लोकसंवाद संवाददाता | समाचार | बैशाख १४, २०८०
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको उपाध्यक्ष प्रकाश खतिवडाले जानकारी दिनुभयो ।
बैठकले सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट सङ्गठनले कर्णाली प्रदेशको अधिवेशन यही २० वैशाख गते गर्ने भएको छ । सङ्गठनले अन्य छ प्रदेशको भेलाहरु सम्पन्न गरिसकेको छ ।