लोकसंवाद संवाददाता | समाचार | जेठ ०५, २०८०
कुवेत । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारका विरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापन पत्र बुझाएको छ।
नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी रानामार्फत मञ्चले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
मञ्चका कुवेत अध्यक्ष युवराज गैरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई मुद्दालाई सार्थक निष्कर्षमा पुर्याउन खबरदारी र दबाबको भूमिका हुनुपर्ने जिम्मेवारीको बोध गर्दै ज्ञापन पत्र प्रस्तुत गरिएको भनिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउनु सुखद परिघटना हो। घटनाको प्रकृतिले यो घटना आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको अपराध समेत हो भन्ने देखाएको ज्ञापन पत्रमा उल्लेख छ।
घटनामा संलग्नलाई बिना मोलाहिजा कानूनी दायरामा ल्याई विधिको शासन र कानुनको राज स्थापित गर्न मञ्चको तर्फबाट जोडदार माग सहित ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।
नेपाली दूतावास कुवेतमा आज ज्ञापन पत्र बुझाउन मञ्चका अध्यक्ष युबराज गैरे,वरिष्ठ उपाध्यक्ष मनविर लामा,महासचिव देभ्सम्सेर घिसिङ, उपमहासचिव इन्द्रदेव शर्मा, प्रवक्ता टिका पौडेल, सल्लाहकारहरू सूर्य लामा,धनेश्वर राय यादव लगायतको उपस्थिति थियो।