शीतल गिरी | दृष्टिकोण | जेठ ०४, २०८०
हाम्रो धर्मशास्त्रहरू अनुसार हिन्दू जीवनको लक्ष्य मोक्ष प्राप्ति हो । उनीहरूको अनुसार जीव कर्मअनुसार पुनर्जन्मको चक्रमा फसिरहन्छ र नियतिको विधान अनुसार नै संसार चलिरहेछ ।
व्रत, उपवास, हवन, यज्ञ, जोगी सन्यासीहरूलाई आदर सत्कार, तीर्थयात्रा, पूजाअर्चना पनि यिनै विधानहरू मध्ये एक हो । महिलाहरू पूजा अर्चनामा धेरै लिप्त रहने गरेको पाइन्छ । सधैं विहान र बेलुका पूजा गर्नाले घरको वातावरण धार्मिक बन्दछ । घरको सबै सदस्यहरूमा धार्मिक कट्टरता आउँछ ।
मन्दिरमा गएर पूजा गर्ने धेरै महिलाहरूको दिनचर्या बनेको पाइन्छ । यसको साथै घरको सानो ठाउँमा भगवानको मूर्ति तथा फोटो राखेर पूजा कोठा अथवा पूजा स्थानको नाम दिने गरेका छन् र यस्तो प्रायः प्रत्येक हिन्दू घरमा पाइने गरेको छ । अमृताको घरमा जादा जहिले पनि किसिम किसिमका सिन्के धूपको सुगन्ध आउने गर्छ । अमृताकी आमाको धेरैजसो समय पूजा पाठमा वित्ने गरेको हुन्छ । घरको वातावरण कुनै जोगी सन्यासीको कुटी जस्तो छ ।
कुनै पनि कुरो अति हुँदा त्यसबाट सिर्जित वातावरणमा कसैलाई पनि रचनात्मक कामतर्फ मन नलाग्नु त स्वभाविकै हो । यसकारण परिक्षाको समयमा अमृता साथीको घरमा पढ्न जान्छिन् ।
पूजा विहान ४ घण्ट, साँझ ४ घण्ट गर्नेहरु छन् । सो समयमा कतिकै आवश्यक काम किन नहोस् अमृताकी आमा कुरा सुन्ने र गर्ने गर्दिनन् । यसकारण सो घरका सबै मानिस धेरै पिडित हुने गरेका छन् ।
कसैले केही भन्न सक्दैन, किनभने पूजा पाठको कुरो हो । कस्ले यस कुराको विरोध गर्न सक्छ र ! अर्कोतिर तिनी एकल महिला हुन्, सानो कुरामा पनि रोइहाल्छिन् ।
अर्कोतिर तिनी घरको सबभन्दा जेठो सदस्य पनि छन् । यसो त तिनी शिक्षिका पनि हुन्, तर पनि तिनी स्वयंलाई पूजा पाठमा व्यस्त राख्ने प्रयास गर्छिन् । शायद हिन्दू धर्म ग्रन्थ एउटी एकल महिलालाई पूजा पाठमा तल्लीन गाउनमा उपयुक्त ठान्ने गरिएको छ । अमृताकी आमा पनि यसमा आफ्नो कर्तव्यको इतिश्री सम्झन्छिन् । तर भक्तिभावमा चुर्लुम्म डुबेकी अमृताकी आमाको वुद्धि अति तिव्र छ । पूजा गर्दा गर्दै भोक लाग्यो भने देउरानीलाई भन्छिन्, 'बहिनी, भान्सा तयार भयो ? आज दुध सदाको भन्दा एक लिटर धेरै लिनु । प्रसादको रुपमा खीर भोग लगाउन मन लागेको छ । बहिनी, सुन त, मेरो लागि भोजन तयार पारी देउ । अँ, रोटी घिउ दलेर नरम बनाइ दिनु, तरकारीमा नाम मात्रको पिरो हाल्नु । तिमीले धेरै खुर्सानी हाल्ने गरेकी छौं र र दुई तिन सिठी लगाएर भात पनि राम्ररी नरम बनाउनु ।'
थाहा छैन तिनी रुद्राक्षको माला घुमाउँदै आफ्नो तथाकथित भगवानलाई प्रसन्न पार्छिन् अथवा देउरानीलाई दलाउने तरिका मनन गर्छिन् । तिनको पाठ पूजा र व्यवहार ‘हात्तीको देखाउने र खाने दाँत’ जस्तै बनेको छ ।
विवाहपछि एउटी आइमाईको लागि उसको घर गृहस्थी, उसको परिवार नै सबभन्दा ठूलो मन्दिर बन्नु पर्छ । त्यस घरको व्यवस्थित संचालन नै सबभन्दा ठूलो पूजा हुनुपर्छ । अरविन्द मेरो सहकर्मी हुन् । हाम्रो निवास पनि एउटै टोलमा छ । उनका श्रीमती प्रत्येक दिन विहान चिच्याई चिच्याई कन कुनै स्तुति पाठ गरिरहन्छिन् ।
जोड जोडले घण्टी बजाउनु पनि आदतमा समावेश छ । तिनलाई पनि छोरा–छोरीको स्याहार भन्दा पूजा आवश्यक छ ।
दुई बर्षको छोरी र विद्यालय जाने छोराको कुनै चिन्ता छैन बालकलाई अरविन्दले दुध बनाएर जबसम्म खुवाउँदैन तबसम्म दुई बर्षकी छोरी आमाको लयमा साथ दिदै रोइरहन्छिन् ।
विहान पख अरविन्दले सानो छोरीलाई काखमा लिएर घुमाउनु उनको दिनचर्यामा जोडिएको छ । यसकारण चाहेर पनि उनको घरतर्फ मेरो पाइला चल्दैन । मूर्तिको लागि जिउँदो पती, साना छोरा–छोरीप्रति यस्तो तिरस्कार हद हो । अध्यापिका आशा भन्ने गर्छिन्, 'म त सबेरै उठ्छु, नुहाइ वरी करीब दुई घण्टा पूजा गर्दछु । जुन भगवानले हामीलाई जीवन दिएका छन् उनको लागि हामी दिनमा दुइ घण्टा पनि दिन सक्दैनौं ?'
कतिपय नेपालीहरूसँग ओत लाग्ने ठाउँ छैन । तर ढुङ्गाको मूर्तिको लागि विशाल आकर्षक मन्दिर बनाइँदै छन्, अझ पनि । वास्तवमा पूजाको औचित्य के हो ? किन गर्दछौं हामी पूजा ? कट्टर धार्मिक प्रवृत्तिका मानिसहरूले पनि यस सम्बन्धमा कुनै निश्चित विचार दिन सकिरहेको पाइँदैन । पूजा किन गर्दछौं ? यसको उत्तर ‘मनको शान्तिको लागि’ हुने गरेको छ ।
मलाई त लाग्दछ, अध्यापिका आशा आफ्नो जिम्मेवारीबाट पन्छिनेको लागि नै पूजामा व्यस्त हुन्छिन् । तिनी पनि संयुक्त परिवारमा रहन्छिन् र घरको सबभन्दा ठूली बुहारी हुन् । गृहणी घरमै रहे पनि अथवा नोकरीमा जान परे पनि तब पनि कुरा एउटै हो ।
आशा पूजामा तल्लिन हुन्छिन्, न त जाडोमा भाडा कुँडा माझ्ने झन्झट छ र न त गर्मीमा भात भान्सा गर्ने नै । तब पनि घरको सबै काम भएकै छ, घरका अरु महिलाहरूले मिलेर गर्छन् ।
देउरानीहरूले विरोध पनि गर्न सक्दिनन्, गरेमा उनीहरूको अनिष्ट हुन्छ भन्ने डर छ । आराम गर्ने राम्रो बहाना हो पूजा, केहीको लागि । आशालाई सबैले धेरै धर्मात्मा मान्दैछन् । वास्तवमा के तिनले सत्य, इमान्दार र कत्र्तब्यनिष्ठासाथ कुनै काम गर्छिन् । तिनले विद्यार्थीलाई इमान्दारी पूर्वक पढाएको पनि पाइएन । बरु वाल मस्तिष्कमा नराम्रो असर पर्ने गरी हप्काउँछिन् । तिनी विद्यालयमा आएर सुत्छिन्, शायद यस्तै यस्तै गल्ती कामहरूबाट बचाउन तिनी पूजाको सहारा दिने गर्छिन् होला ।
यदि तिनी सरकारी विद्यालयको शिक्षिका नभएकी भए शायद उहिल्यै नोकरीबाट निकाली सक्ने थिए । केही महिलाहरूलाई त लाग्दछ कि घरमा नै पूजा गर्नाले भगवान धेरै खुसी हुनुहुन्न, यसकारण तिनीहरू मन्दिरमा गएर पूजा गर्ने गर्छन् ।
घरबाट बाहिर निस्कने यो राम्रो बहाना हो जसमा कसैले रोकटोक गर्दैन । जुन घरको बुहारीलाई घरबाट बाहिर निस्कन दिइँदैन उनीहरूको लागि मन्दिर जाने बहाना सबभन्दा राम्रो र सशक्त हुन्छ । सृष्टि चलाइनेलाई संझना गर्नु उसको पूजा अर्चना गरेर आखिर के फाइदा ? यदी उ सर्वशक्तिमान छ र उसले तपाईलाई बनाएको हो भने त उ तपाईको चिल्लो घसाईले खुसी किन हुन्छ ? फेरी उसँग यती समय कहाँ छ कि प्रत्येक जीवको ख्याल राखोस्, कसले कहिले उसलाई सम्झ्यो ? यो सबै थाहा नपाएर कामको समयमा घण्टौं बसेर समय बिताउने समय छैन, फुर्सत छैन । आज प्रतिस्पर्धाको युग हो र यसको एकएक क्षण महत्वपूर्ण छ ।
आजको युगको माग हो, हामीले हरेक क्षण रचनात्मक काम गरिरहनु । आजको प्रत्येक क्षण मूल्यवान छ । यो अर्थ प्रधान युग हो । मूर्तिको अगाडी बसेर समय विताउनु भन्दा धेरै राम्रो हुनेछ कुनै असमर्थको सेवा गर्नु । एउटा कुरा तपाईंले अवश्य प्रयोग गरेर हेर्नुपर्दछ- आत्मसन्तुष्टि अथवा मानसिक सन्तोष कुन कुरोमा धेरै पाइन्छ, पूजामा अथवा कुनै रोगीको सेवा गर्नमा । महिलाहरू घरमा बसेर झोला बनाउन, सिलाई, बुनाई, कटाई, कम्युटर टाइप गर्न अथवा केही पनि जसबाट आम्दानी हुन सकोस्- समय सदुपयोग गरेको राम्रो ।
यसरी गरिएको आम्दानीबाट कुनै गरिब केहीलाई शिक्षा दिलाउन सकेमा त्यो सबभन्दा ठूलो पुण्यको काम हुनेछ । यदि तपाईं पूजा मन्दिरमा गएर गर्नु हुन्छ, यानि घरभन्दा बाहिर जानुहुन्छ भने बाहिर पनि धेरै कुरो छ गर्न सकिने । शिक्षा दान, स्वास्थ्य संबन्धी जानकारीको प्रसार, केही पनि गर्न सकिन्छ ।
कतिपय नेपालीहरूसँग ओत लाग्ने ठाउँ छैन । तर ढुङ्गाको मूर्तिको लागि विशाल आकर्षक मन्दिर बनाइँदै छन्, अझ पनि । वास्तवमा पूजाको औचित्य के हो ? किन गर्दछौं हामी पूजा ? कट्टर धार्मिक प्रवृत्तिका मानिसहरूले पनि यस सम्बन्धमा कुनै निश्चित विचार दिन सकिरहेको पाइँदैन । पूजा किन गर्दछौं ? यसको उत्तर ‘मनको शान्तिको लागि’ हुने गरेको छ ।
मन अशान्त तब हुन्छ, जब हामी कुनै गलत काम गर्दछौं । अथवा आफ्नो इच्छालाई नियन्त्रण गर्न सक्दैनौं । कुनै सर्वोच्च शक्तिको डर मनमा गलत काम गर्ने बाटोमा यदी छेकवार बन्थ्यो भने त संसारमा कुनै गलत काम हुन्थेन ।
भगवान भक्तको अग्र पंक्तिमा घुस लिने, तानाशाह, चोर, लुटेराहरू, व्यभिचारी नै बढी लिप्त भएको पाइन्छ । यदी पूजा गर्दा मनमा शान्त हुन्थ्यो भने त प्रत्येक घरमा हुने झगडा नै हराउने थियो ? पूजा कोठा भएको घरहरूमा पनि रातदिन लोग्ने स्वास्नी, सासु बुहारी, देवर भाउजु बि च कचपच किन हुने गर्छ ? कुनै अदृश्य शक्तिलाई प्रसन्न गर्नुको अपेक्षा कुनै मानिसलाई खुसी पार्नु नै परम सुख प्राप्त हुन्छ, तब मनमा साँचो शान्ती प्राप्त हुनेछ ।