शहीद भीमनारायण श्रेष्ठ : रहस्यमयी हत्याको वृत्तान्त, कागजले बेरिएको डल्लोले गरायो मृत्युवरण

शहीद भीमनारायण श्रेष्ठ : रहस्यमयी हत्याको वृत्तान्त, कागजले बेरिएको डल्लोले गरायो मृत्युवरण

राजकुमार दिक्पाल  |  अन्तर्मन्थन  |  बैशाख २६, २०८०

२००७ सालको क्रान्तिपछि घोषित रूपमा ३ जनालाई मृत्युदण्ड दिइएको थियो । उनीहरू हुन्– दुर्गानन्द झा, कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ । उनीहरूमध्ये झा र श्रेष्ठलाई बम विस्फोट गराई राजाको गाथगादी ताकेको अभियोग लगाइएको थियो भने थापालाई राज्य विप्लव मच्चाएको अभियोग लगाइएको थियो । 

यस लेखमा शहीद भीमनारायण श्रेष्ठ संलग्न भएको भनिएको विराटनगरको बम विस्फोटको घटनादेखि उनले शहादत प्राप्त गरेको बेलासम्मको घटनाक्रमका बारेमा संक्षेपमा उल्लेख गरिएको छ ।

एक साता मात्र भएको थियो घरमा विवाहको खुसियाली छाएको । विराटनगरमा सम्पन्न भाइ वीरेन्द्रनारायणको विवाहमा दाजु भीमनारायण श्रेष्ठ एउटा जिम्मेवार अभिभावकको रूपमा खटेका थिए । 

यसै क्रममा भीमनारायण फागुन २२ गते विवाहको सामान किन्न भाइसँगै भारतीय बजार फारवेसगन्ज पुगे । तर, एउटा सल किन्न छुटेछ, त्यसका लागि पुनः भीमनारायण एक्लै फारवेसगन्ज पुगे । फागुन २६ गते विवाह सम्पन्न भयो । 

यसको एक सातापछि भीमनारायण एक विस्फोटमा परी सख्त घाइते भए । विस्फोटमा उनका साथी रामकृष्ण श्रेष्ठ र अर्का व्यक्ति नगेन्द्रप्रसाद पराजुलीको मृत्यु भयो । भीमनारायणसहित पचासौँ जना घाइते भए । नेपाली राजनीतिको इतिहासमा निकै संवेदनशील बन्यो, उक्त घटना । 

२०३० चैत ३ गते पौने १० बजे कोशी अञ्चल अस्पतालको गेटमा यस्तो घटना घट्यो । तत्कालीन राजा वीरेन्द्र पूर्वाञ्चलको भ्रमणमा थिए । राजाको सवारी हेर्न भनी भीमनारायण रामकृष्णका साथ त्यसतर्फ गइरहँदा रामकृष्ण आमाका लागि औषधि किन्न अस्पताल परिसरतिर गएका थिए । त्यहीँ विस्फोट भयो ।

त्यस दिन राजा वीरेन्द्रको विराटनगर भ्रमण तालिकाअनुसार शहीद मैदानबाट समीक्षालयतिर हुने कार्यक्रम थियो । रामकृष्ण र भीमनारायण त्यसतर्फ जाँदै थिए ।

तत्कालीन पञ्चायतकालीन अदालती भाषामा त्यो विस्फोट राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको भन्ने भयो । यस्तो अभियोग भीमनारायण श्रेष्ठमाथि लाग्यो ।

सर्वोच्च अदालतले २०३३ फागुन ६ गते पञ्चायती कानुनको राजकाज (अपराध र सजाय) ऐन, २०१९ दफा २ तथा राजगद्दी ऐन, २०१५ को दफा १६ अनुसार भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो ।

 

भीमनारायणको जीवनको अन्तिम क्षणबारे जिज्ञासा मेट्ने क्रममा यस लेखकले विभिन्न मितिमा शहीदका पिता सूर्यनारायण श्रेष्ठ, शहीदपुत्र मनोजनारायण श्रेष्ठ, शहीदका भाइ वीरेन्द्रनारायण श्रेष्ठ, सर्वोच्चका तत्काालीन न्यायाधीश वासुदेव शर्मा तथा वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठसँग कुराकानी गरेको थियो । यो लेख भीमनारायण श्रेष्ठको शहादतको समयको क्षणसँग सम्बन्धित छ ।

कागजले बेरिएको डल्लो

छुटेको सामान किन्न भीमनारायण एक्लै फारवेसगन्ज पुग्दा त्यहाँ निर्वासित कांग्रेस कार्यकर्ता यज्ञबहादुर थापासँग भेट भयो । यज्ञबहादुर धनकुटामा सेनाको तत्कालीन गुल्मपति हुँदादेखि नै भीमनारायणको उनीसँग राम्रो चिनाजान थियो । उनी धनकुटामा रहँदा हाल धनकुटा नगरको खानेपानी कार्यालय रहेको परिसरमा घर पनि बनाएका थिए ।

२०४५ सालको भूकम्पमा परी घर भत्किसक्यो । त्यो घर सरकारी अधिग्रहणमा परिसकेको थियो । समय क्रममा राजनीतिक विचारले यज्ञबहादुर नेपाली कांग्रेसमा आवद्ध हुँदै निर्वासित भए ।

भीमनारायण पुनः फागुन २५ गते फारवेसगन्ज पुग्दा यज्ञबहादुरले भीमनारायणलाई कागजले बेरिएको एउटा गह्रौँ वस्तु ‘फलानोलाई दिनू है’ भनी थमाए ।

यहीँनेर एउटा प्रश्न उठ्छ, एउटा छुटेको सल किन्न विराटनगरमै पनि पाइन्थ्यो होला । सम्भवतः राजनीतिक मिसनमा उनी त्यसबेला सहभागी थिए वा सहभागी गराइए । त्यसपछि फारवेसगन्ज पुगे ।

त्यही सलसँगै उनको साथ सीमावार भई विराटनगर भित्रिएको कागजमा बेरिएको गह्रौँ वस्तु उनले थापाको निर्देशनअनुसार विराटनगरको ट्राफिक चोकनेरको आफन्त गोपालनाथ श्रेष्ठले चलाएको तत्कालीन ‘धरान होटल’को गोप्य कोठामा नेविसंघका तत्कालीन सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरे । 

यसअघि कांग्रेस कार्यकर्ता दुर्गानन्द झाले जनकपुरमा राजा महेन्द्रको गाडीमा बम प्रहार गरी मृत्युदण्ड भोगिसकेको इतिहासलाई विवेचना गरेर भन्न सकिन्छ, राजा वीरेन्द्रको समयमा त्यो विस्फोट रामकृष्णले गर्न खोजेका थिए– सके राजालाई प्रहार गर्न, नभए तर्साउन ।

कोइराला परिवारको गृहनगरमा आखिर विस्फोट भयो । रामकृष्ण बितिहाले, घाइते अवस्थामा भीमनारायण समातिए ।

२०३० चैत ३ गते बम विस्फोट भएको स्थान देखाउँदै शहीदपुत्र मनोजनारायण श्रेष्ठ ।

३ महिना बेपत्ता

राजाको भ्रमणका बेला विस्फोटमा परी मृत्यु हुने रामकृष्ण श्रेष्ठको पहिचान र उनको राजनीतिक पृष्ठभूमि पत्ता लाग्नु अनि सँगै घाइते हुने रामकृष्णका छिमेकी तथा साथी भीमनारायण श्रेष्ठ सँगै रहनु । यसबाट तत्कालीन राज्य व्यवस्थाको शंकाको खाँडो सिधै भीमनारायणतिर उचालियो । 

तर, आत्मरक्षाका लागि अन्तिम अवस्थासम्म मानिस लड्छ भिड्छ नै, भीमनारायण श्रेष्ठले पनि अन्तिम अवस्थासम्म आत्मरक्षाका लागि इन्कारी बयान दिँदै रहे । 

बम विस्फोटका बेला ‘लवराजा’ भनिने वीरेन्द्रबहादुर शाह कोशी अञ्चलका अञ्चलाधीश थिए । डीआईजी थिए, दुर्लभकुमार थापा । यिनीहरू २ जनामा घटनाको प्रमुख जिम्मेवार व्यक्ति पत्ता लगाउनुपर्ने चुनौतीपूर्ण जिम्मेवारी थियो ।

विस्फोटको ३ दिनपछि भीमनारायण सख्त घाइते अवस्थामै गिरफ्तार भए । घटनामा घाइते १ बालकलाई प्लास्टर गरिएको उनको हात हल्लाएर भीमनारायणकै गोजीबाट एउटा डल्लो झरेको बयान प्रहरीबाट गराइयो ।

घटनामा मृत्यु भएका नगेन्द्रप्रसाद पराजुलीका दाजु टंक पराजुली र तत्कालीन प्रहरी निरीक्षक मोहनबहादुर पाण्डे जाहेरवाला बने । 

दिउँसो अस्पताल र राति डीआईजी कार्यालयमा बयानका लागि भीमनारायणको यातनापूर्ण ओहोरदोहोर चल्यो । अन्ततः यातना खप्न नसकेर उनले बमकाण्डमा आफ्नो संलग्नता रहेको बयान दिए ।

जोगवनीस्थित सशस्त्र प्रहरी गणभित्र राखिँदा उनलाई यति गोप्य राखियो कि ३ महिनासम्म परिवारले थाहा पत्तो केही पाएन ।

भीमनारायण श्रेष्ठलाई गोली हानिएको ठाउँमा जल चढाउँदै शहीदपुत्र मनोजनारायण श्रेष्ठ ।

फैसला गर्ने बीपीका साढुभाइ

यातना सहन नसकेर उनले २०३१ वैशाख ९ गते आफू विस्फोटमा संलग्न रहेको साविती बयान दिए । उक्त बयान र प्रहरी प्रतिवेदनको आधारमा १ सदस्यीय विशेष अदालत (मुकाम बाग्मती)ले २०३१ मंसिर ११ गते जाहेरी फैसला स्वरूप भीमनारायणलाई मृत्युदण्डको फैसला सुनायो । 

भीमनारायणले जीवनरक्षाका लागि तत्कालीन क्षेत्रीय अदालत, धनकुटामा पुनरावेदन गरे । यस अदालतले पनि २०३३ जेठ १४ गते भीमनारायणलाई मृत्युदण्डकै फैसला सुनायो । यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो ।

त्यसबेला भीमनारायणको जीवनरक्षाका लागि सर्वोच्चमा बहस गर्ने वकिलहरू थिए, कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठ र गणेशराज शर्मा । तर, सर्वोच्चले पनि २०३३ फागुन ६ गते क्षेत्रीय अदालतकै फैसला सदर ग¥यो । 

एउटा गजबको संयोगचाहिँ हाम्रो मुलुकमा के भने, जुन संयन्त्रका लागि जसले नेतृत्व गर्छन्, उनीहरूले चाहिँ माफी पाउने र संयन्त्र कार्यान्वयन गर्ने कार्यकर्ताले चाहिँ मृत्युदण्ड भोग्नुपर्ने !

बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट गणेशमान सिंह र शैलजा आचार्यलगायतका साथ २०३३ पुस १६ गते स्वदेश फर्के । यसको २ महिना पनि नबित्दै बीपीका कार्यकर्ता भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई भने मृत्युदण्ड दिने फैसला सुनाइयो ।

यस्तो फैसला सुनाउनेमध्ये सर्वोच्चका तत्कालीन न्यायाधीश वासुदेव शर्मा बीपीका आफ्नै साढुभाइ हुन् । उनी बीपी गृहमन्त्री हँुदा उनका स्वकीय सचिव थिए । बीपीकै पालामा उनी भोजपुरको बडाहाकिम पनि भएका थिए । पछि सेवा परिवर्तन गरी न्याय सेवामा प्रवेश गरेका हुन् ।

भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिन सर्वोच्च अदालतले गरेको फैसलाको प्रतिलिपि ।

अन्तिम क्षण

ओखलढुंगा काण्डमा राज्य विप्लवको अभियोग लागेका यज्ञबहादुर थापालाई पनि मृत्युदण्डको सजाय सुनाइसकिएको थियो । तर, फैसलाको कार्यान्वयन भएको थिएन । आफ्नो मृत्युको दिन पर्खेर श्रेष्ठ र थापा केन्द्रीय कारागारको गोलघरमा आफ्नो दिन गन्ती गरिरहेका थिए । यता, परिवार र नातेदारमा यसबाट परेको पीडा अवर्णनीय छँदै थियो ।

सर्वोच्च अदालतबाट मृत्युदण्डको फैसला भएको पनि २ वर्ष पुग्न १०–१२ दिन मात्र बाँकी थियो । जिल्ला प्रशासन कार्यालय, धनकुटामार्फत भीमनारायणको परिवारका सदस्यमध्ये १ जनालाई अञ्चलाधीश कार्यालय, विराटनगरमा हाजिर हुन बोलाइयो ।

छोराछोरी सानै थिए, बुबा सूर्यनारायण काम विशेषले छिन्ताङ गएका थिए । अब अञ्चालाधीश कार्यालयमा जान भाइ वीरेन्द्रनारायण तयार भए । त्यसबेला हल्लाचाहिँ के चलेको थियो भने, भीमनारायण जेलमुक्त हुँदै छन् । 

वीरेन्द्रनारायण २०३३ माघ २५ गते अञ्चलाधीश कार्यालयमा हाजिर भए । कार्यालयमा पुग्नुअघि उनलाई अञ्चलाधीशको निवासमा बोलाइएको थियो । त्यहाँ शाखा अधिकृत कृष्णप्रसाद दाहालले उनलाई ‘आज तपाईंको दाइलाई यहाँ ल्याइँदै छ, तपाईंले बुझेर लैजानुपर्छ’ भने । विभिन्न कुराले अल्मल्याउँदै राखेर उनलाई भोलि १० वजे कार्यालयमा आउन भनियो ।

उनी ठीक समयमा त्यहाँ पुगे, दाजुसँग भेट हुने आशा लिएर । फेरि उनलाई अल्मल्याएर राखियो । साँझ ४ बजेतिर उनलाई उनका दाजु कार्यालयमा नभई अन्यत्रै आउने भएकाले उतैतिर जानुपर्ने भनी जानकारी दिइयो ।

भीमनारायण श्रेष्ठले शहादत प्राप्त गरेपछि शहीदपत्नी लक्ष्मी श्रेष्ठलाई कांग्रेस नेत्री मंगलादेवी सिंहको साहनुभूति पत्र ।

स्थिति भयग्रस्त भयो, वीरेन्द्रनारायणका लागि । कार्यालयमा कर्मचारीहरूले भाडाको गाडी खोज्न थालेको उनले चाल पाए । कार्यालयभित्र कसैलाई छिर्न दिइन पनि छाडियो ।

वीरेन्द्रनारायणलाई डर लाग्यो । जाडो भएकाले ‘स्वेटर लगाएर आउँछु’ भनी अञ्चलाधीश कार्यालयबाट उनी भागे । नजिकैका नातेदार ईश्वरबहादुर श्रेष्ठको घरमा पुगी उनले अञ्चलाधीश कार्यालयको सबै बातावरण सुनाए । 

यसबारे ईश्वर गएर बुझ्दा वीरेन्द्रनारायणलाई चाहिँ जस्ताको तस्तै फर्काइदिने आश्वासन अञ्चलाधीश कार्यालयका शाखा अधिकृत दाहालबाट पाए । 

यो खबरपछि अञ्चलाधीश कार्यालयमा आएर वीरेन्द्रनारायणले सरकारी कर्मचारीहरूलाई ‘छिटो जाऔँ’ भन्न थाले । साँझ ५ बजेपछि उनलाई चढाइएको गाडी हुँइकियो । उनले भेउ पाएअनुसार गाडी पश्चिमतिर लाग्दै थियो ।

बीच बाटोमा तेल भर्ने क्रममा गाडी रोकिँदा उनले प्रभु नामका १ जना चिनारुलाई भेटे । उनले आफ्नो अवस्थाबारे उनलाई जानकारी दिए ।

कोशी ब्यारेजमा गाडी रोकियो । त्यसअघि इनरुवामा गाडी रोकिएको थियो । त्यसबेला सुनसरी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भगवान सिंह खाजा खाँदै थिए ।

कोशी ब्यारेजमा पुगेपछि फेरि अल्मल्याउने काम भयो । तास पो खेलाउन थालियो । राति ९ बजेतिर १ जना आई प्रजिअ सिंहसँग मसिनो स्वरमा वार्तालाप गरेर उनलाई त्यहाँबाट लिएर हिँडेपछि वीरेन्द्रनारायण थप भयभीत भए । 

आफूलाई नै मार्न लागेछन् भन्ठानेर वीरेन्द्रनारायण पान किन्ने निहुँले कोशी ब्यारेजबाट दक्षिणतिर भाग्न लम्के । तर, मर्नुपरे पनि आफ्नै देशमा मरौँला भन्ठानेर उनी फर्के । उनलाई १ जना सरकारी अधिकारीले भने, ‘तपाईंको दाजुलाई कोशी टप्पु पु¥याइसकिएको छ । अब भेट्न उतै जाऔँ ।’

उनलाई कोशी टप्पु पु¥याइयो । चितामाथि सेतो कपडाले बेरिएको शव थियो । अनुहार खोलेर हेर्दा उनका दाजु मौन थिए । उनले दाजुको अनुहार छामे । शव आलै थियो । भर्खरै मारेछन् भन्ठाने । रातको १ बजेको थियो । 

उनले शव आफूलाई दिनुपर्ने माग गरे । आफूलाई नदिने हो भने शव नबुझ्ने भने । आफ्ना बुबाआमा जीवितै रहेको अवस्थामा आफूले परम्पराअनुसार दाजुको शवमा दागबत्ती दिन नमिल्ने बताए ।

यस्तो गलफत्ती भइरहेका बेला संगीनधारी प्रहरीबाट घेराइएर उनलाई शव बुझ्न बाध्य गराइयो । र, १ जना ब्राह्मण जातका प्रहरीबाट भीमनारायण श्रेष्ठको शवमा दागबत्ती दिइयो ।

भीमनारायण श्रेष्ठ (टोपीमा) परिवारका साथ ।

भीमनारायणको शहादतको भोलिपल्ट वीरेन्द्रनारायणलाई बरबुझारथका लागि सुनसरी जिल्ला प्रशासन कार्यालय, इनरुवामा बोलाइयो । उनले दाजुको सामान बुझ्दा कागजपत्रचाहिँ केही पाएनन् । काठमाडौंबाट आएका प्रहरी अधिकृतबाट भीमनारायणले कारागारमा रहँदा उधारो खाएको ३६२ रुपैयाँ बाँकी रहेको बताइयो । उनले प्रहरी अधिकृत भीष्मजंग थापालाई उक्त रकम हस्तान्तरण गरे । 

भीमनारायणले अन्तिम वाक्य सरकारी मानिसहरूसँग के बोले थाहा छैन, यज्ञबहादुर थापा र उनलाई २०३५ माघ २४ गते बिहानको ४ नबज्दै २ वटा छुट्टाछुट्टै प्रहरी भ्यानमा कोचेर लगिएको देख्ने साक्षीचाहिँ तत्कालीन जेलयात्री हालका प्रधानमन्त्री केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी तथा राधाकृष्ण मैनाली थिए ।

मैनालीको जेल संस्मरण ‘लुटिएका दुई थुँगा फूल’अनुसार भीमनारायणले छुट्ने बेला मैनालीहरूलाई गम्भीर हाँसोका साथ भनेका थिए, ‘जीवन रहे भेट होला, नभए यति हो । बाँचेकाले क्रान्ति गर्नू, मेरो यही खबर सबैलाई सुनाइदिनू ।’

धनकुटाको भीमनारायण चोक ।

धनकुटाको भीमनारायण चोक ।