लोकसंवाद संवाददाता | समाचार | बैशाख २५, २०८०
प्रतिनिधिसभाको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । बजेट अधिवेशनको पहिलो बैठक नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र लाखौं कुम्ल्याउने खेल र देशमा ब्याप्त भ्रष्टाचारमा केन्द्रित भएको छ ।
प्रतिनिधि सभाको बैठक सुरु नहुँदै एमालेका सांसदहरु प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, रघुजी पन्त, नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बोल्न समय मागे । प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा आइतबार आकस्मिक, शून्य र विशेष समय नराख्ने सहमति भए पनि बैठक सुरु नहुँदै एमाले सांसदहरुले समय मागेका थिए ।
सांसदहरुले समय मागेपछि सभामुख घिमिरे सहमति विपरीत भए पनि समय दिन बाध्य भए । त्यसअघि उनले सांसदहरुलाई आफ्नो सिटमा बस्न थामथुम पार्नुपरेको थियो । बैठकको सुरुमै समय पाएका एमाले प्रमुख सचेतक पदम गिरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणबारे बोले । उनले प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘जुनसुकै हिसाब र क्षेत्रमा भएका भ्रष्टाचारहरू, अनियमितताहरू हुन् । कानुनलाई हातमा लिने कुराहरु हुन् । यी सबै विषयहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायामाझी नै मुछिएपछि एमाले सांसदहरुलाई त्यसको बचाउ गर्न हम्मे हम्मे गरेको संसदमै देखिन्थ्यो । उनीहरुले नक्कली शरणार्थी काण्डमा रायामाझी, पूर्वगृहमन्त्री तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, उनका छोरा, सुरक्षा सल्लाहकार मुछिएका छन् । त्यसैले एमालेलाई यो प्रकरणको बचाउ कठिन मात्रै होइन, प्रत्युत्पादक नै हुने देखिन्छ ।
प्रधानमन्त्री विरुद्ध आगो ओकल्दै आएका ओली एकाएक प्रधानमन्त्रीलाई भेट्न धाएको घटनाले आशंका पैदा भएको छ । शनिबारको भेटपछि रायमाझी कहाँ छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘तपाईहरु नै खोज्नुस् न’ भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसैले आइतबारको बैठकमा एमाले सांसदहरु प्रधानमन्त्री विरुद्ध खनिए । उनीहरुले रायमाझीलाई पक्राउ पूर्जी जारी भएपछि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् । उनीहरुले यो प्रकरणमा छानबिन गर्ने सरकारी नियतमाथि नै प्रश्न उठाए । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार अवस्थामा छन् । फरार रायमाझीको पक्षमा सिधा नबोले पनि उनीहरुले प्रधानमन्त्रीले नक्कली शरणार्थी काण्डमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै आफूहरु फिल्म हेर्न टिकट काटेर आएको अभिव्यक्ति दिए । एमाले प्रमुख सचेतक गिरीले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइडबडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको पनि छानबिन गरौं ।’
प्रधानमन्त्रीले केही दिनअघि भ्रष्टाचारीको फाइल खोल्ने काम सुरु भइसकेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान ट्रेलर मात्रै भएको र सिंगो फिल्म देखिने टिप्पणी गरेका थिए । यही विषयलाई लिएर एमाले सांसदहरुले विषयान्तर गर्दै घुमाउरो रुपमा नक्कली शरणार्थी प्रकरणमा मुछिएकाको बचाउ गर्न खोजेका हुन् ।
एमाले सांसद सूर्य थापाले पनि यही प्रसंग उठाए र फिल्म हेर्न प्युठानका जनताले टिकट काटेर पठाएको बताए । उनी प्रधानमन्त्री र गृहमन्त्रीप्रति चर्को रुपमा प्रस्तुत भए । उनले भने, ‘क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु । कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस् ।’
एमालेकै सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनप्रति नै प्रश्न उठाउँदै कसैलाई उन्मुक्ति दिने र कसैमाथि छानबिन अगाडि बढाउने काम भएको टिप्पणी गरे ।
एमाले सांसदहरु नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा लागेका आफ्ना नेताको बचाउका लागेपछि सत्ता पक्षमा सांसदहरुले पनि त्यसको प्रतिवाद गरे । माओवादी सांसद माधव सापकोटाले टोप बहादुरलाई कानुनको दायरामा बुझाउँदा नै एमालेको हित हुने बताए । उनले नक्कली शरणार्थी काण्डको बचाउमा एमाले उत्रिँदा त्यसले एमालेलाई फाइदा नहुने टिप्पणी गरे । उनले भने, ‘इमान्दारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस् त्यसैमा तपाईंहरुको कल्याण छ । विषयलाई विषयान्तर गर्ने, खिसीटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने जे तपाईंको शैली छ । यसले तपाईंहरुलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
काँग्रेस सांसद रामहरि खतिवडाले पनि जसले बदमासी बढी गर्छ उसैले ठूलो डंका पिट्ने भन्दै एमाले सांसदको रबैयाको प्रतिवाद गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा छुटेका भुटानी शरणार्थी पहिचान गर्न भन्दै कार्यदल बनेको थियो । सोही आधारमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन भन्दै उच्च राजनीतिक संरक्षणमा गिरोह नै लागेको पाइएको छ । घटनाको मिहिन अध्ययन गर्ने हो भने लहरो तान्दा पहरो थर्किने अवस्था सिर्जना भएको छ । यसैकारण छानबिन प्रभावित पार्न दलहरु सक्रिय छन् ।
एमाले सांसद सूर्य थापाले त नक्कली भुटानी बनेर विदेश जान चाहने पनि अपराधी भएको भन्दै उनीहरुको विषयमा धेरै रुवाबासी गर्न नहुने टिप्पणी गरे । थापाको अभिव्यक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद बैठकमै नियमापत्ति गरे । उनले प्रश्न गरे, ‘एउटा नागरिकलाई नागरिकता त्यागेर, ५०५० लाख तिरेर शरणार्थी बन्न बाध्य पार्ने यी दलहरु, अझ अहिले उनीहरुलाई उल्टो कारबाही गर्नुपर्छ भन्ने ?’
यसअघि रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रधानमन्त्री विरुद्ध आगो ओकल्दै आएका ओली एकाएक प्रधानमन्त्रीलाई भेट्न धाएको घटनाले आशंका पैदा भएको छ । शनिबारको भेटपछि रायमाझी कहाँ छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘तपाईहरु नै खोज्नुस् न’ भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसअघि बिहीबार पनि उनले निर्दोषलाई फसाए आफूहरुले नसहने टिप्पणी गरेका थिए । यसबाट नक्कली शरणार्थी प्रकरणलाई एमालेले जसरी पनि विषयान्तर गर्न खोजेको स्पष्ट हुन्छ । आइतबार संसदमा बहुदलपछिका सबै काण्ड छानबिनका लागि आयोग बनाउनुपर्ने सम्मका आवाज उठेका छन् । यी सबै काण्डको छानबिन निष्पक्ष रुपमा हुन सके धेरै कुरा बाहिर आउने निश्चित छ । तर सबै काण्डको छानबिन गरौं भन्ने बहानामा बाहिर आएको र नेपालीलाई भुटानी बनाएर विदेश पठाउन राज्य शक्तिको दुरुपयोग गर्नेहरुले नै छुट पाउने अवस्था आयो भने त्यसले राज्यमाथिको विश्वास झनै घटाउने छ भने अपराधीहरूको मनोबल उच्च हुनेछ ।