आशिष पौडेल | अन्तर्मन्थन | माघ ०१, २०७९
उहाँको बुवा कृषक अनि आर्थिक अवस्थाका हिसाबले भने परिवार मध्यम खालको थियो । खेती किसानी बाहेक अर्को आयस्रोत थिएन । तर, गरि पुगिसरी नभए पनि खान लाउन दुःख भने थिएन । बुवा स्व अध्ययनबाट नै रामायण, महाभारतका पुस्तक अध्ययन गर्न सक्ने हुनुहुन्थ्यो ।
उहाँको जन्म २०२३ सालमा लमजुङको बाहुन डाँडामा भएको हो । पुस्तुन । उहाँको पाँच दिदीबहिनी अनि दुई दाजुभाइ । उहाँ भने चौंथो सन्तान । तीन जना दिदीपछि जन्मिएको हुनाले दिदीहरु तथा आमाबुवाको मायामा कमी रहेन । तर, गाउँघरमा रहँदा त्यस्तो धेरै उफ्रने, कुद्ने खेल भने भएन । पांग्रा गुडाउने, गुच्चा खेल्ने, खोपी खेल्ने भन्ने आम नेपालीको बाल्यकाल जस्तो रहेन । झुम्नाका बल खेल्ने, अनि खल्याङखुट्टी जस्त बाल सुलभ खेल भने खेल्नुभयो । अन्य आधुनिक खेल सामग्री उपलब्ध पनि भएन । उपलब्ध नभएका कारण रुचि पनि रहेन ।
०००
उहाँको दाइ तथा दिदी स्कूल जाने हुँदा उहाँले कखरा भने घरमा नसिकी बाहुन डाँडाको चन्द्रोदय स्कूलमा नै गएर पढ्नुभयो । ढुङ्गाको गारो र स्लेट ढुङ्गाको छानो भएको राम्रो स्कूल थियो । तर, बीचमा गारो लगाएर कक्षा कोठा छुट्याएको थिएन । एउटै भवनमा शिशु कक्षा तथा एक, दुई, तीन भनेर छुट्याएको थियो । बस्नलाई डेस्कबेञ्चको व्यवस्था थिएन । घरबाट आफैँले चकटी लिएर जानुपर्थ्यो । पछि भने बस्नलाई काठको फल्याक राखियो ।
स्कूल भरमा झण्डै ५०/६० जना विद्यार्थी बिहान प्रार्थना गर्न लाइनमा लाग्थे । यस हिसाबले शिशु कक्षामा अलि बढी विद्यार्थी थिए । अन्य कक्षामा १०/१२ यस्तै थिए विद्यार्थी । त्यसमा दुई/तीन जना महिलाहरु हुन्थे । गाउँमा नजिक अन्य स्कूल नभएको हुनाले हिँड्नसक्ने विद्यार्थीहरु अन्यत्रबाट पनि आउँथे ।
चार कक्षापछि भने उहाँको पढाइ भने बुढानिलकण्ठ मावि काठमाडौँमा भयो । त्यसबेला बुढानिलकण्ठ स्कूल बाटै शिक्षकहरु गाउँ गाउँमा गएर विद्यार्थीको जाँच लिएर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने चलन थियो । उहाँ पनि त्यसमा पर्नुभयो ।
करिब १५ जनाले परीक्षा दिएकोमा पहिलो चरणमा पाँच जना र पछि त्यो पाँचबाट भएको छटनी मध्येको तीनमा उहाँ पर्नुभयो । यसरी उहाँको बुढानिलकण्ठ स्कूलको यात्रा सुरु भयो । यो भनेको २०३२/३३ सालतिरको कुरा हो ।
उहाँ चार कक्षादेखि पूर्ण छात्रवृत्तिमा बुढानिलकण्ठ स्कूलमा पढ्न थाल्नुभयो । यसमा बस्ने, खाने आवासीय सुविधा त छँदैछ पढ्नलाई चाहिने किताब, कापी, कलम र लुगाहरु पनि स्कुलले नै उपलब्ध गराउँथ्यो । स्कुलले घर जाने/आउने खर्चसमेत दिने गर्थ्यो ।
बुढानिलकण्ठ स्कूलमा सुरुमा आउँदा उहाँलगायत अन्य दुई जना साथीहरु बुवाहरूसँग दुई दिन लगाएर डुम्रेसम्म हिँडेर आएर बसमा चढेर आउनु भएको हो । गाउँ छाडेर सदरमुकाम त्यो पनि खास विकास नभएको हुनाले गाडीको कल्पनासम्म थिएन । गाउँमा एकाधका घरमा रेडियो घन्किन्थ्यो । त्यस्तो अवस्थाबाट एकाएक काठमाडौँको त्यस बेलाको मान्छेको भिड, गाडीहरु अनि अर्कै परिवेशमा आउँदा आश्चर्य र रमाइलो दुवै एकै पटक भयो ।
स्कूलमा नाम दर्ता गरेपछि बुवाको मन छोरा न्यास्रिन्छ भन्ने रहेछ । तर, स्कूलको परिवेश अनि वातावरणले उहाँहरुले हाँसेरै बिदाइ गर्नुभयो । गाउँको स्कूलको त्यो भवनबाट बुढानिलकण्ठको त्यो सुविधा सम्पन्न भवन, बेग्लै कक्षा कोठा, स्तरीय डेस्क, बेञ्च देख्दा रमाइलो र आश्चर्य दुवै भए ।
पाँच कक्षाका एक जना दाइले उहाँलाई स्कूलमा कहाँ के, के छन् र कसरी व्यवहार गर्ने हो भन्ने बारेमा सिकाए । यसमा सरहरूको पनि उत्तिकै सहयोग रह्यो जसले गर्दा नयाँ ठाउँमा आइयो, के गर्ने कसो गर्ने भन्ने भएन । वातावरण एकदमै सहज भयो । उहाँको समयमा बुढानिलकण्ठमा सहशिक्षा थिएन । सहशिक्षाको व्यवस्था ४२/४३ सालमा भएको हो । कक्षा कोठामा झण्डै ७० जना विद्यार्थी हुन्थे ।
स्कूलमा विद्यार्थीलाई बोलाउँदा वा चिनाउँदा कि त रोल नम्बर वा नामले मात्र बोलाउने चलन थियो । थर राख्ने चलन थिएन र थर काढेर बोलाउन पनि पाइन थियो । साथीहरुको थर के हो भनेर उहाँलाई स्कूल छोडेर बाहिर आएपछि मात्र थाहा भयो । हरेक विद्यार्थी समान हो भन्ने देखाउन ज्यामिति बक्सदेखि सिसा कलम सम्म पनि उस्तै हुन्थे । लुगाको कुरै भएन ।
स्कूलमा खेलकुदका सामग्रीमा कुनै कमी हुने कुरै भएन । फुटबल, भलिबल र बास्केटबल त सामान्य नै भए त्यसका अतिरिक्त हकी तथा पौडी पोखरी पनि थियो । उहाँको रुचि भने हकी तथा भलिबलमा थियो ।
भञ्ज्याङ भन्ने स्कूलको मुखपत्र थियो भने विद्यार्थीहरुका तर्फबाट रश्मी भन्ने पत्रिका निस्कन्थ्यो जहाँ विद्यार्थीका लेख रचना छापिन्थ्यो । हाजिर जवाफ, वादविवाद तथा अन्य साहित्यिक क्रियाकलापमा पनि उहाँको रुचि थियो ।
उहाँ पढाइमा तेज हुनुहुन्थ्यो । स्कूलमा त्यस बेला पहिला दोस्रा हुनेलाई किताब पुरस्कार दिने चलन थियो । उहाँले पनि पुरस्कार स्वरुप थुप्रै यस्ता किताबहरु पाउनु भएको छ । उहाँ नौ कक्षामा दोस्रो तथा दश कक्षामा आउँदा भने पहिलो हुनु भएको थियो ।
उहाँले २०३९ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याजमा त्यस बेला ७२ जना विद्यार्थी थिए । धेरै जना पहिलो श्रेणी तथा केही दोस्रो श्रेणीमा गरेर सबै जना उत्तीर्ण भए । उहाँ भने स्कूलको सर्वोत्कृष्ट हुनुभयो ।
०००
एसएलसीपछि उहाँ अमृत साइन्स क्याम्पसमा भर्ना हुनुभयो । स्कूलको त्यो सम्पन्नताबाट गुज्रेर अब आफैँले डेरा खोजेर भात पकाएर, खाएर भाँडा माझ्नु पर्ने भयो ।
स्कूलमा सँगै पढेका साथीहरु कलेजमा पनि सँगै हुँदा त रमाइलो नै हुन्थ्यो तर, जब डेरामा फर्किँदा भने उता समान भए पनि अब भने हाम्रो तह यस्तो रहेछ, अब हाम्रो तह छुट्टियो भन्ने लाग्थ्यो उहाँलाई । अब खास जीवन सुरु भयो र अब केही गर्नुपर्छ र मेहनत गरेरै पढ्नुपर्छ भन्ने उहाँलाई लाग्यो ।
स्कूलमा छात्रावासमा भोगको जीवन सच्चा जीवन नभएर त्यहाँबाट बाहिर निस्किए पछिको जीवन चाहिँ साँचो जीवन रहेछ भन्ने उहाँलाई लाग्यो । अब छात्रावासमा रहेको जस्तो जीवन सरहरूले निर्देशन गर्ने नभएर आफूले नै परिपक्व भएर निर्णय गर्नुपर्ने र केही गर्नुपर्छ भन्ने भने सिकायो उहाँलाई डेराको जीवनले ।
उहाँले २०४३ सालमा आइएस्सी सकाउनु भयो । अनि उहाँ कोलम्बो प्लान अन्तर्गत भारतमा इन्जिनियरिङ अध्ययन गर्न जानुभयो ।
०००
उहाँ कोलम्बो प्लान अन्तर्गत भारतको कोलकाताको बंगाल इन्जिनियरिङ कलेजमा 'माइनिङ' इन्जिनियरिङ पढ्न जानुभयो । सन् १८५८ मा स्थापित उक्त कलेज निकै प्रतिष्ठित मानिन्छ । छात्रवृत्तिमा १५ सय रुपैयाँ प्राप्त हुने गर्थ्यो जुन उहाँले फुर्मास नगरी जोगाएर घरमा बुवालाई घर खर्चका लागि सहयोग गर्नुहुन्थ्यो । छोराको जागिरको कमाइ खान पाइएला भनेको जागिर नखाइ कन पनि छात्रवृत्तिको पैसा ल्यायो भनेर बुवा निकै खुसी पनि हुनुभएको थियो । 'माइनिङ' इन्जिनियरिङ भएका कारण कहिलेकाहीँ खानीहरूमा जाँदा कोलम्बो प्लानले छुट्टै पैसा दिन्थ्यो ।
उहाँ पढाइ सकाएर २०४८ सालमा नेपाल फर्कनुभयो । फर्किएपछि लोकसेवाले लिएको परीक्षा उत्तीर्ण गरेर उहाँ खानी तथा भूगर्भ विभागमा 'माइनिङ' इन्जिनियरका रुपमा काम गर्न थाल्नुभयो ।
करिब पाँच वर्ष काम गरेपछि उहाँले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (ए आई टी) मा इन्जिनियरिङ जुयोलोजीमा छात्रवृत्ति पाएर २०५३ सालमा पढ्न जानुभयो ।
दुई वर्ष त्यहाँ पढेर उहाँ इन्जिनियरिङ जियाेलोजीमा सर्वोत्कृष्ट भएर स्वर्ण पदक पनि प्राप्त गर्नुभयो । र, फर्केर फेरि खानी विभागमै काममा आउनुभयो । तर, उहाँको पढाइ अनुसारको त्यहाँ काम नभएपछि छोडेर उहाँ थाइल्याण्डको पहिलो मेट्रो रेलको काम गर्न जानुभयो । त्यहाँ दुई वर्ष काम गर्नुभयो । र, सन् २००० को अक्टोबरमा जापानको होकाइदो युनिभर्सिटीमा रक मेकानिक्समा पिएचडीका लागि छात्रवृत्ति पाएर पढ्न जानुभयो । करिब साढे तीन वर्षमा पढाए सकाएर सन् २००४ मा नेपाल फर्कनुभयो । र, मुग्लिन नारायणगढ खण्डमा करिब छ महिना जति काम गर्नुभयो । त्यसपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङको प्रवेश मार्गमा काम गर्नुभयो ।
त्यसपछि अष्ट्रेलियाको स्मेक कम्पनीसँग आबद्ध हुँदै सन् २००६ मा इष्ट टिमोरमा करिब एक महिना काम गर्नुभयो । अनि सन् २००७ मा अफगानिस्तानमा चार महिना काम गर्नुभयो । पछि जापानी कम्पनीसँग आबद्ध भएर मलेसियामा रेल्वेको टनेलको काममा जानुभयो । सन् २००८ देखि सन् २०१० सम्म करिब दुई वर्ष काम गर्नुभयो । त्यही कम्पनी अन्तर्गत भियतनामको लाओसमा पनि काम गर्नुभयो ।
पछि सन् २०१२ देखि स्मेक अन्तर्गत बंगलादेशमा रेल प्रोजेक्टमा काम गर्नुभयो । र, सन् २०१५ देखि पद्मा नदीमा बनाउने पुलमा जियो टेक्निकल इन्जिनियरका रुपमा काम गर्नुभयो । यो कामले भने उहाँलाई बेग्लै परिचय पनि दियो ।
बंगलादेशको राष्ट्रिय गौरवको आयोजना र नदीमाथि बन्ने छ किलोमिटर लामो पुलमा अलि अप्ठेरो जियो टेक्निकल इन्जिनियरको कामले भने उहाँलाई संसारमै परिचित पनि बनायो । यो परियोजनाले चार वटा विश्व रेकर्ड पनि कायम गरेको छ ।
छातीभित्र देश दुख्दा पहिलो र दोस्रो संस्करण (कविता संग्रह), देशको माटो(कविता संग्रह), महिना र ऋतु तथा बादल पानी (बाल कविता संग्रह), मेरा बीज अक्षरहरु (कविता संग्रह) प्रकाशित भइसकेको छ । उहाँ छिटै नै गीति संग्रह निकाल्ने तयारीमा पनि हुनुहुन्छ ।
बंगलादेशको राष्ट्रिय गौरवको आयोजना र नदीमाथि बनेको पुल उद्घाटनका क्रममा उहाँहरुले निकालेको एउटा बुकलेटमा काम गरेका विदेशीको नाम तथा झण्डा पनि राखिएको थियो । त्यसमा उहाँको नाम तथा नेपालको झण्डा समेत समावेश थियो । उहाँलाई यसमा आफ्नो नामभन्दा पनि देशको नाम समावेश भएकोमा गर्वको अनुभूति भइरहेको छ ।
०००
एसएलसी सकिए लगत्तै उहाँले आफूले प्राथमिक शिक्षा हासिल गरेको चन्द्रोदय स्कूलमा पढाउनु भयो । त्यस बेला उहाँको तलब ३ सय २५ रुपैयाँ थियो । करिब पाँच/छ महिना पढाउनुभयो उहाँले चन्द्रोदयमा । पछि कोलम्बो प्लानमा आवेदन दिने र छनौट हुन लागेको करिब एक वर्षको समयमा भने उहाँले जेपी हाइस्कुलमा पढाउनु पनि भयो । त्यस बेला उहाँले काठमाण्डौको आफ्नो खर्च निर्वाह गर्न होम ट्युसन पढाउने काम पनि गर्नुभयो । जेपीमा भने करिब सात सय जस्तो लाग्छ उहाँलाई तलब ।
घरबाट पढ्नलाई खर्च व्यहोर्न अलि गाह्रो पर्ने हुनाले चन्द्रोदयमा पढाउँदाको पहिलो तलबदेखि अन्य तलब उहाँको घर खर्चमा बिते । पहिला पहिला दशैँ मनाउन घरमा भेडा पाल्ने चलन रहेकोमा त्यस वर्ष भेडा थिएन र उहाँले बुवालाई यस वर्ष मेरो तलबले दशैँमा च्याङ्ग्रा किनेर मनाउनुपर्छ भनेर सात सय रुपैयाँमा च्याङ्ग्रा किनेर २०४० सालको दशैँ राम्रै मानेको पनि उहाँको सम्झनामा छ ।
जेपीमा नौ/दश कक्षाका विद्यार्थीलाई भर्खर आइएस्सी पास गरेको विद्यार्थीले आफूभन्दा ठूला र केही अटेरी विद्यार्थीलाई पढाउनु पर्दा पढाउँदाको अनुभव र केही परिपक्व पन भने उहाँले जेपीमा हासिल गर्नुभयो ।
अर्को उहाँलाई आइएस्सी पढ्न भरथेग गरेको भनेको शिक्षा मन्त्रालयले बुढानिलकण्ठ स्कूलमा छात्रावासमा पढेर अस्कल वा त्रिचन्द्रमा साइन्स लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप सहयोग गर्ने गरेको महिनाको तीन सय रुपैयाँ पनि हो ।
०००
उहाँ आफ्नो साहित्यको सुरुवाती चरण भने बुवाले बेलुकी खाना खाइसकेपछि अगेनाको डिलमा बसेर गर्ने रामायण, महाभारतका कथा तथा श्लोक वाचनलाई मान्नुहुन्छ ।
पछि बुढानिलकण्ठ स्कूलमा गएर त्यहाँको मुखपत्रमा प्रकाशित कथा, कविता भने उहाँका प्रारम्भिक विन्दु रहे । इन्जिनियरिङ पढ्दा पनि उहाँले नलेखेको भने होइन तर प्रकाशित गर्नुपर्छ भन्ने लागेन । पछि केही समय काम तथा आफ्ना विभिन्न कारणले उहाँ साहित्यमा सुस्ताउनु पनि भयो ।
तर, पिएचडीको सिलसिलामा उहाँ जापान पुगेपछि भने त्यहाँ रहेका साथीहरुले मासिक रुपमा निकाल्ने अनलाइन साहित्यिक पत्रिकामा उहाँ सुरुदेखि नै संलग्न हुनुभयो । नेपाली स्टुडेन्ट सोसाइटी इन जापान अर्थात् नेसाज पत्र भन्ने थियो पत्रिका । जापानमै रहँदा उहाँहरुले अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) को जापान शाखा खोल्ने काम गर्नुभयो । उहाँले त्यसको उपाध्यक्षका रुपमा काम गर्नुभयो ।
आफूले रचना गरेका कवितालाई संग्रहका रुपमा उहाँले सन् २००४ मा छाति भित्र देश दुख्दा भन्ने पद्य कविता संग्रह प्रकाशित गर्नुभयो । त्यसपछि भने उहाँले आफ्नो व्यवसायिक कामका अलावा साहित्यलाई निरन्तरता दिँदै आउनु भएको छ । यसका लागि थुप्रै साथीभाइले लेख्न प्रेरणा पनि दिइरहनु भयो ।
कविताका अलावा उहाँ गीतमा पनि कलम चलाउनुहुन्छ । उहाँको पहिलो गीत रचना रिमालको स्वरमा दशैँ आयो भन्छन् गाउँमा दुई वर्ष अगाडि सार्वजनिक भएको हो । आनी छोइङले पनि उहाँको गीत गाउनु भएको छ ।
छातीभित्र देश दुख्दा पहिलो र दोस्रो संस्करण (कविता संग्रह), देशको माटो(कविता संग्रह), महिना र ऋतु तथा बादल पानी (बाल कविता संग्रह), मेरा बीज अक्षरहरु (कविता संग्रह) प्रकाशित भइसकेको छ । उहाँ छिटै नै गीति संग्रह निकाल्ने तयारीमा पनि हुनुहुन्छ ।
उहाँ आफ्नो साहित्य यात्रालाई अघि बढाउन ठूलो भूमिकामा भने साहित्यकार तथा प्राध्यापक ज्ञान निष्ठ ज्ञवालीको नाम छुटाउन चाहनुहुन्न । धेरै बाहिर तिरै काम गरि रहेकामा यहाँको साहित्यिक वातावरण नबुझिएको तथा के लेख्नुभयो नयाँ भनेर निरन्तर अभिप्रेरित गरिरहने व्यक्तित्वका रुपमा पनि उहाँ ज्ञवालीलाई लिनुहुन्छ । उहाँको आफ्नो कृतिको जननीका रुपमा आफ्नो भूमिका भए पनि त्यसको प्रसव पीडा भने ज्ञवालीले धेरै भोगेको भन्न पनि छुटाउन चाहनुहुन्न ।