हरिविनोद अधिकारी | ज्ञानविज्ञान | कात्तिक १९, २०७९
हामीले जीवन यात्राका लागि केही आदर्श तयार गरेका छौँ र केही अनादर्शका उदाहरणहरु संग्रह गरेर राखेका छौँ । संसारमा जति धर्म, संस्कृति र संस्कार प्रचलनमा छन्, ती चलनमा आउनु भन्दा पनि कुनै अरु नै चलनमा थिए होलान्, हामीले त्यतातिर भने ध्यान नै दिएका छैनौँ । मैले यी भावना व्यक्त गर्नका लागि समय खर्चिरहेको बेलामा कुनै नयाँ संस्कृति या चलन चलाउन कसैले सोचिरहेको होला, कुनै समूहले त्यसबारेमा कसरी आफ्ना विचारलाई जनताको विचारको रुपमा प्रयोग गर्न गराउन सकिन्छ भनेर कुनै उपाय सोचिरहेका होलान् ।
जब कसैको अमूर्त धारणा या कल्पनाले मूर्त रुप लिन्छ, त्यसपछि त्यो भावना, कल्पना उसको मात्र हुँदैन, सामूहिक भावना हुन्छ, समूहको सम्पत्ति हुनजान्छ । बिस्तारै मानिसहरुले त्यो आदर्शलाई स्वीकार गर्दै जान्छन् तर कसले त्यो आदर्शको स्थापना गर्यो होला भन्ने कुरा धमिलो धमिलो हुँदै जान्छ । आज हामी कुनै धर्म या संस्कृतिको पक्षमा या विपक्षमा उभिएका हुन्छौँ, त्यसको कुनै बेला कुनै अस्तित्व पनि थिएन होला भनेर आफूलाई सम्झाउन सक्दैनौ ।
मानिसहरुको अस्तित्व पनि मानिसले नै पत्ता लगाएको हो तर हामीले एउटा अदृश्य शक्तिलाई यो ब्रह्माण्डको अनुशासनको नियन्त्रकको रुपमा मान्यौँ नदेखेरै किनभने त्यो अनुशासनको नियन्त्रण कसरी भयो भन्ने रहस्य पत्ता लगाउन सकिएको छैन । नदेखेर पनि अनुभूत गरिने त धेरै कुराहरु छन् । प्राण वायुलाई कसले देख्यो र ? तर अनुभूतिले नै हावाहरु मध्ये कुनै नदेखिने हावालाई हामीले प्राणवायु भनेर मान्यौँ जव कि कसैले पत्ता नलगाउँदा पनि प्राणी मात्रका लागि प्राण वायुको काम त त्यसले गरेकै थियो । या पत्ता नलगाए कै बेलामा वा प्रयोगशालामा प्रयोग मार्फत् प्रमाणित नहुँदा पनि प्राणवायु या अन्य काम लाग्ने या वातावरणलाई सन्तुलन गर्ने अदृश्य तत्वहरुले काम गरेकै थिए । कसैले आकाशमा धेरै चम्किने पिण्ड सूर्य हो भन्ने नामाकरण कसैले नगर्दा पनि मानव जाति हुँदो हो, प्रकृतिको यो स्वभाव पक्कै थियो होला । हजारौँ वर्षको अनुसन्धानबाट आकाश मार्गमा हिँड्ने वा देखिने ग्रह ताराको बारेमा जानकारी पाइयो होला ।
आज म को हुँ भनेर आफैँलाई सोध्दा अनेक प्रश्नहरु गुजुल्टिएर आउने गर्छन् र पृथ्वीको यो स्वरुप या हामीले अनुभूत गरेको ब्रह्माण्ड प्रतिको सोधखोज र उपलब्ध प्रमाणका आधारमा गरिने अनुमान तथा मूर्तता नै हामीले अहिले गर्ने व्याख्या हो जुन अपूर्ण छ, अधुरो छ र अझै प्रमाणित गर्नु जरुरी छ भन्ने मलाई लाग्छ । संसारमा कति संस्कृति उत्पन्न भए होलान् , कति धर्मका स्वरुपहरु अपनाइए होलान् , ती कुनै पनि अन्तिम पनि होइनन् र सुरु पनि होइनन् । तर आपसमा शान्तिपूर्वक बस्ने र निर्भयताका साथ बाँच्न बचाउन सक्ने वातावरणको पक्षमा आजको सभ्यता अडिएको छ । सायद आधुनिक विश्वमा अपौरुषेय भनेर चिनिने वेदले नै हालसम्मको सामाजिक बाटो देखाएको मान्नुपर्ने हुन्छ किनभने आज अपनाइने धर्म र संस्कृतिको प्रारम्भिक रुप भनेर मानिएको छ ।
जीवन त चलिरहेकै छ । प्रश्नहरु आफैँमा कुलबुल कुलबुल गरेर आउँछन् र कतिका उत्तरहरू पाइन्छन् र कतिपय अनुत्तरित नै रहेका छन् । कति उत्तर समयले दिन्छ तर ती सार्वकालिक नहुन सक्छन् । तर भोगिँदै जाँदा कति दुःख भनेर भनिने पनि भोगेपछि जीवनको अभिन्न अंग बन्दै जाने रहेछ र पछि रमाइलो लाग्ने रहेछ । मैले २०२६ सालको दसैँमा सिन्धुलीबाट ग्वाल्टारतर्फ आउँदा को अनपेक्षित तर भोगिएको एउटा अतीतका बारेमा आफ्ना सम्झना स्मृति पटलबाट फुत्त झिकेर राखेको थिएँ ।
त्यसो त मलाई किन हो, आकाशबाट पर्ने पानी सधैँ मनपर्छ । अझ हामी गाउँमा हुर्किएका र किसान परिवारमा आफूलाई अभ्यस्त भएकाहरुका लागि अहिलेको दैनिक जीवन एउटा कल्पनाको कथा जस्तो भएको छ । कहाँ कपुरी क पढ्नका लागि धुलौटे पाटीमा रातो माटो पिँधेर अनि त्यहाँ झिक्राले लेखेर कखरा चिनेको, कहाँ अहिलेको अत्याधुनिक काखमा राखेर चलाउने कम्प्युटर, अझ हातमा राखेर चलाउने मोबाइल जसले फोनको पनि काम गर्छ र धेरै त्यस्ता आवश्यक काम गर्छ जुन हामीलाई छिनछिनमा आवश्यक हुन्छ ।
त्यो बेलामा जो जो थिए मेरो परिचयमा, तीमध्ये कति छन् र कति छैनन् । जहिले देखि मानव सभ्यता सुरु भएको हो, त्यसको निरन्तरताको एउटा कडी म हुँ, तपाईँ हुनुहुन्छ र अबका हजारौँ वर्षपछि मेरा अवशेषहरूको रुपमा पनि हजारौँ सन्तति भइसक्नेछन् । सायद तिनले पनि यही सोच्लान् र त्यो बेलामा संसारको परिवर्तन कस्तो होला, त्यो कल्पना गर्न पनि सकिँदैन । मानिसको क्षमताको प्रयोग हजारौँ वर्ष पछि कस्तो होला ?
सायद एउटा किसान परिवारको मान्छे भएर होला, मलाई वर्षाको पानी ? अझ फुको माटोमा पानी पर्दाको गन्ध मलाई मनमोहक लाग्छ । पानीमा भिज्न मज्जा लाग्छ । सायद प्रकृतिले दिएको देन हो सूर्यको उज्यालो र ताप, पिउनका लागि र सिँचाइका लागि जीवन रसका रुपमा पानी र अदृश्य तर जीवनका लागि नभई नहुने प्राणवायु । पृथ्वीलाई हामीले माताको रुपमा नै लिएका छौँ । अहिले हाम्रालागि जीवन्त सत्य भनेको सूर्य, पानी, प्राणवायु र माटो । त्यो माटोको गन्ध मन नपर्ने को होला र ? हाम्रो देशको जस्तो मिलेको हावापानी त संसारमा कतै पनि छैन ।
कतिसम्म पनि हामी समथर, पहाडी र हिमाली भेगको यो मिलन अनि छिनछिनमा परिवर्तन हुने वातावरणको मनमोहक अवस्था । गर्मीको बेलामा धुलोमा परेको पानीको गन्धले माटोको सुभाष फैलाउँछ र त्यो मलाई साह्रै मनपर्छ । जीवनको प्रारम्भिक अवस्था र अहिलेको प्रौढा अवस्था या वृद्धावस्थाको समयमा मैले आफूले धेरै परिवर्तन महसुस गरे पनि सपनामा म त्यही पुरानो गाउँघर, संस्कार र चालचलनमा भौँतारिई रहेको हुँदो रहेछु । सपनालाई मनोवैज्ञानिकहरूले जीवन बाँच्ने मुख्य प्रतिरक्षात्मक औजारको रुपमा लिँदा रहेछन् । अब ती समयमा पुग्न कल्पनामा मात्र सम्भव होला तर सपना कसैको नियन्त्रणमा नहुने भएकाले निष्फिक्री रुपमा विचरण गर्नसक्छ किनभने जीवनको कुनै भागमा त्यो घटनामा, ती दृश्यहरु मष्तिष्कमा कतै संग्रहित भएका हुन्छन् बैँकमा रकम जम्मा गरेको जस्तै गरी ।
हुन त मलाई पौडी खेल्न पनि आउँदैन, मोटर चलाउन पनि आउँदैन । तर कल्पनामा सायद धेरैपटक पौडी खेलेँ हुँला किनभने मेरो बाल्यकालका बसाइ सुनकोशीको नजिकै बितेको थियो । समकालीनहरु मज्जाले कोशी वारपार गर्न पनि सक्थे । खासगरी हामीले कोशीमा जाने भनेको कम्तीमा वर्षमा एकपटक गाउँका सबै जम्मा भएर जाने हो -जनैपूर्णिमाको दिन ।
जनै मन्तर्न, जनै लगाउन सुनकोशीकै किनारामा गइन्थ्यो हामी ब्रतबन्ध गरेका ब्राह्मण र क्षत्रीहरू । घरबाट लगेका जनैहरू, पूजाका सामानहरु र नैवेद्यहरू त्यहाँ पूजा गर्ने ठाउँमा राख्यो । पुरेत बाजेहरुले वैदिक मन्त्रअनुसार शिखाको उपासना गरिन्थ्यो । तीन पटक कोशीमा डुबुल्की मारेर नुहाउनु पथ्र्यो । कपाल काटेकै हुन्थ्यो । पहिले माटो लगाएर नुहाउँथ्यौँ, दोस्रोपटक गाईको गोबर लगाएर नुहाउँथ्यौँ र तेस्रोपटक खरानी लगाएर नुहाउँथ्यौँ । बल्ल जनै मन्तरेको र वैदिक पूजा सम्पन्न भएको कुरा शंख, घण्ट बजाएर र आरती गरेर जानकारी गराइन्थ्यो ।
आफ्ना आफ्ना टपरीमा राखेको जनै र प्रसादहरू फिर्ता दिइन्थ्यो । हामी भर्खर भर्खर ब्रतबन्ध गरेको बेलामा त्यो दिनको पर्खाइमा हुन्थ्यौँ । एकातिर कोशीको धमिलो पानीमा नुहाउनु पर्ने, कुनैबेला पानी पनि पर्ने हुन्थ्यो । त्यो पानीमा भिज्न पाउँदा पनि मज्जा लाग्थ्यो । हाम्रो गाउँ कोशीबाट अलिकति माथितिर पर्छ । अहिले धेरैजसो मानिसहरु खोटाङ, ओखलढुंगा, सोलु जानेहरुले ग्वाल्टार देखेका छन् । सुनकोशीभन्दा अलिकति माथि, खुर्कोटभन्दा १२ किलोमिटर पूर्वमा पर्ने गाउँ रमणीय छ । आफूलाई त जन्मस्थल राम्रो लाग्नै नै भयो जहाँ जन्मियौँ, हुर्कियौँ र अब त अतीतको सम्झनाको एउटा पवित्र स्थलको रुपमा लिइन्छ किनभने बा आमा र बालापनको अतीत त त्यहीँ नै कतै लुकेर बसेको हुनुपर्छ ।
त्यो बालापन, बा आमाको माया, आफ्नो सम्झन सकिने या कति बिर्सिएका अतीतको साक्षी त्यो गाउँ, त्यो ठाउँ । भूकम्पपछि अब पुरानो घर पनि रहेन तर म जन्मेको घर, पहिलेको हाम्रो मूल घरको मतान भने उस्तै स्वरुपमा नभए पनि घरको नमुना उस्तै छ । कता कता आफू जन्मेको घर भनेपछि एउटा नयाँ कम्पन आउने रहेछ खुसीको ।
त्यो बेलामा जो जो थिए मेरो परिचयमा, तीमध्ये कति छन् र कति छैनन् । जहिले देखि मानव सभ्यता सुरु भएको हो, त्यसको निरन्तरताको एउटा कडी म हुँ, तपाईँ हुनुहुन्छ र अबका हजारौँ वर्षपछि मेरा अवशेषहरूको रुपमा पनि हजारौँ सन्तति भइसक्नेछन् । सायद तिनले पनि यही सोच्लान् र त्यो बेलामा संसारको परिवर्तन कस्तो होला, त्यो कल्पना गर्न पनि सकिँदैन । मानिसको क्षमताको प्रयोग हजारौँ वर्ष पछि कस्तो होला ? या यो ब्रह्माण्ड रहला या नरहला ? सायद यही हो ब्रह्माण्डको निरन्तरता, निजी रुपमा भन्नुपर्दा जीवनको निरन्तरता । आखिर जीवन निरन्तर बगिरहेको नदीमा बेलाबेलामा उठ्ने पानीको फोकोझैँ हो । एकातिर निरन्तरता छ, अर्कोतिर अनित्य छ । नित्य र अनित्यको भुमरीमा जीवन चक्र रुमलिएको पाइन्छ । त्यसो त अदृश्य शक्तिका बारेमा पनि बहस चलिरहला ? ब्रह्माण्डको निरन्तरता होला नि त ! जीवनको नित्य र अनित्यको पनि परख भइरहला भावी दिनमा पनि ।
ब्रह्माण्डको अनुशासनका बारेमा पनि नयाँ नयाँ तथ्य पत्ता लाग्दै पनि जाला तर घटेका घटनाहरु न परिवर्तन हुन सक्छन् , न फेरि फर्केर आउनै सक्छन् । क्रमशः