आशिष पौडेल | अन्तर्मन्थन | मंसिर १८, २०७९
उहाँको जन्म २०११ सालमा ताप्लेजुङको आठराईमा भएको हो । उहाँको बुवा आमा विशुद्ध कृषक हुनुहुन्थ्यो । र परिवारको आर्थिक अवस्था एकदमै न्यून किसिमको थियो । यसरी भन्नुपर्दा न्यून मध्यम पनि भन्न गाह्रो पर्छ । यसरी न्यून आर्थिक स्थितिमा जीवन बिताइरहँदा त्यस बेलाका धनी मानी वा सामन्तहरूले गरेको शोषणले उहाँलाई भने एकदमै बजाइरहेको थियो । यसका लागि उहाँले आफू पनि शिक्षाको क्षेत्रमा लाग्ने विचार गर्नु भएको थियो भने बुवा आमाले पनि छोराछोरीलाई सम्पत्तिभन्दा पनि शिक्षाको उज्यालो भने दिनुपर्छ भन्ने अठोट लिनु भएको थियो ।
यो चेतना उहाँको बुवा आमामा कसरी आयो त्यो कुरको खासै जानकारी उहाँलाई पनि छैन तर, त्यहाँका धनी मानी वा सामन्तहरूको शोषण पनि एउटा कारण हो कि भन्ने चाहिँ उहाँलाई लाग्छ ।
आठराईमा राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा नै शिक्षाको उज्यालो पुगेको हो । त्यहाँ रहेको त्रिमोहन मावि मोहन शमशेरको नामसँग जोडिएर पनि आउँछ । यसकारण पनि आठराईवासीहरु शिक्षामा एकदमै अगाडि देखिन्छन् ।
अर्को कुरा भनेको त्यस बेला पनि आठराईका धेरै मानिसहरु काठमाण्डौ आउने र राणा परिवारमा कुनै न कुनै रुपमा जोडिने र पढाइमा उन्नति, प्रगति भएको देखेर पनि होला उहाँको बुवामा त्यो गरिबीका बीच पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने चिन्ता र भाव दुवै आएको थियो । यसअर्थमा उहाँ आफ्नो आमा बुवामा शिक्षाको चेतनाको स्तर एकदमै सवल भएको अभिभावकका रुपमा लिनुहुन्छ । किनकि परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भइकन उहाँहरुलाई शिक्षा दिक्षा दिनुभयो । जबकि त्यस बेलाका उहाँका दौँतरीहरू कसैले पनि त्यो अवसर पाएनन् ।
आर्थिक स्थिति केही मजबुत होला भन्दा पनि परिवार अलि सहज ढंगले चल्ला भनेर बुवाले साहुहरूको जग्गा कमाउने काम गर्नुभयो । तर, कूत तिर्न नसक्दा साहुले एक माना चामल पनि खमारमा नछोडेपछि भने अब यसरी भएन भनेर उहाँको बुवा २०१२ सालमा उहाँ एक वर्षको छँदा झापाको धाइजन झर्नुभयो ।
त्यस बेला झापामा रामबाबु, भरत बाबू र सिके प्रसाई जस्ता चेतनाले ओतप्रोत भएका राजनीतिक र सामाजिक चेतनामा अगाडि रहेका समाजका अगुवाहरुले झापामा स्कूल खोल्नुभयो र उहाँको स्कुले जीवनको प्रारम्भ भयो ।
उहाँ २०१७ सालमा धाइजनको बलभद्र माविमा भर्ना हुनुभएको हो । स्कूलमा बस्नका लागि डेस्क,बेन्चको राम्रो सुविधा थियो । घरबाट चकटी लिएर गएर पढ्नुपर्ने अवस्था रहेन । यसमा स्कूल स्थापना गर्ने रामबाबु, भरत बाबू अनि सिके प्रसाईहरुले आफ्नो इज्जत जान्छ भनेर पनि त्यहाँको भौतिक व्यवस्था राम्रो गर्नु भएको थियो ।
उहाँले ६ कक्षासम्म त्यस स्कूलमा पढ्नु भएको हो । उहाँ पढ्ने बेलामा एउटा कक्षामा १०/१२ जना हुन्थे । त्यसमा महिलाहरुको सहभागिता १/२ जनाका रुपमा मात्र थियो ।
७ कक्षामा भने उहाँ धुलाबारी माविमा भर्ना हुनुभयो । त्यस बेला भने कक्षामा ३० जना थिए । त्यसमा छात्राहरुको संख्या भने ११ जना थियो । उहाँ बस्नलाई फस्र्ट बेञ्चमा बस्नुहुन्थ्यो । र, फस्र्ट बेञ्चमा बस्ने तीन जनाकै नाम चाहिँ विष्णु थियो । एकजना विष्णु प्रसाई जो पछि प्रदेश प्रमुख हुनुभयो । अर्को एक जना विष्णु बिष्ट र उहाँ विष्णु उप्रेती ।
स्कूल विसं १९९९ सालमा स्थापना भएको हो । त्यस बेला स्कूलमा सरहरू सबै दार्जिलिङबाट ल्याउने चलन थियो । कारण यहाँ त्यसरी पढ्ने पढाउने चलनको सुरुवात भइसकेको थिएन । त्यस बेला पढाउने शैली भनेको छलफल नै थियो । नयाँ शिक्षा आइसकेपछि विभिन्न विधि आए पनि पहिले पढाउने शैली भने छलफल नै थियो । घोकेर पढ्न लगाउने भन्ने थिएन । तर, पनि लौरो देखाएर र केही कठोर यातना भने नहुने होइन ।
उहाँ शिक्षकबाट अवकाश पाए पनि पछिल्लो चरणको शिक्षा अर्थात् २०३५ सालदेखि २०५५ सालसम्मको शिक्षा क्षेत्र भने उपलब्धिमूलक नरहेको उहाँको ठम्याइ छ । यसको कारणमा उहाँ आफूहरुले त्यस बेला दश कक्षामा तीन सय पूर्णाङ्कको अंग्रेजी पढेकोमा अहिले त्यो घटेर एक सय पूर्णाङ्क भएको छ । अर्को भनेको पछि चार कक्षादेखि मात्र अंग्रेजी पढ्ने व्यवस्था भयो ।
उहाँले २०२८ सालमा एसएलसी पास गर्नुभयो । उहाँले एसएलसी दिँदा झापाको भद्रपुरमा एउटा मात्र केन्द्र हुन्थ्यो । रिजल्ट हेर्नका लागि प्लेनबाट गोरखापत्र खसालिदिन्थे र लडाइँ गर्दै पत्रिका प्राप्त गरेर रिजल्ट हेर्नुपर्थ्यो ।
उहाँको ब्याचका ३० जना विद्यार्थी थिए । ३० मध्ये २० जना पास भए । ६ जना फस्र्ट डिभिजनमा पास भए । तर, फेल भएका १० जना जनालाई त्यस बेला गोपाल पाण्डे आसामीले कुनै एउटा शिक्षा क्षेत्र चलाउनुहुन्थ्यो र उहाँले ती विद्यार्थीहरुलाई प्रवेशिका परीक्षा पास भएको प्रमाणपत्र पनि दिनुभयो । पछि बाँकी आठ जना पनि एसएलसी पास भए । र दुई जनामा एक जना व्यापारमा लागे भने अर्को नरहरि संग्रौला भने पछि प्रहरीमा एसएसपी सम्म भए । व्यापारमा लागेका उप्रेतीले भने पछि विराटनगर गएर राम्रो प्रगति गरे ।
त्यस बेला माघमा एसएलसीको जाँच हुन्थ्यो र वैशाखमा रिजल्ट हुन्थ्यो । उहाँले वैशाखमा एसएलसी पास गरेपछि उहाँलाई जेठमा उहाँको जन्मथलो आठराईका मानिसले शिक्षकका रुपमा शिक्षाको उज्यालो बाल्नका निमित्त उहाँलाई लिन आए । उहाँलाई फूलमाला र अबिर जात्रा गरेर परमसिंह माध्यमिक विद्यालयमा शिक्षकका रुपमा लिएर गए । यसरी उहाँको शिक्षक जीवनको यात्रा प्रारम्भ भयो । त्यस बेला उहाँको तलब एक सय थियो । एक वर्षमा एक पटक १२ सय तलब थियो । उहाँले त्यहाँ ४ वर्ष शिक्षकको रुपमा काम गर्नुभयो ।
०००
परिवारको आर्थिक अवस्था त्यति राम्रो नभए पनि उहाँलाई बुवा आमाले एकदमै माया गरेर हुर्काउनु भएको थियो । र, उहाँ एकदमै पुल पुलिएर हुर्कनु भएको हो । यसमा उहाँका दौँतरीहरूले यिनीहरु भने पढ्छन् हामी भने काम गर्नुपर्छ भनेर सोचेको हुनाले उहाँहरु अलि छुच्चो स्वभावको पनि हुनुभयो । छुच्चो यस अर्थमा कि पढ्न जाँदा साथीभाइको समूह बनाउने अनि कसैले भनेको मानेन भने उनीहरुसँग झगडा गर्ने कुटपिट गर्ने काम भने भयो । तर बाल्यकालमा हुने गुच्चा खेल्ने, अरुको बारीको फलफूल चोर्न जाने काम भने भएन ।
त्यस बेला महेन्द्र राजमार्ग भर्खर बन्दै थियो । अनि स्कूल जाने वा अन्यत्र जाने बेलामा गाडी रोकेन भने ढुंगा हान्ने जस्ता बदमासी भने नभएका होइनन् ।
०००
पछि भने उहाँको बुवाहरू फर्केर पहाड नै जानुभयो । कारण के थियो भने भूमिसुधार लागू भएपछि उहाँको बुवाको नाममा रामबाबु, भरत बाबुको जग्गा पनि राखियो र, भूमिसुधार लाग्ने कारणले रामबाबु, भरतबाबुहरु सिलगढी गएर बस्नुभयो । पछि अरुको नाममा भएको जग्गा मुद्दा गरेर तारिख धाएर पास गर्नुपर्ने भयो । चुक्ता नगरुञ्जेल कुत बुझाइरहनु पर्ने भयो । कुत हजार रुपैयाँ थियो बिगाहाको । यसरी विस्तारै हजार बुझाउँदै गर्दा आठ/दश विगाहा जग्गा उहाँको बुवाको नाममा आयो । अनि पहिले ताप्लेजुङमा साहू, सामन्तले साह्रै हेपेका कारण पनि अब त हामीसँग पनि केही छ भन्ने देखाउन र अर्को भनेको आफ्नो जन्मथलोको मायाले पनि उहाँको बुवाहरू भने ताप्लेजुङ फर्कनु भएको रहेछ ।
तर, आर्थिक हिसाबमा भने यो उहाँहरुलाई घाटाको व्यापार भयो । झापाको बाह्र विगाहा जग्गा बेचेर ताप्लेजुङमा ठूलो घरबारी र घरखेत पनि जोड्नु भयो । तर, पछि त्यो सबै बेचेर उहाँ झापा नै फर्कनु भयो । बाह्र विगाहा बेचेर ताप्लेजुङ गएको मान्छे पछि २०४० सालमा फेरि ताप्लेजुङका सबै बेचेर आउँदा भने केवल ४ विगाहा मात्र आयो । यस हिसाबले भने ठूलो नोक्सानी भयो । किनकि झापाको जग्गा धेरै नै महँगो भएर गयो ।
०००
उहाँ एसएलसीपछि आइ एड पढ्न धनकुटा क्याम्पस जानुभयो । २०३३ सालमा आइएड पास गर्नुभयो । पहिलेदेखि पञ्चायत विरोधी मानसिकताको उहाँहरु पछि राधाकृष्ण मैनाली अनि सीपी मैनालीहरूले बुर्जुवा शिक्षा बहिस्कार गरौँ भनेपछि त्यति पनि अलमलिनु भयो । त्यसले पनि पढाइमा केही बाधा ल्यायो । अनि पछि उहाँले २०३६ सालमा भद्रपुर क्याम्पसबाट बिएड गर्नुभयो ।
फेरि उहाँको यात्रा भने पढाउने काम तिरै भयो । झापाको शरणामती माविमा उहाँले नेपाली शिक्षकको रुपमा अस्थायी जागिर खानुभयो । उहाँले पढाउँदा कुनै पनि विद्यार्थीलाई सजाय दिएको आजसम्म थाहा छैन । उहाँले अलि कडा गर्न खोजे पनि विद्यार्थी कहिल्यै डराएनन् । बरु उल्टै झ्याम्मिए । यो कुरा व्यक्तित्वमा भर पर्ने उहाँको ठम्याइ छ । उहाँ २०४० सालमा मात्र स्थायी भएको हो । अनि २०७१ सालमा अवकाश भएपछि अहिले साहित्य तथा यस्तै काममा आबद्ध हुनुहुन्छ ।
उहाँले दश कक्षामा नेपाली पढाउँदा राम्रो पढ्नुपर्छ नपढेको मान्छे काम लाग्दैन भनेर विद्यार्थीलाई सम्झाउँदै गर्दा विद्यार्थीले दिएको जवाफले भने हामीले कस्तो शिक्षा दिएछौँ भनेर जहिल्यै भने उहाँको मन छुने गर्छ । विद्यार्थीको भनाइ के थियो भने यदि पढेर राम्रो भएर फस्र्ट डिभिजन ल्याए पनि वा फेल भए पनि हामी भनेका खाडीका मजदूर हौँ । किनकि क देखि ज्ञ सम्म पढाएर केही हुँदैन ।
व्यवहारिक शिक्षा केही दिएको छैन । अब यसले खाडी नगए कसरी खान दिन्छ । पाँच विषय लागे पनि वा पहिलो भए पनि खाडीकै मजदूर हुने हो भने दुःख गरेर पढ्नको केही अर्थ छैन । त्यसैले पढ्नै पर्छ भन्ने पनि छैन । सुन्दा यो तितो सुनिए पनि अहिलेको यर्थाथ भएका कारण यसले उहाँलाई निरन्तर घोचिरहन्छ । र, खाडीका मजदूर उत्पादन हुने कस्तो शिक्षा तथा प्रणालीको विकास हामीले गरेछौँ भन्ने कुराले उहाँलाई पनि पोल्छ । यसमा सुधार ल्याउन नसकेकोमा उहाँलाई पनि ग्लानी भने हुन्छ । उहाँले यस विषयमा पछि एउटा कथा पनि लेख्नु भएको छ ।
उहाँको सन्तानका रुपमा एउटा मात्र छोरी हेमलता उप्रेती साहित्यकार तथा कलेजमा प्राध्यापन गर्नुहुन्थ्यो । उहाँका लघुकथाका दुईवटा किताब पनि प्रकाशित थिए । तर, २०७८ सालमा उहाँको कोरोनाका कारण देहावसान भएर उहाँले पुत्री शोक व्यहोर्नु परेको छ । छोरीको देहावसानपछि साहित्यकार ममता मृदुल उहाँको छोरी बन्नु भएको छ । यसले उहाँको पीडामा थोरै भएपनि मल्हम पट्टी गरेको छ ।
उहाँ आफ्नो पनि तीन/चारसय लघुकथा फुटकर रुपमा भए पनि प्रकाशित भइसकेका छन् । तर, संग्रहका रुपमा भने बाहिर आएका छैनन् । उहाँ छिट्टै यसलाई किताबका रुपमा ल्याउने तयारीमा पनि लागिरहनु भएको छ । अर्को भनेको किताबमा हुने लगानी नउठ्ने कारणले पनि उहाँ अनिच्छुक देखिनु भएको हो ।
उहाँ आफू पञ्चायतको समयदेखि स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा लडेको मान्छे । २०४६ सालपछिको वातावरण झनै खुला भयो । तर, अहिले शिक्षकहरुले आवश्यकभन्दा बढी राजनीति गरेको उहाँलाई राम्रो लागिरहेको छैन भने शिक्षकले राजनीति गर्न नहुने रहेछ भन्ने निष्कर्षमा पनि पुग्नु भएको छ । यसले शिक्षक र विद्यार्थीमा पनि विभाजन ल्यायो । आफ्नो सिद्धान्तका विद्यार्थीले पढाउन नजाने पनि त्यस्ता शिक्षकको समर्थन गर्ने भए । अर्को विचारधाराका शिक्षकले राम्रो पढाउने भए पनि विद्यार्थी तथा सहकर्मीको नजरमा नराम्रो देखिन थाले । यसले शिक्षाको गुणस्तर पनि खस्कियो । यसले शिक्षक र विद्यार्थीकाबीच पनि दूरी बढाउने काम गर्यो भन्ने उहाँको निष्कर्ष छ ।