लोकसंवाद संवाददाता | समाचार | चैत २७, २०७९
नेपाली राजनीतिका विकृतिलाई हतियार बनाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो ठूलो शक्ति बन्यो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पनि रास्वपाले चितवन, बारा र तनहुँमा प्रतिस्पर्धा गर्दैछ । नेपाली राजनीतिमा सरकार बनाउन र गिराउन सांसदको खरिद बिक्री हुने गरेको, पदहरु बिक्री हुने गरेको, राजनीतिक नियुक्तिदेखि मन्त्री खान ठूलो रकमको चलखेल हुने गरेको, मन्त्री भएपछि सोही रकम उठाउन र कमाउन ठूलाठूला भ्रष्टाचार हुने गरेको चर्चा नेपाली राजनीतिमा अनौठो होइन ।
पछिल्लो समयमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको चर्चा सबैभन्दा बढी भयो । बाबुराम भट्टराईको नयाँ शक्तिदेखि रवि लामिछानेको रास्वपा सम्म पुराना राजनीतिक दलको विरोधको जगमा खडा भएका शक्ति हुन् । तर यी शक्ति पनि पुराना राजनीतिक दलभन्दा ढंगिला भने देखिएका छैनन् । बरु उही कमिशन, उस्तै बार्गेनिङका प्रसंगले यिनीहरुको पतन पुराना राजनीतिक दलको भन्दा छिटो हुने खतरा देखिन थालेको छ ।
यसैको पछिल्लो उदाहरण हो, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको साढे २ करोड मागेको अडियो काण्ड । सांसद श्रेष्ठले विवादास्पद व्यवसायी दुर्गा प्रसाईसँग आफूले स्वास्थ्य मन्त्री पाउने अवस्था रहेको र त्यसका लागि पार्टीलाई साढे २ करोड बुझाउनुपर्ने बताएका छन् । उनले पार्टीमा तीन जनाको कोर टिम रहेको र त्यही टिममा आफूले पैसा बुझाए मन्त्री हुने भन्दै प्रसाईलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रसाईले भने एक दिनमा ९ लाख ९९ हजारभन्दा बढी निकाल्न नमिल्ने भएकाले तत्काल नहुने तर आफूले सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि आफ्नो काम गर्नुपर्ने उनको शर्त रहेको देखिन्छ ।
‘स्वास्थ्य हामीले पाउने भयौं । पार्टीलाई अलि अलि सहयोग गर भनिएको छ । आन्तरिक कोर टिम २/३ जनाको । साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज त्यो मैले फिक्स गर्नुछ’, अडियोमा सांसद श्रेष्ठले प्रसाईसँग भन्छन्, ‘दुई साढे दुई करोड भनेका छन् । अहिले मैले एक दिएँ भने पनि मान्छन् होला । पछिको चेक दिए पनि मान्छन् के २/३ दिनको ।’
उता चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार समेत रहेका रास्वपा सभापति रवि लामिछानेले सांसद श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारका रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । भ्रष्टाचारको विरोध र सुशासनको नारा दिएर उदाएको रास्वपा सांसदको अडियो प्रकरणले नैतिक संकटमा परेका लामिछानेले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने दाबी गरेका छन् ।
जवाफमा दुर्गा प्रसाई भन्छन्, ‘आज बन्द छ नि त । सुन्नुस् है कुरा । बैंकबाट ९ लाख ९९ हजार भन्दा बढीको चेक साटिँदैन । एउटा टाइम राखेर गर्ने हो भने मैले दिन्छु, म सहयोग गर्छु तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ?’
यो संवाद नेपालमा मन्त्री बन्न के सम्म हुन्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो ।
सांसद श्रेष्ठको खण्डन
बार्गेनिङको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले भने व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको र आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएको दाबी गरेका छन् । श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा.डा.ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेपछि अन्य सञ्चारमाध्यममा समेत भटाभट पोस्ट भएको थियो । श्रेष्ठको सचिवालयले भने यो अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढाउने बताएको छ ।
सो अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै त्यसबारे छानबिन सुरु गरेको जनाएको छ । छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ । श्रेष्ठमाथिको छानबिन प्रतिवेदन तीन दिनभित्र केन्द्रीय समितिमा पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।
चुनावी हतियार बनाइदैछ
उता चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार समेत रहेका रास्वपा सभापति रवि लामिछानेले सांसद श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारका रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । भ्रष्टाचारको विरोध र सुशासनको नारा दिएर उदाएको रास्वपा सांसदको अडियो प्रकरणले नैतिक संकटमा परेका लामिछानेले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने दाबी गरेका छन् ।
लामिछानेले फेसबुकमा लेखेका छन्, ‘ ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडा भन्दा कडा कारबाही गर्छौ । बेथितिको बचाउ गर्दैनौं बरु उदाङ्गो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ । हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ । तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी, सुनामी छेक्न सक्नुपर्छ । अब यसलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदैछ । आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’