माओवादी नेताहरू जुँगाको लडाइँको सिकार: लघुताभास र शब्दजालमा जनयुद्धको मृगतृष्णा !

लोकसंवाद टिप्पणी

माओवादी नेताहरू जुँगाको लडाइँको सिकार: लघुताभास र शब्दजालमा जनयुद्धको मृगतृष्णा !

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन ०२, २०७९


नेपालीमा एउटा उखान छ, ‘इख बिनाको मान्छे र बिष बिनाको सर्पको काम छैन । एजेण्डा भुलेको माओवादी यतिबेला मणि हराएको सर्प र बिना खोजिरहेको कस्तुरी जस्तै भौँतारिरहेका छ ।

माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको २८ वर्ष पुग्दा माओवादी कतिवटा छन् र के–के गरिरहेका छन् भन्ने थाहा पाउन राजनीतिक बुझेकालाई पनि केही मिनेट सोच्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यसको अर्थ जनयुद्ध सुरु गरेको माओवादी शान्ति प्रक्रियापछि टुक्रा टुक्रामा  विभाजित छ । २०६४ सालको संविधानसभा निर्वाचनमा २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थान जितेर सबैभन्दा ठूलो दल बनेको माओवादी गत ४ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्ष मा जम्मा १८ सिटमा खुम्चियो । तेस्रो ठूलो शक्ति बनेको माओवादीले यतिबेला सरकारको नेतृत्व गर्ने अवसर पाएको छ ।

माओवादी देशकै सबैभन्दा ठूलो पार्टी बन्दा आफैंले सुरु गरेको जनयुद्धलाई संविधानमा उल्लेख गर्न नसकेर सशस्त्र द्वन्द्व शब्द उल्लेख गरिएको छ । तर तेस्रो शक्ति बन्दा भने सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिनुलाई ठुलो उपलब्धिका रुपमा लिने ठाउँमा पुगेको छ । 

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको मुख्य कमाण्डर थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी नै अहिले सरकारको नेतृत्व गरिरहेका छन् । देशको अग्रगामी राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको नारासहित  माओवादीले वि.सं. २०५२ साल फागुन १ गतेदेखि युद्ध सुरु गरेको थियो । 

युद्ध सकिएर शान्ति प्रक्रिया सुरु भएको १५ वर्षपछि पहिलो पटक यो दिनमा सार्वजनिक बिदा नै दिइएको हो । यद्यपि सरकारले दिएको बिदाको माओवादी इतरबाट चर्को बिरोध भएको छ । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका एमाले, राप्रपा, काँग्रेससहितका नेताहरुले यसबारेमा औपचारिक रुपमा कुनै टिप्पणी गरेनन् । यसअघि नै बागमती र कर्णाली प्रदेशले सार्वजनिक बिदा दिएका थिए । 

सत्ता साझेदार दल र सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बसेको काँग्रेसले माओवादीका प्रधानमन्त्रीको निर्णयप्रति तीखो प्रतिक्रिया जनाउन सक्ने अवस्था अहिले नै छैन । किनकि यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा  एमाले र काँग्रेस दुवैले माओवादीको साथ खोजिरहेका छन् । 

सबैभन्दा पहिले गणतन्त्रको एजेण्डा बोकेर युद्धमा होमिएको माओवादीले भने अझै आफ्नो राष्ट्रपति पाएको छैन र अब तेस्रो राष्ट्रपति पनि माओवादीबाट नहुने निश्चित जस्तै छ । यद्यपि यसपटक आफूभन्दा बलिया शक्तिलाई पनि माओवादीले यही राष्ट्रपति निर्वाचनको हतियारले केही हदसम्म मौन बनाइदिएको छ । यसपटक सार्वजनिक बिदा दिएपछि आगामी वर्षहरुमा यसको नजीर बस्नेछ । जसको विरोध गर्ने नैतिक आधार काँग्रेस र एमालेसहितका दलहरुले गुमाएका छन् ।

अझै पनि सामूहिक रुपमा अघि बढ्ने, माओवादीका शुभचिन्तकलाई खुसी ल्याउने गरी एउटै माओवादी निर्माण गर्ने पक्षमा  कुनै शक्ति लागेका छैनन् । सोमबार फागुन १ गते जनयुद्ध दिवस मनाउन समेत यी शक्तिहरु एक ठाउँ उभिन सकेनन् । सरकारका तर्फबाट सार्वजनिक बिदा नै दिँदा समेत कुनै ठूलो कार्यक्रम गरेर उत्सवका रुपमा जनयुद्ध दिवस मनाइएन । यसबाट माओवादीको लघुताभास प्रष्ट हुन्छ ।

राजनीतिक केबल सत्ताको सौदाबाजी मात्रै बनेको छ । २०६५ मा युद्धको रफ्तारमा आएर संसदीय मोर्चामा सबैभन्दा ठूलो दल बनेको माओवादीले आफ्नो सोही अनुसारको हैसियत, शक्ति, योग्यता र चातुर्यता प्रदर्शन गर्न नसक्दा निरन्तर ओरालो लाग्दै आएको छ  ।बरु माओवादी नामको अनेकौं चुलाचौका बसाउनुलाई गन्तब्य बनायो ।

माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीजस्ता समूह देखिने गरी क्रियाशील छन् । कतिपय नेताका अलग अलग पार्टी बनेका छन् । जसको कुनै गणना पनि हुँदैन र राजनीतिमा कुनै मूल्य स्थापित गर्न पनि सकेका छैनन् । 

जनयुद्धका मुख्य पहलकर्ताहरुमध्ये पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, डा.बाबुराम, रामबहादुर थापा बादल चारतिर भएका छन् । जनयुद्ध र त्यसपछि पनि प्रभावशाली भूमिका खेलेका नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला जस्ता नेताहरु अलग अलग पार्टी बनाएर बसेका छन् ।

जसले माओवादीलाई मात्रै होइन, माओवादीलाई एकजुट देख्न चाहने सपना बोकेकाहरूलाई पनि टुक्रा पारिदिएको छ र निराश बनाइदिएको छ । यी सबै शक्तिमा जुँगाको लडाइबाहेक कुनै ठूला राजनीतिक, सैद्धान्तिक मतभेद छैनन् । छन् त केबल स्वार्थका शब्दजाल ! यी नै स्वार्थका शब्दजालमा माओवादीहरु विभाजित बनेका छन् । आफैंमा बिना हराएको कस्तुरी र मणि हराएको सर्पजस्तो भौँतारिएका छन् ।

तर अझै पनि सामूहिक रुपमा अघि बढ्ने, माओवादीका शुभचिन्तकलाई खुसी ल्याउने गरी एउटै माओवादी निर्माण गर्ने पक्षमा  कुनै शक्ति लागेका छैनन् । सोमबार फागुन १ गते जनयुद्ध दिवस मनाउन समेत यी शक्तिहरु एक ठाउँ उभिन सकेनन् । सरकारका तर्फबाट सार्वजनिक बिदा नै दिँदा समेत कुनै ठूलो कार्यक्रम गरेर उत्सवका रुपमा जनयुद्ध दिवस मनाइएन । यसबाट माओवादीको लघुताभास प्रष्ट हुन्छ ।