बसन्त कुमार उपाध्याय | विदेश | जेठ १६, २०७६
उनी विद्यार्थी जीवनमा निकै जिद्दी र दृढनिश्चिय स्वभावका थिए । जुन काम गर्ने अठोट गर्थे, हरहालतमा त्यो काम सफल गराएरै छाड्थे । उनी हुन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
‘कक्षाकोठामा आफ्ना गुरुले दिएको गृहकार्य मोनिटरलाई बुझाउन भन्दा नमानेर गुरुलाई नै बुझाउने अड्डी कसेका थिए,’ बढनगरको बिएन हाइस्कुलमा उनलाई पढाउका शिक्षक प्रह्लाद भाइ पटेलले यो कुरा उल्लेख गरेका छन् ।
‘द म्यान अफ द मोमेन्ट’ पुस्तकमा एम.बी कामथ लेख्छन्, ‘कक्षामा आफू मोनिटर जसरी भए पनि बन्ने जिद्दी गर्दै चुनाव लडेका थिए । मोदीले चुनाव पनि जिते स्कुले जीवनमा ।’
त्यसयता उनले सबै चुनाव जित्दै आए । यिनै जिद्दी स्वभावका नरेन्द्र दामोदर दास मोदी दुई पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री स्व. अटलविहारी वाजपेयीले देखेको ३ सय प्लसको भाजपाको सरकार पनि उनकै नेतृत्वमा बनेको छ ।
सानै उमेरमा घर–परिवार छोडेर हिँडेका मोदीले कहाँ–कसरी जीवन बिताए, यसबारे स्पष्ट त छैन । तर, ‘क्याराभान म्यागजिन २०११’ को रिपोर्टले उनको जीवनको महत्वपूर्ण लामो समय राष्ट्रि«य स्वयंसेवक संघ अर्थात् आरएसएसको संगठनमा बिताएको भन्ने बुझिन्छ । राष्ट्रि«य स्वयंसेवक संघको गठन १९२५ मा महाराष्ट्रमा भएको थियो ।
मोदीले झण्डै ३ वर्ष हिमालय क्षेत्रमा बिताएको भन्ने पनि सुनिन्छ । यसबारे ‘समय आएपछि’ आफै बताउने मोदीले भन्ने गर्छन् ।
स्वामी विवेकानन्दबाट अत्यन्तै प्रभावित मोदीले पश्चिम बंगालको वेलुर मठमा केही समय बिताएका थिए । सन्यासी बन्ने सोचका साथ त्यहाँ पुगेका मोदीलाई मठाधिसले उमेर कम भएको र थप अध्ययन गरेपछि आउनु भनेर फर्काएका थिए ।
उमेरले ८ वर्ष लाग्दा उनी आरएसएससँग जोडिएका थिए । उनले रामकृष्ण मठ एवम् मिसन राजकोटमा पनि आफ्नो जिन्दगीका केही समय बिताएका थिए । त्यतिबेला नै स्वामी सुविरानन्दले उनलाई दाह्री कहिल्यै नकाट्ने भनेका थिए । उनी आज पनि पूरै दाह्री काट्दैनन् ।
सन् १९४८ मा जब महात्मा गान्धीको हत्या भयो संघमाथि प्रतिबन्ध लाग्यो । प्रतिबन्धपछि गुजरातमा संघ कमजोर अवस्थामा पुग्यो । तर, मोदी लगातार संघको प्रचारकका रूपमा खटिरहे ।
सन् १९५८ मा बाबुभाई नायकको प्रचार अभियानका एक महत्वपूर्ण खम्बा जसले १९४४ मा गुजरातमा संघको शाखा स्थापना गराएका थिए । वकिल लक्ष्मण रावमार्फत् उनी प्रचारकका रूपमा जोडिए । उनको बसाई थियो– फुलटाइमर डा. हेडगेवार भवन, जो आरएसएसको मुख्यालय थियो ।
एकदिन मोदीको घरमा आएका जोगीले आमा हीरा वेनसँग मोदीको कुण्डली हेरेर भनेका थिए–कि यो शक्तिशाली नेता बन्छ कि त महान सन्यासी ।
यसरी मोदीको बारेमा भविष्यवाणी भएको कुरा पनि ‘द म्यान अफ द मोमेन्ट’ पुस्तकमा एम.बी कामथले उल्लेख गरेका छन् ।
‘द विक पत्रिका’ का अनुसार सन् १९६८ मा जशोदा वेनसँग नरेन्द्र मोदीको पारिवारिक परम्परा अनुसार विवाह भएको थियो । तर, उनी विवाहको भोलिपल्ट नै १८ वर्षको उमेरमा घर–परिवार छोडेर हिँडेका थिए ।
त्यतिबेला एक्लै जीवन कटाउने उद्देश्यले घर–परिवार छाडेको उनले अन्तर्वार्तामा बताएका छन् । त्यतिबेला उनी बढनगरको घरबाट ८० किलोमिटर दूरीमा रहेको अहमदावाद गएका थिए । तर, ३० वर्षपछि अर्थात् सन् १९७१ मा उनी पुनः घर फर्किए ।
त्यसैबेला हो, मोदीले काका नाता पर्ने बाबुभाई मोदीकोे कयान्टिनमा चिया बेच्न सुरु गरेको । लगत्तै उनले आरएसएसका साथीको संगतमा अहमदावादको गीता मन्दिरनजिकै आप्mनै चिया पसल सुरु गरेका थिए । ‘द नमो स्टोरी’का लागि लेखक किथुंस नागले यो कुरा उल्लेख गरेका छन् । उतिबेला मोदीको चिया पसल आरएसएसका कार्यकर्ताको जमघटको थलो बन्थ्यो । सन् २०१४ मा निर्वाचन हुँदा काँग्रेस नेताले ‘चिया बेच्ने केटो के प्रधानमन्त्रीको चुनाव लड्छ’ भनी व्यंग्य गरेपछि मोदीले ‘चायवाला’ भन्दै प्रचार अभियान थालेका थिए, त्यो निकै सफल पनि भयो ।
यसरी लगातार संघका लागि काम गरिरहेका मोदी सन् १९७२ सम्म पुग्दा संघको मुख्य जिम्मेवारी सम्हाल्ने भइसकेका थिए । संघका ठूला नेताहरूको रेल टिकटदेखि वासस्थान व्यवस्थापनको जिम्मा उनकै काँधमा हुन्थ्यो । त्यो अनुभवले जिद्दी मोदीलाई कुशल व्यवस्थापक पनि बनायो । त्यसपछि उनी भारतीय अखिल विद्यार्थी परिषद्को गुजरात युनिटको प्रमुख समेत बने, जतिबेला भारतमा नवनिर्माण आन्दोलन उत्कर्षमा थियो ।
सन् १९७५मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि संघको गतिविधिका लागि उनले भूमिगत जीवन पनि बिताएका थिए । उनको शिख भेषको यात्रा निकै चर्चित रह्यो । सन् १९७५मा गुजरातमा आयोजित संघको महत्वपूर्ण बैठक उनका लागि एक सफल बैठक थियो । त्यो बैठकमा मोदी शिख भेष धारण गरेर बसेका थिए । थुप्रै नेता–कार्यकर्ता पक्राउ परे पनि त्यही भेष बदल्न सक्ने क्षमताले मोदी सधैं सुरक्षित रहन्थे । त्यो बैठक कुशलतापूर्वक सम्पन्न गर्ने श्रेय उनलाई जान्छ ।
किसान नेताका रूपमा चर्चा कमाएका नेता जर्ज फर्नानडिजसँग उनको उठबस भयो, सोही अवधिमा । फर्नानडिज त उतिबेला सशस्त्र संघर्ष गर्नेसम्मको तयारीमा लागेका थिए ।
सन् १९७७ मा त मोदी गुजरातका लागि संघका मुख्य संयोजक नै तोकिए । लगातारको संगठनको जिम्मेवारीले उनलाई थुप्रै नेतासँग नजिक भएर काम गर्ने अवसर पनि मिल्यो । पछि १९८७मा त उनी भारतीय जनता पार्टी गुजरातको सचिव नै चयन भए । उनलाई त्यो भूमिका दिलाउनेमा मुख्य हात तत्कालीन संघ प्रमुख वालासाहेब देवरसको थियो ।
त्यतिबेलाका चर्चित पत्रकार देवेन्द्र पटेलले उनलाई ‘सुपरिचित मिनिस्टर’ भनेर समाचार समेत लेखेका थिए । तर, मोदी मन्त्री थिएनन् । सचिव भएपछि उनले आरएसएसको कार्य कौशलताको प्रयोग गर्दै भाजपाका थुप्रै नेतासँग लबिङको राजनीति सिके ।
सन् १९९५मा गुजरातमा केशुभाई पटेलको नेतृत्वमा बनेको भाजपाको पहिलो स्टेट सरकार शंकर सिंह बाघेलासँगको आन्तरिक किचलोमा परेपछि त्यसको दोष मोदीलाई दिइयो । जतिबेला १ सय २१ सांसद्मध्ये धेरैको समर्थन भए पनि बाघेला मुख्यमन्त्री बन्न सकेनन् । ती दुई नेताबीचको सम्बन्ध बिग्रनुमा मोदीको भूमिका रहेको भन्दै उनलाई दिल्ली तानिएको थियो । मोदीलाई हिमाचल लगाएतका ५ राज्यको जिम्मेवारीसहित राष्ट्रि«य सचिव बनाएर गुजरातबाट हटाइएको थियो ।
करिव ६ वर्ष पार्टीले उनलाई दिल्लीमा राख्यो । त्यो समय लालकृष्ण आडवाणी र प्रमोद महाजन जस्ता व्यक्तिसँग उनले काम गर्नुपरेको थियो । उनी दिल्ली भए पनि अमित शाह लगाएतको टिम उनले गुजारतमा बनाइसकेका थिए । त्यसबीच वाजपेयीको १३ दिनको सरकार मात्रै होइन, १३ महिनाको वाजपेयी नेतृत्वको एनडिए सरकारको गतिविधि उनले नजिकबाट नियाल्ने मौका पाए । त्यही अवधिमा उनले भारत–पाकिस्तान सम्बन्धबारे थुप्रै रणनीति, उच्चकोटीको ज्ञान र सूचना समेत संकलन गरे ।
सन् १९९८ मा भाजपाका अध्यक्ष कुशाभाउ ठाकरेले मोदीलाई महासचिव बनाए । उनी संगठनमा लालकृष्ण आडवाणी र प्रमोद महाजनमाथि विस्तारै हावी हुन थाले ।
२६ जनवरी २००१ को महाविनाशकारी भूकम्पले गर्दा बनेको परिस्थितिले मोदी फेरी गुजरात फर्किए । कारण थियो– तत्कालीन मुख्यमन्त्री पटेलले भूकम्पपछिको समयमा राम्रो काम गर्न सकिरहेका थिएनन् । चुनावलाई मध्येनजर गर्दै उतिबेलाका प्रधानमन्त्री वाजपेयीले मोदीलाई गुजरात खटाएका थिए । आरएसएसका फुलटाइम कार्यकर्ता रहेका मोदीलाई पार्टीले पहिलोपटक चुनावको ठूलो जिम्मेदारीसहित मुख्यमन्त्रीको उम्मेदवार बनायो । सन् २००१ मा पहिलो पटक मुख्यमन्त्री भएपछि २७ फेब्रुअरी २००२ मा सामरवति एक्सप्रेस रेलमा लगाइएको आगो र त्यसपछिको दंगामा करिव १२ सय जनाले ज्यान गुमाएको घटनाले नरेन्द्र मोदीलाई थुप्रै समस्याको सामना गर्नुपरेको थियो । त्यही अदालती केसका कारण मोदीलाई अमेरिका भ्रमणका लागि भिसा मिलेन । उक्त घटनामा ज्यान गुमाउनेहरूमध्ये करिव ७० प्रतिशत मुसलमान थिए । उक्त घटनामा मोदी दोषी रहेको आरोप लागेपछि उनको छवि मुसलमान विरोधी भनेर संसारभर नै प्रचार गरियो ।
सोही घटनालाई आधार बनाएर सन् २००६मा मोदीसहित ६२ जनालाई दंगा फैलाएको र नियन्त्रण गर्न प्रयास नगरेको आरोपसहित मुद्दा दायर भएको थियो । सन् २००८ मा भारतको सुप्रिम कोर्टले घटनाको जाँच गरेको थियो । सन् २०१० मा आएर मात्रै मोदीले अदालतबाट क्लिन चिट पाए ।
गुजरातमा चार पटकसम्म मुख्यमन्त्री रहँदा विकासप्रेमी नेताको छवि समेत बनिसकेको थियो । मोदीलाई सन् २०१३को सेप्टेम्बरमा लोकसभा २०१४का लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनी फेरि एकपटक लाइमलाइटमा आएका थिए ।
सन् २००९मा लोकसभा चुनाव हारेको भाजपाका नेता लालकृष्ण आडवाणी सहितका नेताहरू त्यो निर्णयबाट सन्तुष्ट थिएनन् ।
तर, उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन मुख्य भूमिका पार्टीका पूर्वअध्यक्ष नीतिन गडकरीले खेलेको कुरा पत्रकार जयन्तो घोष बताउँछन् । कारण थियो– गडकरीको आरएसएसमा राम्रो पकड थियो । गडकरी स्वयं पनि नागपुरबाट प्रतिनिधित्व गर्छन् । र आरएसएसको हेडक्वार्टर पनि नागपुरमै छ । गडकरी र मोदीलाई साथ दिनेमा राजनाथ सिंह र अमीत शाहको भूमिका अहम थियो । २०१३ को मोदीको उम्मेदवारी अस्विकार गर्दै एनडिएको एक घट विहारको जनता दल युनाइटेडका नेता नीतिश कुमारले समीकरणबाट अलग्गिएको घोषणा गरेका थिए । यद्यपि भाजपा नेतृत्वको एनडिएले सन् २०१४ को चुनाव जित्यो । १७ सेप्टेम्बर १९५० मा जन्मिएको एउटा स्कुले जिद्दी बालक आप्mनो जिद्दी स्वभाव र लगातारको सांगठनिक परिश्रमले नै भारतको प्रधानमन्त्रीसम्म बन्न पुगे । त्यो पनि एक पटक मात्रै होइन, दुई पटकसम्म
(सन् २०१४ र सन् २०१९) ।
भारतमा नेहरू र गान्धीबाहेक लगातार दोस्रो पटक सरकारको नेतृत्व गर्ने उनी पहिलो गैरकांग्रेसी प्रधानमन्त्री हुन् ।
तर, भारतमा मोदी मिडिया र प्रेसका विषयमा स्पष्ट छैनन् भन्ने आरोप पनि छ । चुनावी प्रचारका दौरान उनले धेरै पटक मिडियालाई पूर्वाग्रही भनेर ठाडो आरोप पनि लगाए । अन्तर्वार्ताका दौरान पत्रकारमाथि मिडिया पूर्वाग्रही भएको ठाडै आरोप पनि मोदीले लगाए । त्यसैगरी हालै मात्रै संसदीय दलको नेता चुनिएपछिको आफ्नो सम्बोधनमा पार्टीका नेता तथा कार्यकर्तालाई मिडियादेखि टाढै रहन सुझाए । आखिर उनी मिडियाप्रति किन अनुदार त ? यो प्रश्नको जवाफ उनी स्वयंले सायद भविष्यमा देलान् वा गर्भमै रहला यो विषय । यसले उनी एक जिद्दी स्वभावका व्यक्ति हुन् भन्ने देखाउँछ । उनी आफूले चाहँदा मात्रै साक्षातकार हुन्छन्, सञ्चार माध्यममा ।
कुनै बेला सन्यासको बाटोमा हिँडिसकेका मोदी फेरि राजनीतिक यात्रामा फर्किए । अहिले राष्ट्रवादी नेताको अनुहार बनेको छ उनको । विकासप्रेमी प्रधानमन्त्रीको प्रशंसा र हिन्दूवादी छवि पनि छ, मोदीको । विद्यालयमा कक्षाको जिद्दी मोनिटरदेखि गुजरातको मुख्यमन्त्री हुँदै प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको दोस्रो कार्यकालमा उनी कति जिद्दी देखिनेछन् हेर्न बाँकी नै छ ।