लोकसंवाद संवाददाता | समाचार | जेठ १७, २०७६
भारतको लोकसभा २०१४ र २०१९ को निर्वाचनमा भारतीय जनता पार्टीलाई अत्यधिक मतकासाथ विजयी बनाउने अभियानका मुख्य पात्र हुन भारतीय जनता पार्टीका अध्यक्ष तथा नवनियुक्त गृहमन्त्री अमितभाई अनिल चन्द्र शाह अर्थात अमित शाह ।
मोदीको दोस्रो कार्यकालमा शाह क्याविनेटमा आएपछि मोदी–शाहको केमेस्ट्री फेरी एकपटकमा चर्चाको शिखरमा छ । सन् २०१४ को लोकसभा चुनावबाट प्रधानमन्त्री भएका नरेन्द्र मोदीको चुनावी अभियानका महत्वूर्ण रणनीतिकार हुन अमित शाह । ९ जुलाई २०१४ देखि भाजपाका अध्यक्ष बनेका शाह राजनीतिमा आउनु अघि स्टक ब्रोकर थिए । सन् १९६४ अक्टुबर २२ मा मुम्बईमा जन्मिएका शाहको परिवार गुजरातको पाटन जिल्लामा पर्ने चन्दुर गाँउको सम्पन्न परिवारमा गणना हुन्छ ।
बायो केमेस्ट्रीका विद्यार्थी रहेका शाह र मोदीको केमेस्ट्री गुजरातको क्याबिनेट देखि दिल्लीसम्मको यात्रामा निकै जमेको देखिन्छ । कुनै बेला भाजपामा बाजपेयी–आडवाणीको जोडी जमेको जस्तै । शाह र मोदीको भेट सन् १९८२ मा भएको थियो । १९८३ मा अखिल भारतीय विद्यार्थी परिषदमा शाह सदस्य भएका थिए । शाह १९८६ मा आएर भाजपामा आबद्ध भएका थिए । १९८७ मा शाह युवा मोर्चाको सदस्य बनेका थिए । सन् १९९१ मा भएको चुनावमा लालकृष्ण आडवाणीको चुनावी अभियानका मुखिया यिनै शाह थिए ।
शाहले त्यसपछि १९९६मा अटल बिहारी बाजपेयीको चुनाव प्रचार प्रसारको प्रमुख भएर पनि काम गरेका थिए । चुनावी हिसाब र समिकरणका लागी मास्टर माइण्ड समेत मानिने उनलाई पार्टी भित्र ‘शहंशाह’ भनेर पनि चिन्छन् नेता तथा कार्यकर्ताले । व्यक्तिगत सम्पर्कका बारेमा कुरा गर्ने हो भने आफुलाई आएको एउटा पनि फोन कल छुटाउँदैनन् । अनि लामै कुरा गर्छन फोनमा ।
सन् १९९७ मा पहिलो पटक विधान सभा उपचुनाव लडेका शाह सन् २००३ देखि २०१० सम्म गुजरातका गृहमन्त्री रहेका थिए । उनले ४ पटक गुजरात विधान सभाको चुनाव जिते । सन् २०१७ मा शाह गुजरातबाट राज्यसभा सदस्य निर्वाचित भएका थिए । तर सन् २००४मा भएको एउटा फर्जी इन्काउण्टरमा १९ जनाको हत्याको आरोपमा उनलाई २५ जुलाई २०१० मा प्रहरीले पक्राउ गरेपछि उनी विवादमा मुछिएका थिए । गुजरात क्रिकेट बोर्डका अध्यक्ष समेत भईसकेका शाहलाई गुजरातमा धराशायी भएको बैंकिगं सेक्टरलाई सुदृढ बनाउने श्रेय प्राप्त छ ।
मोदीको गुजरात विकास मोडलमा उनको महत्वपूर्ण योगदान रहेको भारतीय मिडियामा चर्चा हुने गरेको छ । उनि फेरी एक पटक त्यसबेला चर्चामा आए जब २०१४ को लोकसभा निर्वाचनमा शाहलाई भाजपाले उत्तर प्रदेशको इन्चार्ज तोक्यो । उत्तर प्रदेशमा १० सिटमा सीमित भाजपालाई ७१ सिटको जित दिलाउन सफल रहे शाह । विभिन्न मिडिया रिपोर्टका आधारमा आफ्नो जीवनमा संगठन र अन्य गरी लगभग ४२ चुनाव लडेका शाहले कुनै पनि चुनाव हालसम्म हारेका छैनन् । भाजपाले अध्यक्ष शाहलाई चाणक्यका रुपमा समेत लिने गरेको छ । भारतको केन्द्रीय सत्ताको राजनीतिमा उत्तर प्रदेशको केमेस्ट्री निकै चर्चित छ । यसअघि शाह उत्तर प्रदेशको इन्चार्च हुँदै मोदीलाई २०१४को निर्वाचन जिताउन सफल भए । फलस्वरुप मोदी प्रधानमन्त्री र शाह पार्टीको अध्यक्ष हुन पुगे । अध्यक्ष शाह मोदी क्याविनेटमा आएसँगै भाजपाको अध्यक्ष को हुने विषय चर्चामा छ । यसपटक उत्तर प्रदेशको प्रभारी भएका जेपी नड्डाको नाम अध्यक्षका लागी चर्चामा रहेको छ । सत्ताको बाटो युपी हुँदै जाने पुरानो परम्परा त छँदै थियो अब भाजपाको नेतृत्व पनि युपीको बाटो हुँदै तय हुनसक्ने सम्भावना रहेको देखिन्छ । भाजपामा एक व्यक्ति एक पदको नियम लागु छ ।