धनचन्द्र राई | साहित्य | फागुन ०२, २०७९
हिजो म पत्थर थिएँ
तिम्रो चुटाई खाँदा खाँदा
धुलो पिठो भएँ,
मिहिन भएँ
र, तिम्रै पसिनाले लुपुक्क भिजेर
आज म हिलो भएको छु ।
पत्थर अहङ्कारी हुन्छ,
बदलिन मान्दैन
पत्थर निर्दयी हुन्छ
पग्लिन मान्दैन
तर तिमीले मलाई
पगाली छाड्यौ
अब बदल्न सक्छौ
चाहे तिमीले
कोठामा सजाउने देवता बनाऊ
चाहे तिमीले
बच्चाहरु तर्साउने दैंत्य बनाऊ
तिम्रै खुशी ...
पत्थरहरू ओरालो लड्न सक्छ
उकालो चढ्न सक्दैन
पत्थरहरू अक्षर पढ्न सक्छ
भावना पढ्न सक्दैन
पत्थरहरू बाँच्न सक्छ
अमर हुन सक्दैन
पत्थरहरू पुजिन सक्छ
पूज्य हुन सक्दैन
म त हिलो हुँ हिलो
पानीमा घुलेर सँगै बग्न सक्छु
घाममा सुकेर हावामा उड्न सक्छु
आगोमा जलेर खरानी बन्न सक्छु
चाहे तिमीले
पानीमा घोलेर समुन्द्र छुन पठाऊ
चाहे तिमीले
हावामा मिसाएर आकाश छुन पठाऊ
चाहे तिमीले
आगोमा जलाएर खरानी बनाऊ
तिम्रै खुशी .....।
तिमीलाई
यो सुनौलो अवसर हो
भोली घामले डामेपछि
हिलो, हिलो रहँदैन
बरु आजै,
न्यायको मुर्ति बनाऊ
आँखामा पट्टि बाँधेर
अदालतको गेटमा छाडि देऊ
तराजुमा तिम्रो इन्साफ नापौँला
या त,
सेवकको सालिक बनाऊ
घाँटीमा टाई बाँधेर
तिम्रो अफिसको आँगनमा राखि देऊ
घाम हेर्दै दिन काटौँला
कि त,
तिम्रै सालिक बनाऊ
छातिमा मेरो नाम कुँदेर
तिम्रै घरको गेटमा राखि देउ
तिमीलाई हेर्दै जीवन बाँचौँला
जे जे गर्छौ गर
म हिलो हुँदै गर
तिम्रै खुशी..... ।
२०७९ जेठ २७ धरान