लोकसंवाद संवाददाता | दृष्टिकोण | चैत २५, २०७९
हामी साँच्चै संक्रमण कालमा छौँ, चाहे त्यो साँस्कृतिक फाँटमा होस्, शिक्षाको अवस्थामा होस् , विज्ञान प्रविधिका कुरामा होस् या सूचना प्रविधिका बारेमा होस् या कानुन कार्यान्वयनका क्रममा होस् ।
एकातिर विज्ञान प्रविधिको तीब्र विकास भइरहेको छ र मानवीय क्षमता र जनशक्तिलाई न्यूनीकरण गर्ने भय उत्पन्न भएको छ भने सामाजिक रूपान्तरणको तीब्र आँधी चलेको बेला छ । अझ भनौँ सामाजिक परिवर्तनको यस्तो तुफानको झोक्का आउन थालेको छ कि धेरै साँस्कृतिक चलनहरू, साँस्कृतिक धरोहरहरु अब गर्ल्यामगुर्लुम भत्कँदै छ ।
हिजो जुन कुरा हामी सहजताका साथ मान्दै आएको भनेर मान्थ्यौँ, अबको पुस्ताले त्यसको कारणसहितको आधार खोज्न थालेको छ एकातिर भने समाजको बाटो नै अचानक अर्कैतिर मोडिन थालेको अनुभूत भइरहेछ । अब हामीले कक्षामा के सिकाउँछौँ भन्ने कुरामा भन्दा बच्चाहरुले स्वेच्छिक रुपमा उपलब्ध प्रविधिका साधनमार्फत के सिक्छन् भन्ने सीमा विहीन प्रयास गर्न कसले पो सक्ला र ?
विज्ञान प्रविधिले सूचनाको विकास या ज्ञानको विकास यसरी गरेको छ कि यी हरफ लेख्दा लेख्दै यही यन्त्रले नयाँ आदेश पर्खिरहेको कुरा भन्ने गर्छ । यसलाई ज्ञानको विस्तार मान्ने कि केही यन्त्र मार्फत् मानवीय क्षमताको क्षयीकरण गर्न थालेको ? मान्छेले गरेको अति क्षमताको कारणले अब यस्तो दिन पनि आउन सक्ने अवस्था आउला कि औपचारिक कक्षाको पनि खासै जरुरत नपर्ला कि ? तर आखिर मानवीय क्षमताको विकासले आजको ज्ञानको विस्तार र विकासको सहजीकरण सम्भव भएको हो भन्ने कुरामा त कुनै द्विविधा भएन ।
शिक्षक शिक्षाका क्रममा गरिने व्यावहारिक प्रयोगको कति प्रयोजन भएको छ ? कसले हेर्ने ? मैले देखेको छु ठुला भनिने शिक्षक शिक्षाका क्याम्पसहरूको अवस्था, सिकारु को संख्या, प्रयोगशालाका रुपमा प्रयुक्त विद्यालय या क्याम्पसको अवस्था र कति समयका लागि पठाएको र कति समयसम्म उनीहरुले प्रयोग गर्न सक्छन् आफूले सिकेको सिप ? कक्षामा सहजकर्ताले गरेको सहजीकरण लाई सिकारुले तल्लीनता साथ प्रयोग गर्नुपर्नेमा के गर्छन् , के गर्दैनन् ।
त्यसैले अनवरत अथक रुपमा गरिएको शिक्षाको विकास र विस्तारको कारणले आजको विज्ञान प्रविधिका कारणले सूचना प्रविधिले फड्को मारेको हो । कहिलेबाट मानवीय प्रयास सुरु भएको थियो भन्ने कुरामा सकारात्मकरुपमा छलफल गर्दा पनि इतिहासले छिचोल्ने बेलामा भन्दा पहिलेदेखिको कुरा आउन थाल्छ र प्रत्येक समाजले आफ्ना पुर्खाको प्रयासले आजको विकासले गति लिएको भन्ने कुरामा बहस सुरु हुन्छ । हामी के कुरामा अझै पनि गर्व गर्न सक्दैनौँ भने यी सबै प्रयास यही पृथ्वीमा जन्मेका मानिसहरुको प्रयास हो ।
एकातिर हाम्रो सँस्कृतिले वसुधैव कुटुम्बकम् भनेको छ तर यो वसुधालाई भने हामीले जाति, रङ्ग भेद, लैंगिक र भौतिक सुविधाका आधारमा मानिसहरुलाई एक आपसमा विभेद गरिरहेका छौँ । त्यतिमात्र होइन, प्राकृतिक स्रोतमा कहिल्यै समभावले वितरण गर्न सकेका छैनौँ
। यो संसार एउटै हो, हामी मानव जाति एउटै हौँ र हाम्रो हित भनेको प्रत्येक मानव जातिको हित हो भन्ने बारेमा वैश्विक ज्ञान दिनै सकेका छैनौँ । हामी बसेको पृथ्वी कति कुरामा सम छ कति कुरामा विषम छ । आखिर पृथ्वीको प्रत्येक कुनामा पाइने प्राणी भनेको मानिस हो र जस्तोसुकै वातावरणमा आफूलाई अनुकूलन गरेर परिस्थितिजन्य हुन सक्ने प्राणी पनि मानिस नै हौ ।
मेरो ध्यान जहिले पनि साना साना बाबु नानीहरूलाई, बच्चा बच्चीहरू दिइने ज्ञानमा जान्छ किनभने उनीहरुले प्राप्त गर्ने शिक्षा या सूचना या ज्ञानले उनीहरुलाई समाज बुझ्ने, समाजमा कसरी घुलमिल हुने र समाजी करणको अवस्था सृजना गर्ने गर्छ । तर मार्फत् केबाट दिने हो ? सूचना प्रविधिको विकासले यति फड्को मारेको छ कि आजका ज्ञान आर्जन गर्न चाहने भन्दा ज्ञान दिने चाहिँ कम जानकारी राख्ने अवस्था आएको छ ।
यस्तो बेलामा कसरी ज्ञान प्राप्त गर्न चाहने र ज्ञान उपलब्ध गर्नेका बिचमा कस्तो तयारी गर्ने भन्ने प्रश्न तेर्सिन्छ । हो यही अवस्था हो ज्ञानको पनि , सूचनाको पनि सन्तुलित तयारी गरेर भविष्यका असल नागरिक बनाउने । सन्तुलित तयारी भनेको नै सिकारुको व्यक्तिगत क्षमता, पारिवारिक अवस्था, सामाजिक अवस्था र समाजको आवश्यकतासँगै सिकारुको आवश्यकता ।
यहाँनेर अभिभावकको भूमिका पनि रहने भयो । यसैलाई भन्छन् सिकाउने तयारी जसले सिक्ने कुरालाई वर्गीकरण गरेर सिकारुलाई भावी दिनका लागि सक्षम र विश्लेषणात्मक क्षमता विकास गराउने छ । सहजकर्ताको तयारी नभई सिकारुले कसरी कुन आधारमा सिक्ने र कति कुन बेलामा सिक्ने भन्ने सीमा त छैन नि । तर पनि ती असीमित र बन्धन हीन सीमालाई एउटा अनुशासनका डोरीमा बाँधेर भावी दिनको कल्पनासहित तयारी गर्ने हो । भनिन्छ, पाठ्यक्रम र बजेट उस्तै हो रे ! जुन बेलामा कल्पना गरिन्छ या तयारी गरिन्छ, त्यो बेलाको अवस्थाले भविष्यको सामान्य जानकारी मात्र दिएको हुन्छ, विशिष्ट अवस्था त भविष्यको कुनै कुनामा लुकेर बसेको हुन्छ जसको जानकारी पाउन अझैसम्म सकिएको छैन ।
हिजोका दिनमा भविष्य द्रष्टाहरु थिए, त्रिकालदर्शीहरु थिए भन्ने मान्यता छ , पुराणहरुमा उनीहरुको उदाहरणसहित कथाहरु आउँछ तर पनि तिनले देखाएको बाटोभन्दा तीब्र गतिमा समाजको अवस्था बदलिएको छ र पनि भावी पुस्ताका लागि तयारी त हामीले गर्ने हो अहिलेकै बेलामा । त्यसो त स्वैर कल्पनामा समय यन्त्रको कुरा बेलाबेलामा आउँछ जसले भविष्यको बारेमा जानकारी गराउने गर्छन् तर भविष्य अनगिन्ती सकारात्मक सम्भावनाहरु र अनगिन्ति अकल्पनीय दुर्घटनाका सम्भावनाहरु हुन्छन् जसको कल्पना अहिले अवस्थामा गर्नै सकिँदैन । त्यस्तो बेलामा पनि कसरी बाँच्ने, कसरी बचाउने भन्ने ज्ञान र सीपको आवश्यकता छ । त्यस्ता सहजकर्ताको सहजीकरणले मात्र भावी पुस्ताको भविष्य सुरक्षित हुन्छ । मान्छेलाई बाटो देखाउने हो, ट्राफिक प्रहरीले झैँ ।
मलाई कहिलेकाहीँ लाग्छ, पहिले सिकारु रहेँ अनि मैले जीवनभर सहजकर्ताको भूमिका निर्वाह गरेँ, शिक्षाको तयारीका क्रममा । सूचनाको भोक कहिल्यै पनि मेटिँदैन र मेटिन दिनु पनि हुँदैन । तर के सिकाए त ? त्यसले सिकारुको जीवनमा एकीकृत प्रयासका लागि मद्दत गर्यो होला त ? हो , त्यसैका लागि शिक्षक शिक्षणका या प्रशिक्षणमा नयाँ प्रयास गरौँ भन्ने हो ।
अहिलेको यथार्थता के हो भने शिक्षक शिक्षाका क्रममा गरिने व्यावहारिक प्रयोगको कति प्रयोजन भएको छ ? कसले हेर्ने ? मैले देखेको छु ठुला भनिने शिक्षक शिक्षाका क्याम्पसहरूको अवस्था, सिकारु को संख्या, प्रयोगशालाका रुपमा प्रयुक्त विद्यालय या क्याम्पसको अवस्था र कति समयका लागि पठाएको र कति समयसम्म उनीहरुले प्रयोग गर्न सक्छन् आफूले सिकेको सिप ? कक्षामा सहजकर्ताले गरेको सहजीकरण लाई सिकारुले तल्लीनता साथ प्रयोग गर्नुपर्नेमा के गर्छन् , के गर्दैनन् ।
एउटा उदाहरण दिउँ, एकपटक करिब ३०० जना अंग्रेजी शिक्षण गर्ने प्रयोगका लागि केही सिकारुहरु तयारी गरिएछन् र केही क्याम्पसमा खटाए अनुसार गएछन् । केही वर्ष अघिको घटना हो । सिकारुहरु भनौँ या प्रशिक्षार्थीहरू तोकिएको क्याम्पसमा पुगेछन् । क्याम्पस प्रशासनले स्वागत गरेछ र भनेछ - आउनु भयो ४५ दिनका लागि या ३० दिनका लागि । यहाँ कक्षा सुचारु भइरहेको छ , प्रयोगका बेला छैन । आफ्ना आवश्यक काम पूरा गर्नुस् घरमै बसेर । जुन दिन अन्तिम अवलोकन हुन्छ, त्यसको जानकारी पाए एकैदिन या दुई दिनभित्र सम्पन्न गर्नुहोला । धन्यवाद । अर्थात् अब अन्तिम अवलोकन गर्नमात्र स्वागत छ । यही हो त हाम्रो शिक्षण अभ्यासको अन्तिम लक्ष्य ?
यसका लागि कसैले चिन्ता लिएको मैले थाहा पाएको छैन । अमेरिकी सरकारले जब नेपालमा शिक्षा विकासको लागि शिक्षक शिक्षाको प्रशिक्षण दिने क्रममा लेबोरेटरी या डेमोन्स्ट्रेसन विद्यालयको स्थापना गरेको थियो । आज हामी करिब सात दशक पहिलेको अवस्थाबाट पनि पछि परेका छौँ शिक्षक तयारीमा भने दिनहुँ विद्यार्थी बाहिर गए भने टाउकोमा हात राखेर हुँदैन , त्यसका लागि भविष्यका मुलुकका सारथिहरूको तयारी कसरी गर्ने? कसरी राष्ट्रप्रति समर्पित गराउने र विकास, प्रविधि र ज्ञानको एकाकाररुपमा प्रयोग गर्ने भन्ने सिकाउने कहिले ? तयारीका लागि ढिलो भएको जस्तो पो लाग्न थालेको छ ।
अर्थात् जुनसुकै विषयको अध्यापन गर्न या सहजीकरण गर्नका लागि शिक्षक प्रशिक्षण आवश्यक छ र सिकारुको मनोविज्ञानका आधारमा तयारी गर्ने व्यवस्था गर्नका लागि एउटा शिक्षा प्रशिक्षणका लागि मात्र छुट्टै विश्वविद्यालयको आवश्यकता छ स्वतन्त्ररुपमा सञ्चालन गरिने गरी । त्यसको तयारी त गर्ने भनेको सरकारले नै हो किनभने शिक्षा, स्वास्थ्य, सुरक्षाको प्रत्याभूति गर्ने त सरकारले नै हो । क्रमशः