डा. विदुर चालिसे | साहित्य | बैशाख ०९, २०८०
लय
-- 'कति जल्छौ आरिसैले, अझै जल्दै गर ! म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर !'
जति यो बोलको गीत कानमा पर्थ्यो, अगाडि बढ्ने सङ्कल्प त्यति नै दृढ थियो । त्यसैले सङ्कल्प घोरिएर बस्थ्यो । उसको साथमा रहेका ध्वनिले निकालेका शब्दहरू झ्याउँ किरीको लय निकालेर पुन: साथमा कराउँथे। आरिसका साथ वेदना र पीडा उकुसमुकुस हुन्थे । सहन एक अभियान थियो । भावुकताको लय र करूणाको भयमा मन बर्बराउँथ्यो ।
--'म त उसै झ्याउँकिरी, कराइरहने झाईं झ्याई !'
नजिकै रहेको अल्लारे गुन्गुनाउन थाल्यो । उसलाई जीवनको बैराग्य थियो । पुतली र झिँगाहरूको एक विशेष सभामा उसले पण्डित्याई पूर्ण आरोपमा घोषणा गर्यो ।
--'अब बाटो बन्द गर !'
--' के को बाटो ?'
--'त्यसको बाटो !'
दर्शकहरु सबै वाल्ल परे । कसैले कुनै पनि कुरा बुझ्न सकेनन् । अल्लारेको गलामा माला थियो । सायद प्लाष्टिकको थियो । प्लाष्टिकको रङ्गिन मालाको अत्तरको सुगन्ध घट्दै गएको थियो । नक्कली मालाको सुगन्ध उडेपछि पोतिएका रङ्गले आँखा तिर्मिराएको थियो । अत्तरको सुगन्धमा झुम्मिएका पुतली र झिँगाहरू बिस्तारै गलाबाट भाग्न थाले । अल्लारे चिच्याउन थाल्यो ।
--'अब बन्द गर ! बन्द गर !!'
सडक छापको प्रशंसाको उचाइ आकासियो । उसलाई सम्पर्क, भेटघाट, सहयोग र साथ दिनेहरू उसको नजिक ओइरिए । उसको एक ढुङ्गाको मूल्य बढ्दै गयो । जताततै उसको प्रशस्ति गाउन गालियो । उसको व्यवसाय, विना पैसा फष्टाउन थाल्यो । नाफा पनि निकै कमाउन र जमाउन थाल्यो। धनाढ्य स्तरमा उम्लिएको उसले आफ्नो श्रीमतीलाई धाक छोडेर भन्यो ।
उसको अत्तालिएको स्वर सुनेर सबैले मुख बन्द गरे। सङ्कल्प दृढ विश्वासमा अगाडि बढिरह्यो । पुतली र झिँगाहरू नयाँ गीत गाउन थाले ।
--'बन्द गर ! अब तिम्रो मुख बन्द गर !'
अल्लारेलाई रिस उठ्न थाल्यो। उसले एक नयाँ संगीतको धुनले फेरि लय भरेर लघुकथाको प्रवचन दिन थाल्यो ।
--' सिम्फोनीमा तिम्रो माया । माया गर्दै गर '।
व्यावसायीकरण
--' न पैरो जाने डर, न कसैको भर ! ठुल्ठुलो गफ हाँक्दिएपछि व्यवसाय र रोजगारी चलिहाल्थ्यो ।"
एकदिन सडक छाप अल्लारेले भोक लागेको रिसको झोकमा प्वाक्क भीडमा ढुङ्गा हानेर उता पट्टि सर्यो । समातियो । सबैले उसलाई नेताको पगरी गुताएर प्रशंसा गर्न लागे ।
--'क्या खतरा मान्छे । नेता भनेको त त्यस्तो पो हुनुपर्छ ज्!'
--'जेलमै मर्ने भो !'
जेलमा उसलाई पुलिसले ससम्मान मासुभात खुवायो । उसको मन एकाएक बदलियो । भोक मेटियो । जड सूत्र भेटियो ।
--'गरिब हरुको जीवनको व्यावसायिक उपाय !'
त्यसपछि सडक छाप आफुलाई जेलरले खुवाएको मासुभात सम्झन थाल्यो । समाजका गरिबहरूलाई मासु भातको अतृप्त कथा बनाएर गाउन थाल्यो ।
--'अब वर्गीय समाज परिवर्तन गर्नुपर्छ!'
भोका, नाङ्गा, दुखी, गरिब र हेपिनेहरू सडक छापले दिएको आश्वासनले नारा लगाउन थाले ।
--'हामीलाई एकपेट खान दे !'
सडक छापको प्रशंसाको उचाइ आकासियो । उसलाई सम्पर्क, भेटघाट, सहयोग र साथ दिनेहरू उसको नजिक ओइरिए । उसको एक ढुङ्गाको मूल्य बढ्दै गयो । जताततै उसको प्रशस्ति गाउन गालियो । उसको व्यवसाय, विना पैसा फष्टाउन थाल्यो । नाफा पनि निकै कमाउन र जमाउन थाल्यो। धनाढ्य स्तरमा उम्लिएको उसले आफ्नो श्रीमतीलाई धाक छोडेर भन्यो ।
--'बुझ्यौ ! मेरो व्यवसायको फल कति मिठो लाग्छ ?'
ओठ सुकेकी, मुहार दोब्रिएकी र भोकाएकी उसकी श्रीमतीले हातमा लिएको एक कागज तेर्स्याएर भनिन् ।
--'लौ अब यो छल छोड्नु, पारपाचुके गरेर मलाई मुक्ति दिनु !'
महान क्रान्तिकारी नेता घोरिएर सोच्न थाल्यो । उसको मुखमा एक गीतको लय गुन्जन थाल्यो ।
--'फूलको आँखामा काँढा संसार, काँढाको आँखामा फूलै संसार !'
श्रीमती पारपाचुकेको कागज टिपेर भाग्दै कराउन थालिन् ।
--'विना ढेउवा के व्यवसाय !'