पैसा बाँड्दै गरेको आरोपमा एमाले उम्मेदवार दीपक निरौला पक्राउ !

पैसा बाँड्दै गरेको आरोपमा एमाले उम्मेदवार दीपक निरौला पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०३, २०७९

 काठमाडौँ। नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप लगाइएको छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो ।

स्थानीयले घेरा हालेपछि सुरक्षाका लागि उद्धार गरी सुरक्षामा राखिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी भरतबहादुर बोहोराले जानकारी दिएका छन्  ।

यसैबीच  नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी, काठमाडौं क्षेत्र नम्बर ५ को संयोजक शान्ति अधिकारीले एक प्रेस बक्तब्य  प्रकाशित गरी  नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ ९२० का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौं । साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं । कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ ।हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं । साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं  भनेका छन् ।