हरिविनोद अधिकारी | शिक्षा | पुस ३०, २०७९
शिक्षाको महत्व भनेको के हो ? आज पनि उत्तिकै बहसको विषय बनेको छ । हामीले शिक्षा भन्ने बित्तिकै विद्यालयको आकृति आउँछ, सँगै शिक्षकको एउटा अनुहार कतै कतै झल्याक्क झुलुक्क देखा पर्छ र आफूलाई सबैभन्दा बढी चित्त बुझ्ने कुरा गरेर जीवन र जगतका बारेका निःस्वार्थ जानकारी दिने व्यक्तिको अनुहार नै आउँछ ।
यी त भए विद्यालयका पुग्न पाएका भाग्यमानीहरुको कुरा तर कहिल्यै विद्यालयको आँगनमा पुग्न नपाएका विद्यालयको आँगनमा निस्फिक्री भएर दौडादौड गरेर कुद्दै , लड्दै पछारिँदै खुसीको स्वर्णिम पल बिताउन नपाएका र त्यहाँ गएर साथीहरुसँग पढ्न नपाएका लाखौँ बालकहरूको अवस्था छ विश्वमा, नेपालमा । तिनको अहिले किन वास्ता नगर्ने अनि उनीहरुको कुरै नगरौँ भनेर किन पन्छाउने?
जीवन र जगतलाई देखाउने, जीवनको अहिलेको आवश्यकता र भोलिको तयारी गर्ने काम नै शिक्षाको हो । यसको मतलब हो शिक्षा भनेको जसरी पनि जीवनको लागि आवश्यक जानकारी दिनु नै हो भन्ने एउटा दार्शनिक मान्यता अनि जसरी पनि जीवनको तयारीका लागि दिइने औपचारिक, अनौपचारिक ज्ञान नै शिक्षा हो भन्ने अर्को व्यावहारिक दर्शनको कुरा ।
जसरी प्रकृतिले घाम, पानी, हावा, माटो र स्वतन्त्र विचरणका लागि खुला आकाशको सित्तैँ र निःशर्त उपलब्ध गराएको छ, त्यस्तै नै मानव जातिका लागि शिक्षाको आवश्यकता पनि त्यस्तै हुनुपर्छ भन्ने मान्यता देखिन्छ । शिक्षाका पक्षमा, शिक्षा ग्रहण, प्राप्त र उपलब्ध गराउने अनेक उपायहरुको व्यवस्था गरिएको पाइन्छ शैक्षिक अनुसन्धानमा, शैक्षिक प्रयोगमा र व्यावहारिक जीवनका लागि ।
औपचारिक वा अनौपचारिक रुपमा उपलब्ध गराउने सूचना र ज्ञानका लागि पनि माध्यमको आवश्यकता पर्छ भन्ने मान्यताका आधारमा विद्यालयको तयारीका लागि पूर्व विद्यालयहरुको, विद्यालयहरुको, महाविद्यालयहरूको र विश्वविद्यालयहरुको कल्पना गरिएको हो । आवश्यकता अनुसार र समयको प्रवाहसँगै विभिन्न तरिकाले ज्ञानको सूचनाको उपलब्ध गराइँदै गरिएको छ ।
शिक्षालाई विद्या र विद्यालाई शिक्षा भन्ने एकअर्काका पर्यायवाची शब्दहरु हाम्रो समाजमा व्याप्त छ । व्याकरणीय अर्थ र शब्दकोशीय अर्थमा फरक फरक पनि देखिएका होलान् तर शिक्षाले हामीलाई विद्याको झझल्को दिएको छ । विद्यालाई उपनिषद्ले परा र अपरा विद्याको रुपमा मानेको छ । विद्यासँगै अविद्याको पनि व्याख्या गरिएको छ ।
शब्दमा जेजे भए पनि वैदिक कालदेखि नै शिक्षालाई वेदको एउटा अङ्गको रुपमा मानिएको थियो र खासगरी शिक्षाले उच्चारण, अर्थ र शैक्षिक आदान प्रदानको विज्ञानको रुपमा मानिएको छ। त्यतिमात्र होइन, षडशिक्षा सहित चौध ज्ञानका आधारहरुमा शिक्षा नै महत्वपूर्ण आधारको रुपमा मानिएको छ । गुरु कुलमार्फत् कडा अनुशासनमा जीवन र जगतका लागि निरन्तर कार्यरत अनुसन्धाता ऋषिहरूद्वारा शिक्षा दान र ब्राह्मण, क्षत्री र वैश्यलाई एकप्रकारले अनिवार्यरुपमा उनीहरुका रुचिअनुसारका शिक्षा दिइन्थ्यो ।
परा विद्या र अपरा विद्याको सँगै ज्ञान दिइन्थ्यो किनभने व्यावहारिक विद्या भनेको अपरा विद्या थियो र परा विद्याले यो लोकभन्दा बाहिरको ब्रह्माण्ड, पूर्वजन्म, पुनर्जन्म, धर्म, पाप र भावी जीवनको तयारी समेतलाई इंगित गरी एउटा पूर्ण मानव, संवेदनशील मानव बनाउने कोसिस हुन्थ्यो । अनि मात्र भावी दिनमा गर्ने कामका आधारमा शिक्षा प्राप्तिको आधार भूमि तयार गरिएको हुन्थ्यो । सायद त्यसैका आधारमा उपनिषद्को शान्ति पाठमा बारम्बार भनिएको हुन्छ - ओम् सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै । तेजस्वि नावधितमस्तु । मा विद्विषावहै । ओम् शान्तिः शान्तिः शान्तिः । (हे परमात्मा, हामी गुरु शिष्यको सँगै रक्षा गर्नुहोस् ।
हामी दुवैको सँगै पालन-पोषण गर्नुहोस् । हामी दुवैलाई सँगसँगै काम गर्न अर्थात् पठन पाठनमा बल प्राप्त होस् र हामीले सिक्ने सिकाउने विद्या तेजपूर्ण होस् र कहीँ कतै कोहीसँग हाम्रो विद्या परास्त नहोस् र हामी गुरु शिष्य जीवनभर एकअर्कासँग स्नेह सूत्रमा बाँधिई रहन सकौँ, हाम्रा बिचमा कुनै रिस,राग,द्वेष नरहोस् । हामीमा सबै खालका तापले कहिल्यै नपोलोस् अर्थात् कुनै क्लेश हामीमा आई नपरोस् । शान्ति,शान्ति, र शान्ति मात्र छाओस् हाम्रो जीवनमा ।) यसरी गुरुले वा शिक्षा दान दिने व्यक्तिले शपथ गरेरमात्र नयाँ तरिकाले विद्या दिने लिने काम सुरु गरेको पाइन्छ वैदिक कालमा ।
आजको विश्वको अकल्पनीय तात्कालिक र अपर्झट तरिकाले आएको समस्याका अघिल्तिर हाम्रो शिक्षाको वा विद्याको निरीह पन कोरोनाको त्यो उच्च समयमा देख्न र भोग्न पाइयो । अझै पनि भूकम्पीय मापनको पूर्व जानकारी प्राप्त हुन सकेको छैन र कोरोनाको उच्च प्रकोपले विश्व गाँजिएको छ मानौँ हामीले जेजति प्राप्त गरेका खोप वा ओखती छन्, ती सबै केही पनि होइनन् र भोलिका लागि सुरक्षित उपायको कुनै खोजी हुनै सकेको छैन ।
वेदले शिक्षाको अर्थलाई ब्रह्माण्डका बारेमा, परा अपरा विद्याको सम्पूर्ण जानकारीको प्रक्रियालाई जटिल तम नबनाउँदै अलि संकुचित रुपमा सम्पूर्ण ज्ञान र सूचनाको शिक्षा प्रदान गर्ने प्रक्रियाको रुपमा सीमित गरिएको पाइन्छ । अर्थात् शिक्षाको तयारीका लागि अपनाइने शैक्षणिक तरिकाको उपायको विज्ञानको रुपमा, जसलाई अहिले हामीले शिक्षा शास्त्रको विधि विज्ञानको रुपमा मानेको छौँ । परा वा अपरा वा दुवै विद्याका लागि दिइने आवश्यक , परिमार्जित जानकारीका सूचना र ज्ञानको सिकाइको प्रविधि ।
त्यसका लागि समय विभाजित गरिएको थियो कम्तीमा पाँच वर्ष । अझ उपनयन गरे पछिको समय नै गुरुकुलको भर्नाको समय हुन्थ्यो जसलाई राज्यले सम्पूर्ण खर्च बेहोरेर ती कुमारहरूको जीवन तयारी गराइन्थ्यो । आज आएर हामीले के कुरामा बहस गर्न सुहाउँदैन भने किन महिला वा शूद्रलाई विद्याध्ययनको व्यवस्था गरिएको थिएन होला ? यदि कसैले आधुनिक नेपालमा महिला उच्च शिक्षाको एउटी सूत्र धार र स्थापित नाम अंगूरबाबा जोशीको जीवनी पढेको छ भने ती व्यवधानबाट मुक्ति पाउन कसरी नेपाली समाजले संघर्ष गरेको रहेछ भन्ने झझल्को पाइन्छ । त्यसो त अफगानिस्तानमा भर्खरै जस्तो भएको नयाँ घोषणाले पनि महिला शिक्षा प्रतिको पूर्वीय धारणालाई बुझ्न कठिन छैन ।
त्यो पुरानो वैदिक तथा पौराणिक गुरुकुलमाझैँ , तक्षशिला, नालन्दा जस्ता विद्यापीठले त्यही संस्कारलाई जीवित गराएका रहेछन् । अझ बौद्ध धर्मको प्रादूर्भाव पछि शिक्षाले परा विद्याको रुप ग्रहण गरेको देखिन्छ पूर्वीय दर्शनमा । त्यसो त ग्रिस, रोम साम्राज्यहरुमा आधुनिक तरिकाले शिक्षा ग्रहण गर्ने गराउने व्यवस्थाको थालनी आफ्नै तरिकाले भएको पाइन्छ र पनि गुरुकुलीय परम्पराको त्यो धारणा आज पनि झझल्कोको रुपमा पश्चिमी विद्यालय र विश्वविद्यालयहरुमा पाइँदो रहेछ ।
आखिर मानिसलाई सम्पूर्ण शैक्षिक प्रक्रियाले जीवनको भावी डोरेटोको नयाँ खाका दिने नै हो रहेछ भन्ने कुरा हिजो पनि थियो, आज पनि छ र भावी दिनमा नयाँ नयाँ अनुसन्धानले अझ सहज र सरल तरिकाले कसरी समसामयिक समाज र वैश्विक जीवनको तयारी हुनसक्छ भन्ने बारेमा सूचना प्रविधिको अकल्पनीय विकाससँगै जटिल र सहज दुवै भएको छ ।
विश्वमा देखिने दैवी र मानवीय कारणले हुने महामारी र त्यसबाट बच्नै पर्ने ज्ञानको आवश्यकता जरुरी रहेछ भन्ने कुराको ज्ञान यता केही समयदेखि विश्वभर देखिएको छ । जस्तो कि पहिले प्लेगको महामारी, हैजाको महामारी, औलोको महामारी , बिफरको, दादुराको , ठेउलाको महामारीले विश्वमा ठुलो क्षति पुर्याएको देखिन्छ । त्यस्तै भूकम्पबाट , ठुला ठुला आँधी बेहेरीबाट, सुनामीबाट , बाढी पहिरोबाट, हिउँ परेर वा नपरेर हुने , पानी धेरै परेर वा नपरेर हुने हानि र क्षतिबाट कसरी बच्ने भन्ने नयाँ नयाँ ज्ञानको आवश्यकता अहिले परेको छ ।
परम्परागतरुपमा मानवीय आवश्यकता पूरा गर्नु त छँदैछ, झन झन प्रकृतिको दोहनबाट, मानवीय पागल पनबाट आउनसक्ने अचिन्त्य आपत कालको तयारी पनि शिक्षाको आवश्यक तत्व बनेको छ जसमा वेदले , उपनिषद्ले भनेझैँ गुरु शिष्यको एउटै समाज, एउटै विश्व र एउटै ब्रह्माण्डको उपजलाई कसरी एकअर्काको भरमा ज्ञान उपलब्ध गराउने र सँग बाँच्ने बचाउने हो भन्ने चुनौती आजको शिक्षा हो भन्ने मलाई लाग्छ ।
आजको विश्वको अकल्पनीय तात्कालिक र अपर्झट तरिकाले आएको समस्याका अघिल्तिर हाम्रो शिक्षाको वा विद्याको निरीह पन कोरोनाको त्यो उच्च समयमा देख्न र भोग्न पाइयो । अझै पनि भूकम्पीय मापनको पूर्व जानकारी प्राप्त हुन सकेको छैन र कोरोनाको उच्च प्रकोपले विश्व गाँजिएको छ मानौँ हामीले जेजति प्राप्त गरेका खोप वा ओखती छन्, ती सबै केही पनि होइनन् र भोलिका लागि सुरक्षित उपायको कुनै खोजी हुनै सकेको छैन ।
भोलि कसले देखेको छ र ? तर भोलिको अनुमान गरेर भावी समाजको रुपरेखाका लागि चिन्तित हुनु नै विद्वानको लक्षण हो, असल राजनीतिको लक्षण हो र दूर द्रष्टाको कल्पना हो । त्यही कल्पनाका आधार प्रकृति दोहन र अनावश्यक हात हतियार र आग्नेयाश्त्रबाट परेको जलवायुमा दुष्प्रभावलाई भावी दिनमा कसरी समस्याको चुनौती सामना गर्ने हो ? त्यसका लागि तयारी आजको शिक्षाको उद्देश्य किन बन्न सकेको छैन ?
त्यसो भए आजको शिक्षा वा विद्याको अवस्था नाजुक नै हो त भावी जीवनका लागि ? कस्तो शिक्षा वा विद्याले भावी जीवन नैतिक तरिकाले वा आध्यात्मिक तरिकाले बिताउन सकिएला त ? के हो आजको आवश्यकता ? के भए आजको शिक्षाले सही मार्ग लेला त ? यी यावत् प्रश्नहरुको उत्तर कसले दिने हो ? हामी आफैँले आफूलाई या समाजलाई या अरुले हामीलाई दिने हो ? या हामी पुरानै वैदिक अवस्थाको अनुशीलनमा लाग्नु पर्ने पो हो कि ? या हिजोको त्यो शैक्षिक उपायले आजको समस्याको अनुमान नै गर्ने सकेको थिएन भनेर फेरि नयाँ तरिकाले अनुसन्धानको काम पो गर्ने हो कि ?
समस्या चिन्ता पूर्ण छ तर ती समस्या र चुनौतीको सामना गर्नुपर्ने पनि हामी बाँचेकाले नै हो र भोलिको पुस्तालाई सुरक्षित विश्व, ब्रह्माण्ड जिम्मा लगाउने पनि हामीले नै हो र भोलिको समस्याका बारेमा चिन्ता जगाउने र खुसी जीवन बाँच्ने कला सिकाउने पनि आजका हामीले नै हो । त्यसका लागि विश्वलाई एउटा सानो गाउँको रुपमा सम्झेर सहकार्य गर्नु नै श्रेयस्कर हुनेछ । मेरा आफ्नो अनुभवका आधारमा देखिएका र भोगिएका अनि भावी शिक्षाका लागि सोचिएका धारणाहरूलाई विस्तारै लिपिबद्ध गर्नेछु । क्रमशः