लोकसंवाद संवाददाता | समाचार | जेठ १६, २०७६
काठमाडौँ । दोस्रो जनआन्दोलनको उपलब्धिस्वरुप दशकौँदेखिको वंशीय परम्पराको अन्त्य गर्दै नेपाली जनताले चुनेको व्यक्ति नै राष्ट्रप्रमुख हुने व्यवस्था सुरु गराउनमा संविधानसभाका सदस्यले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै नेपाल सरकारले १२औँ गणतन्त्र दिवसको भोलिपल्ट २०७६ साल जेठ १६ गते संविधानसभाका सदस्यहरूलाई ‘संविधानसभा पदक’द्वारा सम्मानित गरेको छ ।
मुलुकमा पहिलो पटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । नयाँ संविधान ल्याउन धेरै कोसिस भए पनि अन्ततः पहिलो संविधान सभा संविधान नै जारी नगरी विघटन हुन पुगेको थियो । पुनः वि.सं २०७० मा अर्को संविधानसभाको निर्वाचन सम्पन्न भई दोस्रो संविधानसभाद्धरा नेपालको संविधान जारी भएको थियो ।
राजनीतिक दलको सहकार्य र एकताले नै ९० प्रतिशत बढीको सहभागितामा २०७२ सालमा नयाँ संविधान जारी भई मुलुकले संविधान प्राप्त गरेको थियो ।
यसरी सम्मानित हुने संविधानसभा सदस्यहरू राष्ट्रपति निवासमा संविधान निर्माणको बेलाको क्षणलाई सम्झँदै एकापसमा तस्बिर लिएर खुसी साट्न मै व्यस्त देखिन्थे । संविधानसभाका सदस्यहरू एकै ठाउँमा जमघट हुने अवसर समेत सम्मान कार्यक्रमले जुटाएको थियो । संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको भन्दै पदक पाउँदा संविधानसभा सदस्यहरूको अनुहारमा अलग्गै खालको चमक देखिन्थ्यो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा उच्च मूल्याङ्कन गर्दै पहिलो र दोस्रो संविधानसभामा निर्वाचित उहाँहरूलाई राष्ट्रको तर्फबाट पदकसहित सम्मान गर्नुभएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्हरूलाई सम्मान गरिएको हो । संविधानमा राष्ट्रपतिले राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्नेछ भन्ने उल्लेख छ ।
पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । बिहान र दिउँसो गरेर दुई चरणमा राष्ट्रपतिले पदक प्रदान गर्नुभएको थियो ।
यसरी पदक पाउनेहरूमा सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति रामवरण यादव, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्रीहरू, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नामसमेत पदम पाउनेको सूचीमा समावेश थियो ।
सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र झलनाथ खनालसमेतले शीतल निवास पुगेर राष्ट्रपतिबाट पदक ग्रहण गर्नुभयो । गृह मन्त्रालयले दुवै संविधानसभामा सहभागी एक हजार १०९ को नाम पदक लिनेको सूचीमा राखे पनि पछिल्लो समयमा तीन जना नाम हटाएर एक हजार १०६ लाई मात्रै पदक प्रदान गरेको जनाएको छ । आज उपस्थित भई ७१३ पूर्व सभासद्ले सम्मान ग्रहण गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव महादेव पन्तले ९० जनाको नाम दोहोरिएको जानकारी दिनुभयो । आठ जनाले राजीनामा दिएको, फौजदारी मुद्दा लागेका नौ जनाको अवस्था विचाराधीन रहेको र तीन जना दोषी प्रमाणित भएकाले पदक पाउनबाट वञ्चित भएको उहाँले बताउनुभयो ।
नेपालको इतिहासमा पहिलो पटक विसं २०६४ साल चैत २८ गते प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीअनुसार संविधानसभा सदस्य निर्वाचन भएको थियो । उक्त संविधानसभाले नयाँ संविधान निर्माण गर्न नसकेपछि विसं २०७० मङ्सिर ४ गते अर्को संविधानसभा निर्वाचन भएको थियो । उक्त संविधानसभाले २०७२ साल असोज ३ गते इतिहास मै पहिलो पटक ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो ।
देशमा पहिलो पटक जनप्रतिनिधिमूलक संविधानसभाबाट जारी ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको संविधानले २४० वर्ष अघि देखिको राजतन्त्रन्त्रात्मक व्यवस्थाको अन्त्य गरी देशमा गणतन्त्र र सङ्घीयतालाई संस्थागत गरेको हो । संविधानले नेपाललाई पहिलो पटक धर्मनिरपेक्ष राष्ट्रसमेत घोषित गरेको छ ।
संविधान निर्माणपछि मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरी सरकार गठन गरेर सङ्घीयता कार्यान्वयनमा रहेको कुरा राससको समाचारमा उल्लेख छ ।