हरिविनोद अधिकारी | दृष्टिकोण | मंसिर १७, २०७९
सोचेजस्तो त कहाँ हुने रहेछ र । त्यसो त के सोचिन्थ्यो भन्ने पनि सापेक्ष कुरा रहेछ । सोच्न पनि आवश्यकता पर्नु पर्ने रहेछ । परिवेशले के सिकाउँछ र के आवश्यकता हुने रहेछ,त्यतै पट्टीको चाहना बढ्ने रहेछ । हामी हुर्कने बेलामा मुलुकमा प्रजातन्त्र त रहेछ तर त्यसको अनुभूति स्वाभाविकरुपमा हामीलाई , त्यो पनि ग्रामीण बस्तीमा हुने रहेनछ । अहिले पनि ग्रामीण बस्तीमा नगरपालिकाको साइनबोर्ड त पुग्यो, चाउचाउ र फस्ट फुडका पोका त पुगे तर नगरभित्रको विकासले आँखा खोलेको पाइँदैन ।
अहिलेको विकासको मोडेल भनेको डोजरले कुमारी पाखो पखेरोको नंग्राउनु मात्र हो जस्तो देखिन्छ । नेपालको पूर्व या पश्चिम तिरको हवाइ यात्रा गर्दा देखिन्छ, पहाडी भूभागमा जताततै डोजरले कोपरेका डामहरु देखिन्छन् अनावश्यकरुपमा सडक बनाउने नाममा । न त त्यहाँ पिच गरिन्छ, न त त्यहाँ स्याहार सम्भार गरिन्छ । हिउँद भरि पहाड कोपर्ने अनि बर्खामा ती ठाउँको माटो बगाएर हिन्द महासागरमा टापु बनाउने । पहिरो जाने, जंगल सखाप हुने । फेरि अर्को हिउँद आउँछ, ठेक्कामा कोपर्न थाल्ने र विकासको रकम खर्च पनि देखिने, गाउँमा छोटे डनहरुको सेवा पनि हुने ।
योजना त छ कागजमा पक्कै, पारित पनि भएको देखिन्छ पालिकाका सभाहरूमा तर किन एउटै खालका विकासमा सधैँ पैसा खर्च हुन्छ र किन दिगो विकासमा ध्यान जाँदैन भन्ने कुराको न त जबाफ पाइन्छ , न त त्यसबारेमा तालिम, अनुगमन र मूल्यांकन नै भएको पाइन्छ । अर्थात् आजको आफूलाई जानकारी दिने लिने सर्वसुलभ समयमा त कल्पनाले साकार रुप लिने सकेको छैन भने हाम्रो किशोर अवस्थामा ती कुराहरुको कल्पनाका लागि पनि कच्चा पदार्थ पाइँदैन थियो ।
हाम्रो गाउँको विद्यालय, कौशीका प्राथमिक विद्यालयको भवन शिलान्यास गर्दा त्यहाँ सायद चार सुरका लागि चारवटा खाल्डाहरु खनिएका थिए । त्यहाँ पानी भरेर छोडिएको थियो । जुन चाहिँ खाल्डोमा पानी करिब करिब सुकेन, त्यहाँ नै सुर राख्ने भनेर भनेको सुनिएको थियो । म बाको पछिपछि हिँड्थेँ । शिलान्यासका लागि खनिएका खाल्डामा भूमि पूजा गरेर घर तयार गर्ने मन्त्र भनिएको थियो ।
मुख्य कर्ताको रुपमा तत्कालीन विद्यालय सञ्चालक समितिका अध्यक्ष मेरा बाले एउटा ठुलो , कुँदेर मिलाइएको ढुंगो राखेर शुभारम्भ गर्नु पर्ने थियो । के भनौँ, के भनौँ जस्तो लागेर बाले भन्नु भएछ-यो ठाउँ विश्वविद्यालय होस्, यो भवनमा विश्वविद्यालयको पढाइ होस् । त्यो एउटा अकल्पनीय कल्पना थियो मेरो बाको । जुन बेलामा गाउँमा प्राथमिक विद्यालय थिएन । उहाँहरुले तत्कालीन अवस्थामा नेपाली कांग्रेसको चुनावी घोषणा पत्रमा भनिएको थियो कि प्रत्येक बुथमा कम्तीमा पनि एउटा प्राथमिक विद्यालय रहनेछ । त्यो तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसको २०१५सालको निर्वाचनमा दिएको बाचा थियो, निर्वाचन गरिने प्रत्येक बुथमा एउटा प्राथमिक विद्यालय स्थापना गरिने छ ।
हाम्रो गाउँ तत्कालीन पूर्व २ नम्बरको क्षेत्रमा पर्ने १५ नम्बर निर्वाचन क्षेत्र रहेछ । बल्ल बल्ल १५ नंबर निर्वाचन क्षेत्रका लागि भनेर ल्याइएका १०ओटा प्राथमिक विद्यालयका कोटामा हाम्रो गाउँ ग्वाल्टारमा खोलिन लागेको विद्यालयको नाम श्री कौशिका विद्यालय राखिएको रहेछ । बल्ल बल्ल शिक्षा मन्त्रालयको कृपामा प्राप्त प्राथमिक विद्यालय कहाँ राख्ने भन्नेमा पनि विवाद परेछ ।
कसैले भनेछन् गाउँको पूर्वी छेउमा बनाउने, कसैले भनेछन् पश्चिमी छेउमा बनाउने तर सकेसम्म गाउँको बिचमा विद्यालय राख्दा हुन्छ भनेर बाह्रबिसे खोल्साको पूर्व पट्टीको हबल्दार्नी ज्यामै सायद हजुर आमाको नाम देवकुमारी जस्तो लाग्छ, उहाँसँग जग्गा दानमा लिएर विद्यालय भवन बनाइएको थियो । अहिलेको कौशिका माध्यमिक विद्यालय (केही पहिलेसम्म उच्च माध्यमिक विद्यालय पनि भनिन्थ्यो कक्षा १२सम्मको पढाइ हुने हुँदा, अहिले कक्षा ९देखि १२सम्मलाई माध्यमिक भनिएकाले ) भूकम्पबाट क्षतविक्षत भएकाले नयाँ विद्यालय बनेको छ र त्यसको संरचना सहरका महाविद्यालयहरूकै जस्तो बनेको पनि छ ।
भोलि यदि मानित विश्वविद्यालयको ऐन आयो र हामीले गाउँमा नै कृषिसम्बन्धी र जडीबुटी सम्बन्धी मानित विश्वविद्यालय खोल्न सक्यौँ भने त्यो अकल्पनीय कल्पना पनि साकार हुनसक्ने देखिन्छ । तर त्यो कुरा किन कल्पनामा आयो होला भने मेरो बा घुमफिर गर्दा र सुनेको कुरा अनि वनारसमा बनारस हिन्दू विश्वविद्यालय खुलेको कुराले सायद उहाँलाई विश्वविद्यालय भन्ने शब्दले उच्च शिक्षाको एउटा स्वैरकल्पनामा पुर्यायो होला कि ? तर उहाँले त्यसै भन्नु भएछ खाल्डामा ढुंगा हाल्नुभन्दा पहिले-यस ठाउँमा विश्वविद्यालय बनोस्, यो शिलान्यास भएको ठाउँमा । अर्थात् परिवेशले कल्पना जन्माउने रहेछ र कति साकार हुन्छन् र कति साकार हुँदैनन्, त्यो पनि परिवेश र उद्यमशीलतामा भर पर्ने कुरा रहेछ ।
सर्वोच्च अदालतको फैसलाले जेल बसेर बाहिर आएका खुमबहादुर खड्का थिए । उनले त्यो लोकप्रिय कार्यक्रममा बारम्बार प्रश्न उठाए- म एउटा प्रजातन्त्रवादी हुँ, अदालतको आदेशको अवज्ञा गर्न सकिन र सर्वोच्च अदालतको फैसला बमोजिम जेल गएँ र पालना गर्दै छुटेर आएको हुँ तर मलाई कसले जबाफ दिने हो, मलाई कसले कति करोड दियो र मेरो सम्पत्तिमा बढी रकम देखियो ? उनी बाँचुन्जेल यो प्रश्न सार्वजनिक रुपमा उठाई रहे ।
हाम्रै गाउँभन्दा दुई कोस पश्चिम खुर्कोटमा जन्मनु भएका र सिन्धुली गढी डाँडाबाट शिक्षा सुरु गर्नु भएका सुरेश राज शर्मा (प्राध्यापक डाक्टर सुरेशराज शर्मा)ले एउटा कल्पना शीलताका आधारमा काठमाडौँ विश्वविद्यालयको स्थापना गर्नुभयो । आज त्यो विश्वविद्यालयलाई नेपालको गुणस्तर शिक्षा उपलब्ध गराउने शैक्षिक संस्थाको रुपमा लिइन्छ । नेपालमा मात्र होइन, भर्खरैजस्तो स्थापना भएको विश्वविद्यालयले विश्वभर नाम कमाएको छ र सम्बन्ध पनि राखेको छ । गाउँमा जन्मिएको तर कल्पनाशील बालकको अन्तर्मनमा कुनै बेला थियो होला , म पनि विद्यालय खोल्नेछु, महाविद्यालय खोल्नेछु र विश्वविद्यालयको स्थापना गर्नेछु ।
कल्पनाले नजानिँदो तरिकाले त कुनै बेला तरंगको रुपमा मस्तिष्कमा छाप छोडेको थियो होला, तर जब उहाँ राष्ट्रिय शिक्षा समितिको सदस्य सचिव र व्यावसायिक शिक्षाको लागि सिटिइभिटीको स्थापनामा सरकारलाई झकझकाउनु भयो , विना सिपका युवाहरु किन कतिसम्म उत्पादन गरिरहने भनेर । त्यो बेलाको सम्पर्क, अनुभव र आवश्यकता महसुस गरेर पनि होला, काठमाडौँ विश्वविद्यालयको स्थापना गर्नु भएको । त्योभन्दा पहिले काठमाडौँ भ्याली क्याम्पस भनेर विज्ञानको प्रवीणता पत्र तहको मात्र कक्षा चल्थ्यो मदन मेमोरियल स्कुलको भाडाको भवनमा ।
हामी पनि शिक्षा शास्त्रको स्नातक तहको सामुदायिक क्याम्पस खोल्ने विचारमा डाक्टर शर्मासँग सल्लाह माग्न गएका थियौँ म र प्रेमनारायण अर्याल सर। अर्यालजी त्यो बेलामा त्रिभुवन विश्वविद्यालयको प्रोक्टर हुनुहुन्थ्यो । के नाम राख्ने होला भन्दा डा. शर्माले विभिन्न नाममा सांस्कृतिक, राजनीतिक,धार्मिक विवाद हुन सक्ने शंका गर्दै बरु काठमाडौँ शिक्षा क्याम्पस नै राख्नु बेस हुने सल्लाह दिनु भयो ।
म र प्रेम जी पनि के नाम राख्ने भन्नेमा आमञ्जस्यमा थियौँ तर सुरेश दाइले हामीलाई के पनि भनक दिनु भएको थियो भने उहाँ छिटै नै एउटा विश्वविद्यालयको स्थापना गर्नुहुनेछ जसको नाम काठमाडौँ शब्द राखेर हुनेछ । पछि गएर काठमाडौँ भन्ने नामको एउटा चेन बन्ने छ । दुर्भाग्य , हामीले अहिलेसम्म त्यसको कुनै संकेत पाएका छैनौँ । त्यसको कारण हो, हामीले काठमाडौँ शिक्षा क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनका चलाइरहेका छौँ र अरु विश्वविद्यालयहरुको सम्बन्धन यस्तोमा निषेध पनि छ र हामीले प्रयास पनि गरेका छैनौँ ।
कल्पनाको पनि एउटा सीमा हुने रहेछ । त्यसो त मन एकदम चञ्चल हुन्छ । युधिष्ठिरसँग अदृश्य यक्षले प्रश्न राखेछन्- सबैभन्दा चञ्चल के हो ? तत्कालै युधिष्ठिरले भनेछन् - मन हो । जतिबेर जहाँ पनि पुग्छ, उसको कुनै सीमा हुँदैन सीमा रहित मन । तर सुविचारित कल्पनाको कसरी पूरा गर्ने भन्ने एउटा खाका पनि हुन्छ होला जसरी कि एउटा गृहस्थले झुपडी बनाउनका लागि गर्ने कल्पना । उसले सोच्छ, जग्गाको व्यवस्था कसरी गरिएला, घर कसरी बनाउला, त्यस्तो घरमा कति कोठा बन्न सक्ला । तर पढेर, सुनेर र जाग्ने सपना साकार एकदिन त हुने रहेछ तर कहिले भन्ने प्रश्न चाहिँ सधैँ रहिरहन्छ ।
एउटा सचेत या राजनीतिप्रति धारणा बनाउन थालेको नयाँ चेतना बन्दै गरेको मानिस राजनीतिमा किन आकर्षित हुन्छ ? मन्त्रीका लागि, समाजको पुनर्जागरणीय विकासका लागि, चेतनाको विकासका लागि, भौतिक विकासका लागि, सेवाका लागि या धेरै कमाएर मोजमस्ती गर्नका लागि । उत्तर पहिले सकारात्मक र सेवाको भावनाले ओतप्रोत भनेर नै आउँछ होला । तर अहिलेको एउटा भाष्य छ नि, चप्पल पड्कारेर काठमाडौँमा पसेकाहरू भवन, गाडी, करोडौंको बैँक ब्यालेन्स, अझ विदेशी बैँकमा रकम राख्ने , भ्रष्टाचारमा लिप्त भन्ने भाष्य तयार भएको छ। त्यो असत्य पनि होइन ।
यदि समाज सेवाको भावले, जनताका चेतनाको स्तर वृद्धि गरेर समाजको सोचाइलाई समानता मुखी, सामाजिक न्याय मुखी बनाउने ध्येयले राजनीतिमा लाग्न थालेका साथीहरु त सर्वोच्च अदालतबाट भ्रष्टाचारी भनेर कैद सजाय पाउँछन् तर तिनको प्रश्न भने सधैँ समाजलाई तेर्सिएको छ, न्याय प्रणालीतर्फ पनि तेर्सिएको छ- हामीलाई कसले घुस दियो? कसरी हामी भ्रष्टाचारी ? हामीले मुलुकलाई के बिगारेका थियौँ ? पहिले नेपाल वान भन्ने टेलिभिजनले खुला इजलास भन्ने लोकप्रिय कार्यक्रम सञ्चालन गर्थ्यो र त्यो कार्यक्रमका प्रस्तोता थिए खोज पत्रकारितामा विज्ञता हासिल गरेका पत्रकार गोकर्ण खतिवडा । उनले मलाई एकपटक न्यायाधीशको रुपमा आमन्त्रण गरे र अभियुक्तका रुपमा भर्खरै जस्तो भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतको फैसलाले जेल बसेर बाहिर आएका खुमबहादुर खड्का थिए । उनले त्यो लोकप्रिय कार्यक्रममा बारम्बार प्रश्न उठाए- म एउटा प्रजातन्त्रवादी हुँ, अदालतको आदेशको अवज्ञा गर्न सकिन र सर्वोच्च अदालतको फैसला बमोजिम जेल गएँ र पालना गर्दै छुटेर आएको हुँ तर मलाई कसले जबाफ दिने हो, मलाई कसले कति करोड दियो र मेरो सम्पत्तिमा बढी रकम देखियो ? उनी बाँचुन्जेल यो प्रश्न सार्वजनिक रुपमा उठाई रहे ।
त्यस्तो अरु पनि छन् होला तर समाजले मानेपछि र समाजमा भ्रष्टाचारी भनेर हल्ला चलेपछि त्यसको निरुपण अदालतबाट निर्णय भए पनि नहुने रहेछ । अदालतबाट सफाइ पाए पनि समाजमा चल्ने हल्लाको न त कुनै ओखती छ, न कुनै उपाय हुने रहेछ । तर राजनीतिको सुरुवाती बेलामै जीवन यापनको तहभन्दा पक्कै बढेको चाहिँ देखिन्छ नै । त्यसको अर्थ राजनीतिमा लाग्नु भनेको भ्रष्टाचार गर्नु नै होइन । सेवा नै हो तर आजको नेपाली परिवेश त्यस कुराका लागि तयारी छ त ? धेरै उदाहरणले देखाउँछ, राजनीतिक कल्पना शिलताले अपराधी करणतर्फ नै खोर्याउँछ र तर कम उदाहरणले भने समाजमा अझै पनि राजनीतिलाई सेवाको धारणामा परिणत गर्नेहरुको आदर्शले ओतप्रोत पनि छ ।
तर निराशाको उच्छवास आउनुमा राजनीतिमा मौलाएको अपराधी करण र भ्रष्टीकरणले नै हो । यसका धेरै कारणहरु मध्ये भौतिक सुख सुविधाको लागि सहज उपाय भनेको गलत काम मार्फत् र दलाली मार्फत् मुलुकलाई ठग्ने गरी गरिने आर्थिक उपार्जन उपाय नै हो जसमा समाजलाई जेसुकै होस् मेरो जीवनमा सुविधा नटुटोस् भन्ने हो । क्रमशः