लोकसंवाद संवाददाता | समाचार | जेठ १६, २०७६
काठमाडौंं, एजेन्सी । भर्खरै सम्पन्न भारतीय मतगणनामा भाजपा नेतृत्वको एनडीएले बहुमत प्राप्त गरेपछि नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोस्रोपटक शपथ ग्रहण गर्दैछन् । आज साँझ ७ बजे उनले राष्ट्रपति भवनको प्रागंणमा शपथ लिने कार्यक्रम छ ।
शपथ ग्रहण समारोहमा ८००० अतिथिलाई आमन्त्रण गरिएको छ । यसअघिका शपथ ग्रहण समारोहमा ३५०० देखि ५००० जना अतिथि आमन्त्रण गर्ने गरिएको थियो ।
यसपटक शपथ ग्रहण समारोहमा पहिलो पटक बिम्सटेक (बे अफ बंगाल इनीशिएटिव फर मल्टी सेक्टोरल टेक्निकल एंड इकोनमिक कोअपरेशन) सदस्य राष्ट्र प्रमुखलाई आमंत्रित गरिएको हाे ।
बिम्सटेक राष्ट्रमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका तथा थाईल्याण्ड रहेका छन् । तर शपथ ग्रहण समारोहमा भने मरिशस तथा किर्गिस्तानका प्रतिनिधि पनि सहभागी हुनेछन् ।
शपथ ग्रहण समारोहमा आतिथिहरु आउने क्रम जारी छ । यसै सिलसिलामा नेपालका प्रधानमन्त्री केपी ओली पनि समारोहमा भाग लिन दिल्ली प्रस्थान गरिसकेका छन् ।
भोलि बिहान उनको प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
यस अघि २०१४को शपथ ग्रहण समारोहमा सार्क सदस्य देशलाई आमन्त्रण गरिएको थियो । जसमा पाकिस्तान पनि संलग्न थियो ।
यस पटकको शपथ ग्रहण समारोहमा भने पाकिस्तानलाई आमन्त्रण गरिएको छैन् ।