ज्ञानमित्र | दृष्टिकोण | मंसिर १८, २०७९
लोकसंवाद डटकम अनलाइनमा चुनाव सम्बन्धी चर्चा परिचर्चा लेख्ने क्रममा एउटा गजबको तथ्य फेला पर्यो। गण्डकी प्रदेशमा सबै पार्टीले पाएको समानुपातिक तर्फको मतबारे निर्वाचन आयोगको वेभसाइटमा हेर्दा झसंग भइयो र प्रतिक्रिया स्वरुप मुखबाट एउटा शब्द निस्कियो आत्महन्ता।
गत बैशाखमा स्थानीय निर्वाचन ताका नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एसले आफ्नो सहभागिता भएको सत्ता गठबन्धनसँग पोखरा महानगरपालिकाको मेयर दावी गर्ने क्रममा हस्ताक्षर (क्याम्पेन) चलायो। र,चोइटिएर बनेको आफ्नो दलको उपस्थिति बलियो भएको प्रमाणित गर्दै पोखरा महानगरपालिकाको मेयरमा भाग पायो र विजय पनि हासिल गर्यो ।
नेकपा एसका उम्मेदवार धनराज आचार्यले ५८,८९३ मत ल्याएर ५२,८४८ मत ल्याउने एमालेका कृष्णबहादुर थापालाई झण्डै ६ मतको अन्तरले पराजित गरे। गण्डकी प्रदेशको एकमात्र महानगरपालिकामा माधव नेपालको कीर्ति स्थापित भयो, हास्यास्पद त के रह्यो भने ३३ वटा वार्ड मध्ये कुनै पनि वार्डमा नेकपा एसको कलमले जीत लेख्न सकेन।
माधव नेपालको नेकपा एसले २१,५०४ वर्ग किमीमा विस्तारित एवं झण्डै २४ लाख जनसंख्या भएको यस प्रदेशको ४६४ वर्ग किमीको क्षेत्रफल अर्थात पोखरा लेखनाथ महानगरपालिकाको झण्डै ४ लाख जनसंख्या मध्ये ५८,८९३ मत पाउनु निश्चय पनि गौरवको कुरा थियो। त्यसबेला लाग्यो नेकपा एसले यस प्रदेशमा ६ महीनापछि हुने आम निर्वाचनमा एमालेलाई मज्जाले नै धक्का दिन्छ। सबैको अनुमान थियो नेकपा एसले देशभरी समानुपातिकतर्फ ६-७ लाख मत बटुलेर एमालेलाई २४-२५ लाख भोटमा सीमित गर्छ।
गण्डकी प्रदेशका ११ जिल्लामा रहेका १८ निर्वाचन क्षेत्रमध्ये नेकपा एसले कास्की २ को भाग मात्रै पायो। एसका श्रीनाथ बरालले ९,६५९ भोट पाएर तेस्रो स्थान पाए। एमालेले विजय पाउदा स्वतन्त्र घण्टी दोस्रो स्थानमा रह्यो । एउटा निर्वाचन क्षेत्रमा ९,६५९ मत पाएको कलमले पुरै प्रदेशमा भने जम्मा ९,५७३ मत बटुल्न सक्यो। अर्थात एउटै क्षेत्रमा प्रत्यक्ष तर्फ पाएको जति मत पनि सम्पूर्ण प्रदेशमा आउन सकेन। कास्की २ मा प्रत्यक्षतर्फ आएको ९,६५९ मत मध्ये समानुपातिकमा १,१७७ मत खस्यो। कास्की क्षेत्र नम्बर १ मा कलमले १,०१३ र कास्की ३ मा कलमले ६८७ मत पायो। कास्की जिल्ला भरी कलमले २,८७७ मत पायो।
तर ओली ठहरे चरम र परम अवसरवादी ! उनी राजीनामा दिनुको सट्टा माओवादीको कांग्रेससँग पारपाचुके गराएर अझै खुराफात गर्ने मुडमा छन। पुनः वाम एकताको स्याल हुइयाँ सुनिन थालेको छ। यस्तो हल्लाको पछाडि एकमात्र एउटै व्यक्तिको षड्यन्त्र छ। ती हुन प्रचण्ड। प्रचण्डको दलले चुनावमा गरेको शर्मनाक प्रदर्शन पश्चात् उनले कांग्रेससँग बार्गेनिङ गर्ने धरातल गुमाएका छन। सत्ता गठबन्धनमा रही रहे कांग्रेसले न प्रधानमन्त्री दिने भयो न राष्ट्रपति। बस्नु छ भने कांग्रेसले फ्यालेको टुक्रामा सन्तोष गर्नुपर्ने अवस्था आएपछि उनले ओलीतिर नजर घुमाएका हुन।
ओलीलाई 'बा' 'बा' भनी धुरी चढाउने एमाले जनले बा सँग सोधून्, अहिले आम निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा शानदार जीत हासिल गर्ने एमालेले ६ महीना पहिला भएको स्थानीय निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा किन पछारिनु परेको थियो ? उम्मेदवार चयनमा 'बा'ले मनपरी नगरेको भए के त्यसबेला हार हुन्थ्यो ?
मकवानपुरकै अवस्था हेरौं। स्थानीय निर्वाचनमा हेटौडा उपमहानगरपालिकामा परास्त एमालेले त्यस जिल्लाको नेकपा एसका बाहु बली विरोध खतिवडालाई प्रत्यक्ष संसदीय निर्वाचनमा सजिलै परास्त गरी दियो । प्रत्यक्षतर्फ ३०,४३२ मत ल्याउने विरोध खतिवडाले आफ्नो दलका लागि समानुपातिक तर्फ ल्याएको मत हेर्दा हाँसो उठ्छ। यहाँ कलमले २,५९० मत हात पार्यो। जिल्ला भरी कलमको एकाउन्टमा ३,८४१ मत रजिस्टर भयो । स्थानीय निर्वाचनमा हेटौडा उप महानगरपालिकामा एमाले किन पराजित भएको थियो ? 'बा'ले उम्मेदवार चयनमा 'स्टेराइड' को असर मन्द भएको बेला 'डिसिजन' गरेको भए परिणाम फरक हुन्थ्यो कि !
माधव नेपालले एमालेबाट छुट्टिँदा सुदूर पश्चिम प्रदेशमा उनको नवगठित नेकपा एसले राम्रो प्रभाव राखेको दावी गरिएको थियो। यसै हल्लाले होला नेकपा एसले सत्ता गठबन्धनबाट यस प्रदेशमा तीन क्षेत्रमा लड्ने मौका पायो। एसका तीनवटै उम्मेदवारले प्रत्यक्षमा जीते । तर समानुपातिक तर्फको अवलोकन गर्दा प्रचार गरिए झै यस प्रदेशमा एसको शक्ति र प्रभाव देखिएन ।
नेकपा एसका प्रत्यक्षमा विजयी उम्मेदवारको क्षेत्र डोटीमा कलमले समानुपातिक तर्फ २,३७३, अछाम १ मा २,७४७, र बझाङमा ५,००१ मत पायो । सम्पूर्ण प्रदेशमा कलमले ३०,७८२ मत संकलन गर्न सक्यो। बाजुराको समानुपातिक तर्फको मत गणना गर्न बाँकी रहे पनि नेकपा एसको ३ प्रतिशत मत ल्याएर राष्ट्रिय दलको मान्यता पाउने सम्भावनामा तुषारापात भइसकेको छ।
मधेश प्रदेश बाहेकका अन्य कुनै पनि प्रदेशमा नेकपा एसले समानुपातिकतर्फ वाञ्छित सफलता पाउन सकेन। यस प्रदेशमा कलमले समानुपातिकतर्फ १,०७,०८४ पाए पनि अन्य कुनै प्रदेशमा ५० हजारको अंक छुन सकेन। मधेश प्रदेश बाहेक अन्य सबै प्रदेशले नेकपा एसलाई नेकपा 'यीस' भन्दै नेकपा 'नो' बनाई दिए।
माधव नेपालले आफ्नो दम्भ परित्याग नगरे देशले एउटा अर्को सीपी मैनाली पथको पार्टी नहोला भन्न सकिन्न ।
माधव नेपालको यस अवस्थामा 'बा'को उत्साह बार्दली होइन धुरी नै चढ़्यो होला। तर एकपटक पुनः साग केलाउँदै 'बा'ले धरातलीय चिन्तन गरुन् । गत निर्वाचनमा प्रत्यक्ष तर्फ ८० सीट जितेको उनको दल ४४ मा झरेको छ। निर्वाचन अघि प्रत्यक्ष र्फ १०० सीट जित्ने शंख फुक्ने 'बा'को दलले प्रत्यक्ष र समानुपातिक दुबै गरेर पनि १०० को संख्याभन्दा निकै तल बस्नु पर्यो।
केपी ओली नेपाली राजनीतिको सबैभन्दा ठूलो मिथ्याभिमानी हुन भन्नेमा शायदै कसैलाई शंका होला। यस आम निर्वाचनमा उनका दिगज्जदेखि दिगज्ज पराजित हुन पुगे। प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, शंकर पोखरेल, सुरेन्द्र प्रसाद पाण्डे, शेरधन राई, भानुभक्त ढकाल, शेरबहादुर तामाङ,पद्मा अर्याल, किरण गुरुङ्ग, महेश बस्नेत, लालबाबु पण्डित, लेखराज भट्ट, नवराज सिलवाल, कृष्णबहादुर राई आदि आदि पराजित भएका छन।
ओलीले गठबन्धन गर्दा राप्रपासँग अलिक बढी ठाउँमा सहमति गरेको भए धेरै स्थानमा उनले सत्ता गठबन्धनलाई पराजित गरी आफ्ना उम्मेदवार जिताउन सक्थे। राप्रपासँग गठ जोड भएको भए शंकर पोखरेल, शेरबहादुर तामाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीका साथै बझाङ, सुनसरी, नवलपरासी, कपिलवस्तु , लगायतका ८-१० स्थानमा परिणाम सुखद हुन सक्थ्यो। तर 'बा' त 'बा' हुन, उनको दम्भको पराकाष्ठा र लहड गिरी यसै एक उदाहरणले स्पष्ट हुन्छ। राप्रपासँग केही स्थानमा गठ जोड गरेका यिनले मकवानपुरमा कमल थापालाई सूर्य चिन्ह प्रदान गरी राप्रपालाई हराउने बन्दोबस्त गरे। त्यो त धन्य दीपक सिंहको भाग्य जे उनले विषम परिस्थितिमा पनि हलोका लागि जिते। सन्काहा 'बा'ले हुनु नहुनुको अपयश एवं अपकीर्ति ब्यहोर्नु पर्यो मकवानपुरे 'डिसिजन का लागि, तर उनले धोती खुस्केको कहाँ थाहा पाउँछन ।
२०४६ पछि नेपालमा बनेका कुनै पनि सरकारले संसदमा दुइ तिहाईको सामर्थ्य राखेका थिएनन्। ओलीलाई संसदीय इतिहासमा पहिलो पटक त्यो अवसर मिल्यो। तर के गरे उनले ? आफ्नै दलका पुराना साथी एवं डीएनए मिलेर उनीसँग संयुक्त हुन आएका माओवादीलाई चिढाउन, तल झार्न, अपमान गर्न, पुरानो रिस राग साध्न उनले एक से एक छुच्चो र क्षुद्र प्रवृतिका पात्रहरूलाई आफ्नो वरिपरि राखे। मनपरी ढंगले सत्ता सञ्चालन गरे। ओम्नी र यति ग्रुपका प्रसंग सम्झिँदा झसँग नहुने को होला ? अन्ततः दुई तिहाईको सरकार आफ्नै रंग आफ्नै ढंग र आफ्नै साथीसँगको कारणले ढलेर ओली बालकोट पुगे।
२०६४ को सम्झना आउँछ। पहिलो संविधान सभामा भएको एमालेको भीषण पराजय र स्वयंको पनि पराजय पछि ओलीले सार्वजनिक सभामै भनेका थिए- 'जनताले यो गलत फैसला लिएका हुन, म भन्छु जनताले सच्चिनै पर्छ।'
५ वर्षकै छोटो अवधिमा जनताले आफुलाई सच्याए। माओवादीलाई २६ सीटमा खुम्च्याए। त्यसपछि जनताले निरन्तर माओवादीहरूलाई रसातल यात्रातिर धकेल्दै आएका छन । अहिले जनताले माओवादीलाई ३२ -३३ सीटमा ल्याई पुर्याइ दिएका छन।
'कार्यकर्ताका प्यारा ओली 'बा' जनता त सच्चिए तपाईं कहिले सच्चिने ?'
तपाईंको एकोहरो पना, मैमत्त पना, अड़ियलपना, स्वेच्छाचारिता, ढिपी, निरंकुश शैली एवं व्यवहारले संसदमा तपाईंको उपस्थिति २८ प्रतिशतमा झरेको छ। यसै चुनावमा उम्मेदवार चयनमा एवं गठबन्धनका दलसँग सम्मानजनक व्यवहार गरेको भए कम्तीमा अन्य १० सीटमा एमालेको विजय हुन्थ्यो। नवलपरासी पुर्व १ नम्बर क्षेत्रकै तथ्यांक हेरौं। यहाँ नेपाली कांग्रेसका शशांक कोइरालाले २७,०६७ मत पाएर विजय प्राप्त गरे। एमालेका कृष्णप्रसाद पौडेलले २५,०४७ मत ल्याए। २,०२० मतको अन्तरले उनको हार भयो। यसै क्षेत्रमा राप्रपाका मोहनी भुषालले ३,४६९ मत ल्याए। यहाँ राप्रपासँग गठबन्धन भएको भए परिणाम अर्कै आउन सक्थ्यो। एमालेले नजिते घण्टीले सीट उम्काउन सक्थ्यो। घण्टीले यस क्षेत्रमा २४,३०५ मत पाएको थियो। तपाईंका अ दूरदर्शिताका यस्ता अनेकौँ उदाहरण भेट्टाउन सकिन्छ।
यो नेपालको दुर्भाग्य हो नेपाली कांग्रेस र एमालेले जति गल्ती गरे पनि नेपाली जनतासँग अहिलेसम्म कुनै गतिलो विकल्प छैन। एक चुनावमा एउटा चिन्ह तथा अर्को चुनावमा दोस्रो चिन्हमा मतदान गर्ने विवशता छ। र, अर्को सत्य यो पनि हो पुराना पार्टीहरूमा कांग्रेस, एमाले र राप्रपा बाहेक अन्य सबैको अस्तित्व आउने १-२ निर्वाचनमा सखाप हुन्छ। माओवादीहरूलाई चित्त नदुखाए हुन्छ, आउने २ वटा निर्वाचनपछि माओवादी पार्टी नरहने संकेत देखिँदैछ । माधव नेपालको फैसला त आउने ४ -६ महिनामै हुन्छ। उनको नेकपा एस कतै न कतै मिसिनु पर्ने बाध्यात्मक अवस्थामा जनमतले पुर्याइदिएको छ ।
ओलीमा अलि कति पनि लाज,शरम बाँकी छ भने उनले अविलम्ब एमाले अध्यक्ष पदबाट राजीनामा दिएर सम्मानित नेताका रूपमा थन्किनु पर्ने हो । उनले राजीनामा दिन साथ नेकपा एससँग सहमतिको बाटो खुल्ने छ । नयाँ आउने अध्यक्षले माओवादीसँग उचित दूरी बनाएर भविष्यको राजनीति गर्नुपर्छ। देशमा माओवादी जसरी उदाएको थियो त्यसरी नै विलीन हुनु आवश्यक छ। ओलीका साथै माधव नेपालले पनि सक्रिय राजनीतिबाट विदा लिनु आवश्यक भइसकेको छ। यी दुबै नेताको सत्ता लिप्सा र अहम् टक रावको दुन्दुभि शान्त हुने हो भने नेकपा एमाले देशको सबैभन्दा ठूलो एवं शक्तिशाली पार्टी बन्नेमा दुइ मत हुन सक्दैन।
तर ओली ठहरे चरम र परम अवसरवादी ! उनी राजीनामा दिनुको सट्टा माओवादीको कांग्रेससँग पारपाचुके गराएर अझै खुराफात गर्ने मुडमा छन। पुनः वाम एकताको स्याल हुइयाँ सुनिन थालेको छ। यस्तो हल्लाको पछाडि एकमात्र एउटै व्यक्तिको षड्यन्त्र छ। ती हुन प्रचण्ड। प्रचण्डको दलले चुनावमा गरेको शर्मनाक प्रदर्शन पश्चात् उनले कांग्रेससँग बार्गेनिङ गर्ने धरातल गुमाएका छन। सत्ता गठबन्धनमा रही रहे कांग्रेसले न प्रधानमन्त्री दिने भयो न राष्ट्रपति। बस्नु छ भने कांग्रेसले फ्यालेको टुक्रामा सन्तोष गर्नुपर्ने अवस्था आएपछि उनले ओलीतिर नजर घुमाएका हुन। ओलीले पहिलो 'टर्म' को प्रधानमन्त्री दिए प्रचण्डले लोकतान्त्रिक वाम गठबन्धन परित्याग गरिसकेको संकेत माओवादी पार्टीले चुनाव पछि बसेको पार्टी बैठकमा 'सबै विकल्प खुल्ला रहेको' भन्दै दिइसकेका छन्।
आत्महन्ता ओलीले प्रचण्डलाई कति भाउ दिने हुन त्यो आउने केही दिनमा स्पष्ट हुनेछ। सरकार गठनका दुइवटा विकल्प मात्रै छन कि शेर बहादुरको नेतृत्व अथवा एमालेले लिड गरेर बनेको नयाँ गठबन्धन। जुनसुकै गठबन्धनले बहुमत पुर्याउन ६ दलको सहभागिता चाहिन्छ। शेर बहादुर वाहेकले नेतृत्व गरेको गठबन्धनले ६ महीना पनि सरकार सञ्चालन गर्ला जस्तो छाँटकाँट देखिन्न। अर्को गठबन्धन बने ६ महिनामै पुनः अर्को गठबन्धन बन्ने प्रबल सम्भावना रहन्छ। विकल्प रहेसम्म संसद रहने कारणले यस संसदले एक पटक कांग्रेस ८९ + घण्टी २१ + राप्रपा १४ + छाता १२ + जनमत ५ +ढकिया ४ को पनि गठबन्धन हेर्न पायो भने अचम्म हुँदैन। अथवा शेरबहादुरले भित्री रूपमा यस्तो तयारी गर्न थालेको हुन भने पनि कुनै अचम्मको कुरा हुन्न। आखिर शेरबहादुर जोडतोडका नाइके नै हुन ।
यो पनि
कमरेड ! आफ्नो बुतामा कति सिट जित्न हुन्थ्यो ?
नेकपा एसको समानुपातिक मतमा गिड्गिडाहट: समस्या आफैंमा कि गठबन्धन दलमा ?