ज्ञानमित्र | विदेश | मंसिर २३, २०७९
नेपालको निर्वाचन २०७९ बारे लेखी रहंदा भारतका दुइ राज्य हिमाचल प्रदेश, गुजरात एवम दिल्ली एमसीडी र विभिन्न राज्यमा रिक्त रहेका लोकसभा र विधान सभामा सम्पन्न निर्वाचनको परिणाम घोषणा भइरहेको छ।
दुइ दिन पहिला एकजना मित्र ले सोधे - गुजरातमा यसपटक के हुन्छ, मोदी हार्छ कि जित्छ ? उनको भाषाले नै अनुमान लाउन सकिन्छ उनी मोदी विरोधी वामपन्थी मानसिकताका व्यक्ति हुन।
मैले पनि उनलाई जिस्क्याउने उद्देश्यले जबाफ दिए - मोदी बाँचुञ्जेल गुजरात र केन्द्र सरकारमा भारतीय जनता पार्टी सत्तामा रही रहन्छ।
'यसपटक आप पार्टीले गुजरातमा मोदीलाई सत्ता च्युत गर्छ' उनले मोदी प्रतिको घृणा ओकलिँदै भने।
'ठीक छ यस्तो भयो भने तपाईंलाई म चिया खुवाउँछु तर यदि गुजरातमा मोदीको दलले अहिलेसम्मकै सबैभन्दा बढी सीट पायो भने चियाको पैसा तपाईंले तिर्नुपर्छ। र, रह्यो आप पार्टी को कुरा यसले हद्दै भए दुइ अंकको संख्या छोला।'
सँगै रहेका अर्का वामपन्थी माओवादी मित्रले भने, यो त तपाईंले अत्यधिक हौसिएर बोल्नु भयो। गएको चुनावमै मोदीको दलले जेनतेन बहुमत ल्याएको होइन ? यसपटक पनि हद्दै भए बहुमतको छेउ छाउसम्म पुग्ला। गुजरातमा विगत २७ वर्षदेखि भाजपा सत्तामा छ यसपटक त दिक्क भएर 'एन्टी इनकमब्यन्सी फ्याक्टर' ले पनि गुजरातीले परिवर्तन गर्छन। अनि हिमाचल र दिल्लीमा के हुन्छ ?
हिमाचल बारे कुनै पनि 'प्रिडक्शन' गर्न गाह्रो छ। यस राज्यमा विगत लामो समयदेखि एक पटक यो र अर्को पटक त्योले सरकार बनाउदै आएका छन। कांग्रेसले चुनावी नारा नै यसलाई बनाएको थियो - रिवाज जारी रहन्छ। यहाँ भाजपा हारे पनि 'क्लोज कम्पटिसन' हुन्छ। दिल्ली एमसीडीमा यसपटक आप पार्टीले बहुमत ल्याउँछ। 'नेक टू नेक कम्टीशन' मा भाजपा बहुमतबाट २०-२५ सिटले टाढा रहन्छ।
'तपाईं त पुरै भाजपाको प्रवक्ता हुनु हुँदो रहेछ' मित्रले कटाक्ष गर्दै भने।
'भाजपाको त होइन, म आरएसएसको 'क्याडर' भने थिए विद्यार्थी कालमा।'
बुधवार मङ्सिर २१ गते दिल्ली एमसीडीको परिणाम आउदा अनुमान गरिए झै आपले जित्यो। १५ वर्षसम्म दिल्ली एमसीडी हाँकेको भाजपाले पराजय ब्यहोर्नु पर्यो। अन्तिम परिणाम आउँदा भाजपाले हारे पनि उसका लागि एमसीडी निर्वाचन उत्साहजनक रह्यो। आपले एमसीडी कब्जा गरे पनि अर्को विधान सभा निर्वाचनका लागि चिन्तित हुने अवस्था देखियो।
२५० सदस्यीय दिल्ली एमसीडी निर्वाचनमा आपले सर्वाधिक १३४ स्थानमा विजय हासिल गरेर स्पष्ट बहुमत ल्यायो। यस अघि २०१७ सम्म दिल्लीमा रहेका विभिन्न तीनवटा स्थानीय निकायलाई संयुक्त गरेर दिल्ली एमसीडी बनाइएको हो। २०१७ को निर्वाचनमा आपले तीनवटा निकायमा २५ प्रतिशत मत ल्याउदै ४९ सिट जितेको थियो। कांग्रेसले २१ प्रतिशत मत ल्याएर ३१ सीट हासिल गरेको थियो भने भाजपाले ३५ प्रतिशत मत ल्याउदै १७७ स्थानमा जितेर तीन वटै निकायमा आफ्नो झण्डा फहराएको थियो।
२०२२ को एमसीडी निर्वाचनमा आपले ४२ प्रतिशत मत ल्याएर १३४ स्थानमा विजयी भएर भाजपालाई एमसीडीबाट बाहिर गरेको छ। गत निर्वाचनको तुलनामा १७ प्रतिशत भोट वृद्धि गर्दै आपले पहिलाको भन्दा ८५ सीट थप्दै दिल्ली कब्जा गर्यो।
सन २०१७ मा २१ प्रतिशत मत ल्याएर ३१ स्थानमा विजय हासिल गरेको कांग्रेसले २०२२ को निर्वाचनमा ११प्रतिशत मत ल्याउदै जम्मा ९ सीटमा सीमित रह्यो। कांग्रेसले यस निर्वाचनमा विगतभन्दा झण्डै १० प्रतिशत मत गुमाउदै २२ सिट पनि गुमाएको छ।
भाजपाले दिल्ली एमसीडी निर्वाचनमा ३९ प्रतिशत भोट ल्याएर १०४ स्थानमा विजय हासिल गर्यो। भाजपाले २०१७ को तुलनामा 'बेस्ट परफारमेंस' दिँदै झण्डै ४ प्रतिशत भोट शेयर बढाएको देखिन्छ। तर ४ प्रतिशत को भोट 'मार्जिन' थपिए पनि सिटको मामलामा भने भाजपाले ठूलो पराजय ब्यहोर्नु पर्यो। २०१७ मा जितेका १७७ स्थान मध्ये ७३ स्थान गुमाउँदै उसले १०४ मा सीमित हुनु पर्यो।
आप पार्टीको यस विजयप्रति आप समर्थक पत्रकार आशुतोष भने हृदयदेखि खुशी छैनन। आप पार्टी गठन हुँदा आशुतोष यसका शीर्ष नेतामा गनिन्थ्यो तर पछि उनले पार्टी छाडे। उनले आपका लागि आउन सक्ने सम्भावित खतरा इंगित गरेका छन।
दिल्ली विधानसभामा सन २०१३ देखि आप पार्टीले अग्रता लिँदै आएको छ। २०१५ मा यसले ५४ प्रतिशत भोट ल्याउदै ७० मध्ये ६७ स्थानमा जीत हासिल गरेर इतिहास कायम गर्यो । पुनः २०२० को विधानसभा निर्वाचनमा ५३ प्रतिशत भोट ल्याउदै ६२ सीटमा जीत निकाल्यो। आशुतोष भन्छन - दिल्लीमा भाजपाको भोट शेयर लगातार बढ्दै गइरहेको छ। एमसीडी निर्वाचनमा आपले २०२० को विधानसभामा पाएको ५३ प्रतिशत भोट घटेर ४२ प्रतिशत मा आईपुगेको छ। आपले ११प्रतिशत भोट गुमाएको छ। अब भाजपा आप पार्टीभन्दा जम्मा ३ प्रतिशत भोटले मात्रै पछाडि छ दिल्लीमा ।
वास्तवमा दिल्ली एमसीडीमा भाजपाको पराजयका पछाडि कांग्रेसको दुर्गती हुनु हो। दिल्ली एमसीडीमा उसको भोट २१प्रतिशत बाट घटेर ११प्रतिशत प्रतिशतमा झरेको छ। यस ११ प्रतिशत भोटले कांग्रेसले २०२४ मा हुने लोकसभा निर्वाचन एवम २०२५ मा हुने विधानसभा निर्वाचनमा एउटा पनि सीट जित्न सक्दैन। भाजपा एमसीडी निर्वाचनमा पराजित भएर पनि आफ्नो भोट शेयर बढेकोमा उत्साहित छ।
आप पार्टीका लागि अर्को चिन्ताको विषय हो कांग्रेसले जितेका ९ 'क्यान्डिडेट' मध्ये ७ जना मुस्लिम क्षेत्रबाट जितेका मुस्लिम रहेका छन। यसको अर्थ के हो भने दिल्लीमा मुस्लिम मतदाता आप र अरविन्द केजरीवाल देखि टाढा गइसक्यो भन्ने सन्देश पनि हो । मुस्लिम मतदाता कांग्रेस तिर फर्केको संकेत हो यो। आउने २०२५ मा पनि यो ट्रेन्ड यथावत रहे भाजपालाई चिट्ठा पर्छ।
गुजरातमा बम्पर जीत हासिल गरेर भाजपाले २०२४ मा हुने केन्द्रीय निर्वाचनका लागि भरपूर हौसला पाएको छ। २०२४ को निर्वाचनभन्दा पहिला सन् २०२३ मा भारतका मध्य प्रदेश, कर्नाटक, छत्तीस गढ, तेलांगना,राजस्थान पाँच राज्य र नागाल्याण्ड, मिजोरम, मेघालय र त्रिपुरा ४ वटा केन्द्र शासित राज्यमा विधानसभाको निर्वाचन हुनेछ। कांग्रेसलाई राजस्थान र छत्तीस गढ जोगाउने चुनौती खडा भएको छ।
निश्चय पनि गुजरातको निर्वाचन प्रतीक्षा समस्त भारतवासीले गरिरहेका छन्। सन १९८० मा गठित भएको भारतीय जनता पार्टी पहिलो पटक गुजरात मै सत्तामा पुग्न सफल भएको थियो। गठन भएको १० वर्षमै गुजरातमा १९९० मा भएको विधान सभा निर्वाचनमा भाजपाले २६ प्रतिशत भोट ल्याउदै ६७ सीट जितेको थियो। जनता दलका मुख्यमन्त्री चिमन भाई पटेलको मन्त्रिमण्डलमा भाजपाई केशु भाई पटेलले उप मुख्यमन्त्रीका रूपमा भाजपाको सत्ता यात्रा प्रारम्भ गरेका थिए।
यस पश्चात् गुजरातमा कहिल्यै पनि भाजपाले पछाडि फर्केर हेर्नु परेन। १९९५ को निर्वाचनमा ४२ प्रतिशत भोट ल्याउदै भाजपाले १२१ सीट जितेर पहिलो पटक केशुभाई पटेललाई आफ्नो मुख्यमन्त्री बनायो। १९९८ को निर्वाचनमा भाजपाले राज्यमा ४४ प्रतिशत भोट ल्याउदै ११७ सीट जित्यो। केशुभाई पटेल नै मुख्यमन्त्री बने।
अपकमिंग निर्वाचन २००२ का मध्येनजर भाजपाले ३ अक्टूबर २००१ मा नरेन्द्र मोदीलाई नयाँ मुख्यमन्त्री घोषित गर्यो । ७ अक्टूबर २००१ मा मुख्यमन्त्रीका रूपमा शपथ लिदा मोदी विधानसभा सदस्य थिएनन् । फेब्रुअरी २००२ मा आएर उनी राजकोटबाट पहिलो पटक चुनाव लडेर विधानसभा सदस्य बने। उनी मुख्यमन्त्री बनेको केही समयभित्र नै २७ फेब्रुअरी २००२ मा गोधरा काण्ड भयो। उनीमाथि अनेकौँ आरोप लागे। सबै आरोप सहँदै उनले निर्वाचन बाटै जबाफ दिने अठोट गरे।
डिसेम्बर २००२ मा सम्पन्न निर्वाचनमा नरेन्द्र मोदीले नेतृत्व गरेको भाजपाले ४९ प्रतिशत भोट ल्याउदै १२७ स्थानमा विजय प्राप्त गर्यो। मोदी नै मुख्यमन्त्री बने। विपक्षी कांग्रेसले निर्वाचनबाट जनताले आरोप मुक्त गरे पनि मोदीलाई लखेट्न छाडेनन्। ५ वर्षपछि २००७ मा भएको निर्वाचनमा मोदीले पुनः ४९ प्रतिशत भोट ल्याउदै ११७ सीट जिते र मुख्यमन्त्री भइरहे। ५ वर्ष पछि २०१२ मा सम्पन्न गुजरात विधानसभा निर्वाचनमा मोदीको नेतृत्वमा भाजपाले झण्डै ४८ प्रतिशत भोट ल्याउदै पुनः ११५ सीट जित्यो। मुख्यमन्त्रीमा मोदीले नै निरन्तरता दिइरहे।
सन् २०१४ मा बढुवा भएर प्रधानमन्त्री हुँदै उनी दिल्ली सरुवा भए। उनी दिल्ली आएपछि २०१७ मा भएको गुजरात विधानसभा निर्वाचनमा भाजपाले पुनः ४९ प्रतिशत भोट ल्यायो तर यस निर्वाचनमा उसको सीट संख्या घटेर ९९ मा झर्यो। सामान्य बहुमतले भाजपाले नै सरकार गठन गर्यो।
अबको मुख्य चासो भने कै भाजपाले चक्रव्यूहको सातौ व्यूह संरचना ध्वस्त गरेर विजयश्री वरण गर्छ कि ६ व्यूह ध्वस्त गरेर अघि बढेको महाभारतको अभिमन्यु झै सातौ व्यूहमा धराशायी हुन्छ ! लगातार ६ वटा निर्वाचन जितिसकेको भाजपा सातौं पटक जित्ने प्रयासमा छ।
लेख्दै गर्दा गुजरात र हिमाचल प्रदेशको मतगणना प्रारम्भ भइसकेको छ। प्रारम्भिक रुझानका हिमाचल प्रदेशमा कांग्रेसले ३४ सीट र भाजपाले ३२ सीटमा अग्रता लिएको छ। अन्य २ सीटमा अन्यको अग्रता छ भने आप पार्टी कतै देखिएको छैन। यो प्रारम्भिक रुझान मात्रै हो, मतगणनाको अन्तिम चरणसम्म नपुग्दा केही पनि भन्न सकिन्न।
उता गुजरातको प्रारम्भिक रुझानका भाजपाले ठूलो अग्रता लिएको छ। भाजपा १५१ सीटमा अगाडि देखिएको छ भने कांग्रेसले २१ सीटमा र आप पार्टीले ७ सीटमा अग्रता लिएको छ।
अन्तिम परिणाम आउँदा अनुमान गरिए झै हिमाचल प्रदेशमा कांग्रेसले ४० सीटमा विजय हासिल गरेर स्पष्ट बहुमत प्राप्त गरेको छ। ६८ सदस्यीय विधानसभामा भाजपाले भने २५ स्थान मात्रै पाउन सक्यो। भाजपा अध्यक्ष जे पी नड्डाको गृहनगर भएको यस राज्यमा गत विधान सभामा रहेका आफ्ना ४४ सदस्यमध्ये भाजपाले २२ जनाको टिकट काटेर नयाँ उम्मेदवार चुनेको थियो। यी मध्ये २१ जनाले पार्टीका आधिकारिक उम्मेदवारका खिलाफ विद्रोही उम्मेदवारी दिए। भाजपाका तीन जना विद्रोहीले भने जीत नै हासिल गरे, अन्य १८ जना मध्ये कति जनाले भाजपाका आधिकारिक उम्मेदवारको खेल बिगारे त्यसबारे अहिले थाहा हुन सकेको छैन। समग्रमा उम्मेदवार परिवर्तन गर्नु भाजपाका लागि महँगो साबित भयो।।
हिमाचल प्रदेशमा कांग्रेसले ४३ दशमलब ९०प्रतिशत प्रतिशत मत ल्याएर ४० सीट जित्दा भाजपाले ४३ प्रतिशत मत ल्याएर २५ सीट मात्रै जित्न सक्यो। भोट प्रतिशतमा १ प्रतिशतको फरक नभए पनि सीटमा भने ठूलो अन्तर देखियो।
उता गुजरातको अन्तिम परिणाम नआउँदै भाजपाले गुजरातको इतिहासमा नयाँ अध्याय थपेको छ। १८२ सदस्यीय विधानसभाका १७९ सिटको परिणाम आउँदा भाजपाले १५३ स्थानमा विजय प्राप्त गरेको छ। अन्य ३ स्थानमा उसको अग्रता कायम छ। १९६२ देखि अस्तित्वमा आएको गुजरात राज्यमा यसभन्दा पहिला सातौ विधानसभा निर्वाचन १९८५ मा कांग्रेसले १४९ सीट जितेको थियो। ४७ वर्षपछि २०२२ मा आएर भाजपाले १४९ को रेकर्ड तोडेर १५३ सीटमा विजय हासिल गरेको छ।
गुजरातमा भाजपाले ५२ दशमलब ५ प्रतिशत भोट ल्याएर कांग्रेस र आप पार्टीलाई धेरै पछाडि छाडेको छ। कांग्रेसले गुजरातमा २७ दशमलब २८ प्रतिशत मत ल्याउदै १७ स्थानमा सीमित भएको छ। यस अघि २०१७ को निर्वाचनमा कांग्रेसले गुजरात विधानसभामा झण्डै ४० प्रतिशत मत ल्याएर ७७ सीट जितेको थियो। २०२२ को निर्वाचनमा कांग्रेसले झण्डै १३ प्रतिशत मत गुमाउँदै ६० सिटको नोक्सानी ब्यहोर्नु परेको छ।
आप पार्टीले भने झण्डै १३ प्रतिशत मत बटुल्दै ५ सीटमा जित्ने सफलता पायो।
कांग्रेसले तेस्रो पार्टीको उदय हुन साथ बिहार, उत्तर प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल, उडिसा, झारखण्ड , पञ्जाब, दिल्ली जस्तै गुजरात राज्यमा रहेको आफ्नो पकड गुमाउनु परेको हो। तेस्रो पार्टी नभएको राजस्थान, मध्य प्रदेश, छत्तीस गढ, हिमाचल प्रदेश, उत्तराखण्ड राज्यमा मात्रै कांग्रेस भाजपासँग प्रमुख प्रतिष्पर्धा रहेको छ।
कांग्रेसको सत्ता राजस्थान र छत्तीस गढमा मात्रै थियो, अब हिमाचल प्रदेश थपिएको छ।
गुजरातमा बम्पर जीत हासिल गरेर भाजपाले २०२४ मा हुने केन्द्रीय निर्वाचनका लागि भरपूर हौसला पाएको छ। २०२४ को निर्वाचनभन्दा पहिला सन् २०२३ मा भारतका मध्य प्रदेश, कर्नाटक, छत्तीस गढ, तेलांगना,राजस्थान पाँच राज्य र नागाल्याण्ड, मिजोरम, मेघालय र त्रिपुरा ४ वटा केन्द्र शासित राज्यमा विधानसभाको निर्वाचन हुनेछ। कांग्रेसलाई राजस्थान र छत्तीस गढ जोगाउने चुनौती खडा भएको छ। यी राज्यमा लोक सभाका ११६ सीट रहेका छन। जसमध्ये अहिले भाजपासँग ९२ सीट र कांग्रेससँग ९ सिट रहेका छन।