लोकसंवाद संवाददाता | समाचार | चैत ०८, २०७९
सुनसरी । ८४ औं बर्षमा प्रवेश गरेका नेपाली कविताका शिखर–साधक बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई धरानमा शनिबार नागरिक अभिनन्दन गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले धरानको सैनिक भवनमा अभिनन्दन गर्नु अघि उनलाई रथारोहण का साथ नगरपरिक्रमा गरिएको थियो ।
याक्थुङ लिम्बू समुदायका मुन्धुमविद् समेत रहेका काइँला को अभिनन्दनमा मौलिक याक्थुङ समुदायको येवा–फेदाङ्मा–साम्बा, महिला समुहको नौमती बाजा, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, किरात राई यायोक्खाको साकेला, तामाङ घेदुङको सेलो र डम्फु, नेवारी समुदायको धिमे वाजागाजासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नागरिक अभिनन्दन गरिएको प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष अध्यक्ष गणेश राईले बताए ।
काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखिझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले भने, ‘वैरागी काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध भएको, र दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गर्नका साथै विशिष्ट रचना शैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक परिचय निर्माण गर्नु भएकाले अभिनन्दन गरेको हौं ।’
काइँलाका कविता–काव्य विधातर्फ ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविता कृति प्रकाशित छन् ।काइँलाको जन्म वि.सं.१९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला छोराको रूपमा भएको हो ।
उनका लिम्बू भाषा र नेपाली भाषामा क्रमश: ‘साप्पोःक् चोमेन: लिम्बूजातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुमः प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम: ईष्र्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम : मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम : आख्यान र अनुष्ठान’, ‘चइःत् मुन्धुम: सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ Nawacoit Mundhum गरी मुन्धुमका ११ ओटा कृति प्रकाशित छन् ।
‘लिम्बू व्याकरण:याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःन: लिम्बू व्याकरण’को सह लेखन गरेका वैरागी काइँलाले आफ्ना बाबा सुब्बा खड्गबहादुरले लेख्नुभएको ‘किरात मिक्हन साम्लो: किरात जागरण गीत’को नेपाली भाषामा अनुवाद समेत गरेका छन् । यसै गरी काइँलाले ‘फूल पात पतकर’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्री: लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ र ‘किरात मिक्हन साम्लो’, ‘तेस्रो आयाम’ लगायतको सम्पादन समेत गरेका छन् ।
कविता–काव्य सृजना, मुन्धुमको खोज–अध्ययन एवम् लेखन र अनेकौँ कृतिको सम्पादन गरेका काइलाले ०६६ देखि ०७० सम्म देशकै जेठो र सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति, त्यसअघि ०४७ देखि ०५० र ०५१ देखि ०५६ गरी दुई कार्यकाल प्राज्ञपरिषद् सदस्य रहेका उनी हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य छन् ।
नेपाली वाङ्मय जगत्का विशिष्ट प्रतिभा काइँला कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा पुर्याएको विशिष्ट योगदान बापत् साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि मानसम्मान र पुरस्कारद्वारा सम्मानित, पुरस्कृत तथा विभूषित भइसकेका छन् ।
समारोहमा अभिनन्दित काइलाले नेपाली कवितामा पुर्याएको योगदानको बारेमा लेखक समालोचक प्राडा गोविन्दराज भट्टराईले बोलेका थिए । उनले भने, ‘नविनताको आविस्कार गर्ने क्रममा वैरागीले कतिपय लिम्बू शव्दले बोक्ने विम्ब प्रयोग गरेका छन् । लिम्बु मिथक र मुन्धुम कथा प्रयोग गरेका छन् । एकार्थि साहित्य सिद्धान्त चेतनाले ढाकेको नेपालमा साहित्यकारमा बहुलवादका प्रथम प्रणेता र प्रयोगक्ता हुन् उनी ।’
समालोचक भट्टराइले काइँलालाई नेपाली समाजले एक प्रतिरोधी स्वतन्त्रताका पक्षधर योद्धाको रुपमा चिनेको र जातिय र भाषिक विभेद विरुद्ध उठेर राष्ट्रिय अभियन्ताको पहिचान बनाइसकेका श्रष्टा भएको बताए । उनले भने, ‘नव चिन्तनका आधार र एथ्निक संस्कृतिको रक्षार्थ उनले अतुलनिय योगदान दिएका छन् । अर्को कुरा, वैरागी दुर्लङ्घ्य व्यक्ति हुन् । किनकी उनले नै प्रयोगशीलताको आरम्भ गरे । आज आयामेली साहित्य थाम्ने काइला मात्र छन् ।’
अभिनन्दित काइलाले भने आफुले जीवनका खासै गतिलो कुनै काम नगरेर आयामेली कविता र मुन्धुम संकलन सम्पादन र प्रकाशन गर्ने काम मात्र गरेको बताए । उनले भने, ‘मैले इश्वर बल्लभ, इन्द्रवहादुर राईसँग मिलेर आयामेली कविता लेखें । त्यसपछि येवा, फेदाङ्माले बाचन गरेका मुन्धुम संकलन, सम्पादन र प्रकाशन गरें । मैले गरेको त्यति नै मात्र हो । अरु केही गरेको छैन । त्यो नया पनि होइन । तै पनि मलाई यहा अभिनन्दन गरे मलाई ।’
उनले साहित्य, कला, संस्कृतिले सद्भावनाको सन्देश दिने बताए । उनले नेपाल सानो मुलुक भएपनि सुन्दर भएको र त्यसमा अनेक जाति भाषा, धर्म संस्कृति अपनाएर बस्नेहरुसंग आफनो आफ्नो दर्शन भएको बताए । उनले भने, ‘मैले याक्थुङ लिम्बुका जीवन दर्शनलाई बाहिर ल्याउने प्रयास गरें । त्यस्तै अरु जाति समुदायसंग भएका जीवन दर्शनलाई पनि बाहिर ल्याएर समृद्ध बनाउनु पर्छ । यो नै नेपालको अमूल्य सम्पती हो ।’
उक्त अवसरमा गायक दीप श्रेष्ठलाई ताम्रपत्रसहित नगद ५० हजार रुपैयाको प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई ताम्रपत्रसहित नगद १ लाख रुपैयाको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । गायक श्रेष्ठको बारेमा शिव शंकर थापाले बोलेका थिए भने कवि पाख्रिनका बारेमा कवि बम देवानले बोलेका थिए । अतिथिहरुलाई प्रतिष्ठानका उपाध्यक्ष टंक वनेमले स्वागत गर्दै प्रतिष्ठानको उद्देश्य बारे जानकारी दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव देवेन्द्र खेरेसले संचालन गरेका थिए । समारोहमा झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र उपत्यकाका करिव तीनसय जना पाहुना लेखक साहित्यकारहरूको जमघट भएको अभिनन्दन, सम्मान तथा पुरस्कार समारोहका संयोजक प्रदीप मेन्याङ्बाले बताए ।