सुरेन्द्रबहादुर न्यौपाने: कुटनीतिमा स्थापित तथा साहित्यमा अघि बढ्दै गरेको नाम

सुरेन्द्रबहादुर न्यौपाने: कुटनीतिमा स्थापित तथा साहित्यमा अघि बढ्दै गरेको नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत १९, २०७९

पुर्ख्यौली घर तनहुँबाट धुम्बाराही आएको हो उहाँको परिवार । उहाँको बाजे राणाकालमा खरिदार भएका कारण नामका अगाडि ‘ख’ लेख्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा मध्यम भन्दा अलि माथि देखिए पनि उहाँ भने मध्यम नै भन्न रुचाउनुहुन्छ । मोहन शमशेर भारतको बैंग्लोर जाँदा बुवा भने निजी सचिवका रुपमा उतै जानुभयो । र, बैंग्लोर झण्डै दश वर्ष बसेर बुवा काठमाण्डौ फर्कनुभयो । 

बुवा शायद राणा खानदानसँग नजिक भएका कारण हुनसक्छ बुवाको जोड छोराछोरीको पढाइ लेखाइमा रहन्थ्यो । उहाँको जन्म २००९ सालमा धुम्बाराही मै भएको हो ।    कखरा तथा एबीसीडी लेख्ने चिन्ने काम भने घरमै भयो उहाँको त्यो पनि बुवाबाट । कालो पाटीमा सिलोटले लेखेर कख सिक्नु भएको उहाँ पछि भने बाँसको कलमले पनि लेख्न थाल्नुभयो । तर, बाँसको कलमले लेख्दा मसी पोखेर कम हैरान भने बनाउनु भएको थिएन । 

००० 

उहाँको प्रारम्भिक शिक्षा भने भारतको बैंगलोरमा सेन्ट जोसेफ स्कूल बेंगलोरमा नै भएको हो । तर, उहाँले सेन्ट जोसेफमा चार कक्षासम्म पढ्नुभयो । क्याथोलिक स्कूल भएका कारण अनुशासनमा एकदमै कडाइ थियो । स्कुलले भनेको समयमा पढ्ने, खाने, सुत्ने, उठ्ने गर्नुपथ्र्यो । एउटा कक्षामा झण्डै पन्ध्रदेखि अठार जना विद्यार्थी हुन्थे । उहाँ कहिले अगाडि त कहिले बीचमा बस्नुहुन्थ्यो । धेरैजसो गोराहरु अगाडि बस्थे भने एशियाली मुलुकका अन्य विद्यार्थी आफूलाई अलि दोस्रो दर्जाको नागरिक ठान्ने कारणले पछाडि बस्थे । तर, उहाँ भने नेपालको राणा शासक परिवारसँग जोडिएको कारण आफूलाई कमजोर ठान्नु हुन्थेन र अरुले पनि त्यो व्यवहार गर्ने आँट गर्दैनथे । त्यसकारण पनि अगाडि नै पनि बस्ने गर्नुहुन्थ्यो ।

उहाँ २०१८ सालतिर बुवासँगै नेपाल फर्कनु भयो । तर, नेपाल आएपछि भने एकै पटक उहाँ विजय मेमोरियल डिल्लीबजारमा नौ कक्षामा भर्ना हुनुभयो । विजय मेमोरियलमा भने एउटा कक्षामा झण्डै २७/२८ जना विद्यार्थी हुन्थे । जसमा झण्डै ११ जना महिलाहरु थिए । समय अनुसार त्यसलाई महिलाको राम्रो सहभागिता रहेको उहाँ ठान्नुहुन्छ । उहाँ नौ कक्षाबाट दश कक्षामा जाँदा उमेर एघारबाट बाह्र लाग्दै थियो । कक्षामा अरु धेरै उमेरको भए पनि उहाँलाई सानो भनेर फुच्चे भन्थे । तर, हेप्ने काम भने कसैले गरेन । माया नै गरे । फेरि भारतबाट पढेर आएको अनि अंग्रेजी पनि राम्रो भएका कारण पनि धेरैले माया गरेको हुनसक्ने उहाँलाई लाग्छ । उहाँले १२ वर्षको उमेरमा अर्थात् २०२१ सालमा त एसएलसी नै पास गरिसक्नु भएको थियो । 

पढाइको कुरा गर्दा उहाँ आफ्नो समयभन्दा अगाडि पढेका कारण केही कमजोर भयो कि भन्ने लाग्छ भलै उहाँ कमजोर विद्यार्थी होइन । तर, अलि उमेर पाको भएर पढेको भए पढाइ अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्छ उहाँलाई । अहिले हेर्दा पढ्न अलि हतारिएकै हो भन्ने लाग्छ उहाँलाई । 

एक पटक पोपले नेपाललाई तक्मा दिने कुरा चल्यो । तर, समस्या के भयो भने क्याथोलिक देशले हिन्दु राष्ट्रलाई तक्मा दिन मिल्ने नमिल्ने वा दिँदा लिने नलिने के भन्ने समस्या भयो । अब यस्तो कुरा सिधा राजदूतसँग गर्न पनि अप्ठेरो भयो । विषय बुझेको र भाषामा पनि पकड भएका कारण यसका बारेमा उहाँसँग सोधियो । उहाँले यो कुरा राजदूत समक्ष राख्नुभयो । र, राजदूतले परराष्ट्र मन्त्रालयमार्फत् दरबार समक्ष राख्यो । पछि तक्मा नेपालले स्वीकार गर्यो ।

उहाँको ब्याचमा एसएलसी दिने त्यस बेला १४ जना थिए जसमा ११ जना पास भए । एसएलसीपछि उहाँ त्रिचन्द्र कलेजमा आइएससी पढ्न थाल्नुभयो । आइएससी गरेपछि बिएससी पनि भर्ना त हुनुभयो । तर, पूरा गर्नु भएन र प्राइभेटबाट बिए पास गर्नुभयो । एमए भने उहाँले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा गर्नुभयो । 

०००

बिए पास गरिसकेपछि एमए पढ्न केही लामो समयको अन्तराल रहन्थ्यो । यही बीचमा उहाँले भारतको भिक्स कम्पनीमा काम गर्न थाल्नुभयो । उहाँले सेल्स रिप्रेजेन्टेटिभकोरुपमा काम थाल्नुभयो । त्यस बेला उहाँको तलब ६ सय रुपैयाँ थियो । त्यो भनेको त्यस बेलाको एकदमै राम्रो तलब थियो । किनकि त्यस बेला लेक्चरको तलब नै ४ सय ७५ मात्र थियो । 

आर्थिक हिसाबले सम्पन्न नै भएका कारण त्यो पैसा उहाँलाई कतै केही गरौँ र पुर्‍याउ भन्नुपर्ने अवस्था थिएन । ठ्याक्कै यही गरियो भन्ने सम्झना नभए पनि साथी भाइसँगको घुमफिर र रमाइलोमा त्यो पैसा खर्च भयो भन्ने लाग्छ उहाँलाई । 

भिक्सको जागिर उहाँले बिए पास भएर एमए भर्ना नहुन्जेलको छोटो अवधि झण्डै तीन/चार महिना मात्र गर्नुभयो । 

एमए पास गरिसकेपछि भने उहाँ ल क्याम्पसमा अंग्रेजी पढाउन थाल्नुभयो । त्यो बेला उहाँको उमेर झण्डै बीस वर्षको थियो । त्यही बेला उहाF नर्सिङ क्याम्पसमा पनि पढाउनु हुन्थ्यो । 

उमेर सानो भएका कारण उहाँका विद्यार्थीले साथीजस्तै व्यवहार गर्थे । त्यसकारण पनि कलेजमा हडताल हुँदा पनि उहाँ विद्यार्थीहरुलाई कक्षामा जाउँ भन्दै पढाउने गर्नुहुन्थ्यो । यसले हडताल गर्ने विद्यार्थीहरु पनि हाँस्दै जान्थे । उहाँले ल क्याम्पसमा झण्डै दुई वर्ष पढाउनु भयो । ल क्याम्पसमा पढाउन सुरु गरेको पाँच/ छ महिनामा उहाँले राइजिङ नेपालमा काम सुरु गर्नुभयो । राइजिङ नेपालमा भने राति काम गर्नुहुन्थ्यो । राइजिङ नेपालमा पनि उहाँले झण्डै एक/डेढ वर्ष काम गर्नुभयो । त्यस बेला उहाँको प्रधानसम्पादक मनोरञ्जन जोशी हुनुहुन्थ्यो । 

उहाँ यत्तिकै काम गर्नुपर्यो भनेर राइजिङ नेपालको अफिस जानुभएको थियो । गोदावरीमा त्यस बेला पर्यटकहरुको कुनै कार्यक्रम थियो । अनि प्रधानसम्पादक जोशीले ट्याक्सी लिएर गोदावरी गएर रिर्पोटिङ गरेर आउनुस् भनेर पठाउनु भयो । पानी परिरहेको थियो । उहाँ दुब्लो पातलो हुनुहुन्थ्यो । पानीमा भिजेर ज्वरो आउला भनेर पर्यटकहरुले उहाँलाई आफ्नो पालमा लगे । उहाँले ट्राभल एण्ड टुरिजम भन्ने पेजमा काम गर्नुहुन्थ्यो । त्यसको काम भनेको पर्यटकहरु आएपछि अन्तर्वार्ता गर्ने, हलिउडका कलाकार तथा लेखकहरुको पनि अन्तर्वार्ता गर्ने गर्न थाल्नुभयो । 

यसै क्रममा जर्मन राजदूतावासमा समाचार संकलनका क्रममा गइरहँदा राजदूतले भाषा सिकेर जर्मनमा पढ्न जान भन्नुभयो । त्यस बेला नेपालीलाई जर्मन जानका लागि भिसा पनि चाहिँदैनथ्यो । उहाँ जर्मन जानुभयो र त्यो बेला नेपाली दूतावासमा मान्छे चाहिएको रहेछ अनि उहाँले नेपाली दूतावासमा काम गर्न थाल्नुभयो । झण्डै १३÷१४ वर्ष उहाँले त्यहीँको दूतावासमा काम गर्नुभयो । जर्मन दुतावासमा काम गर्दा अन्य सहकर्मीलाई जर्मन भाषाको ज्ञान नहुँदा उहाँलाई अवसर पनि धेरै नै प्राप्त हुन्थ्यो । 

त्यस बेला राजा रानीको सवारी तथा दीपेन्द्र सरकारको सवारीमा पनि अंग्रेजी र जर्मन दुवै भाषामा ज्ञान भएको हुँदा उहाँलाई नै अगाडि बढाउने काम गर्यो दूतावासले । 
त्यसपछि उहाँले स्वीडेनको परराष्ट्र मन्त्रालयसँग सम्बद्ध भएर काम काम गर्न थाल्नुभयो । झण्डै २० वर्ष उहाँले स्वीडेनको परराष्ट्र मन्त्रालयसँग सम्बद्ध भएर काम गर्नुभयो । काम गर्ने क्रममा उहाँ न्युजिल्याण्डको भोडा फोनसँग आबद्ध भएर पनि झण्डै २०/२२ वर्ष काम गर्नुभयो । त्यहीँ उहाँको विवाह पनि भयो । अहिले उहाँका २३ तथा २१ वर्षका दुई छोरीहरु हुनुहुन्छ । 

०००

एक पटक पोपले नेपाललाई तक्मा दिने कुरा चल्यो । तर, समस्या के भयो भने क्याथोलिक देशले हिन्दु राष्ट्रलाई तक्मा दिन मिल्ने नमिल्ने वा दिँदा लिने नलिने के भन्ने समस्या भयो । अब यस्तो कुरा सिधा राजदूतसँग गर्न पनि अप्ठेरो भयो । विषय बुझेको र भाषामा पनि पकड भएका कारण यसका बारेमा उहाँसँग सोधियो । उहाँले यो कुरा राजदूत समक्ष राख्नुभयो । र, राजदूतले परराष्ट्र मन्त्रालयमार्फत् दरबार समक्ष राख्यो । पछि तक्मा नेपालले स्वीकार गर्यो । परराष्ट्र सेवामा रहँदा हेर्दा नियमित काम झैँ लाग्ने तर, कतै त कतै केही समस्या र अड्चनका रुपमा यस्ता कुराहरुलाई उहाँले आफ्नो विज्ञता र पहुँचको माध्यमबाट हल पनि गर्नुभएको छ ।

०००

राइजिङ नेपालमा पत्रकारिता गरेका कारण उहाँलाई पत्रकारिता तथा साहित्यमा पनि रुचि थियो । लेख्ने, पढ्ने काम गरिरहनुहुन्थ्यो । न्युजिल्याण्डमा हुँदा उहाँको एडमण्ड हिलारीसँग चिनजान भयो । अनि नेपालीको आँखाबाट उहाँको भूमिका के छ भन्ने एउटा पुस्तक लेख्दै हुनुहुन्थ्यो । र, हिलारीको निधन भयो । निधनपछि हिलारीको पारिवारिक विवादका कारण त्यो किताब निस्कन सकेन । उहाँको मेहनत सबै खेर गयो । पुस्तक प्रकाशन हुन सकेन । 

उहाँले नेपालीमा पनि पुस्तक लेख्ने तथा अनुवाद गर्न कोसिस नगरेको होइन पहिले पहिले तर, नेपाली कस्तो हुने हो र आफ्नो भाषाको स्तर कस्तो छ भन्ने थाहा नहुँदा त्यतातिर भने चाहेर पनि कलम चलाउनु भएन । 

पछि यसो हेर्दै र बुझ्दै जाँदा नेपाली राम्रै रहेको भन्ने धेरै तिरबाट प्रतिक्रिया आएपछि भने नेपालीमा पनि अनुवाद सुरु गर्नुभयो । र, विशेष गरी उहाँको नेपालीका ह्रस्व, दीर्घ तथा अन्य अक्षरहरूलाई सकभर नबिगारी शुद्ध लेखौँ भन्ने भावना रहेछ यसले नेपाली राम्रो बनाउन तथा संवेदनशील भएका कारण पनि हतपत्ति लेखिहाल्न मन लागेनछ । अब उहाँ न्युजिल्याण्ड अथवा अष्ट्रेलिया जहाँ भए पनि नेपाली पढाउने सोचमा हुनुहुन्छ । उहाँले स्वीडेनमा हुँदै पढाउने अनुमति पनि लिइ सक्नु भएको रहेछ । 

प्रायः विदेश बस्ने नेपालीलाई पनि आफ्ना सन्तानको अंग्रेजी राम्रो होस् भन्ने चाहना रहेछ । तर, अब विदेश बसेपछि अंग्रेजी त यसै राम्रो भइहाल्छ त्यसकारण अब अंग्रेजीमा नभएर नेपाली राम्रो बनाउनु पर्छ भनेर उहाँ सकेसम्म बाँसको कलमले नै पो नेपाली लेख्न लगाउने हो कि जस्ले प्राचिन रुपमा नेपालको झल्को दिने र पहिचान पनि बेग्लै हुने हुँदा त्यस्ता काममा पनि लाग्ने सोच बनाउनु भएको छ । 

विश्वको ७६ भाषामा प्रकाशित बाल उपन्यास पिप्पी पहिले पनि उहाँले नेपालीमा अनुवाद गरिसक्नु भएको थियो । स्वीडिस लेखिका एस्ट्रिड लिन्डग्रेनको किताब उहाँले अनुवाद गर्दा त्यस बेला त्यसमा अलि स्वीडेन तिरको रंग आउने गरेको थियो । तर, अहिले भने यसमा उहाँले धेरै मौलिक नेपालीपन देखाउनु भएको छ । 

नेपालीले पढ्ने हुँदा उहाँले नामहरु पनि त्यसमा नेपाली मौलिक नामहरु झँके, काले आदि राख्नु भएको छ । अब भने उहाँ न्युजील्याण्डका राम्रा कथाहरूलाई नेपालीमा अनुवाद गर्ने र कसैले राम्रो नेपाली कथा दिएको खण्डमा त्यसको अंग्रेजीमा अनुवाद गर्ने सोच बनाइरहनु भएको छ । 

उहाँका राइजिङ नेपाललगायत अन्य पत्रिकाहरूमा फुटकर लेखहरु बाहेक पुस्तकका रुपमा भने यही पिप्पी नै अनुवादित पुस्तक नै रहेको छ ।