हरिविनोद अधिकारी | दृष्टिकोण | मंसिर १०, २०७९
राजनीति नीतिहरूमा सबैभन्दा मुख्य हो जसले नीति बनाउँछ र नीति लागू पनि गर्छ । त्यसैले नीतिहरूमध्ये सबैभन्दा पारदर्शी, अमूर्तताबाट मूर्तता तर्फको यात्रामा रहने काम गर्ने भएकाले राजनीतिलाई उनीहरुमध्ये राजा मानिएको हो । राजा यस अर्थमा कि हाम्रो संस्कृतिमा राजाको अर्थ मुख्य मानिन्थ्यो र हाम्रो देशमा १४ वर्ष अघिसम्म मुख्य शासकको नाममा राजा शब्द राखिएको थियो । सामान्यतया राजा वंश वादका आधारमा हुने गर्दथे र राजाको थरले नै , पद अघिल्तिर प्रयोग गरिने शब्दले, सम्मानले राजाको पहिचान हुन्थ्यो ।
वैदिक कालमा राजाको उत्पत्ति गरियो होला भन्ने अनुमान गरौँ वेदमा राजाको वयान गरिएको छ । पौराणिक कालमा त कतिपय अराजक राजा जसले जनताको हित गरेनन्, तिनलाई हटाएर उसकै सन्तति या अरु कसैलाई राजाको पदमा राखिएको पनि आख्यान पाइन्छ । काव्य या साहित्य समाज चियाउने माध्यम हो र पहिले तिनै काव्य मार्फत् समाजको चित्रण गरिएको हुन्थ्यो ।
आज पनि साहित्यले समाजको चित्रण गरेकै हुन्छ । सन् १९८१ पछि एड्सको पनि कथा, कविता, काव्य , उपन्यासमा अस्तित्व देखिन थाल्यो किनभने त्यो भन्दा पहिले त्यसको बारेमा कुनै चर्चा नै थिएन । अबका साहित्यमा कोरोनाको अस्तित्व देखिने छ किनभने यस रोगले, करोडलाई संक्रमित गरेको हो र अझैपनि त्यो रोगले संक्रमण गर्ने र रोगीलाई मार्ने काम समाप्त भइसकेको छैन । अर्थात् २०२२को नोभेम्बरको अन्त्यसम्म पनि सन् २०१९को नोभेम्बरबाट देखिन थालेको कोभिड-१९ अझै समाप्त भएको छैन । यसका लागि अझै यही ओखती नै ठिक निको पार्ने हो भन्ने अझै आविष्कार हुन सकेको छैन तर तत्कालका लागि भनेर केही खोपको विकास गरिएको हो र त्यो खोप पनि एक मात्रा, दुई मात्रा या थप मात्रा दिनुपर्ने भनिएको छ र पनि फर्की फर्की त्यो रोगले मानिसहरुलाई गाँजी रहेको पाइन्छ । अर्थात् अबको साहित्यमा कोरोनाको अस्तित्व देखिने छ किनभने आजसम्म करिब ६५ करोड मानिसहरुलाई संक्रमित गरेको थियो, साँढे ६६लाख जत्ति मानिसहरुको बलिदान माग्यो तर खोपहरूको अस्थायी माध्यमबाट भने करिब साँढे ६२करोड मानिसहरुमा त्यो रोग बिसेक भयो ।
त्यसको दुष्प्रभावले धेरै मानिसहरुलाई अझै गाँजेको छ र कतिले त्यसको दुष्प्रभा बाट अरु रोगहरुको सामना गर्नु परेको छ । यी सबैले समसामयिक साहित्यमा प्रभाव पारेका हुन्छन् । जस्तो कि रामायण, महाभारतभन्दा पहिलेको समयको आँकलन गर्नका लागि हामी वेद, उपनिषद् कालीन समाजको अध्ययनमा पुग्छौँ । वेद पनि राजनीतिको उपज हो, उपनिषद् पनि राजनीतिको उपज हो । अर्थात् श्रुति , स्मृति सबै नै तत्कालीन राजनीतिका उपज हुन् या परिणाम हुन् । साहित्यको माध्यमबाट राजनीतिका राम्रा र नराम्रा पक्षहरूलाई समाजमा पस्कनु नै त्यो बेलाको अभिष्ट थियो ।
हामीले सुन्ने र भन्ने लोककथाहरूमा समेत राजनीतिलाई तत्कालीन अवस्थामा कसरी बुझिएको थियो र के हुनुपर्ने अनि के भयो भनेर उदाहरणीय रुपमा प्रस्तुत गरिएका साहित्यहरू नै आजका हाम्रा अतीतका समाजहरूको जानकारी लिने माध्यम बनेका हुन् । त्यसैले राजनीतिको पूर्व रुपलाई, हिजोको राजनीतिलाई साहित्यको माध्यमबाट बुझेका हौँ किनभने त्यो बेलाको साहित्य काल्पनिकता भित्र पनि सत्यताको आभास पाइन्थ्यो । हामीले त्यही काल्पनिकतालाई आज इतिहासको रुपमा मानेका छौँ किनभने त्यसको परख गर्ने, सत्यापन गर्ने उपाय अब बाँकी रहेन ।
वैदिक काल, उपनिषद् काल एउटै हो र पनि उपनिषद्को वारेमा जति हामी जानकारी राख्छौँ, त्यति त्रिवेद-ऋग्वेद, सामवेद र यजुर्वेद र पछि अथर्ववेद समेतका वारेमा अनभिज्ञ नै छौँ किनभने त्यो बेलाको संस्कृत हामी धेरैको पहुँचमा छैन, जानकारी राख्न सकिएको छैन । वैदिक संस्कृतलाई अपौरुषेय पनि भनिन्छ किनभने यो कुनै व्यक्तिले बनाएको होइन, भगवानको कृपाले तयार भएकोले यसमा लेखिएका शब्दहरु, मन्त्रहरू अकाट्य सत्य हुन् भनियो ।
मेरो बालाई लागेछ, गोरखपुर को गीता प्रेसमा गएपछि त चारै वेद मूलसहित हिन्दीमा अनुवाद गरिएको पाइएला । अनि पुग्नु भएछ तीर्थ जाने क्रममा गोरखपुरकव गीता प्रेसको प्रशासनिक भवनमा । भेट्नु भएछ सायद हनुमान दास पोद्दारजीसँग । अनि मेरो बासहितका साथीहरु जो ब्राह्मण नै हुनु हुँदो रहेछ त्यहाँ जाने । पोद्दारजीले भन्नुभएछ- हामी वैश्यलाई वेद पढ्ने, छाप्ने र झन विक्री गर्ने अधिकार छैन । मेरो बाको इच्छा रहेछ १८ पुराण, १८ उपपुराण, ४वेद, उपनिषद्हरुको लागि अग्रिम भुक्तानी गरेर नेपालको हुलाक मार्फत् मगाउने ।
प्रजातन्त्रका केही मानक हुन्छन् जसको पालना र अभ्यासले नै मुलुक प्रजातान्त्रिक हो कि होइन, अभ्यास गरिएको शासन प्रणाली प्रजातान्त्रिक हो कि होइन भनेर मान्नुपर्छ । अहिले त प्रजातन्त्रको विश्वव्यापी घोषणापत्र समेत अन्तर व्यवस्थापिकाले तयार गरेर आफ्ना सदस्य देशहरुलाई अभ्यासका लागि अनुरोध गरेको छ जसलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेर सदस्य देशहरुलाई प्रजातान्त्रिक प्रणाली अपनाउन भनेको छ तर प्रजातन्त्रको हत्या भएको पनि टुलुटुलु हेरेर बसेको पाइन्छ ।
त्यो बेलामा रामेछापमा मात्र हुलाकको सुविधा रहेछ हाम्रो गाउँका लागि किनभने त्यो बेलामा ग्वाल्टारलाई पूर्व २ नम्बरको दिङ्दिङ् अन्तर्गतको गाउँको रुपमा लिइएको रहेछ । ग्वाल्टारको माथिल्लो भाग कात्तिकै, भदौरे, ओख्ले, सुदामे, धेद्रे आदि ठाउँ र बिसीचाहिँ कार्कीको बिर्ता र अहिलेको ग्वाल्टार गाउँ र बरालहरुका लागि सेन राजाले दिएको गौचरण चाहिँ घोक्सिलासमेतको भागमा परेको बरालहरुको बिर्ता अन्तर्गत रहेछ ।
ग्वाल्टार पनि कुनै भाग कार्कीहरूको भागमा र कुनै भाग बरालको भागमा थियो । तर के पनि रहेछ भने जिम्वालको खान्की हुने रहेछ कुनै जग्गा, त्यो जसले किन्ने रहेछ, त्यो जिम्वाल हुने रहेछ सायद । जसको जग्गा महाभारत उत्तर पथ्र्यो, त्योचाहिँ रामेछाप माल अन्तर्गत थियो र मैले थाहा पाउँदा समेत ग्वाल्टारका जग्गाहरुको मालपोत कार्यालय रामेछापमा थियो र मालपोत गाउँमा ठेक्काको रुपमा गाउँका जिम्वालले वा जिम्वालले उठाएर बुझाउने रहेछन् । जति मालपोत उठाउने हो, त्यही किसिमले उनीहरुको पारिश्रमिक पाउने रहेछन् । त्यो बेलामा जग्गाको नम्बरी भएको, नभएको प्रमाणित गर्ने नै तिनै मालपोत उठाउनेहरूले रहेछ किनभने मालपोत तिरेको भए त्यो जग्गा नम्बरी मानिने, मालपोत नतिरेको भए त्यो जग्गा ऐलानी या सरकारी जग्गा भन्ने बुझ्नु पर्ने रहेछ ।
अनि मेरो बाले कल्याण पत्रिका, चारै वेद, सबै उपनिषद् र पुराणहरू मगाउनु खोज्दा सायद पोद्दार साहेबले भने छन्- हामी वैश्यले वेद पढ्न हुँदैन, वेद पढ्नका लागि ब्राह्मण र क्षत्रीले मात्र पाउँछन् । हामीले छाप्न पनि पाउँदैनौ, विक्री गर्ने त कुरै भएन । अनि बाले जिज्ञासा राख्नु भएछ, कल्याणमा छापिने लेखहरूमा वेदका ऋचाहरू पनि हुन्छन् नि, यो त हामीले प्रसंग वश आएका ऋचाहरुको प्रकाशन गरेका हौँ तर वेद हामीसँग छैन तर उपनिषद्हरू छन् ।
पुराणहरु विशेषाङ्कका रुपमा छाप्ने गरेका छौँ र कतिपय संस्कृतका मात्र छन् र कुनै कुनै विशेषाङ्कमा हिन्दी टीका पनि छन् । अझ विशेषाङ्क चाहिँ कल्याण पत्रिकाकै हुन् र एउटा अङ्कमा दुई ओटा पुराण पनि छापेका छौँ । पछिमात्र एउटा पुराण एउटा पुस्तकको रुपमा छाप्ने योजना गरेका छौँ । अनि बाले रामेछापमा कल्याण पत्रिका पनि नआउने, सामानहरु पनि ढुवानी गर्न महङ्गो पर्ने भएपछि केही कल्याणका अंकहरू किनेर आउनु भएछ किनभने तीर्थ हिँडेको मानिसले किताबको भारी बोकेर हिँड्ने कुरै भएन छ ।
तर पछि बाले गीता प्रेसबाट नै कल्याण सिधै किनेर पढ्न थाल्नु भएको थियो हुलाक मार्फत्, अझै पनि हामी ती पत्रिकाहरू पढ्छौँ अझै । बाले कत्तिको उच्चारण स्पष्ट छ भनेर कल्याण पढ्न लगाउनु हुन्थ्यो केटा केटीहरुलाई । अरुले भन्दा मेरी ठूली छोरी करुणाले बाले बुझ्ने गरी हिन्दी र नबुझे पनि संस्कृतका श्लोकहरु स्पष्ट भनेको हुँदा बाले आफ्नी ठूली नातिनीलाई मेरो पण्डित भन्नुहुन्थ्यो । उसले संस्कृत त पढिन तर अझै बाले पण्डित भनेको र कल्याण पत्रिका पढेको याद गरिरहन्छ ।
कुरो राजनीतिको थियो । राजाको हातमा मात्र पारिवारिक रुपमा सत्ताको जिम्मा हुन्थ्यो । इतिहासमा कति राजा असल मानिए, कति राजा सत्ताका कारणले अनेक विषय वासनामा लिप्त भएर इतिहासमा कलंकीस्थित भएर आफ्नो राज्यबाट लखेटिए, मारिए । तर पनि त्यही बेलामा राजाको मात्र सत्तामा अधिकार हुने अवस्था र उत्तर वैदिक कालसम्ममा परिवार वाद भित्र राजाको पदवी दिइएको पाइयो । राजाले सबैको भावना बुझेर काम गर्नुपर्छ भन्ने कुराको सानो झल्को रामायणमा पनि थियो, धोबीको परिवारभित्र गरेको सामान्य आरोपमा सीतालाई दरबारबाट बाहिर पठाएको भनिन्छ । महाभारतमा बृहस्पतिले भीष्मलाई भनेको कुरा भीष्मले युधिष्ठिरलाई सिकाएका थिए शरशय्यामा भएको बेलामा कि राजाको नीति कस्तो हुनुपर्छ अर्थात् राजनीति कस्तो हुनुपर्छ ।
आजको बेलामा आएर संसारमा राजनीतिका लागि अर्थात् देशको शासन चलाउनका लागि आदर्श उपाय भनेको प्रजातन्त्र नै हो । कि त तानासाहहरुले सत्ता चलाएका छन्, कि त सैनिक शासन चलाएका छन्, या त जनताका प्रत्यक्ष मतबाट चुनिएका जनप्रतिनिधिहरुले सत्ता समालेका छन् । मलाई त प्रजातन्त्र नै मन परेको कारणचाहिँ कम्तीमा पनि जनादेशले समय समयमा नवीकरण गरिरहन पाउँछन् । जनतामाथि राज्य गर्नका लागि जनताकै आदेश चाहिन्छ । अझ भनिन्छ, जनतालाई कर लगाउन र जनताबाट उठाएको कर खर्च गर्न जनताको आदेश चाहिन्छ ।
संसदका कानुन पारित गरेरमात्र कर उठाउन पाइन्छ, कर खर्च गर्न सकिन्छ । बजेटको अनुमानित व्यवस्था गरेर जनताको प्रतिनिधिहरुको अनुमोदन चाहिन्छ र मात्र त्यो व्यवस्था प्रजातान्त्रिक मानिन्छ । जुनसुकै शासन चलाउने व्यक्ति वा समूहले पनि आफूलाई , आफ्नो समूहलाई प्रजातन्त्रको पक्षधर मान्ने चलन छ । अहिले संसारमा चीन, उत्तर कोरिया, क्युबामा आफूलाई कम्युनिस्टको सच्चा शासनको रुपमा देखाउने शासन व्यवस्था छ र उनीहरुले अरु प्रजातन्त्रलाई पुँजीवादी शासन प्रणाली, जनताको विरुद्धमा जनतालाई शोषण गर्ने शासन व्यवस्था चलाउने भनेर गाली गर्छन् र आफ्नो एकदलीय या जनताका प्रतिनिधिहरु मार्फत् सत्ता सञ्चालन गर्नुभन्दा कम्युनिस्ट पार्टीले गरेको शासन नै समाजवादी, भिन्न खालको विशिष्ट प्रजातन्त्र हो भनिएको छ । अर्थात् उनीहरुलाई पनि थाहा छ, प्रजातन्त्रका विशेषता आफ्नो सत्तामा छैन, जनताका प्रतिनिधिहरुलाई जनताले प्रत्यक्ष चुनेका होइनन् र पनि ती सत्ताले भन्ने गर्छन्,हामी प्रजातान्त्रिक प्रणालीमा छौँ ।
कतिपय सेनाले चलाएका शासनमा ती प्रजातान्त्रिक अधिकारहरुको प्रतिवन्ध लगाएर, जनताको मुख थुनेर चलाएको शासन हो र पनि तिनले भन्ने गर्छन्, हामी समय आएपछि जनताको नासो जनतालाई बुझाउने छौँ । त्यो समय कहिले आउने चाहिँ तिनले भन्दैनन् । त्यसैले मलाई लाग्छ, प्रजातन्त्र एउटा आदर्श हो, समानताको संस्कृति हो । कुनै व्यक्ति या समूह या दल मुखले प्रजातन्त्रवादी भनेर प्रजातान्त्रिक हुँदैन ।
प्रजातन्त्रका केही मानक हुन्छन् जसको पालना र अभ्यासले नै मुलुक प्रजातान्त्रिक हो कि होइन, अभ्यास गरिएको शासन प्रणाली प्रजातान्त्रिक हो कि होइन भनेर मान्नुपर्छ । अहिले त प्रजातन्त्रको विश्वव्यापी घोषणापत्र समेत अन्तर व्यवस्थापिकाले तयार गरेर आफ्ना सदस्य देशहरुलाई अभ्यासका लागि अनुरोध गरेको छ जसलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेर सदस्य देशहरुलाई प्रजातान्त्रिक प्रणाली अपनाउन भनेको छ तर प्रजातन्त्रको हत्या भएको पनि टुलुटुलु हेरेर बसेको पाइन्छ । क्रमशः