लोकसंवाद संवाददाता | समाचार | बैशाख ०५, २०८०
काठमाडौँ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३०औँ समूहको कमाण्ड तथा स्टाफ तालिम आजदेखि सुरु भएको छ ।
बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गर्नुभएको तालिममा छ विदेशीसहित ६२ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मध्यम तहका अधिकृत स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको तालिममा सेनाका एक महिलासहित ५३, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट एक/एक अधिकृत सहभागी हुनुहुन्छ ।
भारत, पाकिस्तान, केन्या, कोरिया, माल्दिभ्स र नाइजेरिया का एक/ एक जना प्रशिक्षार्थी तालिममा सहभागी छन् । सेनाको उच्च तहसम्म पुग्न यो तालिम अनिवार्य मानिँदै आएको छ ।
कलेजले विसं २०५० भदौ २० गते १२ शिक्षार्थी अधिकृत समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ गरेकोमा सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइँदै गएको छ ।
कलेजबाट हालसम्म सेनाका एक हजार एक सय २०, नेपाल प्रहरीका १४, सशस्त्र प्रहरी बल नेपालका २६, राष्ट्रिय अनुसन्धान विभागका १७, रक्षा मन्त्रालयका एक र विदेशी १०८ शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेको निर्देशनालयले जनाएको छ । तालिम शुभारम्भका अवसरमा रथी खड्काले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि भएकाले त्यसलाई सामना गर्न तयार रहनुपर्ने बताउनुभयो ।
कलेजका शिक्षा धिकृत उपरथी सन्तोषकुमार ढकालले परम्परागत सैनिक कारबाहीलगायत सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन सक्ने जनशक्ति तयार गर्न तालिममा विविध विषयवस्तु समेटिएको जानकारी दिनुभयो ।