ज्ञानमित्र | समाचार | मंसिर १४, २०७९
नेकपा एसका वरिष्ठ स्वनाम धन्य नेता झलनाथ खनाल निर्वाचनमा भएको आफ्नो पराजय स्वीकार गर्न सकि रहेका छैनन् । सत्ता पक्षीय गठबन्धनको भागबण्डामा २० सीट पाएर चुनावी समरमा ओर्लिएको यस दलले 'फिफ्टी परसेन्ट स्ट्राइक रेट' निकालेको छ।
प्रत्यक्ष तर्फका सबै दलको 'स्ट्राइक रेट' हेर्ने हो भने नेकपा एस माओवादीभन्दा माथि छ। भागबण्डामा माओवादीले ४८ सीट पाएको थियो। सफलता मिल्यो जम्मा १७ ठाउँमा। माओवादीको जीत प्रतिशत रह्यो जम्मा ३५ । ९१ स्थानमा लडेको कांग्रेसले ५५ स्थानमा जित हात पर्दा उसको सफलता प्रतिशत ६० रह्यो। नेकपा एसले पाएका २० स्थान मध्ये १० स्थानमा सफलता पायो। सफलतालाई प्रतिशतमा रूपान्तरित गर्दा यो ५० प्रतिशत हुन आउँछ।
झलनाथ आफ्नो पराजयले सन्तुलन गुमाउँदै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई सतो सराप गर्न थालेका छन। महोदयले नेपाली कांग्रेसका कार्यकर्तालाई 'मण्डले', 'द्रव्यपिशाच' आदि आदि उपमा दिएर आफ्नो औकात प्रदर्शित गरेका छन।
एक पटक उनको जिल्लाको वास्तविक स्थिति हेरौं
महोदयले प्रत्यक्ष तर्फ २३०४५ मत पाए। झण्डै २५०० मतान्तरले पराजित भए। दलका वरिष्ठ नेताले आफ्नो दलको चुनाव चिन्ह कलममा भने समानुपातिक तर्फ ८,०२१ मत पाए । उनले प्रत्यक्ष मा पाएको २३०४५ मध्ये ८,०२१ भोट खाँटी आफ्नै थियो। उनले पाएको अन्य १५,०२४ मत भने गठबन्धनका सहयोगी दलहरुको थियो। यस १५,०२४ मतको श्रोत पनि हेरौँ। यस निर्वाचन क्षेत्रमा उनको वाम सहयोगी माओवादीले शानदार १,६४९ मत ल्यायो। मानौ यो शत प्रतिशत नै ट्रान्सफर भयो। अब बाँकी रह्यो १३,३७५ मतको कुरा।
नेपाली कांग्रेसले यस क्षेत्रमा समानुपातिक तर्फ १६,४५० मत पायो। क्षेत्रमा रहेको कुल कांग्रेसी मतको ८१ दशमलब ३ प्रतिशत मत ट्रान्सफर हुँदा पनि जित्न नसक्नुको स्पष्ट कारण उनको व्यक्तित्वको असफलता हो। नेपाली कांग्रेसलाई तथा नाम भन्नुभन्दा महोदयले दस दिने विपश्यनाको शिविर 'अटेन्ड' गरेर स्व मूल्यांकन गरुन्।
यहाँ चर्चा अर्को एक जना समाजवादी पात्रको भइरहेको छ। केही महान् पहिला 'ह्वाँ ह्वाँ गर्ल' को ख्याति पाएकी रामकुमारी झाँक्री पनि निर्वाचनमा होमिइन । प्रत्यक्ष तर्फ दमदार फाइट लडिन भयो। २६,७४२ मत संकलन गर्ने सफलता पनि पाउनु भयो तर अन्ततः झण्डै २ हजार मतले पराजित भइन । तर आफ्नो दललाई राष्ट्रिय पार्टी बनाउने कार्य अर्थात समानुपातिकमा भोट बटुल्ने काममा पूर्ण असफल भइन् । आफुले २६,७४२ मत ल्याउँदा समानुपातिकको खातामा जम्मा १,६०३ मत ल्याउन सकिन्न । यस क्षेत्रमा माओवादीले ५,४३७ भोट पायो। दुबैको योगफल ७,०४० अर्थात अरु मत त आयातित नै रहेछन्।
बुधबार १४ मङ्सिर बिहान ७ बजेसम्म समानुपातिक तर्फका ९९,९३,५६८ मत गणना हुँदा नेकपा एसले २,८१,३४८ मत पाउन सकेको छ। उसको राष्ट्रिय दलको मान्यता पाउने संभावना सोझो हिसाबमा न्यूनाति न्यून भइसकेको छ। नेकपा एसले पाएको मत प्रतिशत २ दशमलब ८१ रहेको छ। ३ प्रतिशत मत नपुगे पाएका सबै मत ॐ नमः सिवाय हुने छन। नेकपा एसले राष्ट्रिय दलको मान्यता पाउन अझै झण्डै ३०-३२ हजार मत ल्याउनु पर्ने हुन्छ। झलनाथ कमरेड १ निर्वाचन ताका भोट माग्दा समानुपातिक तर्फ पनि हार गुहार गरेको भए यो अवस्था आउने थिएन। 'तर अब पछुताये होत क्या जब चिडिया चुन गई खेत....।'
आलेको चर्चा गर्न नथाले नेकपा एसको वरबादीको चर्चा नै अधुरो रहन्छ। यी महाशयले आफ्नो निर्वाचन क्षेत्रमा २७,२१० मत ल्याएर जीत हासिल गरे, तर यिनको समानुपातिक तर्फ आफ्नो दललाई योगदान २,३७३ मत मात्रै रह्यो। यस क्षेत्रमा माओवादीले ६,९२४ मत पायो, दुबैको योगफल हुन आयो ९,२९७ मत अर्थात आलेलाई जीतमा भाले काट्न १७,९१३ कांग्रेस जनले सघाएका हुन् । कथम् कदाचित् नेकपा एस यदि भोलिका दिनमा सत्ता साझेदार बन्यो भने यिनी मन्त्री पद नपाउँदा कुनै पल्लो घर सर्ने प्रबल सम्भावना हुन्छ।
अर्को व्यक्तित्व शेरबहादुर कुँवरको हैसियत पनि हेरौँ। यिनले क्षेत्रमा १९,५३४ मत ल्याएर विजय हात पारे। क्षेत्रमा समानुपातिक तर्फ कलममा मत आयो २,७४७। माओवादीले ल्यायो ७,२२८ दुबैको जोड ९,९७५ अर्थात यस क्षेत्रमा झण्डै आधी मत ९,५५९ कांग्रेसी मतको सहयोग पाएर यिनले जित्न सकेका हुन।
मेट मणिले पनि बडो गजब गरे। प्रत्यक्षमा २६,५७६ मत ल्याएर विजयी बने। तर समानुपातिक तर्फ आफ्नो दलको चुनाव चिन्हमा जम्मा ३,२१८ मत जुटाउन सके। माओवादीले यस क्षेत्रमा ११,४५२ मत ल्यायो। मन्त्री पदका आकांक्षी यिनी पनि हुन्छन्।
सत्ता गठबन्धनमा २० सिटको भाग पाएर लड्ने नेकपा एसका उम्मेदवारीले प्रत्यक्ष मा जिते पनि हारे पनि पार्टीलाई समानुपातिक तर्फ ५ हजार भोट नजुटाइ दिने क्षेत्रका उम्मेदवार आफ्नो क्षेत्र अथवा जिल्लामा कुनै हैसियत राख्दैनन्। अथवा यो पनि हुनसक्छ त्यस क्षेत्र अथवा जिल्लामा नेकपा एसको उपस्थिति नाम मात्रको छ। अर्को चुनावमा जोसुकै सँग गठबन्धन गरे पनि पार्टीले यी जिल्लामा दावी नै गर्न मिल्दैन।
वर्तमानको सत्ता गठबन्धन कायम रहेको स्थितिमा झलनाथको राष्ट्रपति हुने प्रबल सम्भावना देखिएको थियो। तर अब सोच्नु पर्ने बेला आयो। आफ्नो क्षेत्रमा चुनाव हार्दा गठबन्धनको सहयात्री दल प्रतिप्रति विष वमन गर्ने के देशको राष्ट्रपति पदका लागि अनुकूल पात्र हुन्छ ?
नेकपा एस भित्रका चर्चित एवं शक्तिशाली नेता राजेन्द्र पाण्डेको हैसियत पनि उपरोक्त पात्र भन्दा फरक छैन। महोदयले क्षेत्रमा प्रत्यक्ष तिर ३६,०१८ भोट ल्याएर विजयी हुँदा समानुपातिक तर्फ भने कलमले १६ प्रतिशत मत अर्थात ६०३५ मत मात्रै ल्याउन सक्यो। माओवादीले यहाँ १५,७९४ मत ल्यायो। दुबैको योगफल हुन आयो २१,८२९ अर्थात् उनले पाएको कुल मतमा १४,१८९ मत कांग्रेसबाट प्राप्त भएको हो। नेकपा एसभन्दा अढाई गुना बढी शक्ति माओवादीको भएको यस क्षेत्रमा एसले भाग पाउनु नै ठूलो कुरा हो।
नेकपा एसले जितेको अर्को ठाउँ सल्यान हो। यस क्षेत्रमा समानुपातिक तर्फ एमालेले २२,२५६ , माओवादीले २१,३२५ र कांग्रेसले १९,९६६ मत पाउँदा कलमले पनि ५,९७० मत पायो। प्रत्यक्षमा भने नेकपा एसका चर्चित पात्रले ३५,७०७ मत पाएर जीत हासिल गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले रुचाएका व्यक्ति कृष्णकुमार श्रेष्ठले बारा ४ मा ३०,३४१ मत ल्याएर जिते। तर आफ्नो दललाई समानुपातिकमा जम्मा ४,८५८ मतको योगदान गर्न सके।
धनबहादुर बुढाले ११,२९२ मत ल्याएर जित्दा समानुपातिकतर्फ कलममा १,८२४ मत मात्रै आयो।
भानुभक्त जोशीले २८,४१३ मत ल्याएर जिते। तर समानुपातिक तर्फ कलममा मत आयो जम्मा ४,८६३। यहाँ माओवादीले ८,५१६ मत पायो। दुबै गरेर हुन आयो १३,३७९ मत। भानुभक्तले यस क्षेत्रमा जम्मा १,००१ भोटले जितेका हुन र यहाँ कांग्रेसले प्रत्यक्ष निर्वाचनमा १५,०३४ भोट दिएको हो अर्थात माओवादी र एस दुबैको मतभन्दा बढी मत कांग्रेसबाट आएर विजय भएको हो।
नेकपा एसका अर्का विजयी उम्मेदवार अम्मरबहादुर थापाले १८,२९७ मत पाएर जिते। प्रमुख प्रतिस्पर्धी एमालेले १७,४४५ मत अर्थात ८५२ मतले पराजित हुनु पर्यो। समानुपातिक तर्फ भने यस क्षेत्रमा नेकपा एसको भोट आयो ३,१६६ । यहाँ माओवादीले २,६४५ मत ल्यायो। दुबैको जोड्दा हुन्छ ५,८११ अर्थात यसको डबलभन्दा पनि बढी मत कांग्रेसबाट आएर एसले जितेको हो। यस जिल्लामा एमाले र कांग्रेस नै प्रमुख प्रतिस्पर्धी हुन। एमालेले यहाँ १६,३१३ मत ल्याउँदा कांग्रेसले १५,८३७ मत ल्याएको हो। भागमा यो सीट पाउनु देखि विजय गराई दिनु कांग्रेसको नेकपा एसलाई विशुद्ध उपहार हो।
स्वयं नेकपा एसका संस्थापक माधव नेपालको रौतहट १ को कुरा गर्दा उनले ३३,५२२ मत प्राप्त गरेर जितेका हुन। प्रमुख प्रतिष्पर्धा एमालेलाई माधव जीले झण्डै ९ हजार मतले पराजित गरे। तर समानुपातिक तर्फ यहाँ पनि उत्साहजनक स्थिति रहेन। यहाँ कलमले समानुपातिकमा ९,५५८ मत पायो। माओवादीले यहाँबाट २,७९१ मत बटुल्यो। दुबैको योगफल हुन आयो १२,३४९ । यस भोट संख्यामा गठबन्धनको अर्को दल साइकल वालाको १,९५५ मत जोड्दा हुन्छ १४,३०४। समानुपातिकमा पाएको भन्दा झण्डै डेढ गुना मत कहाँबाट आयो ? झलनाथले भने झै द्रव्यपिशाच, मण्डले, नैतिकता- इमानदारी नभएका कांग्रेसले त यहाँ पनि आफ्नो चरित्र देखाएकै होलान्।
झलनाथजी नेकपा एस र माओवादीले २०७४ को निर्वाचनमा वाम गठबन्धनले गर्दा जुन सामर्थ्य राख्थ्यो गएको संसदमा, त्यसकै फलस्वरुप २०७९ को निर्वाचनमा २० एवं ४८ सिट पाएको हो। दुबै दलको वास्तविक सामर्थ्य लोकतान्त्रिक वाम गठबन्धन हुँदा स्पष्ट भएको हो। माओवादीले कांग्रेस मत ट्रान्सफर भएकै फलस्वरुप १७ सीट जितेको हो । आफ्नो सामर्थ्यमा भने उसले ५ सीट जित्ने थियो। तपाईंको दलले आफ्नो सामर्थ्यमा अथवा माओवादीको पनि सहयोगमा जितेका यी १० सीटमा कति सीट जित्ने थियो ? तपाईं इमानदारीको कुरा गर्नु हुन्छ ! इमानदारी साथ भन्नुस् त तपाईंको दलले के वामदेवकै नियति भोग्नु पर्ने थिएन ! त्यस बेलाका प्रदीप नेपालको भनाइ स्मरण गर्दै शानदार जीरो.....!
प्रदेशगत रूपमा नेकपा एसले जम्मा एक प्रदेशमा उल्लेख्य मत पाएको हो। नेकपा एस शक्तिशाली रहेको प्रचारित गरिएको सुदूर पश्चिम प्रदेशमा नेकपा एसले जम्मा २९,७२८ मत पाएको हो। राप्रपाले यसभन्दा बढी मत ल्याएको छ। कर्णालीमा यसले २५,५५५ मत पायो। लुम्बिनी प्रदेशमा नेकपा एसले २६,८३२ मत पायो। ढकिया, छाता, साइकल, हर्न र हलोको मत कलमभन्दा बढी छ। गण्डकी प्रदेशमा कलमको उपस्थिति नाम मात्र कै रह्यो। जम्मा ९,१६३ मत पाएर जनमोर्चा भन्दा पनि तल रह्यो। बागमती प्रदेशमा माधव जीको दलले ४८,२८७ मत पायो। प्रदेशमा यसको स्थिति मादलभन्दा कमजोर रह्यो। प्रदेश १ मा जम्मा भोट आयो ४५,६३१। मधेश प्रदेश जहाँ कलमले सबै भन्दा बढी मत पायो त्यहाँ पनि यसको संख्या १ लाख पुग्न सकेन। ९७,१५५ मत पाएर हर्न र छाता भन्दा धेरै पछाडि रह्यो कलमको प्रदर्शन।
झलनाथ जी तपाईंको दलले जितेका दस वटै सीट उपहार हुन कि दान दातव्य ! एक पटक ठन्डा दिमागले सोच्नु होला।
अन्तिम चुनाव नतिजा नआउँदै नेकपा एसको माओवादीमा विलय हुने काने खुशी हुन थालेको छ। यो महान क्रान्तिकारी काम भयो भने अर्को चुनावमा यस नवगठित क्रान्तिकारी दलले एक्लै चुनाव लड्दा पनि देशभरी १० सीटमा जित निश्चित यही तौर तरिकाबाट सम्भव छ र ?
वर्तमानको सत्ता गठबन्धन कायम रहेको स्थितिमा झलनाथको राष्ट्रपति हुने प्रबल सम्भावना देखिएको थियो। तर अब सोच्नु पर्ने बेला आयो। आफ्नो क्षेत्रमा चुनाव हार्दा गठबन्धनको सहयात्री दल प्रतिप्रति विष वमन गर्ने के देशको राष्ट्रपति पदका लागि अनुकूल पात्र हुन्छ ?
नेकपा एसभित्र मलाई सबैभन्दा सहानुभूति भएको पात्र रामकुमारी झाँक्री हो। पार्टीमा किचलो हुँदा उनले देखाएको भूमिकाप्रति आग्रह गर्दै मैले त्यसबेला नै एउटा लेख मार्फत उनलाई भनेको थिए- मित्र, विगतमा जे गल्ती केशव स्थापितले वामदेवका पछाडि लागेर गरे, माधवका पछाडि लागेर तपाईं लेडी केशव स्थापित हुने दिशामा अगाडि नबढ्नुस्। नेकपा एस माओवादीसँग संयुक्त हुन गए पनि अथवा भोलिका दिनमा बृहत वाम एकता भए पनि रामकुमारीलाई पुनः स्थापित हुन हम्मे हम्मे नै पर्छ। अब उनको हुँदै जाने राजनीतिक अवसानमा टुलुटुलु हेर्न बाहेक केही गर्न सकिदैन। आफुलाई जोगाउने उनीसँग एउटा मात्रै उपाय छ, भोलिका दिनमा नेकपा एसको माओवादी अथवा एमालेमै विलय हुने हुँदा उनले विलयलाई अस्वीकार गरेर स्वतन्त्रता हुने अथवा कांग्रेस प्रवेशको बाटो लिनुपर्छ। रामकुमारी ! राजनीतिमा हुनेले भविष्यको पदचाप समयभन्दा पूर्व नै बुझ्नुपर्छ अन्यथा उ 'आउटडेटेड' हुन्छ। नेपालमा आउने २ निर्वाचनसम्म स्वतन्त्र हरुको भूमिका बढने क्रम जारी रहन्छ।