ज्ञानमित्र | दृष्टिकोण | जेठ ०१, २०८०
जति कसम खाए पनि
अचेल देशमा रमिता छ। हत्तेरिका जीवनमा एकपटक कवि कर्ममा होमिएपछि कविताले नछाड्ने रहेछ। मुलुक हल्लिएको बारे केही कोरकार गरौ भन्ने आशयले लेख्न बसेको
अरुण थापाको गीतको पंक्ति र इन्द्रबहादुर राईको 'आज रमिता छ' बडो सटीक लागे। शायद कविको डीएनए बाँकी नै भएर होला।
अचेल देशमा व्याप्त रमिताबारे अनभिज्ञ त को नै होला ! अहिलेसम्मको उत्कर्ष बाटै विषयतिर लागौँ।
म्याडम आरजु (क्षमा गर्नु होला शेरबहादुरजी मेरो दाई होइन, तसर्थ भाउजु लेख्न असमर्थ छु ) ले आम संचार माध्यमका मार्फत छोराको कसम खाएर आफ्नो कुरा राख्नु पर्यो।
अनि नेपाली जनलाई अरुण थापाको गीत सम्झना आउनु स्वाभाविक नै होइन।
जति कसम खाए पनि.....
आरजुलाई संचार माध्यममा आउने बाध्यता भयो। देशमा हल्ला चल्यो, उनी पनि फरार भइन रे ! मिडिया मार्फत प्रकट नभएको भए टोपबहादुर रायमाझी र मञ्जु खाँडको पंक्तिमा उभिन् पुग्थिन् उनी पनि। बाध्यताले उनलाई टिभीमा आएर छोराको कसम खाने प्रपञ्च गर्नु पर्यो।
देशमा रमिता छैन त अचेल ! मन्त्री नियुक्ति गर्ने, सचिव बनाउने हैसियत राख्ने, मन्त्री- सचिव जोसुकै भए पनि मन्त्रालय आफ्नै दबदबाले हाँक्ने बाहु बली महिलाले जाबो पत्रकारले भन्दैमा आफ्नो छोराको कसम उठाउने निरिह ता खेप्नु पर्यो। हेर्दै गर्नु होला, आरजु म्याडमले अन्य मिडिया मार्फत पनि कसम खाने उपक्रम जारी राख्छिन्।
उनले जति पटक कसम खाए पनि आम जनताले त अरुण थापाको गीत नै सम्झिन्छन् -जति कसम खाए पनि...।
२०४६ सालको परिवर्तन पछि गठित भएको मल्लिक आयोगबारे गणेशमानजीले भन्नु भएको थियो - लहरो तान्दा पहरो जाने भयो। अन्ततः पहरोको डरले लहरो पनि फस्टाई रह्यो।
नक्कली भुटानी शरणार्थी प्रकरणले लहरो तान्दा पहरो गई नै सक्यो। भूतपूर्व उप प्रधानमन्त्री, भूतपूर्व गृहमन्त्री, बहालवाला सचिवको संलग्नता झन्डै प्रमाणित सरह नै हो।
नेता भ्रष्ट, ब्यूरोक्रेट भ्रष्ट हेर्ने हाम्रो मनस्थिति नै गलत छ। एउटा अन्तर्राष्ट्रिय संगठित अपराध प्रकरणमा संलग्नताको अनुसन्धान चलिरहेको क्रममा निज आरोपितलाई टिभीको स्टुडियोमा निम्त्याएर छोराको कसम, आमाको रगत खाएको कसम खुवाएर चोख्याउन खोज्ने, अनुसन्धानलाई प्रभावित गर्ने सम्मको कृत्य गर्ने मिडिया हाउस र पत्रकार भ्रष्ट होइनन र ?
भूतपूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई र छोरा प्रतीक थापाको यस संगठित अपराधमा प्रत्यक्ष भूमिका सुनिश्चित भइसकेको अवस्थामा रामबहादुर स्वयम् भने कसरी उन्मुक्ति पाउन सक्छन ?
आरजु म्याडम ! नक्कली भुटानी शरणार्थी प्रकरणमा मन्जु खाँड र तपाईंको जुन अडियो टेप सार्वजनिक भयो, त्यसले मन्जु खाँडले भूमिगत हुनु पर्ने र तपाईं टेपलाई हावादारी भनेर कसम खादै हिड्ने !! 'दाल मे कुछ काला है कि पुरी दाल ही काली है ?' बरु अर्को पटक टिभीमा आउँदा मञ्जुलाई पनि खोज तलास गरेर संयुक्त रूपमै कसम खानु होला।
तपाईंलाई मात्रै होइन मलाई पनि विश्वास छ, 'ठूलो मान्छेको श्रीमती तपाईंलाई, तपाईंका ठूलो मान्छेले जुनसुकै मूल्य चुकाएर पनि जोगाउनु हुन्छ।'
कतिपय विश्लेषक, नेता एवम प्रबुद्ध वर्गको भनाइ छ - नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने नाम गरिएको संगठित ठगी प्रकरणको जाँच नेपाल प्रहरीले मात्रै गरिरहेको छैन। यस जाँच अनुसन्धानमा अमेरिकी एजेन्सी 'फेडरल ब्युरो अफ इन्वेस्टिगेशन' (एफबीआई ) पनि सम्मिलित छ। तसर्थ यो प्रकरण यत्तिकै सेलाउँदैन। जस्तो पनि सपना देख्ने, जसको पनि आशा गर्ने नेपालीलाई अमेरिकी एजेन्सीप्रति आशा हुनु स्वाभाविक हो ।
तर व्यक्तिगत रूपमा मलाई के लाग्छ भने यदि यसभन्दा पहिला नै नक्कली भुटानी शरणार्थी बनेर नेपालीहरुले अमेरिका प्रवेश गरेका छन भने अमेरिकी चासो हुन्छ अन्यथा नेपालमा विदेश पठाउने नाममा भएको ठगीबारे अमेरिकालाई धेरै टाउको दुखाइ हुन्न। कुटिल 'जियो पोलिटिक्स' को जमानामा उसले पनि आफ्ना केही स्वार्थ र शर्त पूरा गर्न लाएर सबै टाउकेहरुलाई नाङ्गिन बाट जोगाउँछ।
ओली प्रधानमन्त्री हुँदा 'क्याबिनेट डिसिजन'बाट शुरुवात भएको ठगी प्रकरण हो यो। त्यसपछिका प्रधानमन्त्री, गृहमन्त्री र सम्बन्धित सबै सचिवहरुको नाक घाँटी जोडिन्छ यस ठगी प्रकरणमा। यी सबैका पुत्र- पत्नी-निजी सचिवहरु पनि यस अपयशमा समान रूपले कलङ्कित हुन्छन्।
ठगी प्रकरण उत्कर्षमा पुग्न नपाउदै ओली-प्रचण्ड र देउवाको तारन्तार भेटघाट भइरहेछ। यस भेटघाटको उद्देश्य जे भए पनि आम नेपालीलाई पूर्ण विश्वास छ यी तीनै जनाको भेटको असली उद्देश्य जॉंच अनुसन्धानलाई सीमित गर्न/बाधित गर्न, आफु र आफन्तलाई जोगाउन मै केन्द्रित छ।
यस ठगी तथा मानवता विरुद्धको संगठित अपराध प्रकरणको जॉंच अनुसन्धान निष्पक्ष तवरले अगाडि बढेमा कतिपय स्वनामधय तथाकथित संप्रभु मसीहाहरुको नाम, यश, कीर्ति, जीवन भरका उपलब्धि सबै खरानी हुनेछ। हुन त यसको सम्भावना अत्यन्त न्यून छ। तर सम्भावनाको एक प्रतिशतले चमत्कार नै भएर निष्पक्ष अनुसन्धान भयो भने नेपाली कांग्रेस र नेकपा एमालेमा रुवाबासी नै मच्चिनेछ ।
उदाहरणका लागि यदि आरजु म्याडमले अडियोमा सार्वजनिक भए जस्तै पैसा समातेको रहेछ भने के तत्कालीन प्रधानमन्त्री उनका पति शेरबहादुर देउवालाई उम्किने ठाउँ हुन्छ ? ओलीको सेवामा रहेको घर, परिवार, नाता, गोता, इष्ट, मित्र लगायत कसैले आरजु म्याडम जस्तै पैसामा तेश्रो नेत्र उघारेको रहेछ भने के उनलाई त्यसको आँचले पोल्दैन ?
सयौँ हवलदार भएर नै तथाकथित भाउजुहरुले सुर्पनखा गिरी गरेका होइनन र ?
तर यो 'मुंगेरीलालको हसीन सपने' मात्रै हो, यस्तो केही पनि हुन्न। कम्तीमा मलाई त आशा छैन।
अमेरिकाको 'फेडरल एजेन्सी' नै जॉंच अनुसन्धानमा रहे पनि केही हुन्न। एमसीसी पछि नेपाल 'अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम' (एसपीपी ) मा जाने कुरा उठेको थियो। हल्ला खल्ला र विरोध भएपछि त्यो सेलायो। यदि अमेरिकालाई एसपीपी प्रति ठूलो चाहना छ भने, के यसैको बार्गेनिङ सबै नेता चोखिँदैन र ? नेपाली नेतालाई नेपाल र नेपालीको माय -ममता छैन भने अमेरिकाले नेपालीको माया गरेर उसको उद्धार कार्यमा सहभागिता जनाउँछ भन्ने आस गर्नु दिवा स्वप्न बाहेक के हुनसक्छ !
बरु यसको सट्टा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रबल सम्भावना छ। शेर बहादुर र ओली मिलेर सरकार बन्न सक्छ। प्रचण्ड बाहिरिँदा उनी विरुद्धको 'क्यान्टोनमेन्ट' को फाइल खोलिन सक्छ। आखिर सबै लुटेरा नै हुन। सबैले नेपाल र नेपालीलाई लुटेकै हुन। एउटा लुटेराले अर्को लुटेरालाई नाङ्गे झार बनाउने उपक्रम गर्दा अर्कोले उसलाई ऐना देखाउँछ।
हामीलाई त्यो पनि रमिता नै हुन्छ।
नेपालमा जारी रहेको व्यवस्था लागू भएदेखि यसका विरुद्धमा रहेका एक थरी जमात भने यस ठगी प्रकरणको जॉंच अनुसन्धानले अति उत्साहित भएर यस काण्डले व्यवस्था परिवर्तन हुने सम्मको भविष्यवाणी गर्न तल्लीन बनेका छन । मानौ कांग्रेस र एमालेका २-४-८-१० जना बहिष्कृत हुँदैमा अथवा जेल पर्दै मा मुलुकमा ज्ञानेन्द्र रेक्टर स्केलको भुइँचालो गएर राजतन्त्रको पृष्ठभूमि तैयार हुन्छ। कतिपयले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँग पुर्व राजाको भेटलाई यसै आशयका साथ प्रचारित गरिरहेका छन।
योगीको नेपालको दरबारसँग जति आत्मीयता भए पनि, उनी राजतन्त्रको जतिसुकै समर्थक भए पनि दिल्लीको मर्जी नभएसम्म उनी एक डेग पनि चाल्न सक्दैनन्। हो, पुर्व राजाले उनी मार्फत दिल्लीलाई बिन्तीपत्र भने चढाउन सक्छन।
विभिन्न दलका भ्रष्ट नेता ठगी एवम भ्रष्टाचारको अपराधमा जेल पर्दै मा व्यवस्था परिवर्तन हुन्न। अहिले भर्खरै भारतको कर्नाटक राज्यमा सम्पन्न भएको विधान सभा निर्वाचनमा विजयी भएको भारतीय कांग्रेसका नेता डीके शिवकुमार भन्छन-जब म मनी लांड्रिंगको मुद्दामा जेलमा थिए, सोनिया गान्धी मलाई भेट्न आउनु भएको थियो। २०१९ को उप चुनावमा कांग्रेसको हार हुँदा सिद्धार मैयाले कांग्रेस विधायक दलको अध्यक्ष पदबाट र दिनेश गुंडु रावले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिनु भयो। त्यस बेला सोनिया गान्धीले ममाथि विश्वास गरेर मलाई प्रदेश अध्यक्ष बनाउनु भयो। मनी लांड्रिंग मैले आफ्नो लागि होइन, पार्टीका लागि गरेको थिए।
शिवकुमारको नेतृत्वमा कांग्रेसले कर्नाटक चुनावमा शानदार विजय हात पारेको छ। सिद्धार मैया अथवा शिवकुमार मध्ये एकजना मुख्यमन्त्री बन्ने छन।
नेपालमा के यसभन्दा फरक स्थिति हुन्छ ?
नेता भ्रष्ट, ब्यूरोक्रेट भ्रष्ट हेर्ने हाम्रो मनस्थिति नै गलत छ। एउटा अन्तर्राष्ट्रिय संगठित अपराध प्रकरणमा संलग्नताको अनुसन्धान चलिरहेको क्रममा निज आरोपितलाई टिभीको स्टुडियोमा निम्त्याएर छोराको कसम, आमाको रगत खाएको कसम खुवाएर चोख्याउन खोज्ने, अनुसन्धानलाई प्रभावित गर्ने सम्मको कृत्य गर्ने मिडिया हाउस र पत्रकार भ्रष्ट होइनन र ?
पुर्व गृहमन्त्री बालकृष्ण खाँड गिरफ्तार हुँदा न्यायालयमा उनको पक्षमा स्वस्फूर्त रूपले लागेको वकिल साबहरुको ताँती, वरिष्ठ वकिलहरुले अदालत सामु आफ्नो जिम्मामा गिरफ्तार नगर्ने सम्मको जिरह / प्रस्ताव ! के यी वकिल साबहरुको कर्तुत स्तुति योग्य हुनसक्छ ?
गिरफ्तार भएको व्यक्तिको समर्थनमा नारा जुलुस गर्न जम्मा भएका धूर्तहरु भ्रष्टाचारकै वंशज होइनन ? पार्टीबाट निज खाँडलाई निलम्बित नगर्ने वकालत गर्ने सबै नेतृत्व पंक्ति भ्रष्टाचारी गोत्रकै होइनन ?
देशमा रमिता छ। हिसिला यमी भ्रष्टाचार विरोधी आन्दोलनमा सडकमा देखा पर्नु यसभन्दा बढी रमिता अरु के हुनसक्छ ?