हरिविनोद अधिकारी | दृष्टिकोण | चैत ०४, २०७९
बालापनका कुरा । आफ्ना बालापनका कुरा त अब कतै कतै सम्झनामा झल्याक्क झुलुक्क आउँछ त्यो पनि प्रसङ्गमा । मेरो मावल पगरबासको अमल बोट भन्थे क्यारे, ढुङ्गेल गाउँमा थियो । थियो भन्नु पर्यो किनभने ठुला मामा धीरप्रसाद उपाध्याय ढुङ्गेल समेत महोत्तरीको पाटुमा आउनु भयो धेरै वर्ष अघि ।
सानो मामा कृष्णप्रसाद उपाध्याय ढुङ्गेल धेरै पहिले नै धनुषाको बेंगाडावरमा बस्नुभएको थियो, २०२७साल भदौमा उहाँको निधन भयो उपचारकै क्रममा जनकपुरमा । उहाँको निधनपछि हजुरआमा , माइजुहरू, बहिनी र मामाको निधनको झन्डै एक महिनापछि जन्मेको भाइ माधवसहित लाल गढमा बसाइ सर्नुभयो । अझै पनि सानी माइजुसहितको परिवार लाल गढमा नै छन् । ठुला मामाका छोराहरु सीताराम बर्दिबासमा बस्छ ,सानो भाइ विनोद मामाको पुर्खौली घर पाटुमा नै बस्छ । सम्झन खोजेको के हो भने मावल भनेर म सानामा आमासँग पगरबास गएको हुँ । पछिल्लो पटक पगरबास गएको २०३१ सालको फागुनमा हो जुनबेला मामाकी ठूली छोरी मञ्जुको विवाह भएको थियो ।
बालक बेलामा मावल एउटा आकर्षित ठाउँ हुन्थ्यो र अहिले पनि मावल जाँदा सानी माइजु हुनुहुन्छ , ठुला मामाका छोराहरुले हामीलाई अत्यन्तै आदर गर्छन्, त्यसैले मावल पुग्ने भनेपछि अहिले पनि मन खुसी हुन्छ । म मेरो मावलको हजुरबाको पहिलो नाति सन्तान भएकाले पनि होला, माया अरुभन्दा बढी नै पाएको अनुभूति हुन्थ्यो ।
विद्यालयमा औपचारिकरुपमा भर्ना भएपछि बालापन चोरी हुन थाल्यो । आफ्ना आफ्ना बेलाका बालापनको आफ्नै महत्व हुने गर्छ । हाम्रा बेलामा खेलकुद पनि सीमित थिए, कपर्दी, डन्डीबियो, दौडने, कोसी छेउका साथीहरुका लागि बस्तुभाउ हेर्न जाँदा पौडी खेल्ने । हामी खोलाका छेउतिर बस्नेले खोलो छिटो तर्ने कुरामा ध्यान दिन्थ्यौँ । जसरी पनि बालापनले पर्खेर बस्ने होइन । त्यो त समय हो । उमेरले कामको बोझ, पढाइको निरन्तरतासँगै दायित्वको बोझ या घरको दायित्व बहन गर्नुपर्ने हुँदा हाम्रा समवायका साथीहरुले पढाइ छोडेका हुन् ।
पढ्न जान पाएनन् आर्थिक कारणले, पारिवारिक कारणले र सामाजिक कारणले । तर हामीभन्दा पहिलो पुस्ताले पढ्न थालेको हो उच्च शिक्षासमेत । तर त्यो साह्रै विकट थियो किनभने त्यो बेलामा राजधानी या जनकपुरसम्म नै आउनु पर्थ्यो उच्च शिक्षाका लागि । यसरी यताबाट उता,उताबाट यता गर्दागर्दै ती स्वर्णिम दिनहरु आफैँ कता हराएछन् कता । तर पनि बालापनको याद नहुने को पो होला र ? अहिले पनि हामी खासगरी सानाका साथीहरु, विद्यालयका साथीहरु र कलेजका साथीहरु भेट्दा एउटा सम्मोहनको अनुभूति हुन्छ । खासगरी विद्यालयका साथीहरु भेट्दा त्यही समयका पुगिँदो रहेछ, कलेजका साथीहरु भेट्दा त्यही बेलामा परि भ्रमण गरिने रहेछ । कहिलेकाहीँ पुराना साथिहरु भेटिने सल्लाह हुँदा विभिन्न कारणले भेट गर्न नसक्दा मन खिन्न हुने हुन्छ ।
अहिले नातिनीहरूको माया, झगडा, तत्कालको माया, अनि झर्को फर्कोले जीवनको यो उत्तरावस्थालाई हरियो बनाएको छ । हजुरबा चन्द्रकान्त उपाध्यायका तीनवटा छोराहरु, तीन ओटी छोरीहरूका हामी सन्तानहरु थुप्रै भइसक्यौँ । अझ मेरै पनि ७ भाइ र दुई बहिनीका सन्तानहरु को कता छन् भनेर एकछिन घोत्लिनु पर्छ र बल्ल सम्झना आउँछ ।को कता बस्छौँ, को कता ।
सबै भेला हुने भनेको दसैंमा हो, पितृ कार्य र देव कार्यमा हो । हामी भेटिन्छौं । हाम्रा बा का दुई पत्नीहरूका सन्तानहरु सामान्यतया कहिलेकाहीँ मात्र भेटिन्छौं । अहिले मसँग चाहिँ बारम्बार भेट हुने भनेका घरमा जेठो छोरो सिद्धि विनोद र बुहारी विजया अनि उनीहरुका दुई ओटी छोरी विश्रुता र आरुषि, कान्छा छोरो पुलकित विनोद र बुहारी ज्योति सँगै छन् । छोरीहरु करुणा, ज्वाई साहेब प्रदीप पौडेल, नातिनी सुदेष्णा, अर्की छोरी अरुणा, ज्वाईँसाहेब रवि काफ्ले, नातिनी प्रसिद्धि, कान्छी छोरी अर्चना अनि ज्वाईँसाहेब नवराज सापकोटा, नातिनी अदिति जब जब हामीलाई नियाँस्रो लाग्छ, या उनीहरुलाई नियाँस्रो लाग्छ तत्काले भेटघाट हुन्छ । अनि म ती नातिनीहरूको बालापनलाई नियाल्छु ।
त्यसैले मेरा नातिनीहरूले आफ्नो बालापनको याद भोलि कसरी आफ्नै मस्तिष्कको कम्प्युटरलाई सम्झनामा बटुल्ने हुन् ? मेरो जिज्ञासा रहेको छ किनभने मलाई थाहा छ उनीहरुको काय बोझको बेलामा म रहने छैन ।
मेरो काखमा कसरी उनीहरुको बालापन सुरु भयो र अब बिस्तारै उनीहरुको बालापनलाई उनीहरुको कार्य बोझले उछिन्न थाल्यो । मैले आजभन्दा तीनवर्ष पहिले एउटा कविता लेखेको थिएँ उनीहरुको बालापनका बारेमा । आफ्नो बालापनको अलिकति सम्झना गर्दै । सबै मेरा भाइ बहिनी तथा छोराछोरी अनि नातिनीहरूको बालापनको म मात्र एक साक्षी हुँ ।
कविता
२०७६/१०/१२(२०२० जनवरी २६)
तिमी नरोऊ है , तिम्रो बालापन हराउँदै छ तर कतै पछि भेटिएला.....
मलाई मेरो बालापन हराएकोमा अब कुनै दुःख छैन
किनभने त्यो बालापन थाहा नपाउँदै हराएको थियो
अहिले मेरो काखैमा तिम्रो बालापन खेलिरहेको छ
र बिस्तारै तिम्रो बालापन खोसिँदै छ मेरो अघिल्तिर
तिमी मेरो काँधमा उभिएर फोटोका पोज दिन्थ्यौ
र मेरो काखमा अर्को कोही पनि लुटुपुटु नगरोस् भन्ने
ईष्र्यामा हुन्थ्यौ र त मेरो बाजे पन सुकेको ठुटोमा
हरियाली आएको थियो तर
अब तिमीले मात्र स्कुल जाने हतारोमा
होमवर्क को भ्याइनभ्याइ र राम्रा नाना र मिठा खाजामा
आफ्नो बालापन बिर्सन लाग्यौ
समयले त कसलाई पो पर्खेको छ र ?
न मलाई पख्र्यो न अरु कसैलाई
तर तिम्रो बालापन मेरै काखमा कसरी हराउन थाल्यो
मैले नै थाहा पाइन नातिनी ,थाहै पाइन
मलाई तिम्रो बाबु पनि सानै लाग्छ अहिले पनि
तिम्रा अरु हजुर बाहरु , फुपू बज्यैहरु र फुपुहरु अनि काकाहरू
सबै नै साना लाग्छन् र तिनका पनि बालापन यसैगरी
मेरा काखमा खेल्दा खेल्दै हराएका थिए
तर उनीहरुको बालापन हराओस् भनेर धेरै कुरा सिकाए
अहिले मेरै काखमा तिम्रो पनि बालापन हराउन खोज्दा
मलाई साह्रै माया लाग्यो र अमूल्य बालापन कसरी जोगाउने भन्ने चिन्ता लाग्यो
त्यसैले म तिम्रा प्रत्येक क्षणका फोटाहरु फेसबुकमा राख्न चाहन्छु
अचेल जुकरबर्ग भाइले पनि मेरा ती फोटाहरु मलाई नै सम्झाउन राख्ने गर्छन्
अनि म झन भाव विह्वल भएर तिम्रा बालापनको पक्षमा
वकालत गर्छु आफैँसँगऔ कसरी म तिम्रो बालापनलाई जोगाउन सक्छु ?
समयसँग त कालको त केही लाग्दैन,जो आफैँ समय हो बितेर जान्छ क्षण भरमा नै
मैले त समयलाई किन बाँधेर राख्न सक्थेँ र ? राख्नु पनि हुँदैन
र पनि मेरी नातिनीको त्यो स्वतन्त्र बालापन जसलाई मैले पनि मलजल गरेर
तिमीलाई स्वतन्त्र नागरिक बनाउन मद्दत गरिरहेको छु
सबैले तिमीलाई स्वच्छन्द बनाउन मद्दत गरेका छन्
ती सबै तिम्रो बालापन हराउन थालेकोमा खुसी व्यक्त गर्दै केक काट्छन्
म पनि एक मनले त खुसी छु तिम्रो किशोरावस्थाको प्रवेश हुने समयका लागि
तर त्यो मेरो काँधमा उभिएर हात समाएको अनि
मसँग फोटो खिचाउन पोज दिएको
मुख भरि माम राखेर पोको पारेका
मलाई पछिल्तिर बाट झ्याप्प समाएर बुई चढेको
अनि हाक्की हाक्की भन्दै मनेर आएर अर्कैतिर लागेको
त्यो स्वच्छन्द अनि निस्फिक्री अन्दाज त हराउने नै भयो
मलाई अरुको बालापनभन्दा पनि तिम्रो बालापनको समय समाप्त हुन लागेकोमा
ठूलो चिन्ता यसकारणले लाग्न थालेको छ कि
तिम्रा स्वतन्त्रताका दिनहरु अपहरण हुन थालेका छन्
ती दिनहरु फेरि कहिल्यै नआउने गरी अस्ताउने भएका छन्
अनि मैले फेरि त्यसरी तिमीलाई हाक्की हाक्की भनेर खेलाउने दिन आउने छैनन्
अब त तिमी पनि समयको प्रवाहसँगै आफूलाई थाहै नपाई
हेलिएकी निरीह प्राणी भएकी पाउने छ्यौ अनायाश आफैँलाई
तिम्रो जीवन तिम्रो अधीनमा पनि हुनेछैन र हाम्रो अधीनमा पनि हुनेछैन
मात्र समयको जिम्मामा पुगेकी हुनेछ्यौ ।
तिम्रो बालापनको त्यो उत्तरार्द्धमा म खुसी हुँ कि रोउँ ?
न त्यो तिम्रो अधीनमा छ , न त्यो मेरो अधीनमा छ
र पनि तिम्रो बालापनको
मीठो सम्झना मलाई बाँचुन्जेलसम्म किन पनि रहने छ भने
तिमी मेरो त्यस्तो सन्तान भएकी थियौँ जसले
मलाई बुढौलीमा पनि अपरिमित खुसीको रसास्वाद गराएको थियो
सन्तति तन्तुको मीठो मायाको स्वाद पहिलो
मिठास चखाएको थियो समयले तिम्रा नाउँमा
त्यसै त्यसै म आह्लादित भएको थिएँ तिम्रो अनुहार हेर्नका लागि
र जब देखेँ त्यसै हराएँ आफैँमा
म पनि बाजे भएँछु भनेर एउटा अर्कै स्वाद जीवनमा चाखेर ।
बालापन तिम्रो जाँदा मेरो पनि बालापनसँग खेल्ने बालापन हराउला जस्तो छ
कतैबाट थाकेर आउँदा पनि ताजा गराउने तिम्रा ती बोलीहरु अब
ल्यापटप र गृहकार्यमा व्यस्त हुनेछन्
म नजिक आएको वा नआएको केही थाहा किन हुने छैन भने
तिम्रा भविष्यका बाटाहरु मेरा निकटताले भन्दा पनि
आफ्ना मिहिनेतले खनिने छन्
तर पनि तिम्रा बालापनका ती स्मृतिहरू
म नहुँदा पनि कतै भेटिएलान् जतनसँग खुसी भएर हेर्नु
र बाजेसँग बिताएका ती क्षणहरूलाई स्मृतिमा ताजा राख्नू ।
लेख्न त लेखेँ आजको प्रविधिको आधारमा । मैले विद्यार्थीको रुपमा, शिक्षकको रुपमा, तालिम संयोजकको रुपमा र अनलाइन प्रशिक्षकको रुपमा भोगका धेरै तरिका अब उनीहरुको बेलामा बाँकी रहलान् कि नरहलान् ? विज्ञान प्रविधिले सूचनाको र ज्ञानको क्षेत्रमा गर्ने अनेक उपायहरु मध्ये कति हिजोको गर्भमा विलीन भइसके र अब कति अहिलेकै सबैभन्दा राम्रो भनेको प्रविधि अब कति दिनमा फेरि देख्न नपाइने गरी लुप्त हुने हो , थाहा छैन ।
त्यसैले मेरा नातिनीहरूले आफ्नो बालापनको याद भोलि कसरी आफ्नै मस्तिष्कको कम्प्युटरलाई सम्झनामा बटुल्ने हुन् ? मेरो जिज्ञासा रहेको छ किनभने मलाई थाहा छ उनीहरुको काय बोझको बेलामा म रहने छैन । क्रमशः