लोकसंवाद संवाददाता | समाचार | जेठ १६, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्दैछन् । उनी बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जाँदैछन् ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीले आज साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्दैछन् । उनले राष्ट्रपति रामनाथ गोविन्दसमक्ष शपथ लिने कार्यक्रम छ । उनीसँगै मन्त्रीमण्डलका सदस्यले पनि शपथ लिनेछन् ।
प्रधानमन्त्री ओलीले भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो ३ः४० निगमकै नियमित उडानबाट स्वदेश फर्कनेछन् ।