसेर भने -कुकुरले पनि टोक्दैन त ? झन हामी महाभारतको जंगलभित्र छौँ, अलिअलि लगाएको बाली पनि बाँदर, सुगा र भालुले सखाप पार्छ । बस्तुभाउ हेर्न जान पनि, भेडाबाख्रा चराउन जाँदा पनि  यी कुकुरहरूले हामीलाई धेरै सहयोग गर्छन् । मैले बच्चा पाउने माउलाई परार रामेछापको गुम्देलबाट ल्याएको थिएँ र डाँगो त मसँग पहिले नै थियो । त्यो माउले पाएको दुईवटा बच्चा र ती दुईवटा गरेर हामीसँग अहिले चारो वटा कुकुरहरू छन् । पोहोरका बच्चाहरूमध्ये दुईवटा सिँधुलीको साहुलाई दिएँ , धेरै खुसी भए र मलाई त्यसको सट्टा एउटा धुसा ओड्ने दिए, हामी बुढाबुढी त्यही ओड्छौँ । कति निश्छल, कति निष्कपट र संसारबाट टाढा टाढा बसेर पनि कति निःस्वार्थ त्यो तामाङ दाइ ।

एकछिन अघिसम्म हामीलाई त्यो परिवारका मानिसहरु जंगली जस्ता लागेका थिए तर अहिले लाग्न थाल्यो, कति सभ्य, कति आदरणीय र कति सहयोगी । आफू गरिबीको चपेटामा रहँदा पनि महाभारतको काखमा बसेर पनि अतिथिहरूको कति वास्ता गरेका जस्तो लाग्यो । उनले सम्झेको जस्तो गरेर भने -मलाई छोरोलाई पढाउन मन छ बाजेहरू, कसैका घरमा काम गरेर पढ्न पाउला ? हामीले के पो भन्ने सक्थ्यौँ र ? कारण थियो आज त हामी बाटो  अल मलिएर पो आएका हौँ, फेरि यो घरमा अब कहिले पो आइएला र ?

शिबु काका त शिक्षक पनि हो, उहाँले चाहे आफ्नो विद्यालयमा पढाउन पनि सक्नुहुन्थ्यो आफूसँग काम गर्ने सहयोगीको रुपमा राखेर । तर काकाले मतिर हेर्नुभयो र हाँस्नुभयो-हुन त हुन्छ, किन नसक्नु र ? तर मरिन खोलासम्म दाइले ल्याउनु पर्छ अनि म काम पनि दिन्छु, पढ्न पनि लगाउँछु । उनी खिस्स हाँसे र भने - भैगो बाजे, मैले मरिन खोला देखेको पनि छैन, सिँधुलीभन्दा उता गएको पनि छैन , बरु तपाईँहरूको गाउँमा पुगेको थिएँ काम खोज्दै भारी बोक्ने काम खोज्दै । बरु रामेछापको गुम्देलसम्म पुगेको थिएँ अनि त्यहाँबाट फर्केपछि त्यही सिँधुली सम्म मात्र गएको हुँ ।

अब निद्रा लाग्न पनि थालेको थियो अगेनाको छेउमा आएको तातो ले होला, लुगा चिसा थिए अब सुक्न पनि थालेको थियो हाम्रो शरीरको तातो र अगेनाको तातोले । डर अब लाग्न थालेको थियो कुकुरको । जब डर लाग्न थाल्यो, 'लघुशंका' ले पनि चापेको जस्तो लाग्यो । अनि मैले सोधेँ-दाइ, आज रातका लागि कुकुर बाँधेर राख्न मिल्दैन र ? मेरो कुरामा काकाहरूले पनि हो मा हो थप्नुभयो किनभने काकाहरूलाई पनि 'लघुशंका' ले चाप्दै लगेको जस्तो लाग्यो । यसो गमे अनि भने- बाँध्न त हुन्थ्यो तर भालु लाग्न थालेका छन् । खोइ के गर्ने गर्ने ? अनि तामाङ भाषामा केही सोध्नुभयो कसैलाई त्यही अँध्यारोभित्रै । आवाज आयो अर्को पुरुषको तामाङ भाषामै ।

सायद ! भनिएको थियो होला, आजलाई बाँधौँ न त ! तर मेरो अनुमान गलत निस्कियो । बाहिर एउटा खोर रहेछ ती कुुकुरहरुलाई राख्ने । बाँध्नु त परेन तर त्यो खोरमा हुलेपछि ती कुकुरहरू कराई रहने रहेछन् जसले गर्दा चितुवा, भालु, स्यालले कुकुरको आवाजले घरको नजिकै नआउने रहेछन् । अब हामीलाई 'लघुशंका'का लागि जान निस्क्रिय भयो तर बाहिर पानी परेकोले भोलि विहान कसरी जाने भन्ने पनि थियो । अब हामी विहानको प्रतीक्षा थियौँ तर अन्यौल भावमा । पानी परिरहेको अवस्थामा कसरी जाने हो ? अहिले हामी कुन ठाउँमा छौँ ? भनेर हामीले अनुमान लगाउन सकेका थिएनौँ तर जुन बाटो समाएर हामी त्यो घरमा आइपुगेका थियौँ, फेरि त्यही बाटो फर्कन पनि हामीलाई गाह्रो थियो किनभने रातभरी पानी परेको थियो र बाँसकटेरी खोलामा बाढी आएको हुनसक्थ्यो र करिब करिब हामी महाभारतको डाँडोमा पुग्न आधा बाटो त हिँडेका थियौँ । तर कहाँ छौँ भन्ने यस कारणले पनि भन्न सक्ने अवस्थामा थिएनौँ कि पानी झमझम परिरहेको थियो र अब बिहानै  हुन लाग्दा हुस्सू बाक्लो लाग्न थालेको थियो । 

उठ्यौँ । यसो मुख कुल्ला गर्‍यौँ, फूलपातीको दिन थियो । घरपट्टीलाई उठायौँ र अब हिँड्ने तरखर गर्न थाल्यौँ । घरबाहिर कताबाट हो, सानो धारो तुरुतुरु झरिरहेको थियो, सायद ! वर्षा भित्रको बेला भएकाले जताततै पानीको मूल फुटेकोले कान्लामाथिबाट पानीको सानो कुलोजस्तो बनाएर धारो राखेको बुझ्न सकिन्थ्यो । विदा त माग्यौँ, त्यस्तो दिने कुरा पनि हामीसँग केही थिएन । हामी त विद्यार्थी थियौँ, शिबु काका पनि विद्यापीठको परीक्षा दिएकाले सिँधुली बजारमा गएर केही पनि किन्न भ्याउनु भएको थिएन । धन्यवाद ! दिँदै हिँड्यौँ तर कताबाट कता  जाने भन्ने थाहा थिएन किनभने बाक्लो हुस्सु लागेको थियो र सिमसिम भनेपनि पानी परेको थियो । अझ महाभारत क्षेत्रमा हुस्सुसँग पानी परेजस्तो हुनु स्वाभाविक मानिन्थ्यो तर हामी छाता नभएका र फेर्ने लुगा पनि नभएकाहरूका लागि एउटा चुनौती थियो ।

फुलपातीका दिन घर पुग्ने कुरा त स्वाभाविकै हो तर कताबाट कता जाने केही थाहा नपाई हामी उकालो लाग्यौँ । पानीको खोल्सोजस्तो , सीमित बस्ती भएको ठाउँ हुनाले हामी गाई हिँडेको बाटो पहिल्याउँदै हिँड्न थाल्यौँ । अलि माथि पुगेपछि बाटो त भेट्यौँ तर कताबाट कतातिर जाने हो, थाहा भएन । हामीले सल्लाह गर्‍यौँ, बाटैबाटो जाने । या त सिन्धुली गढी पुगिएला, या हाम्रै बाटोमा पुगिएला हिर्दिङ तिर । अनि हिर्दिङ  पुगेमा टेकबहादुर काकाको घरमा जा औँला र भात पकाएर खाउँ ला या पकाएको भात खाउँ ला । त्यति बेर भातको कल्पनाले पनि एउटा अचम्मको उर्जा दिएको थियो र अल्मलिएको बाटो पनि बिर्सेर हामी मख्ख परेका थियौँ । हिँड्दै थियौँ महाभारतको डाँडैडाँडा । पानी झमझम परेको छ, जुका शरीरको कुन भागमा नहोला जस्तो गरेको छ सलबल सलबल शरीरभरि । कहाँ बिसाउनु र झोला ? जताततै पानी नै पानी, जुका नै जुकाको घानी । जे होस् , जस्तो परेपनि खप्ने त मान्छेले नै हो र त्यस्तो अनुभूति सँगालेर आफूलाई अघि चलाउने पनि त मान्छे नै हो नि !  

अचानक हुस्सू छाँटियो र घामको मुख देखियो । हामी हिर्दिङको टाउकोमा आएका रहेछौँ । हाम्रो नियमित बाटो पहिचान गर्‍यौँ । हाम्रो बाटोमा छङ्छङ् खोलो जस्तै बगेको थियो पानी । मूल फुटेको बेला थियो महाभारतमा । अब नभिजेको ठाउँ पनि कहीँ थिएन । झोलामा पनि त्यस्तो केही बाँकी थिएन नभिजेको । अब टेकबहादुर काकाको घरमा गएर अर्को मेजमानी पाउने आशामा लड्दै पड्दै ओरालो लाग्यौँ र त्यो घरमा पुगेर घरमा मानिसहरुलाई बोलायौँ । त्यो घरमा रवीन्द्र काकाको नाता पनि थियो तर हामीले चिनेकाहरू गडौलीबाट आएका रहेनछन् र घरमा हुनेले वास्ता नै गरेनन् । चिउरा कुट्दै थिए हामी जाँदा । हामीले कुरा गर्न खोज्दा पनि चिउरा बोकेर हिँडे ढिकी छोडेर । हाम्रो काम अब जुका टिप्ने थियो । नभन्दै तीनजनाको जुका टिप्यौँ । सलबल सलबल गर्ने जुका देख्दा पहिले त डर लाग्थ्यो, टपक्क टिपेर फाल्थ्यौँ । त्यहाँ त सयौँ जुका टिप्दा पनि घिन लागेन किनभने जुका टिप्नु नै थियो शरीरको सबै भागबाट । धन्न हाम्रा  संवेदनशील अंग आँखा, कानभित्र, नाकभित्र र शरीरका मध्यभागमा लुगाभित्र पसेका रहेनछन् । खुट्टा, हात, ढाड, निधारमा थिए जुकाहरू । टिप्यौँ र त्यही ढिकीको ओखलभित्र हालेर कुट्यौँ । घरपट्टीको बेवास्ताको रिस, जुकाले टोकेकोले रगताम्मे भएको झोक ! शरीरभरि बाट रगत त बगे कै थियो । तानी तानी निकालेका थियौँ किनभने जुका यसरी टाँसिएका थिए नि तान्नै पर्ने गरी । हामी तीनजनाले एकअर्काका जुका टिपेर कुट्यौँ र भाग्यौँ । 

अब खानु पनि पर्ने, नाकाजोली नपुगी खाने व्यवस्था नहुने । करिब १० बज्न लागेको थियो । घाम पनि लाग्न थालेको थियो । हिँड्दा हिँड्दै मलाई एउटा कुरा याद आयो , हिर्दिङको पुछारमा लाँकुरीको ठुलो रुख र पिपलको ठुलो रुखसँगै देउराली टार, गैरी गाउँका खड्पुले दाइकी बहिनीको घर थियो । हाम्रो परिवार पुरेतको परिवार भएकाले र खड्पुले दाइको छोरो चन्द्र मेरो  साथी भएकाले ती दिदीसँग मेरो यही बाटो हिँड्दा चिनजान थियो र पुरेत बाको छोरो भनेर माया गरेको याद आयो । अनि हामी तीनजना त्यही घरमा पस्यौँ । दिदीलाई मैले चिनाए, शिबु काका साहिँला मुखिया बाको नाति जनकलाल हजुर काको कान्छो छोरो, रवीन्द्र काका हरिबहादुर कार्की हजुर बको कान्छो छोरो । मैले अलिकति हिजो देखिको भोकको कथा भनेँ । उनले तत्काल दही चिउरा केरा दिइन दिदीले र भात पकाउनुका लागि चामल, इस्कुस र बरेलाको तरकारी पकाउने व्यवस्था गरिन् र चुलो चम्को लगाइन् ।

अनि शिबु काकाले पकाउनुका लागि नुहाउने भनेर नजिकैको धारामा नुहाउन जानु भयो, चिसा लुगा सुकायौँ र रबीन्द्र काका र मैले पनि नुहायौँ किनभने फुलपातीको दिन थियो । त्यसो त पानीले भिजेका हामी नुहाए सरह नै थियो तर लुगा सुकायौँ, नुहायौँ र काकाले भात पनि पकाउनु भयो, घिउ दिइन् दिदीले । दिदीको घरमा सानो पाडो काटेर मासुको भाग बनाउँदै थिए, सायद त्यसैले होला हामीलाई अलि परि चुलाचम्का लगाएर भात पकाउने व्यवस्था गरिएको रहेछ । त्यो तातो तातो भात, बरेलाको तरकारी, दिदीले दिएको दहीको स्वाद अनि इस्कुसको तरकारीमा अलिअलि झोल हालेर खाएको त्यो बेलाको मलाई अहिले पनि जुन सम्झना छ, त्यसले जीवनको एउटा अमूल्य अनुभूतिको याद ताजा हुन्छ । हामी त्यो दिन साँझमात्र घरमा आइ पुग्यौँ र पिङ बाट्ने काममा लाग्यौँ । 

त्यो साल शिबु काका पनि विद्यापीठ  पास हुनुभयो तृतीय श्रेणीमा, म पनि एस एल सी पाए भएँ तृतीय श्रेणीमा नै । पछि शिबु काकासँग भेट्दा त्यो बेलामै सम्झना गर्थ्यौँ हामी बाबुछोरा । अब शिबु काका हुनु हुन्न, रवीन्द्र काका र म छौँ र भेट्दा अहिले पनि बाँसकटेरीमा मालभोग केरा र घिउ खान गएको कुराले रमाइलो लाग्छ । क्रमशः

यो पनि 

मेजमानीमा मालभोग केरा र घिउ खाने लोभ : अनकन्टारमा मूलबाटो बिराउँदा कन्तबिजोगको बास !