लोकसंवाद संवाददाता | लोकरञ्जन | बैशाख ११, २०८०
काठमाडौँ । विगत १५ वर्षदेखि लोक सङ्गीतको क्षेत्रमा क्रियाशील रहनुभएका ज्ञानेन्द्र शाही ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’ बाट सम्मानित हुनुभएको छ । गीत लेखन तथा सङ्गीत सिर्जनामा सक्रिय रहनुभएका शाही इपिक म्युजिक अवार्ड २०७९ (उत्कृष्ट सङ्गीतकार), क्वालिटी म्युजिक अवार्ड २०७८ (लोकदोहोरी गीततर्फ उत्कृष्ट पर्व तथा भेक विशेष) र स्टार इन्टरन्यासनल म्युजिक अवार्ड २०२१ (उत्कृष्ट सङ्गीतकार) बाट सम्मानित भइसक्नुभएको छ ।
उहाँका फूलको डाली रित्तै, पिरो माया, लर्के जोबन, बाटुली, साइली माइली, लाहुरे दाइले नहेर लुकी, पिँजडा, मौरी भिरैमा, न्याउली चरी कति रुन्छेउ र, मृत्यु ( जिन्दगीको छैन कुनै भर) तथा दैलेखी ठाडी भाका शीर्षकमा एल्बम निस्किसकेका छन् ।
भगवती माई गाउँपालिका दैलेख घर भएका ३७ वर्षीय ज्ञानेन्द्र शाही सङ्गीत सिर्जनाका उज्ज्वल प्रतिभाका रूपमा उदाउनुभएको उहाँका साथीसंगीहरू बताउँछन् । समाजशास्त्रमा स्नानतकोत्तर शाहीले नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गर्नुभएको छ ।