लोकसंवाद संवाददाता | समाचार | जेठ १७, २०७६
काठमाडौ । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथ निर्माणको अन्तिम चरणमा पुगेको छ । ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ ।
वि.स. २०१३ मा सुरु भएको आयोजनाको ट्र्याक २०१६ मा खोलिएको थियो । आगामी असोजबाट बस र मालवाहक ट्रक सञ्चालनमा आउने आयोजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनले भने भने ‘आगामी असोजबाट ठूला सवारीसाधन सहजरूपमा सञ्चालन गर्नयोग्य सडक हुनेछ । कालोपत्रे भने आगामी आर्थिक वर्षको अन्त्यसम्म सकिनेछ ।’
हेटौँडा बुद्धचोकदेखि ललितपुर टिकाभैरवसम्मको ७९ किलोमिटर सडकको काम कान्ति लोकपथ आयोजनाले र टिकाभैरवदेखि सातदोबाटोसम्मको ११ किलोमिटर सडकको काम उपत्यका सडक विस्तार आयोजना र डिभिजन सडक कार्यालय ललितपुरले गर्दै आएका छ । खड्काका अनुसार बुद्धचोक–टीकाभैरव ७९ किलोमिटर सडकमध्ये ४० किलोमिटर कालोपत्रे भएको छ । सडकको चौडाइ साढे आठ मिटर छ ।
विस्फोटक पदार्थका कारण ढिलाइ
चालू आर्थिक वर्षको वैशाखमै मालबाहक सवारीसाधन सञ्चालन गर्ने योजना थियो । तर, भारतले विस्फोटक पदार्थ उपलब्ध नगराएका कारण मालवाहक सवारीसाधन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । करिब ६ किलोमिटर चट्टानी सडक विस्तार गर्न विस्फोटक पद्धार्थ समयमा उपलब्ध नहुँदा सञ्चालनमा ढिलाइ भएको खड्काले बताए । ‘सडक चौडा गर्न आवश्यक विस्फोटक पदार्थ भारतले समयमा उपलब्ध गराएन, त्यसैले वैशाखमा सडक सञ्चालनमा आउन सकेन’ खड्काले भने ।
छोटो दूरीको लोकपथ
हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको दूरी दुई सय २२ किलोमिटर छ । कान्ति लोकपथ निर्माणपछि दूरी एक सय ३२ किलोमिटर छोटिनेछ । ‘तीन घन्टामा ९० किलोमिटर दूरीको यात्रा पूरा हुनेछ,’ खड्काले भने, ‘त्यसकारण समय र इन्धन दुवैको बचत हुने कुरा आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।