देशलाई सुहाउन नसकेको मान्छे

देशलाई सुहाउन नसकेको मान्छे

रूपक अलङ्कार  |  साहित्य  |  पुस २९, २०७९

होला उच्च हिमालका शिखरले यो देश आलोकित
होला या इतिहासको दलिनमा वीरत्व सम्मानित
मेरो यो शिरमाथि झल्झल भई चम्के नि सैपाल यो
खाली पेट लिएर भन्नु कसरी सम्पन्न नेपाल यो ?

कोशी कल्कलमा अथाह गहिरो सङ्गीत सुन्छौ तिमी
भेरीमा भुमरी पर्‍यो कि त नयाँ सौन्दर्य देख्छौ तिमी
भन्लान् जीवनदायिनी जति नदी पीयूष भण्डार हो
मेरो आँत भने भिजेन कहिल्यै सम्पूर्ण बेकार भो।

होलान् पुष्ट गुराँसका रङ पिई रङ्गीन गाला पनि
तिम्रा पाउ जता उतैतिर डुलोस् स्वर्गीय कादम्बिनी
हास्छौ शान्त किनारबाट जलमा देखेर आफ्नो मुख
देख्दैनौ जलामाथि तैरिरहने मेरो सधैँको दुख

राम्रा छन् हिमशैलका लहर यी आकाश झैँ उन्नत
राम्रा छन् छहरा गुराँस वन यी राम्रा नदी पर्वत
जेजे छन् जति छन् यहीँ मुलकमा देखिन्छ राम्रै सब
मै मात्रै छु कठै कुरूप बिचरो जाऊँ कहाँ पो अब ।

दौराले पहिचान बढ्दछ भन्यौ चिन्दैन कोही पनि
टोपीको पहिचान पत्र भिरियो चिन्दैन कोही पनि
धोतीभित्र लपेटिँदा पनि परेँ चर्को तिरस्कारमा
के गर्दा बनुँला त यो मुलुकको मिल्दो अलङ्कार म ।