नेपाल टेलिकमद्वारा रोमिङ सेवामा नयाँ महसुल दर कायम: भारतभर प्रति मिनेट ७ रुपयाँ

नेपाल टेलिकमद्वारा रोमिङ सेवामा नयाँ महसुल दर कायम: भारतभर प्रति मिनेट ७ रुपयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ०३, २०८०

काठमाडौँ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर नयाँ महसुल दर कायम गरेको जनाएको छ । 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी  प्रेस विज्ञप्ति  मे १७ मा मनाइने ITU Day 2023 को अवसरमा भोलि (२०८० जेठ ३ गते) देखि लागू हुने गरी नयाँ महसुल दर कायम गरेको हो  । 

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रुपयाँ ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रुपयाँ ७ नै लाग्ने छ । 

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०रुपयाँ , अन्य नम्बरबाट आएको कल उठाउँदा १४रुपयाँ र एसएमएस गर्दा २४ रुपयाँ लाग्ने व्यवस्था छ । 

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट  २५ रुपयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपयाँ लाग्ने छ । 

हाल कुनै नम्बरमा कल गर्दा  १३५ रुपयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपयाँ लाग्छ । 

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ । 

अन्य देशमा जाँदा/ रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।