सत्य सापेक्ष हो कि निरपेक्ष ? शिक्षाको पहिलो लक्ष्य नै सत्यको खोज !

फर्कलान् र ती दिनहरु

सत्य सापेक्ष हो कि निरपेक्ष ?  शिक्षाको पहिलो लक्ष्य नै सत्यको खोज !

हरिविनोद अधिकारी  |  समाचार  |  बैशाख ०९, २०८०

शिक्षाका बारेमा, शिक्षाका विषयमा मैलै आफ्ना धारणाहरू राख्ने क्रममा सबैभन्दा मुख्य कुरा देखेँ, सत्यको खोजी । तर सत्य के हो त ? सत्य सापेक्ष हो कि निरपेक्ष हो ? सत्यले सार्वकालिक ज्ञानको जानकारी पाइन्छ कि सार्वकालिक ज्ञानले सत्यको स्वरुप पहिल्याउन सकिन्छ ? सत्यको पहिलो रुप हो, म । म आफू छु, त्यो सत्य हो तर मेरो परिचय, पहिचानमा देखिने विभिन्न आयामहरू कुनचाहिँ सत्य हो ? कि सत्यका पनि धेरै रुप हुन्छन् ? सत्य कहिले असत्य पनि हुन सक्छ ? असत्य पनि सत्यको रुपमा प्रयोग हुन सक्छ कि सक्दैन ?

कैयौँ निरपराध मानिसहरु कारागारमा बर्सौँ थुनिएका हुन्छन्, ती कारागारमा नै काल गति या अकालगतिले मरेको धेरै वर्षपछि उसको निरपराध आधारको प्रमाण फेला पर्छ भने सत्यको कुन रुपले गर्दा उसले कारागारमा जीवनभर सड्नु परेको थियो ? अनि यी सबै कुराको जानकारीलाई मानिसहरुमा सम्प्रेषण गर्ने माध्यम भनेको नै शिक्षा हो र त्यो शिक्षाले सत्या सत्यको जानकारी दिने उपाय भनेको कस्तो हुनुपर्छ ? यसमा आजको शिक्षाको सम्पूर्ण परिणाम जेलिएको हुन्छ । 

जीवन र जगतको ज्ञानले कसरी जीवन यापन गर्ने सिकाउँछ तर सत्यको सत्यापनले जीवनको आदर्शलाई सिद्धान्तको रुप दिएको हुन्छ । सायद त्यसैलाई मानवीयताको नाम दिएका छौँ र मानवअधिकारको रुपमा त्यसको सम्मान गर्नका लागि शिक्षा मार्फत् सजग गराउँछौँ । तर सत्यको खोजी कसले गर्ने? सत्यको खोजीका लागि को खट्ने र भावी पुस्तालाई सत्य प्रतिको इमान्दार बनाउने ? 

हाम्रो समाजमा सिकाइने पहिलो आदर्श हो, सत्य वद । साँचो बोल । अर्थात् जस्तोसुकै अवस्थामा पनि साँचो बोल । सत्यका बारेमा धेरै उदाहरणहरु दिइन्छ तर त्यही कुरामा कतिले अभ्यास गरेका छन् भन्ने समस्या समाजमा देखिन्छ । समाज अराजकतातिर गयो भन्ने , त्यसलाई कसरी ठिक बाटोमा ल्याउने भन्ने विषयमा सरकारका धेरै निकायहरु लागेका पाइन्छन्, धेरै संस्थाहरु सत्यको खोजीमा स्थापना गरिएका हुन्छन् । तर समस्या त ती संस्थाहरु नै कति सत्यप्रति समर्पित छन् त भन्ने कुरामा प्रत्येक समाजमा, राज्यमा अन्वेषण गरिएको हुन्छ । 

राज्य पनि व्यक्ति सरह मानिन्छ । सत्यको रुप कस्तो हुन्छ ? सत्य अमूर्त हो या मूर्त ? हामीलाई समाजमा सामाजिक करण हुनका लागि पहिलो पाठशाला घर हो, पहिलो गुरु आमा नै हो । घरमा नै जीवन र जगतका बारेमा पूर्ण ज्ञान दिनका लागि विभिन्न ज्ञानका विज्ञहरुले बच्चालाई सिकाउनुका लागि नै गुरुको संसर्गमा पठाइएको मानिन्छ सत्यको खोजीको लागि । वास्तवमा शिक्षा या विद्याको पहिलो लक्ष्य नै हो सत्यसँगको साक्षात्कार गराउने, सत्यसँग साक्षात्कार हुने तरिका सिकाउने । 

मेरो पहिलो गुरु आमाले सत्यका बारेमा उहाँले जानेका पुराणका कथाहरूले उदाहरणसहित सत्यको पक्षमा उभिन सिकाउनु हुन्थ्यो । सत्यका लागि उहाँको सहज परिभाषा थियो- घाम सधैँ लाग्छ, रात सधैँ पर्छ , आकाशमा ताराहरू सधैँ टिम टिकाउँछन् र प्रकृतिको आफ्नो लय नै  सत्यको उदाहरण हो ।

अनि सत्यको पक्षमा उभिँदा देवताहरूले बारम्बार दुःख पाएका र दैत्यहरूले सधैँ सत्यलाई निमोठ्ने हुनाले देवता जस्तो  हुनका लागि सत्यको पक्षमा उभिनु पर्छ, जुन ठिक हो, त्यही सत्य हो । सत्यले विवेक प्रयोग गर्नु भन्छ र विवेकको प्रयोग गरे पछि मात्र सत्य उजागर हुन्छ ।

दुवै कुरा सत्य हो तर सत्यको सम्भाषणले, टिप्पणीले सुपरिवेक्षकले त्यो एक दिनमात्र रक्सी नखाएको ठहरिन्छ जुन दिन उसले रक्सी खाएको थियो । यसमा  सुपरिवेक्षकको अवस्था कस्तो भयो ? कुरा त ठिकै हो, सहयोगीले जुन दिन रक्सी खाएर कर्तव्य पूरा गरेको थिएन, त्यो दिनमात्र सुपरिवेक्षकले रक्सी नखाएको प्रमाणित हुने पो देखियो ।

अझ आमाले दिनु भएको एउटा उदाहरण थियो, सत्य ओखरजस्तै गुदी कडा ओखरको फलभित्र लुकेर बसेको हुन्छ र कडा ओखरला, जतनसँग कडा ढुंगामा राखेर, ढुंगाले नै फोडेर, नरम र स्वादिलो ओखरको गुदी फेला पारे जस्तै हो, सत्य फेला पार्न कडा मिहिनेत आवश्यक पर्छ । अनि भन्नु हुन्थ्यो-एकदिन अकबर र वीरबलका बिचमा सवाल जबाफ भएछ रे , सत्य र असत्यका बिचमा कति फरक छ ? वीरबलले तत्कालै भनेछन् रे, चार अमलको फरक हुन्छ , जहाँ पनाह । अनि कसरी भनेपछि आँखा र कानका बिचमा जुन दूरी छ, त्यही नै सत्य र असत्यका बिचको दूरी हो । जुन देखिन्छ, त्यो सत्य हो, जुन सुनिन्छ, त्यो सत्य नहुन पनि सक्छ । अनि भन्नुहुन्थ्यो - जस्तो बेलामा पनि सत्य बोल्नु तर अप्रिय हुने गरी सत्य नबोल्नु । अनि महाभारतका कथाहरुको उदाहरण दिएर भन्नुहुन्थ्यो, कतिपय साधुहरूले सत्य बोल्दा हुन सक्ने हिंसाका कारणले बिचको बाटो अपनाउँदा तत्काल राजाबाट दण्ड पाएका थिए तर पछि ती साधुहरूले श्राप दिएपछि ती राजाहरुको पतन भयो । अर्थात् सत्य बोल तर अरुलाई अप्रिय लाग्ने कुराहरु नबोल ।

सत्यम् ब्रूयात् , प्रियं ब्रूयात् न बू्रयात् सत्यमप्रियम् । अर्थात् सत्य बोल , प्रिय बोल तर अप्रिय हुने कुरा सत्य भए पनि नबोल । अनि सत्यको महत्व कहाँनेर छ त ? कुन बेलामा सत्य अप्रिय हुन्छ ? कुन बेलामा प्रिय मानिने सत्यको स्थापना हुन्छ ? अनि सत्य र प्रियको बिचमा के सम्बन्ध छ ? मानवीय हिंसा र मानिसलाई पर्ने पिरका विषयलाई हिंसा मान्ने हो कि ? केही कुराहरुमा खोजी आवश्यक देखिन्छ । त्यसो त पूर्वमा सत्य र धर्मलाई एउटै सिक्काका दुईवटा पाटा मानेको पाइन्छ । जहाँ धर्म हुन्छ, त्यहाँ सत्य हुन्छ, जहाँ सत्य हुन्छ त्यहाँ धर्म आफैँ प्रादुर्भाव हुन्छ भन्ने मान्यता छ ।

संसारको पहिलो राज्यनीति र दण्डशास्त्रको सिद्धान्त प्रतिपादन गर्ने मनुले भनेका रहेछन्- सत्य, धर्म , सदाचार र पवित्रतासँग सधैँ अनुराग राख्नू ।मनुकै विचारमा सत्य, ईश्वर र धर्मका बिचमा  अन्योन्याश्रित सम्बन्ध हुन्छ । शुक्रनीति र मनुस्मृतिमा साक्षीले दण्डाधिकारीका अगिल्तिर सत्य बकपत्र गरेमा पापबाट स्वतः मुक्त हुन्छ । यसरी सत्यलाई धर्म, पाप र आचरणसँग जोडेको पाइन्छ परापूर्वकालदेखि पूर्वीय संस्कृतिमा । त्यसैले पहिलो आदर्श नै राखियो सत्य बोल । धर्म गर अर्थात् धर्मप्रति आस्था राख, धर्मप्रति आस्था राख्नु भनेको ईश्वरीय शक्तिप्रति आस्थावान् हुनु हो । 

मेरा घरमा पुराण लगाइन्थ्यो र पुराणलाई अनिमेष ध्यान दिएर सुन्ने खास व्यक्ति मेरी आमा हुनुहुन्थ्यो । मेरी आमा र पुराणभित्र रहेका आदर्श भावलाई जनसमक्ष ल्याउने गुरु साम्बभक्त सुवेदीसँग मेरी आमाले पुराणमा कतिपय कुराहरुको गौण रहस्यहरू के हुन् भनेर पुराणका बारेमा गुरुसँग छलफल पनि गर्नुहुन्थ्यो । एउटी धर्म भीरु मेरी आमाको सधैँ जिज्ञासा हुन्थ्यो - सत्य सापेक्ष हुन्छ कि निरपेक्ष हुन्छ ? कसैका लागि सत्य कसैका लागि असत्य हुनसक्छ कि सक्दैन ? बहसको विषय हुन्थ्यो र गुरुले बारम्बार सत्यको खोजी कहिल्यै पनि सकिँदैन र कुनै बेलाको सत्य अर्को कुनै बेलामा असामयिक र असत्य हुनसक्छ भनेर भन्नुहुन्थ्यो ।

सायद मेरो बाल मष्तिष्कले त्यसको भेउ पाएको थिएन तर सत्यको खोजीमा यदि असत्यको सहयोग लिइयो भने त्यो सत्यले कहिल्यै पनि असल परिणाम दिन सक्दैन भन्नेचाहिँ मैले सम्झेको छु । कतिपय सत्य कसैले प्रकाश नपारे कै कारणले अन्धकार भित्रै इतिहासको गर्भमा हराएर जाने रहेछ र त्यसका लागि पछि गरिने अनुसन्धानले आंशिकरुपमा मात्र सत्यको खोजी गर्छ । आंशिकरुपमा भन्नुको तात्पर्य हो, त्यो सत्य हो कि होइन भन्ने सत्यापन गर्ने पात्रहरु अब फेला पर्दैनन् र अनुमानका भरमा सत्यको खोजी भएको मान्नुपर्ने हुन्छ । 

सत्यको खोजी अनादि काल देखि नै हुँदै आएको देखिन्छ । सत्य भनेको जे भएको छ, त्यसैको जस्ताको तस्तै वाचन गर्नु हो, जस्ताको तस्तै प्रक्षेपण गर्नु हो । सत्यको एउटा रुप यस्तो उदाहरण दिइएको पाएँ मैलै । सत्यको प्रियता र अप्रियताको एउटा यस्तो उदाहरण पाएँ मैले आफ्नो अध्ययनको क्रममा । धेरै वर्ष पहिलेको कुरा रहेछ , विद्युतीय हाजिरी गर्ने प्रचलनभन्दा पहिले । जहाजमा चालक तथा सहयोगीहरुको हाजिरी राख्ने चलन रहेछ ।

एउटा इमान्दार सहयोगीले एकदिन रक्सी खाएर मस्तसँग सुतेछ र उनको सुपरिवेक्षकले उसको बारेमा टिप्पणी लेखेछ- राती रक्सी खाएर मस्तसँग सुतेर आफ्नो दैनिक कर्तव्यबाट च्युत भएको थियो त्यो दिन । अनि त्यो सहयोगीले जब आफ्नो हाजिरीको कैफियतमा यस्तो लेखेका देखेपछि उसले आफ्नो सुपरिवेक्षकलाई अनुरोध गरेछ - म माफी माग्छु त्यो दिनका लागि, यो टिप्पणी नलेख्नुस् । यदि लेख्ने नै हो भने आजसम्मको सेवामा यो एक दिनमात्र यस्तो भएको भनेर लेख्नुहोस् । तर सुपरिवेक्षकले भनेछ, तिम्रो यो गल्तीका लागि दण्ड जहाज कम्पनीको मालिकले दिएपछि बल्ल तिम्रो होस खुल्नेछ ।

तर त्यो जहाजमा अर्को पनि चलन रहेछ, सहयोगीहरुले पनि सुपरिवेक्षकको पनि कैफियतमा टिप्पणी लेख्नुपर्ने । त्यो सहयोगीले पनि लेखेछ, आफूले रक्सी खाएको दिन सुपरिवेक्षकले एक दिन चाहिँ रक्सी खाएका थिएनन् । उसको अनुरोध थियो, एक दिनमात्र रक्सी खाएको लेख्नुस् तर सहयोगीले पनि लेख्यो, एकदिन रक्सी खाएका  थिएनन् सुपरिवेक्षकले । अनि सुपरिवेक्षकले भनेछन्- किन एक दिनमात्र भनेको ? अनि उसले भनेछ, मैले त्यो एकदिनमात्र भन्नुस् भन्दा तपाईँले भन्नुभएन, मैले त एकदिनमात्र भनेर तपाईँको प्रशंसा नै गरेको हुँ ।

यहाँ दुवै कुरा सत्य हो तर सत्यको सम्भाषणले, टिप्पणीले सुपरिवेक्षकले त्यो एक दिनमात्र रक्सी नखाएको ठहरिन्छ जुन दिन उसले रक्सी खाएको थियो । यसमा  सुपरिवेक्षकको अवस्था कस्तो भयो ? कुरा त ठिकै हो, सहयोगीले जुन दिन रक्सी खाएर कर्तव्य पूरा गरेको थिएन, त्यो दिनमात्र सुपरिवेक्षकले रक्सी नखाएको प्रमाणित हुने पो देखियो । पछि दुवैले आफ्ना टिप्पणीहरूले सत्यको पक्षमा बोलेको भए पनि अप्रिय सन्देश दिने भएकाले एकअर्कासँग माफी माग्दै टिप्पणी फिर्ता लिएका थिए । सायद यसैलाई भनेको होला, सत्य बोल तर अप्रिय नबोल । 

शिक्षाले कसरी सत्यको खोजी गर्नुपर्छ भन्ने बारेमा अरु प्रसङ्ग पछि । क्रमशः