लोकसंवाद संवाददाता | समाचार | फागुन १४, २०७९
मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा 'प्रथम मुलुक' घोषित भएको छ ।
आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्टिले एशियाली मुलुकमध्ये 'शीर्ष दश' भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताउनुभयो ।
साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्नुहुँदै उहाँले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताउनुभयो ।
समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो ।