लोकसंवाद संवाददाता | समाचार | जेठ ०३, २०८०
काठमाडौँ । संयुक्त राष्ट्र संघको सातौँ सडक सुरक्षा सप्ताह (मे १५-२१) को सन्दर्भ पारेर अति नै संवेदनशील बनिरहेको मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धि टाउकोको चोटपटक र हेल्मेटको महत्व बारे अध्ययन प्रतिवेदन हालै काठमाण्डौँमा सार्वजनिक गरियो ।
अन्तराष्टिय अटोमोबाइल फेडेरेशनर नेपाल अटोमोबाइल्स एसोसिएसनको सहयोगमा तयार पारिएको सो अध्ययन प्रतिवेदन डा. पुष्प राज पन्त, डा. समन अर्याल, ई. सुयोग खनाल, सुवास भट्टराई र ईश्वर बल्लभ उप्रेतीको समूहले तयार पारेको हो ।
प्रतिनिधि सभा सदस्य तथा नेशनल एलायन्सका संयोजक मा. योगेश भट्टराई , नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा एलायन्सकी सहसंयोजक रंगमती शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापा, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायतले सो प्रतिवेदनको सार्वजनिकरण गर्नुभएको थियो ।
प्रतिवेदनमा २०७९ सालको वैशाख, जेठ र असार महिनामा काठमाडौको ट्रमा सेन्टर, शहिद स्मारक र मनमोहन मेमोरियल हस्पतालमा सडक दुर्घटनामा घाइते भएका ४१९ जनाको अध्ययन समेटिएको छ ।
अध्ययन अस्पतालहरूमा अध्ययन गरिएको सहभागीहरूको विवरण
अध्ययन अनुसार कुल ४१९ घाइतेमध्ये मोटरसाइकल र दुई पाँग्रे सवारीसाधन प्रयोगकर्ता सबै भन्दा बढि ३४९ घाइते भएका थिए । ति मध्ये २३२ (६६ प्रतिशत) चालकको रुपमा रहेका थिए । त्यसैगरि घाइते भएका ७३ जना चालकको पछाडी (पिलियन राइडर) रुपमा रहेका थिए भने ४४ जना पैदलयात्रुको संलग्नता थियो ।
२३२ मोटरसाइकल चालकहरू मध्ये १४ प्रतिशतलाई टाउकोमा चोटपटक भएको थियो भने ५५प्रतिशत को हात खुट्टामा चोटपटक भइ उपचार गरिएको थियो ।
त्यसैगरि ७३ पिलियन राइडर मध्ये ३७प्रतिशत को टाउकोको, ३८ प्रतिशत को हात खुट्टाको र १ प्रतिशत को स्पाइनल चोटहरूको लागि उपचार गरिएको थियो ।
टाउकोमा चोट लागेको ६२ जना घाइतेहरु मध्ये एकजनाको मृत्यु भएको थियो, एक कोमामा ,दुई स्थायी रूपमा घाइेते, तीन उपचारार्थ र ५५ जनाको निको भएको थियो । सबै प्रकारका चोटहरूमा पुरुषको संख्या बढी थियो ।
टाउकोमा चोट लागेका बिरामीहरूको उपचार निम्ति रु ३ हजार देखि १८ लाख सम्म खर्च लागेको सो अध्ययनले देखाएको छ भने घाइतेहरु औसतमा २३ दिन हस्पतालमा उपचारको निम्ति बसेका देखिन्छ । यसले पीडितहरुको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा समेत अकल्पनीय असर परेको दर्साउँछ ।
प्रतिवेदनले दुई पाँग्रे सवारी साधन प्रयोग गर्दा राइडर र पिलियन राइडर दुबैले गुणस्तरीय हेल्मेटको सहि प्रयोगले टाउकोमा हुन सक्ने चोटपटकको सम्भावना निकै कम हुने देखाएको छ । साथै सडक दुर्घटना पश्चात गरिने आपत्कलीन उद्दारका वर्तमान अवस्थालाई पनि सुधार गर्नुपर्ने कुरा औल्याएको छ ।
अध्ययन कर्ताद्धय डा. समन अर्याल र डा. पुष्प राज पन्तले अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गर्दै नेपाल सरकार र सांसदले समेत अनाहकमा युवाहरुको अकाल मृत्युलाई रोक्न र नेपाली सडकलाई भरपर्दा बनाउन गम्भिर हुन आग्रह गरे ।
सार्वजनिकरणमा सडक सुरक्षाकी अध्येता भगवती सेढाई, नासा फाउण्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेत, तथा मोटरसाइकल पिडित मध्येका एक गजेन्द्र बुढाथोकी र नेपाल अटोमोबाइल्स एसोसिएसन का कार्यकारी निर्देशक गोविन्द भट्टराईले प्रतिवेदन यथार्थपरक रहेको बताउदै दुई पाँग्रे सवारी साधन दुर्घटनाको रोकथामको निम्ति सवारी साधन प्रयोगकर्ता सबैले हेल्मेट लगाउनुपर्ने र अन्ततः सार्वजनिक यातायातको सुधार नै अन्तिम विकल्प रहेको बताए ।