लोकसंवाद संवाददाता | समाचार | माघ १२, २०७९
अमेरिका । टेक्सासको डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा मंगलबार हृदयघातबाट निधन भएकी कञ्चनपुरका पत्रकार लक्ष्मण तिवारीकी आमा सोमवती तिवारीको दाहसंस्कारको लागि यहाँका बिभिन्न संस्थाहरुले सहयोग अभियान सुरु गरेका छन ।
नेपाली समाज, टेक्सास, सुदूरपश्चिम नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार संघ लगायतका संस्थाहरुले पत्रकार तिवारीकी आमाको अन्तिम दाहसंस्कारको लागि सम्बन्धित सम्बन्धित निकायमा आबश्यक प्रकृया तथा सहयोगको लागि सहयोग अभियान शुरु गरेको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथले जानकारी दिनु भयो ।
कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. २ भाँसी निवासी पत्रकार लक्ष्मण तिवारीका आमा सोमवती तिवारी र बुवा रमेश तिवारी यही शुक्रबार टेक्सासको फोर्टवर्थमा हुन लागेको कान्छो छोरा आनन्द तिवारीको विवाहमा सहभागि हुन अमेरिकाको टेक्सास आउने क्रममा डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार अकस्मात हृदयघातबाट निधन भएको थियो ।
युनिभर्सिटी अफ मेरिल्याण्डमा पिएचडी अध्ययनका लागि ३ बर्ष पहिले अमेरिका आएका पत्रकार तिवारीका भाई आनन्द तिवारीको आउँदो शुक्रबार टेक्सासको फोर्टवर्थमा विवाह कार्यक्रम तय भएको थियो । आमाको अकस्मात निधन भएपछि पत्रकार तिवारीकी क्यानाडा निवासी बहिनी लगायत नातेदारहरू, शुभचिन्तकहरु टेक्सास आउने क्रम जारी रहेको छ ।
पत्रकार तिवारीकी ५८ बर्षिय आमा सोमवती तिवारीको असामयिक निधन प्रति नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष बिकास राज न्यौपाने, रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीले सामाजिक सन्जाल मार्फत गहिरो दुःख ब्यक्त गरेका छन ।