लोकसंवाद संवाददाता | समाचार | जेठ १९, २०७६
बाँके । वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य हुनुभएको छ । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए ।
विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमानबाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी थिइन । अहिले श्रीमानले आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उहाँले बताउनु भएको छ ।
साढे ३ वर्षको छोरो छाडेर कुवेत जानुभएको सीतापुरकै रचना शर्मा (नाम परिवर्तन)ले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ । आठ वर्षदेखि मलेसियामा रहेका श्रीमानले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान, सासू र माइतीबाट समेत अपहेलित हुन परिरहेको छ ।
उहाँको भनाइ छ–घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा पनि सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।’ मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कारमा पर्ने गरेका छन् ।
गीता ओलीली (नाम परिर्वतन)लाई पनि आफ्नो पीडा सुनाउन निकै गार्हो भयो । शुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । विदेशबाट फर्किए देखि उहाँलाई श्रीमानले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । ‘तँ घरबाट निस्किहाल, म तँलाई राख्दिनँ भन्दै श्रीमानले सधैंजसो पीडा दिने गर्छन,’ उहाँले भन्नुभयो– ‘श्रीमान्ले राम्रो नगरे समाजले पनि नरामै्र गर्दोरहेछ ।’
विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भन्नुभयो– ‘दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ ।’ वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर, उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ ।
श्रीमानको मृत्युपछि कमजोर आर्थिक हैसियत कै कारण विदेशिएकी सीतापुरकै भावना बिक (नाम परिवर्तन)ले स्वदेश फर्किएपछि चिया पसल गर्नुभयो । तर, उहाँले त्यसलाई केही समयमै बन्द गर्नुप¥यो । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । ‘पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुप¥यो, भावनाले आँशु झार्दै भन्नुभयो । श्रीमानले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी महिला पनि छन् ।
परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ । लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुव्र्यवहार गर्ने शिकायत महिलाहरुलाई हुने गरेको छ । यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको संख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् । वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँने गरेका छन ।
‘महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,’ महिलाहरुको भनाई रहने गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उहाँहरुले सम्बद्ध निकायहरुसँग आग्रह समेत गर्ने गरेका छन् । नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुने गरेका छन् ।
वैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन पीडा दिने गरेको उहाँहरुको भनाइ छ । रोजगारीका लागि विदेश जाने इच्छा नभए पनि पारिवारिक समस्याले गर्दा महिलाहरु विदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक धेरैले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन् ।
वैदेशिक रोजगारबाट फर्किएपछि महिलाहरुलाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ । घरपरिवारमा हुने विभेद, श्रीमानसँगको बढ्दो दूरी, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या धेरै देखिने गरेको छ ।
नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिनेहरुको संख्या ठुलो हुने गरेको छ । धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा समेत गर्नु परिरहेको छ । स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उहाँहरुलाई पुनःस्थापित हुन पनि समस्या छ ।
खाडी मुलुकमा श्रम र यौन शोषण
भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकाँश महिला यौन र श्रम शोषणमा पर्ने गरेको चेलिबेटी बेचबिखनविरुद्व क्रियाशील संस्था माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो छ ।
माइती नेपालले जोखिममा परेका महिलाहरुको उद्धार पनि निरन्तर गरिरहेकै छ । यौन शोषणका कारण कैयन महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा समेत पुग्ने गरेको छन । भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई बङ्गलादेशमा पुर्याएर देह व्यापारमा लगाएको घटनासमेत सावएजनिक भइसकेको छ ।
संयोजक कोइरालाका अनुसार कुवेत, लेवनान, बहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्धारका लागि आग्रह गर्दै महिलाहरुले निवेदन पनि दिने गरेका छन् । घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो छ ।
वैदेशिक रोजगार विभागको २०७४/७५ को तथ्याङ्क अनुसार बाँकेका १३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यो संख्या विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर विदेशिएको संख्या हो । तर, यो ससंख्या भन्दा धेरै महिला अवैधरुपमा भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ ।
विभागका अनुसार सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा ३०/३० जना महिला गएका छन । मलेसियामा २७ जना, कुवेत २०, साउदी अरब १४, पोल्याण्ड र साइप्रस ३/३ जना गएका छन् । त्यस्तै, ओमान र माल्दिभ्समा २/२ जना तथा बहराइन, जोर्डन र हङकङमा १÷१ जना रहेको विभागको तथ्याङ्क रहेको राससको समाचारमा काशीराम शर्माले लेख्नु भएको छ ।