पहुँचको  कसीमा राष्ट्रिय खोप कार्यक्रम

पहुँचको  कसीमा राष्ट्रिय खोप कार्यक्रम

अंशु भूसाल  |  समाचार  |  बैशाख ३१, २०८०

जनस्वास्थ्यको मुल उद्देश्य भनेको व्यक्तिलाई सकेसम्म रोग लाग्नै नदिनु हो । यसका विभिन्न तरिका मध्ये खोप पनि एउटा तरिका हो । खोपले मानिसको रोगसँग लड्ने क्षमता बढाउँछ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले खोपलाई स्वास्थ्यमा भावी पुस्ताका लागि गर्न सक्ने सबैभन्दा सफल र प्रभावकारी लगानीको रुपमा वर्णन गरेको छ ।

मानिसलाई बिरामी, अपांगता देखि मृत्यु गराउने उच्च जोखिम रहेका विभिन्न रोग तथा संक्रमणबाट बच्नको लागि खोप लगाइनुपर्दछ । खोप लगाउँदा शरीरमा रोगसँग लड्ने शक्ति (एन्टिबडी) विकास भएर त्यसले रोग तथा संक्रमण गराउन सक्ने भाइरस वा ब्याक्टेरियालाई नष्ट गर्दछन् ।  

कोभिड १९ को महामारीले खोपको महत्वको बारेमा अझ बढी जानकार बनायो । इतिहास हेर्ने  हो भने पनि  खोपको कारणले धेरै मानव जीवन बचेको छ र्। ब्ल्याक डेथ’ का रुपमा पहिचान बनाएको प्लेगको महामारीलाई सामान्य रोगका रुपमा रुपान्तरण गर्न खोपको पनि भुमिका छ । त्यसैगरी बिफर (गोटी)को महामारीमा खोपको प्रभावकारीता देखिएको हो । जनस्वास्थ्यको डरलाग्दो दुस्मनका रुपमा लिइने हैजाबाट बच्न व्यक्तिगत तथा शारीरिक सरसफाइका साथै खोपलाई पनि महत्व दिन लागिएको छ । नेपाललाई सन् २०१० देखि पोलियो मुक्त राष्ट्र बनाउन यस खोप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको छ । खोपकै कारणले सन् २०१९ मा नेपाल लगायत भुटान, बंगलादेश तथा थाइल्यान्डले बच्चामा हुनसक्ने हेपटाइटिस बी को रोकथाम गर्न सफल भएको छ । दादुराबाट हुन सक्ने मृत्युदर घटाएको छ । कुष्ठरोग निवारणको लक्ष्य हासिल गरेको नेपालले जापानी इन्सेफलाइटिसलाई नियन्त्रण गरेको छ । त्यसका साथै सुत्केरी तथा नवजात शिशुमा धनुष्टङ्कार रोग निर्मूल नै भएको छ ।

खोप बालबालिकाको स्वास्थ्य, सुरक्षा र सम्पूर्ण वृद्धि विकासको लागि महत्वपूर्ण छ । बालबालिकामा हुन सक्ने बिरामीको दर, मृत्युदर तथा विकलांग हुने दर तथा मातृ मृत्यु दर घटाउनुको लागि पनि खोप लगाउनुपर्दछ । तर विश्व स्वास्थ्य संगठन अनुसार, अझै पनि करिब २० करोड बालबालिकाले पूर्ण खोप पाएका छैनन् । नेपालको खोप ऐनले खोपलाई सबै बालबालिकाको मौलिक हकका रुपमा अर्थाएको छ । विभिन्न संक्रमणहरु बाट बचाउन नेपाल सरकारले शिशु जन्मेदेखि १५ महिनासम्म विभिन्न चरणमा हुने गरी  खोपको तालिका बनाई खोपहरु उपलब्ध गरेको छ जसलाई हामी नियमित खोप भन्द छौँ । नेपालमा बालबालिकालाई खोपबाट बच्न सकिने १३ वटा रोग विरुद्धको खोप दिइन्छ । कुनै खोप एक चोटि मात्र दिए हुन्छ भने कुनै खोप विभिन्न चरण गरेर दिनुपर्दछ । 

नेपाल सरकारको हालसम्मकै सबैभन्दा उपलब्धीमूलक कार्यक्रम भनेको राष्ट्रिय खोप कार्यक्रम हो । यो प्राथमिकतामा पनि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पर्ने यस कार्यक्रमबाट सबै भुगोल, आर्थिक अवस्था भएका बालबालिकाले सेवा प्राप्त गरेका छन् । आर्थिक वर्ष २०६९-७० देखि संचालनमा आएको पूर्ण खोप अभियान’ अन्र्तगत २०७७-७८ सम्ममा, ६३ जिल्लाहरु पूर्ण खोप जिल्लाका रुपमा घोषणा भइसकेका छन् । कोभिड १९को त्यस्तो डरलाग्दो महामारीमा समेत नियमित खोपका कार्यक्रम चलेका थिए । रोटा र टाइफाइडको विरुद्धको खोप पनि चलाइ रहेकोे नेपाल सरकारले, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप निकट भविष्यमा नियमित तालिकामा समावेश गर्दैछ ।

 समृद्ध नेपाल, सुखी नेपाली’ लाई मार्गदर्शन दिनको लागि तर्जुमा गरिएको यस योजनाले  खोप सेवालाई दिगो बनाउन खोप कोषलाई सुदृढ बनाउँदै रोगको भार तथा लागत प्रभावकारीता आधारमा समयानुकूल खोप सेवा प्रदान गर्नुपर्ने’ कार्यनीति राखेको छ । खोप लगाउनु जति नै महत्वपूर्ण छ, त्यसको पहुँच अझ आवश्यक छ ।

पन्ध्रौं योजना (२०७६-७७/२०८०-८१) ले पनि स्वास्थ्य तथा पोषण अन्र्तगत खोपलाई सम्बोधन गरेको छ र ।  समृद्ध नेपाल, सुखी नेपाली’ लाई मार्गदर्शन दिनको लागि तर्जुमा गरिएको यस योजनाले  खोप सेवालाई दिगो बनाउन खोप कोषलाई सुदृढ बनाउँदै रोगको भार तथा लागत प्रभावकारीता आधारमा समयानुकूल खोप सेवा प्रदान गर्नुपर्ने’ कार्यनीति राखेको छ । खोप लगाउनु जति नै महत्वपूर्ण छ, त्यसको पहुँच अझ आवश्यक छ ।

विश्व स्वास्थ्य संगठन अनुसार, सन् २०१९ सँग दाँज्दा सन् २०२१ मा एउटा पनि खोप नलगाएका बच्चाहरु करिब ५० लाखले बढेको पाइयो । यसको प्रमुख कारणको रुपमा कोभिड -१९ को महामारीलाई मान्न सकिन्छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२- २०७७ ले सन् २०३० सम्ममा खोप तालिकामा भएका खोपहरूको पहुँच १२-२३ महिनाका बालबालिकामा ९५ प्रतिशत हुनपर्ने लक्ष्य लिएको छ । सन् २०१७ सम्ममा पूर्ण खोप राष्ट्रमा पुग्ने लक्ष्य लिएको नेपालले लक्ष अनुसार प्रगति प्राप्त गर्न असमर्थ रह्यो । दिगो विकास लक्ष्यले पनि खोपको उपलब्धता र पहुँच बढाउनुको लागि प्रेरित गरेको छ ।

राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, १२ देखि २३ महिनाका ८० प्रतिशत बालबालिकाले आवश्यक खोप पाएका छन् भने ५२ प्रतिशतले मात्र राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप पाएका छन् । सोहि सर्वेक्षण अनुसार, जन्मिने बित्तिकै वा जन्मेको सातौँ दिन भित्र लाउनु पर्ने बि.सि.जी (क्षयरोग विरुद्धको खोप) ९५ प्रतिशत बच्चाले मात्र पाएका छन् । सन् २००१ देखि २०२२ सम्मको तथ्यांकलाई हेर्दा, शुन्य डोज खोप (एउटा पनि खोप नलगाएको) बालबालिकाको दर बढेको छ । सन् २००१ मा १ प्रतिशत थियो भने सन् २००६ र २०११मा  ३ प्रतिशत थियो । सन् २०१६मा घटेर १ प्रतिशतमै थियो तर सन् २०२२मा बढेर ४ प्रतिशत भएको छ । यो हामी सबैको लागि भविष्यमा शिशु तथा बालबालिकामा बढ्न सक्ने बिरामी दर देखि मृत्यु दरको अग्रिम सूचक हो । यसले खोपमा सरकारले गरेको लगानी तथा त्यससँग सम्बन्धि प्राप्त गरेका उपलब्धिमा प्रश्न चिन्ह खडा गरेको छ । 

आम नागरिकमा खोपको महत्व बोध गराउन सकियो भने पक्कै पनि खोपमा पहुँच अझ बढाउन सकिन्छ । एउटा बच्चा खोपबाट वञ्चित हुनु भनेको ऊ मात्र नभई समाज नै असुरक्षित हुनु हो भन्ने कुरा बुझ्न र बुझाउने कोसिस गर्नुपर्दछ । बर्खाको बेलामा हाम्रो सडक मार्ग एकदम नाजुक हुन्छ जसले गर्दा कहिलेकाही खोपको भाइल मोनिटरको रंग बदलिएर खेर जान्छ । त्यसैले खोपको कोल्ड चेनलाई सुदृढ बनाउनुपर्दछ । गुणस्तरयुक्त खोप सेवा दिनको लागि कोल्ड चेन तथा भ्याक्सिन व्यवस्थापन कार्यनीतिको प्रभावकारी रुपले कार्यान्वयन गर्न जरुरी छ । 

खोपले बालबालिकाको स्वस्थ्य जीवनको लागि ठूलो भुमिका खेलेको छ । खोप सकेसम्म उमेर अनुसार लगाउनुपर्दछ तर केहि कारणवश मिलेन भने पाँच वर्षभित्र लगाउन मिल्छ । छुटेका बालबालिकालाई स्वास्थ्यकर्मीहरुले खोप लगाउनु हुन्छ ।'बृहत खोज, र खोप अभियान' मूल नाराका साथ यस २०८० साल वैशाख महिनामा, छुटेका बालबालिकालाई नियमित खोप लगाइँदैछ । वैशाख १५ मा पनि कुनै बालबालिका छुटेका छन् भने वैशाख ३१ मा देशैभरि सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई सेवा दिइँदैछ । हाम्रा बालबालिकाले मात्रै पूर्ण खोप लगाएर सुरक्षित हुँदैनन् । समाजका सबै बाल बालिका खोपबाट वञ्चित हुनु भएन तब मात्र हामी हाम्रा नानी बाबुका लागि स्वस्थ तथा सुरक्षित वातावरणको विकास गर्न सक्दैछौँ । सबै बालबालिकाले खोप लगाए, कोहि छुटेनन् भने बल्ल सुरक्षित महसुस गर्न सकिन्छ । आफ्नो छिमेकको बच्चाले पूर्ण खोप लगाएको छैन भने हामीले समन्वय गर्नुपर्दछ । हाम्रा मात्र होइन छर छिमेकका पनि कोहि बालबालिका खोपको अवसरबाट बन्चित नहुन् ।