लोकसंवाद संवाददाता | साहित्य | माघ १४, २०७९
१५ पुस २०७९ को लोकसंवाद अनलाइनमा नेपाल प्रज्ञा प्रतिष्ठानको पेश्की फर्छ्यौट नगर्नेको सूचीमा मेरो पनि नाम रहेछ। मैले पेश्की १ लाख २७ हजार ५००रुपयाँ ( उल्ट्याएर १ लाख ७२ हजार ५००रुपयाँ बनाइएको) लिएको र फर्छ्यौट गर्न ढिला भएको सत्य हो ।
उक्त पेश्की नेपाली भाषाको पहिलो शिलालेख (शाके ९०३ को दामुपालको), दोस्रो (शाके १०१६ को बामु खड्काको), तेस्रो विक्रमसंवत् १३१७ देखि १३२७ को साउना कर्क्यानीको र पश्चिम नेपालको पूर्व मध्य कालको सिङ्गो इतिहासको अत्यन्त महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको शाके १२७९ को पृथ्वी मल्लको विशालकाय शिलालेखलगायत सयौं स्तम्भ, देवल, खम्बा,पत्थरनाउली,शिलालेख आदि रहेको पूर्व मध्यकालको सिंजा साम्राज्यको खस मल्ल शासकहरूको शीतकालीन राजधानी र उत्तर मध्यकालीन दुल्लु राज्यको राजधानी रहेको प्रसिद्ध ऐतिहासिक स्थल दुल्लुमा नेपालकै सबैभन्दा धेरै साहित्यकारहरूको सालिक(भानुभक्तदेखि हालसम्मका २९ जना) लगायत ३१ वटा सालिक युक्त विजया साहित्यिक उद्यान स्थापना गर्ने काम मेरै सोच र संयोजकत्वमा सुरु भएको पनि यहाँलाई जानकारी गराउन चाहान्छु ।
उक्त कार्य सरकारी बजेटबाट नभएर व्यक्तिगत रूपमै गर्दा सबैमा हामीले बनाएका हौं भन्ने भावना रहने र सबैको अपनत्व हुन गई त्यसको संरक्षण र सम्बर्द्धन सहज हुन्छ भन्ने सोचले सालिक निर्माणलगायत काम हामीले विभिन्न दाता व्यक्तिहरूकै सर सहयोगबाट निर्माण गरेका हौं। यसमा संस्थागत रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान र पारिजात स्मृति प्रतिष्ठानको पनि सहभागिता छ। त्यसरी प्राप्त रकमबाट हामीले १८ इन्चको कालो पत्थर( blackstone)को अर्ध कदका सालिक ५० हजारमा मा जयराज बज्राचार्यको ग्वार्को स्थित stone carving बाट निर्माण गरेका हौं( १८ इन्चका सालिक १/२ वटा बनाउँदा अरुले एक डेढ लाखमा बनाउँछन्। )
उक्त सालिकमध्ये १६ थान २ वर्ष अगाडि नै बनेर दुल्लु गइसकेका र बाँकी २०७९ वैशाखको सुरुमा गइसकेका छन्।
सम्बन्धित स्थानमा तारबार गर्ने,द्वार र स्तम्भ बनाउने कामको जिम्मा नगरपालिकालाई भएको र उक्त कार्य कोरोना र स्थानीय तथा प्रदेश एवम् संघको निर्वाचनका कारण ढिला भएको हो। हाल सालिकलाई स्तम्भमा राख्ने काम पनि सम्पन्न भइसकेको छ । यसका साथै सोका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाट मेरा नाममा गएको पेश्की पनि भौ नं ५३३/२०७९/१०/४ बाट फर्छ्यौट भई लगत कट्टी भइसकेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु।
साथै मैले१७ वर्ष नेपाल सरकारको निजामती सेवामा कार्यरत रहँदा तथा त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसमा २६ वर्ष प्राध्यापन र प्रशासनमा सेवा गर्दा वा दैलेखी सेवा समाज, मध्यपश्चिमाञ्चल साहित्य परिषद तथा प्रगतिशील लेखक संघ नेपालको अध्यक्ष तथा लोकवार्ता परिषद नेपाल,अभियान साहित्य प्रतिष्ठान आदि दर्जनौं संस्थामा रहँदा कतै एक रुपैयाँ पेश्की, बेरुजु केही नभएको, १ पैसा भ्रष्टाचार नगरेको, आजसम्म सबै संस्थामा समर्पित भएर दिएको मात्र छु , सित्तैमा एक कप चिया पनि कसैको खाएको छैन। त्यसैले कृपया कतै कसैबाट भ्रम फैलाउने, हिलो छ्याप्ने काम नगरिदिन हुन् हार्दिक अनुरोध गर्दछु।
प्रार्थी
डा. मधुसूदन गिरी
यो पनि
१५ पुस २०७९ को लोकसंवाद डटकममा प्रकाशित समाचार
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पेश्की लिएर फर्स्यौट नगर्ने चर्चित साहित्यकारहरू !