हरिविनोद अधिकारी | समाचार | बैशाख ०२, २०८०
म एउटा सामान्य मानिस । मेरा अनुभवहरूले खासै समाजको ठुलो हिस्सालाई न त जानकारी दिनै सक्छ, न त कुनै नयाँ योजनाको खाका तयार गर्नका लागि मद्दत नै गर्न सक्ला तर पनि जीवनको पाँच दशक देखिको शिक्षासँगको , शिक्षकहरूसँगको, अभिभावकहरूसँगको, विभिन्न देशका शैक्षिक प्रणालीसँग देखेर र पढेर जानकारी पाएको हिसाबले आफ्ना केही अनुभव भन्नु या लेख्नु औचित्यपूर्ण नै देखेको छु ।
अचेल कसैले भन्छन् - वैदिक कालको शिक्षा नै आजको आवश्यकता हो, कसैले भन्छन् संस्कृत भाषाको आवश्यक जानकारी विना न त वैदिक कालको जानकारी पाइन्छ, न त खगोलीय विज्ञानमा पोख्त नै होइन्छ । ज्योतिष ज्ञानको शिक्षाको लागि त संस्कृत भाषामा लेखिएका र समाजमा अलिखित रुपमा समेटिएका ज्ञानको भण्डारलाई परखमा राख्नै पर्छ । अनि विश्वका कतिपय देशमा प्रयोगमा रहेका शिक्षा प्रणालीबाट ती देशहरुमा गरिएको विकासको मोडेललाई हामीले पनि आफूमा समाहित गर्नैपर्छ ।
शिक्षा जहिले पनि समयानुकूल चाहिन्छ शिक्षा जीवनको लागि हो । शिक्षाले दैनिक तथा दीर्घकालीन आवश्यकता पूरा गर्ने कुरामा सम्बोधन गरेको हुनुपर्छ भन्ने मान्यता छ । त्यस्तै सैद्धान्तिक तथा व्यावहारिक ज्ञान पनि समयानुकूल आवश्यक छ । त्यसो त समयको परिभाषा पनि स्पष्ट छैन तर हामीले भन्ने गरेको समय चाहिँ वर्तमानलाई हो तर आजको वर्तमानले भोलिको भविष्यलाई इंगित गरेको हुनुपर्छ र भविष्यमा पर्नसक्ने या आउन सक्ने भौतिक, सामाजिक, दार्शनिक र व्यावहारिक आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ ।
आजभन्दा हजारौँ वर्ष पहिलेका, केही वर्ष पहिलेका अत्यावश्यक मानिने प्रचलन अहिले आवश्यक मानिँदैनन् र ती अब इतिहासमा खोज्नुपर्ने भइसकेको छ । अरु त अरु, आजको सूचना प्रविधिको निस्फिक्री र स्वतन्त्रतापूर्वक गर्न पाउने प्रयोगका बारेमा एक दशक पहिले पनि अनुमान गर्न सकिएको थिएन, दुई दशक पहिले कल्पनामा मात्र सीमित थियो संसारका धेरै ठाउँमा ।
अझ सुविधा भएका देशहरुमा पनि कतै र कसैले सुविधाको प्रयोग गरिरहेका थिए भने कतै ती सुविधा विहिनहरुले सोचेका पनि थिएनन् कि सूचना प्रविधिको प्रयोग दैनिक जीवनमा यसरी अत्यावश्यक मानिने छ । जस्तो कि मलाई एउटा उदाहरण दिन मन लाग्छ जुन मैले भोगेको थिएँ ।
म १५ वर्ष पहिले संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा पुगेको थिएँ जहाँ मेरी कान्छी बहिनी जगदम्बाको बासस्थान थियो, ज्वाइँ साहेब कोविद बाबु हुनुहुन्थ्यो, साना साना भान्जी र भान्जालाई भेट्न पुगेको थिएँ । अनि त्यहाँ बस्दाबस्दै बहिनीले भनिन्, सियाटलमा वासिङ्टन विश्वविद्यालय अर्थात् युनिभर्सिटी अफ वासिङ्टनमा (छोटकरीमा युडभ भन्दा रहेछन्)किन विद्यावारिधिमा भर्ना नहुने र ?
त्यही बिचमा मलाई बहिनीले जी आर ई र टोफेलको तयारीका लागि अनलाइन दर्ता गरिसकेकी थिइन् , युडभका लागि पनि अनलाइन फाराम डाउनलोड गरिसकेको अवस्था थियो । फाराम त भरे तर के मिलेन के मिलेन, अनि मैले विश्वविद्यालयमा नै गएर फाराम भर्ने विचार गरेँ र बहिनीले मलाई विश्वविद्यालयको प्राङ्गणमा लगेर छोडिन् र उनी आफ्नो काममा गइन् भरे लिन आउने बाचासहित ।
समयको माग र उपलब्ध प्रविधिले कति फरक पार्न थालेको छ । सायद शिक्षाको आवश्यकता भनेको पनि यस्तै आवश्यकता पूरा गर्न सक्ने अवस्थाको जानकारी, प्रयोग र तिनको परिणामले दैनिक जीवनमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावको कुरा नै शिक्षाले सम्बोधन गर्ने विषयमा पर्दोरहेछ ।
मैले एकजना प्रोफेसरसँग समय लिएको थिएँ र उनले दिएको समयमा पुग्नु जरुरी थियो किनभने त्यो तोकिएको समयभन्दा लगत्तै पछि उनले विद्यावारिधिको अन्तर्वार्ता लिने कार्यक्रम थियो र त्यही रात उनको अफ्रिकातिर जाने कार्यक्रम थियो भनेर मलाई इमेलमा उनले भनेकी थिइन् । दिनको १बजेका लागि मलाई समय दिएकोले बहिनीले मलाई करिब १२ बजेतिर नै विश्वविद्यालयको प्राङ्गणमा छोडेर गइन् र भनिन्, मेरो दाजुले यहाँ विद्यावारिधिको लागि छात्रवृत्ति पाएमा म कति खुसी हुने थिएँ । र आजको भेट फलदायी बनोस् भन्ने सद्भावनासहित बहिनी फर्किइन् ।
म त्यो बेलामा काठमाडौँ शिक्षा क्याम्पसको प्रमुखको रुपमा थिएँ र हामी पद्मोदय माविको भाडाको भवनमा आफ्नो स्नातक तह, स्नातकोत्तर तहका शिक्षाका कार्यक्रम चलाएर बसेका थियौँ । भाडाको घरमा थियौँ, साँझको ४ बजेर ३० मिनेटपछि कक्षा सञ्चालन गर्थ्यौँ र ८ बजेर २० मिनेटसम्म चलाउँथ्यौँ । उपत्यकाका विभिन्न भागबाट आउने विद्यार्थीहरुका लागि आवश्यक आवागमनका लागि बस तथा टेम्पो ७ बजे पछि पाउन गाह्रो हुन्थ्यो । अर्थात् जम्मा ३ घन्टा समयमा पढाइ सम्पन्न गर्नु पर्थ्यो ।
तर हाम्रो क्याम्पसको नतिजा भने ९० प्रतिशतभन्दा बढी उत्तीर्ण हुने क्याम्पसमा थियौँ र त्रिभुवन विश्वविद्यालयका वार्षिक प्रणालीमा हुने नतिजामा हाम्रो क्याम्पस राम्रो सामुदायिक क्याम्पसमा गनिन्थ्यो र पनि हामीसँग जम्मा दुईवटा कम्प्युटर थिए प्रशासनिक प्रयोगका लागि । साँझको क्याम्पस थियो, सम्पूर्ण नगदी कारोबारहरु भगवान भरोसामा एउटा टिनको दराजमा राखेर चलाउनु पर्थ्यो । अनि भोलिपल्ट बैँक खुलेपछि जम्मा गरिन्थ्यो तर पनि क्याम्पस चलेकै थियो । म क्याम्पस चिफ भएको मानिस, त्यो विश्वविद्यालयसँग पनि वैश्विक रुपमा प्रतिस्पर्धा गरिरहेको थिएँ भन्ने पनि लाग्यो ।
प्राध्यापकसँग तोकिएको समयमा भेटेँ । मेरो नाम भनिएको रहेछ भेट गर्न आउनेको विवरणमा । म ठिक १बजे अनुमति माग्दै उनको ढोका पुगेपछि उनले सौहार्दपूर्ण रुपमा अँगालो हालेर अभिवादन गरिन् र भनिन् , म त भारत सम्म मात्र गएकी छु, नेपाल जान मन लागे पनि जान पाएकी छैन । अनि उनले मेरो समस्या सुनेपछि मेरो फाराम भर्नका लागि आफ्नो प्रशासनिक सहयोगीलाई सहयोग गर्न अनुमति दिइन् र आफू कक्षा लिन अनि विद्यावारिधिको अन्तर्वार्तामा जानका लागि मसँग विदा भइन् र सहयोगीलाई भनिन् , यी नेपालका स्नातकोत्तर कार्यक्रम चलेका क्याम्पसका प्रमुख हुन्, सहयोग गर्नू है ।
अनि मैले भरेको अनलाइन फाराममा नपुगेका बुँदाहरूमा उनले मिलाइन् र फाराम अनलाइन दर्ता गर्नका लागि ७५ डलर दिनका लागि अनुरोध गरिन् । म त क्याम्पसमा सधैँ नगदको कारोबार गरेर बसेको क्याम्पस प्रमुख, खल्तीबाट ७५ डलर निकालेर दिएँ, ती त अक्क न बक्क परिन् भनिन्, महोदय कृपया अनलाइन दर्ता गर्नका लागि क्रेडिट कार्ड या डेबिट कार्डबाट भुक्तानी दिनुहोस् ।
मैले भनेँ, मसँग त अमेरिकाको कुनै कार्ड पनि छैन, मसँग त नगदमात्र छ । अनि उनले अमेरिकामा अरु को को छन् भनेर सोधिन्, मैले भनेँ, मेरी बहिनी नै छिन् जसले मलाई यहाँ ल्याएर छोडेकी हुन् । अनि उनले बहिनीको फोन नम्बर मागिन् र कुरा गरिन् । बहिनीले मसँग कुरा गरिन् र हाँस्दै भनिन्, मैले त सम्झेकी थिएँ भरे फाराम दर्ता गरौँला , भै गो म मेरो क्रेडिट कार्डको नम्बर भन्छु, तपाईँले आफ्नो फाराममा भर्नुहोला । दर्ता लियो भने फाराममा काम सुरु हुन्छ, सायद अब दर्ता हुन्छ होला । भयो दर्ता । अनि मैले सम्झे हामी कहाँ रहेछौँ र संसार कहाँ पुगेको रहेछ तर हामीले तिनैसँग प्रतिस्पर्धा गरिरहेका रहेछौँ ।
आज तर नेपालमा पनि अनलाइन फाराम दर्ता हुन्छ, भुक्तानी पनि अनलाइन नै सुरु भएको छ र त्यसबाट धेरै समस्या परेको पनि देखिन्छ जबकि युरोप,अमेरिका,अस्ट्रेलिया, जापान, कोरिया जस्तै विकसित देशहरुमा अनलाइन नै टिकट काट्ने, क्यान्सिल गर्ने या सबै काम अनलाइन नै हुन थालेको अवस्था देखिन्छ । समयको माग र उपलब्ध प्रविधिले कति फरक पार्न थालेको छ । सायद शिक्षाको आवश्यकता भनेको पनि यस्तै आवश्यकता पूरा गर्न सक्ने अवस्थाको जानकारी, प्रयोग र तिनको परिणामले दैनिक जीवनमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावको कुरा नै शिक्षाले सम्बोधन गर्ने विषयमा पर्दोरहेछ ।
मैले जहिले पनि शिक्षाको महत्वपूर्ण पक्षको बारेमा भन्दा या लेख्दा एउटा जातक कथालाई लिने गर्छु । एउटा जंगलमा एउटा हरिणको परिवार रहेछ । जेठो हरिण चाहिँ अत्यन्त कुशल र व्यवहारवादी रहेछ र साना साना हरिणहरुलाई जीवनोपयोग शिक्षा दिँदो रहेछ । उसकी बहिनीले पनि सानो छोरोलाई दाजुको जिम्मा लगाएर राखेकी रहिछ दैनिक जीवनोपयोगी शिक्षा दिनका लागि ।
त्यो जेठो हरिणले अरु हरिणका बच्चाहरूसहित आफ्ना सन्तानहरूलाई पनि शिक्षा दिने रहेछ । उसले भनेको रहेछ साना साना हरिण बच्चाहरुलाई कि जंगलको भित्री भागमा नजानू, घना जंगलमा व्याधाहरु जाल बिछ्याएर बसेका हुन्छन् , हतियार लिएर बसेका हुन्छन् । नजिक नजिक खेल्नु र बिस्तारै बिस्तारै जंगलभित्र जाने बानी बसाल्न पर्छ ।
एकदिन ती बच्चाहरु नरम घाँसको खोजीमा र जिज्ञासु स्वभावका कारणले अलि भित्रैसम्म चर्दै चर्दै गएछन् । अनि व्याधाको जालमा त्यो हरिणको भानिन चाहिँ परेछ र अरु भाग्दै भाग्दै जालमा परेको बच्चाकी आमालाई जानकारी दिन गएछन् । त्यो बहिनी हरिण रुँदै कराउँदै दाजु भएको ठाउँमा आई छे र भनी छे, म झन दाजुको शिक्षाका लागि भनेर तिम्रो जिम्मामा छोडेको , आज त मेरो छोरो सिकारीको जालमा फसेछ र अब उसले मार्नेछ ।
दाजु हरिणले भनेछ- चिन्ता नगर, तेरो छोरो अहिले आउने छ तर बहिनी झन झन रुन थाली छे । दाजु हरिण केही नै नभएजस्तो गरेर चरिरहेछ । नभन्दै भानिज हरिण एकछिन पछि हस्याङ्फस्याङ् गर्दै आएछ । सबै खुसीले गदगद भएछन् र बच्चा हरिणसँग कसरी जाल तोडेर आइस् भनेर सोधेछन् ।उसले भनेछ, मामाले मलाई कुन बेलामा कसरी बाँच्नुपर्छ भनेर सिकाएका थिए जस्तो कि यसरी जालमा परेको बेलामा कसरी फुत्कने भनेर पनि सिकाएका थिए । जब सिकारी आउँछ, भुँडी फुलाउनु र सास बन्द गर्नू ।
सिकारीले सम्झने छ - यो हरिण मरेछ । अनि ऊ दाउरा खोज्न र आगो बाल्न तिर लाग्नेछ जाल फुकाएर । अनि अलि पर सिकारी पुगेको बेलामा जोडसँग भाग्नु र पछिल्तिर नहेर्नु किनभने हेर्न थाल्दा ऊ आइ पुग्नेछ र परबाट झटारोले हान्नेछ । अनि मैले त्यही शिक्षाका आधारमा आफूलाई बचाउन सफल भएँ र भाग्दै आउन सकेँ । बहिनी हरिणले बल्ल थाहा पाई कि दाजु किन निस्फिक्री भएर चरिरहेका थिए । सायद जातक कथाले पनि त्यही जीवनोपयोगी शिक्षाको आवश्यकता बोध गरेर यो उपदेशात्मक कथा मार्फत् हामीलाई भविष्यको तयारी कसरी गर्नुपर्छ भनेर सिकाएको होला ।
शिक्षा त्यसैले वर्तमान र भविष्यका लागि कसरी उपयोगी बनाउने भन्नेबारेमा सबैतिर बहस जारी छ र हामीले पनि निकट भविष्यका लागि र दूर भविष्यका लागि समेत तयारी गर्नुपर्छ । सूचना प्रविधिको तीब्र विकास र त्यसको दैनिक प्रयोगले मानवीय जीवनलाई सहज बनाउन थालेको अहिलेको अवस्थाको सदुपयोग संसारका सबै मानिसहरुले सुविधाको रुपमा पाउनु पर्छ ।त्यस्तो वातावरण बनाउनु पनि शिक्षाको लक्ष्य हुनुपर्छ । क्रमशः