आशिष पौडेल | अन्तर्मन्थन | कात्तिक २७, २०७९
ज्ञाननिष्ठ ज्ञवालीको बुवा जमिन्दार नै नभए पनि जग्गा जमिनको कमी थिएन । सम्पन्न मान्छे । तर, समयक्रममा बुवामा अध्यात्मको चेतना जागेसँगै यो संसार केही होइन, धन, सम्पत्ति सबै केही होइन भन्ने चेत जागेपछि वेदान्त दर्शनबाट प्रभावित भएर विभिन्न आध्यात्मिक संघसंस्थामा हिँड्ने गर्न थाल्नुभयो । उहाँलाई लाग्यो यो संसार केही होइन सबै माया मोहको खेल हो । अब माया मोहको यो खेलमा धन सम्पत्तीको खास काम छैन भन्ने लागेर उहाँले भएका सम्पत्ति, जग्गा जमिन दान गर्ने आदि गर्न थालेपछि भने परिवारको आर्थिक अवस्था उँधो लाग्न थाल्यो ।
उहाँको आमा भने विशुद्ध गृहिणी । बुवाले अध्यात्म सम्हालेपछि भने आमाले घर सम्हाल्नु पर्यो । त्यसमाथि जेठी बुहारी भनेपछि त्यसको बेग्लै चाप र मार पर्ने नै भयो । यसरी र यही बीचमा उहाँको बाल्य पन गुज्रियो ।
उहाँको जन्म २०३१ सालमा गुल्मीको तत्कालीन थोर्गा गाउँमा भएको हो । अहिलेको भने रुरु क्षेत्र गाउँपालिका । उहाँ १२ वर्षको हुँदा बुवाको देहान्त भयो । बुवाको देहान्तपछि भने २०४३ सालमा उहाँहरुको बसाइँसराइ रिडी बजार अर्थात् रिडी विष्णुपञ्जरमा भयो ।
उहाँको बाल्यकाल गोठाला जाँदै, घाँसपात गर्दै, काली गण्डकीमा पौडी खेल्दै, गुच्चा खेल्दै, याक चुरोटका बाइट खेलेर बितेको हो । उहाँको एक जना साथी कालीगण्डकीमा पौडी खेल्दा बिते पनि । यसरी दुःखसँग जुध्दै अनि बाल्य पनको सुखद अनुभूति सँगाल्दै बिते उहाँको बालापन ।
०००
सम्पन्न परिवार र बुवा आध्यात्मिक चेतनाको भए पनि उहाँको कखरा सिक्ने काम भने स्कूल गएपछि नै भएको हो । गाउँको च्युरेक प्रावि, थोर्गामा उहाँले कखरा सिक्नुभयो । च्युरेकमा उहाँले कखगघ सिक्नुभयो । त्यस बेला एबीसीडी भने चार कक्षादेखि मात्र सिकाउने चलन भएको हुँदा च्युरेकमा त्यो सौभाग्य भने मिलेन उहाँलाई । च्युरेकमा पढ्दा सुरुमा चकटी लगेर पढ्नु परे पनि पछि भने बस्नलाई चार खुट्टे लामा बेन्चहरु उपलब्ध भए । गाउँका एक जना वृद्धले पढाइप्रति आकर्षण बढाउन उहाँहरुलाई तिमी आउ तिमी आउ, हाम्रा घरका सुन्तला कसले चोरे भनेर एक प्रकारको लयात्मक ढंगले वाचन गर्नुहुन्थ्यो ।
किम्बु निचोरेर मसी बनाउने अनि बाँसको छेस्कोको कलम बनाएर त्यसले चित्र बनाउने काम पनि गर्नुभयो उहाँले । उहाँले यो प्रसङ्गलाई जोडेर पछि किम्बुको मसी भन्ने कथा पनि लेख्नु भएको छ ।
चार कक्षादेखि भने उहाँ रुरु प्रावि रिडीमा पढ्न थाल्नुभयो । सहज ठाउँ, व्यापार व्यवसाय गर्ने नेवारहरूको बस्ती भएर होला शायद त्यस बेला पनि कक्षामा छात्राहरुको सहभागिता पनि राम्रै थियो । सरकारी स्कूल भए पनि एक प्रकारले भन्नुपर्दा टिनको पाताले छाएको पक्की भवन थियो । पढाइ पनि राम्रै थियो । अनि पढ्न तथा बस्नलाई डेस्क बेन्चको पनि व्यवस्था थियो । उहाँ रुरुमा पाँच कक्षासम्म पढ्नुभयो ।
छ कक्षादेखि भने उहाँ संस्कृत मावि रिडीमा पढ्न थाल्नुभयो । संस्कृत स्कूल भए पनि अंग्रेजी लगायत अन्य विषयको पनि पढाइ हुन्थ्यो रिडीमा ।
सात कक्षामा उहाँ पढ्दै गर्दा उहाँको बुवाको निधन भयो । त्यसपछि उहाँको जीवनमा नसोचेको दुःख आइलाग्यो । यसले उहाँलाई मानसिक रुपले पनि केही कमजोर बनायो ।
बुवाको निधन हुँदा उहाँको व्रतबन्ध भइसकेको थियो । उहाँका चार दिदी अनि दुई भाइ । अनि उहाँ जेठो छोरो भएका कारण काजकिरिया पनि उहाँले नै गर्नुपर्यो । सानो उमेर भएका कारण उहाँलाई यस्तो लाग्यो कि अब बुवा नभएपछि कस्ले पाल्छ अनि बुवा नभएपछि ठूलो पनि भइँदैन । त्यही सम्झेर उहाँ एकदिन घाटको काम सकेर आएपछि मिस्रीको काँढा पानी खाने बेला रुनु पनि भयो ।
अर्को दिन पनि उहाँ पनि यही कुराले रुनुभयो रे ! अनि त्यसपछि उहाँलाई एक जना अलि पाको मान्छेले आफ्नो बुवा पनि सानैमा बितेको र अहिले यति ठूलो भएँ भनेपछि भने उहाँको बाल्य मनले चित्त बुझाएछ । अनि साँझ घरमा गएर उहाँले आमासँग पनि यो चित्त बुझाउनु भएछ । बा नभए पनि हामी त ठूलो हुने रहेछौँ नि आमाभन्दा यसले आमालाई पनि चित्त बझाउन सहज भयो रे !
अरु साथीले बुवासँग घुम्न गएको, खेलेको कुरा गर्दा उहाँलाई मेरो पनि बुवा भएको भए भन्ने किसिमको नरमाइलो भने लाग्थ्यो । यसले पढाइमा पनि केही असर पुर्यायो होला । तर, पनि उहाँले कक्षामा दोस्रो हुने गरी अनि दोस्रो भन्दा नघट्ने गरी पढाइ भने छोड्नु भएन । कक्षामा झण्डै ७५ जनामा छात्राहरु करिब ३०/३५ जना हुन्थे ।
त्यस बेला स्कूलमा अतिरिक्त क्रियाकलाप गर्ने प्रचलन थियो । संस्कृत मावि भएकोले श्लोकान्ताक्षरी प्रतियोगिता पनि हुन्थ्यो । संस्कृत तथा नेपाली दुवैको श्लोक भन्न पाइन्थ्यो श्लोकान्ताक्षरीमा । यो भनेको अहिलेका अन्ताक्षरी जस्तै हो । अन्तिममा आएको शब्दको अक्षरबाट श्लोकको प्रारम्भ गर्नुपर्थ्यो ।
स्कूलमा भलिबललगायतका खेलकुद प्रतियोगिता पनि हुन्थे । तर, उहाँ भने पढाइसँग सम्बन्धित कुरामा बढी संलग्न हुनुहुन्थ्यो । उहाँले विद्यार्थी अवस्थामा पनि केही सृजना गर्ने काम गर्नुभयो । र, अर्को भनेको नेपाली पढाउने सरले साह्रै स्नेह गर्ने र नराम्रो कुरालाई पनि राम्रो पारेर भन्ने हुँदा यो कला र भाषा दुवैलाई उहाँले टपक्क टिप्नुभयो त्यसले गर्दा उहाँको भाष माथिको पकड पनि राम्रो रहँदै गयो ।
उहाँले २०४७ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याजमा झण्डै ७०/७५ जना थिए । त्यसमा ३३ जना पास भएजस्तो लाग्छ उहाँलाई । उहाँ त्यही ३३ भित्र पर्नुभयो र कक्षाको दोस्रो विद्यार्थी उहाँ पास पनि दोस्रो श्रेणीमा मात्रै हुनुभयो ।
०००
एसएलसीपछि भने उहाँ रुरु संस्कृत विद्यापीठमा पढ्न थाल्नुभयो । आइए तथा उत्तर मध्यमा अनि बिए अर्थात् शास्त्रीमा पनि उहाँले संस्कृत विद्यापीठबाट गर्नुभयो । दुवै परीक्षामा उहाँले दोस्रो श्रेणीमा पास गर्नुभयो । तर, त्रिचन्द्र कलेजमा एमएमा भने उहाँ त्रिविमा सर्वाेत्कृष्ट विद्यार्थी बन्नुभयो । उहाँले ६४ प्रतिशत अंक प्राप्त गर्नुभएको हो सर्वोत्कृष्ट हुँदा जुन त्यस बेलासम्म त्रिचन्द्र कलेजको रेकर्ड नै थियो ।
त्यस्तै एमफिलमा भने उहाँ अति उत्तम हुनुभयो । अहिले भने उहाँ विद्यावारिधी गर्दै हुनुहुन्छ ।
उहाँ शास्त्री प्रथम वर्षमा कलेजमा प्रथम हुनुभयो र एक सय रुपैयाँ तथा प्रमाणपत्र पनि प्राप्त गर्नुभएको थियो । त्यस्तै दोस्रो वर्षमा पनि दिइसकेपछि उहाँ सबैभन्दा योग्य विद्यार्थीको रुपमा निस्कनु भयो । अनि खरिदारको जागिर खान जाँदा अनेक तिकड्मका कारण पाउनु भएन । र त्यसपछि जागिर गर्नकै लागि स्याङ्जा जानुभयो र अर्मावि आवासीय स्कूलमा दुई महिना पढाउनु भयो ।
भूमिका सिद्धात र ज्ञवालीका भूमिका शीर्षकको उहाँको महत्वपूर्ण किताब छ २०६३ सालमा प्रकाशन भएको । उहाँ आफ्नो किताब तयार भएपछि भूमिका लेखाउनका लागि दुई जना विद्धानकहाँ जानुभयो । उहाँले भूकिा कस्तो हुनुपर्छ र भूमिका लेख्ने चलन कहिलेबाट सुरु भएको रहेछ भनेर ती विद्धानलाई जिज्ञासा राख्नुभयो । उहाँले ल तपाईँ नै खोजी गर्नुस् भनेर भनेर उहाँलाई नै जिम्मेवारी सुम्पनु भयो ।
त्यसपछि उहाँ उच्च शिक्षाका लागि भनेर २०५२ सालमा उच्च शिक्षाका लागि काठमाडौँ आउनु भएको हो । यहाँ सुरुमा वर्ल्ड भिजन स्कूलमा नेपाली पढाउन थाल्नुभयो । उहाँ काठमाडौँ आउन त्यस बेला साझा बसमा ६१ रुपैयाँको टिकट काटेर आउनु भएको हो ।
उहाँ फागुन ६ गते काठमाण्डौ आउनु भयो । भोलिपल्ट अर्थात् फागुन ७ गते प्रजातन्त्र दिवसको बिदा थियो पर्सिपल्ट ८ गते स्कूल जानुभयो । ९ र १० गते यता स्कूल पढाएर उता स्याङ्जामा केही खबर नगरेकोले उता गएर खबर गरेर यता स्कूल आउँछु भनेर उहाँ नाइट बसमा स्याङ्जा फर्कनु भयो । ११ गते नेपाल बन्द थियो । तर, उता पुगिसकेपछि त बन्द भए पनि खासै फरक नपरेकोले स्कूलमा गएर काठमाडौँ पढ्न जाने भएँ भनेर खबर गरेर बिदा हुनुभयो ।
तर, अब अनिश्चितकालीन बन्द भएकोले यता स्कूलमा आउनु पर्ने हुनाले बन्द भए पनि हिँडेरै वालिङबाट गल्याङहुँदै रिडी आइ पुग्नु भयो । रिडीमा पनि त्यस दिन मुसलधारे पानी परेर बस चलेन । र, पानी बन्द भएपछि बल्ल काठमाडौँ आउनु भयो । स्याङ्जाबाट ३/४ दिन लगाएर बल्ल उहाँ काठमाडौँ आइ पुग्नु भयो ।
उहाँले स्याङ्जामा स्कूलमा काम गर्दा तलब पाँच सय थियो । कमाइका रुपमा पहिलो तलब पाँच सयमा एक सय कोठा भाडा अनि दैनिक पचासको दरले खाजा खाएको झण्डै डेढ सय तथा आमालाई झण्डै एक सय दिएर पाँच सयमा बाँकी रहेको झण्डै डेढ सय बोकेर उहाँ काठमाडौँ आउनु भएको हो । काठमाडौँमा भने उहाँको तलब पच्चीस सय थियो ।
दुई महिनापछि होस्टलका विद्यार्थीलाई पनि पढाइदिने गरी स्कूलको बस्न कोठा पनि दियो । खाने व्यवस्था पनि थियो । तर, उहाँ आफू ब्राम्हण भएको र अरुले छोएको नखाने भन्ने मान्यताले दुई वर्षसम्म आफैँले स्टोभमा पकाएर स्वयंपाक्य पनि बन्नुभयो ।
०००
करिब ३ वर्ष स्कूल पढाएपछि स्कूलमा संचालकबीच खटपट भयो र स्कूल बन्द हुने स्थिति आयो । अनि उहाँ चार महिनाको तलब नपाए पनि अब यो निजी संस्थामा काम गरेर नहुने रहेछ बरु राम्रो पढेर एमए पास गरेर अन्यत्रै काम गर्छु भनेर २०५५ सालमा त्रिचन्द्र कलेजमा एमएमा भर्ना हुनुभयो । एमए पढ्दा पहिलो वर्षमा प्रथम भएपछि अब दोस्रो वर्षमा त जसरी पनि सर्वप्रथम हुन्छु भनेर साथीहरुसँग छुट्टिएर उहाँ सात सय रुपैयाँमा भाडा लिएर एक्लै बस्नुभयो । यसरी मेहनत गरिसकेपछि उहाँ सर्वोत्कृष्ट मात्र हुनुभएन त्रिचन्द्र कलेजमा एमएलाई नै पढाउने अवसर पनि पाउनुभयो । दुवै वर्ष उहाँले छात्रवृत्तिमा पढ्नु भएको हो । उहाँले त्यसबेला खाजा खाने पैसासमेत जोगाएर किताब किन्नुहुन्थ्यो ।
किताबप्रति साह्रै प्रेम गर्ने कारणले पच्चीस सय तलब हुँदा उहाँले किताब राख्न सत्ताइस सयको दराज किन्नुभयो । बिहान खाजा खाँदा पैसा खर्च हुँदासमेत ओहो यो पैसाले त मैले किताब किन्न पाए हुन्थ्यो भन्ने कुराले उहाँलाई पिरोल्थ्यो ।
उहाँले २०५४ सालमा एक पटक लोकसेवा आयोगको जाँच दिनुभयो तर फेल हुनुभयो । कहिले फेल नभएको मान्छेलाई फेल हुनुपरेपछि उहाँले दोहोर्याएर लोकसेवाको जाँच दिनुभएन । उहाँले २०५९ मा त्रिवि सेवा आयोग खुलेपछि दिएको आवेदनको परीक्षा भने २०६२ सालमा मात्र भयो । उहाँ त्यसमा नाम निकालेर अहिले पद्मकन्या कलेजमा उपप्राध्यापक पदमा प्राध्यापन गरिरहनु भएको छ ।
०००
काठमाण्डौ आएर एकदमै एक्लो भएपछि उहाँलाई कसैले यसो बोलाइदियोस्, कसैले आफ्ना कुरा सुनिदियोस्, कसैले एक कप चिया ख्वाएर यसो आफूसँग कुरा गरिदियोस् भन्ने पनि लाग्यो उहाँलाइ सुरु सुरुमा लाग्यो । पछि उहाँले यो सहर नै यस्तो रहेछ भन्ने पनि बुझ्नुभयो । यी कुरा उहाँले साहित्यमा पछि उतार्नु पनि भएको छ ।
उहाँले २०५२ सालमा काठमाण्डौ आएपछि कविता, संस्मरण आदि खुबै लेखेर डायरीमा राख्नु भयो ।
त्रिचन्द्र कलेजमा एमए पढ्दा भएको कविता प्रतियोगितामा उहाँले ‘जन्मभूमिको सम्झना’ शीर्षकमा शार्दूलविक्रीडित छन्दमा लेखेर वाचन पनि गर्नुभयो । त्यसमा उहाँ प्रथम हुनुभयो । कार्यक्रममा आएका युगसंवादका पत्रकारले त्यसलाई छपाउने काम पनि गरे । २०५६ सालमा प्रकाशित यही कविताबाट उहाँको प्रकाशन यात्रा सुरु भएको हो ।
२०६१ सालमा उहाँको आख्यानकार विश्वेश्वर प्रसाद कोइराला कथा खण्ड भन्ने किताब छापियो । उहाँले यसमा विश्वेश्वर प्रसाद कोइरालाका २६ वटा कथाहरुको विश्लेषण गर्नु भएको छ । २०६२ सालमा उहाँको ‘किम्बुको मसी’ शीर्षकको कथा छापियो कोपिलामा । जनावरको सभा भन्ने पनि छापियो रुम टु रिडबाट ।
उहाँले आफूले लेखेका धेरै च्यातेर फाल्नु पनि भयो । तर, अहिले भने ती चिज फालेकोमा उहाँलाई पछुतो पनि छ । पछुतो यस अर्थमा कि त्यसमा भएका सारवस्तुको व्याख्याबाट अहिले राम्रै कृति तयार गर्न सकिन्थ्यो ।
यति हुँदाहुँदै पनि बाल साहित्य, निबन्ध, समलोचना, बालकविता संग्रह, पूर्वीय दर्शनमा आधारित । कृति गरेर उहाँका २७ वटा पुस्तक प्रकाशित भएका छन । उहाँका भाषण कला, खाने कला आदिका पनि किताब छन् । उहाँका पाठ्क पुस्तकका रुपमा पनि थुप्रै किताब प्रकाशन भएका छन् ।
भूमिका सिद्धात र ज्ञवालीका भूमिका शीर्षकको उहाँको महत्वपूर्ण किताब छ २०६३ सालमा प्रकाशन भएको । उहाँ आफ्नो किताब तयार भएपछि भूमिका लेखाउनका लागि दुई जना विद्धानकहाँ जानुभयो । उहाँले भूकिा कस्तो हुनुपर्छ र भूमिका लेख्ने चलन कहिलेबाट सुरु भएको रहेछ भनेर ती विद्धानलाई जिज्ञासा राख्नुभयो । उहाँले ल तपाईँ नै खोजी गर्नुस् भनेर भनेर उहाँलाई नै जिम्मेवारी सुम्पनु भयो ।
उहाँले खोज्दै जाँदा नेपाली साहित्यमा मोतिराम भट्टले भानुभक्तको रामायणमा गद्य,पद्य मिश्रित भूमिका लेखेपछि भूमिका लेखनको सुरुवात भएको रहेछ । उहाँले नेपाली साहित्यको त खोजी गर्नुभयो तर, संसारभर किताबको भूमिका लेख्ने चलन छ । आखिर विश्व साहित्यमा कसैले भूमिकाको सिद्धान्त बनाएको रहेछ कि भनेर पनि उहाँले खोज्नुभयो । हरिमोहनले साहित्यिक विधाएँ पूर्नविचार भन्ने किताबमा हिन्दीमा भूमिकाको बारेमा अलिकति लेख्नु भएको रहेछ । तर, यसलाई भूमिका भनेको के हो, कस्ता प्रकारका हुन्छन्, किन लेखाउँछन् यसको विशेषता के हुनुपर्छ, कस्तो हुनुपर्छ,, भूमिका लेखक कति छन् आदिका बारेमा अनुसन्धान गरेर उहाँले किताब नै तयार गर्नुभयो ।
कान्तिपुरमा भूमिकाको भूमिका भन्ने शीर्षकमा उहाँको एउटा लेख छापिएको छ २०६१ सालमा । भूमिका लेखनको विधागत अध्ययन भनेर अर्को लेख पनि छापियो । यसले उहाँलाई भूमिकाको किताबका बारेमा हौसला पनि दियो ।
भूमिकाका बारेमा लेख्ने मानिस भूमिका लेखक नहुने कुरै भएन । २०५९ सालदेखि उहाँले भूमिका लेख्न थाल्नु भएको उहाँले अहिलेसम्म झण्डै ८० वटा किताबमा भूमिका लेखिसक्नु भएको छ । उहाँले ६० वटा किताब पनि सम्पादन पनि गर्नुभएको छ ।
आफू पुरस्कारका लागि मरिहत्ते नगर्ने र काम खुरु खुरु गर्ने भएकोले पुरस्कारको संख्या खासै छैन भन्नुहुन्छ उहाँ । एमएमा सर्वोत्कृष्ट भए वापत उहाँले २०५८ सालमा न्यौपाने हरिकमला स्वर्णपदक पाउनु भयो । यसको समाचार कान्तिपुर पत्रिका तथा नेपाल टेलिभिजनमा आयो । र, नेपाल टेलिभिजनले प्रसारण गरेपछि उहाँको गाउँ गुल्मीका मानिसहरुले पनि हेरेर तिमीले धेरै इज्जत राख्यौ भनेर खुसी हुँदै बधाइ पनि दिए ।