लोकसंवाद संवाददाता | समाचार | चैत १७, २०७९
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटर साइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
आजमात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । कार्यालयले आज १६ मोटरसाइकल र छ स्कुटर हस्तान्तरण गरेको हो ।
चालू आवमा ट्राफिक कार्यालयमा सवारीसाधन हराएको भनेर एक हजार दुई सय ८९ निवेदन परेकामा तीन सय ८७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । सो मध्ये दुईपाङ्ग्रे तीन सय ६० र अन्य २७ सवारीसाधन छन् ।
ट्राफिक प्रहरीले चालू आवमा मोटरसाइकल चोरी कार्यमा संलग्न २६ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि विभिन्न वृत्तमा बुझाइसकेको प्रवक्ता भट्टले बताउनुभयो । लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।