लोकसंवाद संवाददाता | समाचार | मंसिर ०९, २०७९
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ मतगणना सकिएका जिल्लामा समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।
प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो दल बन्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनले भारी बहुमत ल्याउँदा ५ वटा दल मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएका थिए । यसपटक यो संख्यामा वृद्धि हुने देखिएको छ ।
५ महिना अघिमात्रै स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा 8 सिट (एक जित अग्रता सहित) र समानुपातिकमा पनि तेस्रो ठूलो दलका रुपमा मत ल्याइरहेको छ । यस्तै अघिल्लो पटक १ सिटमा खुम्चिएको राप्रपाले यसपटक चार सिट जितिसकेको छ भने थप २ सिटमा अगाडि छ । यो निर्वाचनले २०६२/६३ को जनआन्दोलनपछि खासगरी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता नारा लिएर उदाएका पार्टीलाई कमजोर बनाइदिएको छ ।
मधेश आन्दोलनको जगमा २०६४ को संविधानसभा निर्वाचनमा ठूलो जनादेश पाएर चौथो ठूलो शक्तिका रुपमा उदाएका मधेश केन्द्रित दलहरु यसपटक फिक्का देखिएका छन् । उपेन्द्र यादव आफैं पराजित हुँदा जसपा प्रत्यक्षमा ६ सिटमा र लोकतान्त्रिक समाजवादी पार्टी ४ सिटमा खुम्चिने देखिएको छ । जसपाले एमालेसँग र लोसपाले सत्ता गठबन्धनसँग मिलेर चुनाव लडेको थियो । गत वर्ष एमालेसँग विभाजित भएको एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेपछि राष्ट्रिय दल बन्न ३ प्रतिशत मत ल्याउनुपर्ने थ्रेस होल्ड कटाउन संघर्ष गर्नुपर्ने प्रारम्भिक परिणामले देखाउँछ ।
क्षेत्रीय र भेग प्रभाव रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टीले संसदमा स्थान बनाउँदा राष्ट्रिय जनमोर्चा, नेमकिपाले एक/एक सिट जितेका छन् भने ५ जनाले स्वतन्त्र रुपमा उठेर चुनाव जितेको अवस्था छ ।
यसपटकको निर्वाचनमा पूर्वानुमान भन्दा विपरीत परिणाम आएको छ । कतिपय स्थानमा अप्रत्यासित परिणाम आएको छ भने सत्ता गठबन्धन र एमालेको जित निश्चित देखिएका स्थानमा समेत पुराना दलले सिट जोगाउन सकेनन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनले विशाल परिणाम ल्याए जस्तै यसपटक सत्ता गठबन्धनले मतपरिणाम ल्याउने धेरैको आँकलन फेल खाएको छ । सत्ता गठबन्धनको प्रष्ट अग्रता देखिएका क्षेत्रमा समेत स्वतन्त्र र स्वतन्त्र पार्टीका सांसदहरु विजयी भएका छन् ।
उनीहरुले अब ५ वर्षमा राष्ट्रियताको पक्षमा के गर्छन् ? बढ्दो आयात मुखी अर्थतन्त्र र विदेशिने युवाको लहर रोक्न के गर्छन् ? जनतासँग उनीहरुको सम्बन्ध कस्तो हुन्छ ? कूटनीतिक क्षेत्रमा उनीहरुको प्रयास कस्तो हुन्छ ? दुई ठूला छिमेकीको बिचमा कस्तो वैदेशिक सम्बन्ध सञ्चालनको योजना अघि सार्छन् ? भन्नेजस्ता कुराले उनीहरुको भविष्य निर्धारण हुनेछ ।
यसलाई धेरैले जनतामा राजनीतिक दलप्रतिको वितृष्णा र आक्रोशका रुपमा हेरिएको छ । गत स्थानीय तहको निर्वाचन लगत्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहरी क्षेत्रमा रहेको स्वतन्त्रको लहर डरलाग्दो भएको संकेत गर्दै आफूहरुले राजनीतिलाई सही ढंगले सञ्चालन नगर्दा खतराको घन्टी बजेको बताएका थिए । उनले बालेन साह र हर्क साम्पाङ सानो झिल्को भएको भन्दै दलहरुका गतिविधि नसच्चिए कुनै सहरी क्षेत्रमा चुनाव जित्न सहज नभएको आफूमा चुनाव जित्ने हिम्मत नभएको टिप्पणी संसदमै गरेका थिए ।
डा.भट्टराईले भनेजस्तै यो निर्वाचनमा स्वतन्त्र र स्वतन्त्र पार्टीको ठूलो लहर देखियो । यही भेलमा ठूला दलका ठूला नेताहरु समेत उत्रिन सकेनन् । काँग्रेसका उमाकान्त चौधरी बाहेकका अन्य पदाधिकारीले चुनाव जितेका छन् । तर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली सचिव लेखराज भट्ट पराजित भएका छन् ।
निवर्तमान उपसभामुख पुष्पा भुसाल, काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला, माओवादी महासचिव देव गुरुङ, पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती, एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री, राप्रपा नेपालका अध्यक्ष कमल थापा, जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।
यो चुनावमा अप्रत्यासित परिणाम आउनुको पछि निश्चित कारणहरु छन् । पहिलो कुरा अब आउने संसदलाई नै हेर्ने हो भने २७ वर्षकी स्वतन्त्र पार्टीकी सोबिता गौतमदेखि ८० वर्ष नाघेकासम्म सांसद हुनेछन् । नेपालका अहिलेका राजनीतिक दलहरुले युवाको आकांक्षालाई सम्बोधन गर्नै सकेनन् । अहिले पछि नेपालको राजनीतिको बुढो पुस्तालाई आफूहरुले पञ्चायत ढाल्न जेलनेल भोगेको देखि, बहुदल, गणतन्त्र ल्याउन र अहिलेको राजनीतिक परिवर्तनमा आफूहरुले निर्णायक भूमिका खेलको घमन्ड छ । उनीहरु त्यही संघर्षको ब्याज वर्तमान राजनीतिमा समेत भजाएर खाने सोचिरहेका छन् ।
नेपालका राजनीतिक परिवर्तनमा राजनीतिको पुरानो पुस्ताको महत्त्वपूर्ण योगदान रहे पनि यहाँको सामाजिक आर्थिक रुपान्तरण, जनताको दैनिक जीवन र रोजीरोटीको समस्या, घर परिवार पाल्न पनि खाडी जानुपर्ने बाध्यता, देशभित्र भ्रष्टाचारको संस्थागत विकास, अन्तर्राष्ट्रिय मञ्चहरुमा र खासगरी कूटनीतिक क्षेत्रमा नेपालको कमजोर प्रदर्शन, निरन्तर परनिर्भर र आयात मुखी अर्थतन्त्र जस्ता समस्या समाधानमा राजनीतिक दलहरुले भूमिका खेल्न सकेनन् । हरेक क्षेत्रमा राजनीतिक भागबण्डा, राज्यका सबै अंग, शैक्षिक संस्था, विश्वविद्यालय र स्वास्थ्य संस्थामा समेत रहेको चरम राजनीतिकरण, हरेक सरकारी काम कारबाहीमा ढिलासुस्ती र अपारदर्शिता जस्ता विषयले युवाहरुमा वर्तमान राजनीतिप्रति असीमित वितृष्णा छ । नेपालको अबको पुस्ता पनि पुरानै राजनीतिक भजन गाएर बस्न चाहँदैन । युवापुस्ता नेपालको यो अवस्था परिवर्तन भएको देख्न चाहन्छ । अहिलेका ठूला भनिएका राजनीतिक दलमा नलागेका र नेताहरुका चिल्ला कुरामा नअल्झिएकाहरु राजनीतिमा विकल्प खोजिरहेका छन् ।
नेपालमा वैकल्पिक राजनीतिको खोजी लामो समयदेखि भइरहेको छ । कतिपयले संसदमा रहेका ठूला दलको विकल्पमा क्रान्तिकारी पार्टी प्रयास पनि भए । मोहन वैद्य, विप्लवहरूले संसदवादी दलहरु असफल भए र अब हामी विकल्प बन्छौँ भन्ने सोचेर नै माओवादी पार्टीबाट विभाजित भएका थिए। उनीहरुलाई १० वर्षे युद्धको जगमा माओवादी ठूलो पार्टी बनेको र आफूहरुले पनि अब यसरी नै ठूलो पार्टी बन्ने सोचे । तर यो सोच पुरानो सोच भइसकेको थियो ।
युवाहरु अब पुरानै क्रान्तिकारी वा युद्धको माध्यमबाट हैन । विश्वव्यापी लहर आए जस्तै राष्ट्रियताको पक्षमा दृढ उभिने, जनताका समस्यामा साथ हुने, देशको अर्थतन्त्र उकास्न सही दिशा दिनसक्ने, नरम दक्षिणपन्थी शक्तिको पक्षमा देखिन्छन् । योजना र कार्यका हिसाबले अबका पाँच वर्ष कसरी अघि बढ्छ त्यो हेर्न बाँकी छ । तर रवि लामिछानेहरूको स्वतन्त्र पार्टीको परीक्षा यहीँनेर हुनेछ । वितृष्णा जनताले विकल्पको घन्टी बजाए कि आक्रोशको ? त्यो समयले नै बताउने छ । अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका दौरानमा जनता उराल्नका लागि भ्रष्ट जति थुन्ने प्रतिबद्धता पुरा न हुनासाथ याे आक्रोश घन्टी माथि नै नफर्केला भन्न सकिन्न ।
बजार र चिया पसलमा गरेकाे गरिएकाे चर्चा अनुसार नेपालमा अस्थिरता ल्याउनका लागि पश्चिमा शक्तिले मिसनमा परिचालित राष्ट्रिय स्वतन्त्र पार्टी भनि लागेको आरोपको सर्वप्रथम ता राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछानेले त्यसको चित्त बुझ्दो जवाफ नेपाली जनतालाई दिन जरुरी छ । बजारमा भनिए जस्तै अमेरिकी स्वतन्त्र पार्टी (American Freedom Party) सँगको नातो जोडेर हेर्ने थालिएको छ ।अमेरिकी स्वतन्त्र पार्टीको चुनाव चिन्ह 'घन्टी' नै हुनु र नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि घन्टी' हुनु संयोग मात्र हो कि कुनै नातो छ ? भित्र भित्रै उठि रहेकाे प्रश्नको सम्बोधन गर्न जरुरी छ ।
उनीहरुले अब ५ वर्षमा राष्ट्रियताको पक्षमा के गर्छन् ? बढ्दो आयात मुखी अर्थतन्त्र र विदेशिने युवाको लहर रोक्न के गर्छन् ? जनतासँग उनीहरुको सम्बन्ध कस्तो हुन्छ ? कूटनीतिक क्षेत्रमा उनीहरुको प्रयास कस्तो हुन्छ ? दुई ठूला छिमेकीको बिचमा कस्तो वैदेशिक सम्बन्ध सञ्चालनको योजना अघि सार्छन् ? भन्नेजस्ता कुराले उनीहरुको भविष्य निर्धारण हुनेछ ।
२०६४ मा युद्धबाट आएको माओवादीलाई जनाले विशाल मतले अनुमोदन गरेका थिए । तर जनताका आशा पूरा भएनन् । जसका कारण आज माओवादी शक्ति खिइँदो शक्ति बनेको छ । अबको ५ वर्ष गर्ने कामले स्वतन्त्र पार्टी शक्तिशाली बन्छ कि घन्टी जनताको मस्तिष्कमा नभएर देउताका मन्दिरमा सीमित बन्छ भन्ने टुंगो लाग्नेछ ।