ज्ञानमित्र | दृष्टिकोण | मंसिर १६, २०७९
आम निर्वाचन २०७९ मा डेब्यू गरेका मधेशी नेता सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको फोटो सामाजिक संजालमा भाइरल नै भयो। भेट गराउने सुत्र धारले मधेश प्रदेशका साथै सिंह दरबारको सत्ता साझेदारका रूपमा नयाँ गजेन्द्र नारायण सिंहको उदय भएको स्पष्ट संकेत गरे।
पहिलो बलमै 'सिक्सर' हानेर राजनीतिका नयाँ धोनी बनेका सीके राउतको कीर्तिमानी पारी कति बलियो,लामो र टिकाऊ हुने हो त्यो भविष्यकै गर्भमा छ तर अहिले भने प्रत्यक्षमा १ सीट र समानुपातिक तर्फ घटीमा ४ सीट सहित संसदमा छिरेका राउत गठबन्धनका 'सिलेक्टर' हरुको नजरमा 'तु चीज बडी है मस्त मस्त' बनेका छन।
यस प्रकरणलाई निरन्तरता दिनु पुर्व गठबन्धनको 'मीमांसा' गरौ- नेपाली कांग्रेसले प्रत्यक्षमा बढीमा ५७ एवं समानुपातिक तर्फ बढीमा ३३ सीट गरी ९० सिटसम्म ल्याउन सक्छ। यस उपलब्धिमा एक - दुइ सीट घट्ने सम्भावना हुनसक्छ तर बढोत्तरी हुने चान्स छैन।
माओवादीले प्रत्यक्षतर्फ बढीमा १८ र समानुपातिकतर्फ बढीमा १५ गरी ३३ सीट ल्याउन सक्छ। यसमा पनि एक- दुइ सीट घट्न सक्छ बढ्ने भने गुन्जाइस छैन। माधवजीको नेकपा एसले १० सिटमै सीमित हुनुपर्ने भयो।
सत्ता गठबन्धनको अर्को साझेदार लोसपाको संसदीय सामर्थ्य ४ नै रहन्छ। पाँचौ साझेदार जनमोर्चाका ८० वर्षीय चित्रबहादुर केसीको १ सीट छ।
५ दलीय सत्ता गठबन्धनको संसदीय बल ठ्याक्क १३८ पुगेको देखिन्छ। तर संसदीय राजनीतिका श्लाघापुरुषहरुलाई अहिलेदेखि नै पूर्वानुमान भइसकेको छ यस उपलब्धिमा १-२-३ सीट अपुग हुनसक्छ। अहिले पुगे २-३ महीनाभित्र नै प्राकृतिक संयोगले पनि यो अवस्था आउनसक्छ तसर्थ शेरबहादुरजी 'प्रोएक्टिभ' भएर सत्ता गठबन्धनका लागि अन्य पात्रहरुको खोजीमा हुनुहुन्छ।
को को हुन सक्छन सत्ता पोखरीमा डुबुल्की लाएर आनन्द लिने नयाँ पौडी बाजहरू !?
कांग्रेस सभापतिले दलबाट निष्कासित स्वतन्त्रका रूपमा जित्ने अमरेश सिंहको कारवाही फिर्ता लिएर आफ्नो संख्या बढाउन सक्छन् । स्वतन्त्र जितेका प्रभु शाह र किरणकुमार शाहको महत्व पनि उत्तिकै हुने पक्का पक्की छ।
नागरिक उन्मुक्ति पार्टीले ४ सीट जितेका कारण रेशम चौधरीलाई जेलमा पुगी भेट्ने भीड लाग्न थालि सकेको छ।
जसपालाई पुनः सत्ता गठबन्धनमा फर्काउने भागिरथ प्रयास प्रारम्भ भएका छन। संसदमा ११-१२ सीट हुने तर आफु चुनाव हरेक यस दलका महामहिमका लागि स्थिति बडो असमञ्जस पूर्ण रहने छाँटकाँट देखिएको छ। यिनले बुद्धि नपुर्याए छोटो समयमै यिनको दल विभाजित हुने भरपूर सम्भावना छ।
नयाँ संसदमा तीनवटा मधेशी दल २०-२१ को संख्याका साथ उपस्थित हुन्छन्। जुनसुकै प्रकारको गठबन्धनका लागि पनि यिनको साथ र सहवास परम आवश्यक हुन्छ। अब बन्ने कुनै पनि प्रकारको नयाँ सत्ता गठबन्धनमा कम्तीमा दुइवटा मधेशी दलको सहभागिता नभइ गठबन्धनले स्वरुप लिन सक्दैन। मधेशका तीनवटै दल एउटै गठबन्धनमा समाहित हुन गए कुनै अचम्म हुने छैन।
त्यसो त वर्तमानको सत्ता गठबन्धनको कुण्डलीमा शनिका साथै राहुको पनि वक्रदृष्टि परिसकेको छ। कुनै अचम्म हुने छैन आत्तिएर शेरबहादुरले गठबन्धन सरकारको नेतृत्व गर्ने जिम्मा प्रचण्डलाई हस्तान्तरण गरे भने। नवगठित संसदमा प्रधानमन्त्री हुने सबैभन्दा बढी सम्भावना शेर बहादुरको छ भने दोस्रो सम्भावना प्रचण्डको नै हो। प्रचण्डले यो अवसर पाउने क्रममा जस्तोसुकै कुर्बानी दिन सक्छन्।
२१-२२ सिटको रवि लामिछाने एवं १४-१५ सिटको राजेन्द्र लिङदेनले नै सत्तामा पुग्ने चाहना राखे भने आगामी निर्वाचनमा यिनीहरुको हविगत जेसुकै भए पनि अहिले बन्ने सत्ता गठबन्धनलाई अलिक लामो आयु प्राप्त हुनसक्छ।
थोरै चर्चा कांग्रेस भित्रको अन्तर कलह एवं संसदीय दलको नेताबारे- कांग्रेसभित्र काजी 'फ्याक्टर'ले उथलपुथल मच्चाएको छ। गगन थापाले संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्ने घोषणा मात्रै होइन भित्री रूपमै जोरदार तयारी पनि गरिसकेका छन् । देउवा क्याम्पमा एकपछि अर्को पराकम्प आउँदै गइरहेको छ। गगन थापालाई थाहा छ उनले जति बल लाए पनि दलको नेताका रूपमा उनी चयन हुँदैनन्। कांग्रेसभित्र गगन एकमात्र यस्ता नेता हुन जसले रोडम्याप तैयार गरेर पाइला सार्ने गर्छन्। गगनसँग संसदीय दलमा पराजित भए पनि यस पछिका २-३ वटा रोडम्याप 'अलरेडी' तयारी अवस्थामा छन् । भारतीय राजनीतिमा रामविलास पासवानलाई राजनीतिको मौसम विज्ञानी भनिन्थ्यो। नेपाली राजनीतिमा गगनसँग त्यो क्षमता छ। भविष्यमा सिर्जित हुने स्थितिको पदचाप बुझ्ने गजबको सामर्थ्य छ गगनसँग । गगनले २०८२-२०८३ मा आउने सम्भावित सुनामीको पदचाप अग्रिम मै बुझी सकेका छन र उनको सारा प्रयास त्यस सुनामीको सूत्र धार हुनेमा परिलक्षित हुँदै गइरहेका छन ।
देउवा क्याम्पले बुझ्नै सकेको छैन गगन थापाको यस संसदमा प्रधानमन्त्री हुने रोडम्याप नै होइन। हुन त देउवासँग अथवा उनको आसेपासेसँग बुद्धि जन्य अपेक्षा गर्नु आफ्नै बुद्धिको अपमान गर्नु हो। गगन थापालाई थाहा छ अहिले संसदीय दलको नेता भएर गठबन्धन सरकारको प्रधानमन्त्री भएको खण्डमा उनको हालत पनि बाबुराम भट्टराई जस्तै हुनेछ। उनको प्लान अहिले संसदीय दलको चुनाव लड्नु मात्रै हो।
त्यसो त वर्तमानको सत्ता गठबन्धनको कुण्डलीमा शनिका साथै राहुको पनि वक्रदृष्टि परिसकेको छ। कुनै अचम्म हुने छैन आत्तिएर शेरबहादुरले गठबन्धन सरकारको नेतृत्व गर्ने जिम्मा प्रचण्डलाई हस्तान्तरण गरे भने। नवगठित संसदमा प्रधानमन्त्री हुने सबैभन्दा बढी सम्भावना शेर बहादुरको छ भने दोस्रो सम्भावना प्रचण्डको नै हो। प्रचण्डले यो अवसर पाउने क्रममा जस्तोसुकै कुर्बानी दिन सक्छन्।
भारतीय मित्रहरूको चाहना भने अलिक फरक हुन गएको छ। भारतको चाहना समस्त साम- दाम- दण्ड- भेद प्रयोग गरेर यो सत्ता गठबन्धन भत्काएर नयाँ वाम गठबन्धन बनाउनु हो। यस गठबन्धनका लागि चिनियाँहरु पनि सहायक हुन्छन्।
यसका लागि भारतीय प्रयास प्रचण्डको शेरबहादुरसँग पारपाचुके गराएर उनलाई केपी ओलीसँग हनिमुनमा पठाउने रहेको छ। सम्भावना कम छ तर हुँदै नभएको होइन। यसको गणित पनि हेरौं -
संसदमा ओलीको सामर्थ्य ७७-७८ सीट, माओवादीको ३२-३३ सीट, नेकपा एसको १० सीट, राप्रपाको १५ सीट, जसपाको १२ सीट, यस समीकरणमा बहुमत सजिलै पुग्ने देखिन्छ। कोही कोही विद्वानलाई यस गठबन्धनमा राप्रपाको इन्ट्री हुनेमा शंका लाग्नसक्छ, तर ढुक्क हुनुस् राप्रपाका आफ्ना भिजन र मिशन कहाँ कसलाई सहयोग गरे र कोसँग उभिन गए पूर्ण हुन्छन् भन्ने पूर्ण ब्रह्मज्ञान छ। भारतको दीर्घकालीन मिसन यो संविधान मिल्काउनु हो। भर्खरै भएको चुनाव परिणामले यस दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ। नपत्याए स्मरण गर्नुस्।
ओलीलाई प्रतिगमनकारी र संविधान विरोधी चार्ज लाएर बनेको सत्ता गठबन्धनको चुनावी एजेण्डा संविधानको रक्षार्थ एवं प्रतिगमनका विरुद्ध सशक्त रूपमा विजय हासिल गर्नु थियो। ओली, लिङदेन, रवि लामिछानेलाई मात्रै संविधान विरोधीको श्रेणीमा राख्ने हो भने यिनीहरुले २७५ सदस्यीय संसदमा ११४ संख्याको दरो उपस्थिति देखाइ दिए, 'अब तेरा क्या होगा कालिया' कै परिदृश्य देखिएन र ? संसदमा संविधान विरोधीको उपस्थिति ४१ प्रतिशत हुनु संविधानका लागि गम्भीर खतरा होइन र ?
'हिस्ट्री रिपीट इटसेल्फ' भन्ने एउटा उखान छ, त्यो चरितार्थ हुन गइरहेको आभास हुन्छ। २०५१ को संसदीय स्वरूपले गर्दा विभिन्न तिक्डम र हत्कण्डा प्रयोग गर्दै भनौं तत्कालीन दलहरुको सत्ता लोलुपता र अन्तर कलहको गजब प्रयोग गर्दै माओवादीले आफुलाई शक्तिशाली बनाएका थिए। यति शक्तिशाली कि २०५६ को कांग्रेसको बहुमत सरकारले पनि माओवादीलाई ब्रेक लाउन सकेन। अहिले पुनः त्यै प्रकारको संसद बन्न गएको छ तर परिस्थिति पूर्णरूपमा उल्टिएको छ। २०५१ मा तत्कालीन संविधान विरोधी माओवादी अहिले संविधान रक्षार्थ उभिएको छ। प्रचण्ड सामु निरन्तर खिइँदै गइरहेको आफ्नो दलको क्षयीकरण रोक्नका साथै संविधान बचाउने अभिभारा आइलागेको छ। कांग्रेसको भर नगरे हुन्छ प्रचण्डजी ! यो त जता हवा बग्छ त्यै दिशामा लम्किन्छ। संघीयता, गणतन्त्र, धर्म निरपेक्षता आदि यावतका प्रसंगमा हिजो तपाईंका हिँडन बाध्य भएको थियो भने बदलिएको परिस्थितिमा कांग्रेस पुनः २०४८ कै समयमा फर्किन किञ्चित पनि विलम्ब गर्दैन।
२०७२ असोज ३ गते रिलिज भएको संविधानले २,६४५ दिनपछि सम्पन्न भएको आम निर्वाचनले बनेको संसदमा आफ्नो रक्षार्थ बनेको गठबन्धनका लागि ५० प्रतिशत संख्या बल पुर्याउन सकेन। विभिन्न जोडतोड गरेर बनेको गठबन्धन सरकारले यसको आयु कति दिन टिकाई राख्नसक्छ ? आउने १,००० दिनभित्र नै यसको फैसला हुने प्रबल सम्भावना छ।
शेर बहादुर नै गठबन्धनको प्रधानमन्त्री बनेको खण्डमा गठबन्धन सरकार अलिक लामो जानसक्छ। अन्य कोहीको काँधमा यो सुअवसर थन्किन गए १,००० दिन भित्र नै देशमा मध्या विधि चुनाव हुनसक्छ। यस संसदमा शेर बहादुर, प्रचण्ड र ओली एवं परी आए महन्त ठाकुर जोसुकै प्रधानमन्त्री हुनसक्छ। प्रधानमन्त्रीमा जोसुकै शोभायमान भए पनि उसको प्रमुख च्यालेन्ज जसरी पनि मध्यावधि चुनाव हुन नदिने नै रहन्छ। गगन थापा अर्को चुनाव पछिका नायक हुन। यस नवगठित संसदमा हुने अनेक थरीका नाटक हेर्न देशवासी व्यग्रता साथ प्रतीक्षित छन।