हरिविनोद अधिकारी | दृष्टिकोण | फागुन ०६, २०७९
दुःख र सुखका पनि आफ्नै मानकहरू रहेछन् जीवनमा । के हुँदा दुःख लाग्छ र के हुँदा सुखको अनुभूति हुन्छ, त्यो पनि समय सापेक्ष हुने रहेछ । श्रीमद्भागवतमा एउटा प्रसङ्ग आउँछ , विष्णुका धेरै अवतारमध्ये कपिल देवको जन्ममा पनि विष्णुको दैवी क्षमताको अंश थियो । ब्रह्माका पुत्र कर्दमका पुत्रका रुपमा भगवान कपिलको जन्म भएको थियो स्वायम्भूव मनुकी छोरी देवहूतिबाट ।
भगवानले दिएको आशीर्वादका कारणले कपिल देवको जन्म भएकाले ऋषि कर्दम र मनु र सतरुपाकी छोरी देवहूतिले समेत आफ्नै छोरा कपिललाई नै भगवानको अवतारको रुप मानेर सुख दुःखको कारण सोधेका थिए र कपिल देवले यसको आधार मानिसको मन हो भन्दै मुक्तिको आधार भक्तिलाई मानेका थिए ।
खासगरी आध्यात्मिक विचारले मात्र दुःखको कारणलाई समाधान गर्न सक्नेछ र सुखको अनुभूति गराउने छ । दुःख मानसिक पीडा हो र त्यसको मुख्य आधार लोभ, हिंसा र परपीडन हो । अर्थात् परपीडनलाई दोहोरोरुपमा लिन सक्छौँ । अरुबाट अनावश्यकरुपमा अनपेक्षित पीडा पाउनु पनि दुःखको कारण हो भने आफूले विना कारण अरुलाई झन्झट दिएर, अन्त्य हीन पीडा दिनुले पनि दुःखको सुरुवात हुन्छ । सुख भनेको दुःखको विपरीत अर्थ होइन तर हामीले दुःखको कुनै पीडा तत्काल नहुनुलाई पनि सुख मान्ने गरेका छौँ । दुःख र सुखको पक्ष विपक्षमा बहस गर्नुभन्दा सहज जीवनको आधार तयार गर्नुपर्छ भन्ने लाग्छ ।
पूर्वीय चिन्तनमा भक्ति भाव धारालाई परमार्थको आधार मानिएको छ र भगवानप्रतिको आस्थालाई शरणागति मानिएको छ । चित्तलाई शुद्ध राख्ने अर्थात् आत्माको शुद्धतालाई जीवनमा कार्यान्वयन गर्ने । शुद्धता भनेको सत्य प्रतिको आस्था हो । सत्य भनेको नैतिकताको परख हो । नैतिकवान हुनु भनेको धार्मिक हुनु होइन , बरु समसामयिक समाजका मानकहरूको पालना गर्नु हो ।
प्रत्येक समाज परिवर्तनशील हुन्छ, प्रगतिशील हुन्छ, गतिशील हुन्छ र आफ्ना साँस्कृतिक मान्यताको पिँजडामा जकडिएको हुन्छ । कतिले साँस्कृतिक मान्यतालाई परिवर्तन गरेर नयाँ बाटो तयार गर्न सक्छन् भने कतिले साँस्कृतिक मान्यताभित्रै आफूलाई समर्पित गरेर पनि सुधारको बाटो तयार गरेका हुन्छन् ।
पूर्वीय चिन्तनमा जहिले पनि परमार्थको कुरा आउँछ जसले सबै मानिसहरुलाई समवेत सोचाइका लागि प्रेरित गरेको हुन्छ र यो विश्वलाई एउटा परिवारको रुपमा स्वीकार गरी बसुधैव कुटुम्बकम् भनेर भनिएको छ । सबैको शान्तिको पाठ गरिन्छ जसमा प्रकृतिको पूजा गरेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिन्छ । वास्तवमा शान्तिले नै दुःखको निवारण गर्छ ।
हामीजस्ता औसत नागरिकहरुका लागि समाजलाई परिवर्तन गर्न लामो समय लाग्ने हुन्छ एकातिर भने समाजको कुनचाहिँ साँस्कृतिक विन्दुबाट परिवर्तन गर्ने भन्ने पत्ता लगाउन पनि समय लाग्छ । व्यक्तिलाई सम्झाउन सकिन्छ तर त्यही व्यक्ति समाजमा समाहित भएका बेलामा उसले परिवर्तनका पक्षमा, रुपान्तरणको पक्षमा बोल्न सक्दैन ।
एक्लै हो भन्छ तर समाजमा मौन बस्छ र आफ्नो व्यक्तिगत चाहना जस्तो भए पनि सामूहिक रुपमा त्यसको न त पक्षमा , न त विपक्षमा बोलेर परिवर्तनको चाहना पूरा गर्न सक्छ । मैले जतिसुकै जातपातको विरोध गरे पनि र पुर्खाले गरेको अतीतको गल्तीमा जतिसुकै पश्चाताप गरे पनि आजको मेरो समाज झन झन जातीय र साम्प्रदायिक रुपमा विभाजित भएको छ ।
त्यतिमात्र होइन, संविधान र कानुनमा समेत दोहोरो मापदण्डका आधारमा जात, पातको पक्षमा वकालत गरिरहेका छौँ । एकातिर जातपातको कुरा गरेर समाजलाई दुरुत्साहित गरेको ठान्छौँ र त्यसलाई गैरकानुनी ठान्छौँ भने अर्कोतिर समाजलाई जातपातको आधारमा विभाजित गरेर जागिर, राजनीति र आर्थिक सुविधासहित सामाजिक सुरक्षाको निहुँमा विभाजनको रेखा कोरेर राखेका छौँ ।
जातीय र साम्प्रदायिक रुपमा विभाजन गर्नु हुँदैन र सबै मानिसहरु बराबरीको हुन् पनि भनेका छौँ । तर संसदभित्रको समेत अवस्था कस्तो छ भने समावेशीको नाममा कुनै सम्प्रदाय विरुद्ध एकाकार भएर गएको भान हुन्छ । किशोरहरुमा, युवाहरुमा एउटा असन्तोष बढेको देखिन्छ आरक्षणका नाममा । आरक्षण कसका लागि ? कमजोरका लागि ।
समाजमा कमजोर देखिने व्यक्ति, परिवार र समाजका लागि । तर कतिपटक ? कहिलेसम्म ? एउटै कक्षामा पढेका तर आर्थिक रुपमा विपन्न किशोरहरुमा कसैले आरक्षणको सुविधा नपाउने, अनि आर्थिकरुपमा सम्पन्न तर संविधानले दिएको भनेर आरक्षणको सुविधा पाउने भन्ने समाजको नयाँ विभाजनको कारणले युवाहरुमा नयाँ विद्रोह बढ्ने सम्भावना देखिन्छ ।
हामीले सामाजिक न्यायको कुरा गर्दा भन्ने गरेका छौँ सकारात्मक विभेदका विषयमा । विभेद आफैँमा सामाजिक अन्याय हो तर सकारात्मक विभेदका पक्षमा हामीले भन्दै आएका हौँ । तर सामाजिक समानताको समयसीमा कहिले सम्मका लागि ? कस्तो अवस्थामा सामाजिक सकारात्मक विभेदलाई सामाजिक न्यायको आधार मान्ने ?
सामाजिक न्यायको आपूर्ति गर्ने भनेको समाजको सुखका लागि ह , समाजमा रहेका विभिन्न अन्यायमा परेका व्यक्ति तथा समुदायको दुःखको अन्त्य गर्नका लागि हो । तर त्यही सामाजिक न्यायको आधारले फेरि समाजमा विभेद ल्यायो र हजारौँ वर्षदेखि मिलेर रहेका समुदायहरूका बिचमा आपसमा मनमुटावको आधार बनायो भने त्यसले समाजको सुधार भएको मान्ने कि समाजको विभाजनको आधार मान्ने ? त्यसैले सुख र दुःखको पक्षलाई कसरी अर्थ लगाउने ?
एउटा कुरा भने स्पष्ट छ, मानव अधिकारको पक्षमा, मानव अधिकारको कटौतीको कुरामा कसैसँग सम्झौता गर्नु हुँदैन तर आजको संसारमा मानव अधिकारको समेत अनेक अर्थ लगाइँदैछ । संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८को डिसेम्बर १०मा, घोषणा गरेको थियो त्यसको घोषणा गरिएको बेलादेखि नै त्यसको पालना गर्ने भनेर संयुक्त राष्ट्रसंघका सदस्य देशहरुले शपथ खाए पनि त्यसको पालना नभएको भनेर उजुरी परेको परेकै छ र राष्ट्रसंघका सुरक्षा परिषदका स्थायी सदस्यहरूकै देशमा मानव अधिकार हननको विषयमा छलफल गर्नु पर्ने अवस्था छ र मानव अधिकार परिषदका स्थायी सदस्यहरु नै आफैँले मानेको बुँदाहरूको पालना पनि नगर्ने अनि आफ्नो शासन प्रणालीलाई सुहाउने गरी अर्थ लगाउने गरेका छन् । सायद त्यसैले पनि होला, विश्वव्यापीरुपमा समताको आधारमा एउटा देश र अर्को देशका बिचमा व्यवहार पनि हुन सकेको छैन र सामाजिक न्यायका पक्षमा राम्रोसँग अनुगमन पनि हुन सकेका पाइँदैन ।
कसरी समाजमा समानता, परिवारमा समानता, देशहरुका बिचमा समानता कायम गर्ने ? कसरी विश्वभर नै दुःखको अवस्थाबाट मुक्त गराउने ? कसरी भोक, रोगबाट मुक्त गराउने, आवासको व्यवस्था गराउने, सुरक्षाको प्रवन्ध गराउने ? यी कुराहरुले सधैँ झकझकाउने गरेका छन् ।
पूर्वीय चिन्तनमा जहिले पनि परमार्थको कुरा आउँछ जसले सबै मानिसहरुलाई समवेत सोचाइका लागि प्रेरित गरेको हुन्छ र यो विश्वलाई एउटा परिवारको रुपमा स्वीकार गरी बसुधैव कुटुम्बकम् भनेर भनिएको छ । सबैको शान्तिको पाठ गरिन्छ जसमा प्रकृतिको पूजा गरेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिन्छ । वास्तवमा शान्तिले नै दुःखको निवारण गर्छ । आत्मिक सुखको निर्माण गर्छ जस्तो मलाई लाग्छ । क्रमशः